~चिरञ्जीवी पौडेल~
डाक्डर साहेब नमस्कार!
(प्रधानमन्त्री बाबुराम भट्टराई आफ्नो कार्यकक्षमा शान्ति प्रक्रियाको रोडम्याप बनाउँदै थिए, एक मधेसी महिलाको आवाजले झस्के)
प्रधानमन्त्रीः (महिलातिर फर्किदै)! तपाईंलाई मैले चिनिन नि?
महिलाः कस्तो नचिनेको हुजुर! अस्ति भर्खर किरिया खुवाएको होइन?
प्रधानमन्त्रीः के भन्नुभएको? मैले तपाईंलाई कहिले किरिया खुवाएँ?
(महिलाको पछाडि रहेका पिएले उनलाई सिकाउँछन्, किरीया होइन, सपथ भन्नुस न!)
महिलाः मेरो मतलब, सुपथ खुवाएर मलाई मुन्त्री बनाएको थियो नि हुजुरले!
बाराभः ए, ए! तपाईं पनि मन्त्री है! साँच्चि तपाईं कुन मन्त्री रे?
महिलाः (पिएलाई कोट्याउँदै) म कुन मुन्त्री रे बौवा?
(पिएले कानमा खुसुक्क भन्छ।)
महिलाः म भूतिया मुन्त्री छु हुजुर।
प्रधानमन्त्री (छक्क पर्दै): कस्तो भूतिया मन्त्री भनेको?
पिएः उहाँले भौतिक योजना भन्न खोज्नुभएको।
प्रधानमन्त्रीः ए! अनि भन्नुस न त, के कामले आउनुभो ‘
महिलाः मेरो गडी जो छ, एकदमै थोत्रे भइहालेको छ हुजुर! मलाई एउटा पिजेरो गडी मिलाइदिहाल्नुस।
प्रधानमन्त्री(मुस्काउँदै): पजेरो त अहिले छैन, बरु तपाईंलाई मैले चढेजस्तै मुस्ताङ गाडीको व्यवस्था गर्दिन्छु नि त।
महिलाः ना बाबा ना! ओ मुस्ताङ्गे त म नचढ्ने बाली!
बाराभः किन र!
महिलाः मुस्ताङे त बहुत खटारा छ। बजरंगीको बापुले भनेको छ कि ढुसी भएको चिप्लो गाडी लिएर आइज! उसलाई बिहान–बिहान साइकलमा सब्जी बेच्नुपर्छ नि। त, एउटा ढुसीबाला गडी भयो भने बडा सजिलो भइहाल्छ।
पिएः उहाँले एसी भन्नु खोज्नुभएको!
प्रधानन्त्रीः को हो नी बजरंगीको बापु भनेको?
महिलाः मेरो मर्द छ हुजुर!
प्रधानमन्त्रीः ठीक छ, ठीक छ। म बिचार गरुँला।
महिलाः डाक्डर साहेब, दुसरी बात के छ भने….
प्रधानमन्त्रीः भन्नुस के कुरा हो?
महिलाः बजरंगीको बापुलाई पनि सरकारकोमा एउटा नोकरी मिलाइदिहाल्नु। भन्छ कि मलाई जिम बनाइदे।
प्रधानमन्त्रीः कति पढेको छ?
महिलाः चार किलास पढेको छ हुजुर।
बाराभः (हास्दै) जिएम त होइन, कतै मिल्यो भने पिएन बनाइदिउँला।
महिलाः जिएम र पिएनमा कुन ठूलो हुन्छ हुजुर?
बाराभः (मुसुक्क हाँस्दै) उस्तै उस्तै हो। अरु केही कुरा छ बाँकी?
महिलाः डाक्डर साहेब, मलाई मन्त्रालयमा एउटा अटैंची चाहियो!
बाराभः अटैंची कस्तो अटैंची?
महिलाः ओ गोल गोल हुन्छ नी, त्यसमा शहरीया लोग गन्दा गर्छ नि?
पिएः उहाँले एट्याच बाथरुमको कुरा गर्नुभाको!
बाराभः ठीक छ, त्यो म सचिवज्यूसित कुरा गर्छु।
महिलाः ओ सचिव छ नि डाक्डर साहेब, बहुत कमिना आदमी छ।
बाराभः किन र?
महिलाः त्यसले मैले भनेको कुरा केही पनि मान्दैन हुजुरु। मैले नबुझ्ने नबुझ्ने लेखापढीको कुरा गर्छ अनि फाइलमा ल्याप्चे हानिहाल्न लगाउँछ। त्यसलाई बदलेर मेरो बिरादरीबालालाई ल्याउनुपर्यो हुजुर!
बाराभः अनि आफ्नो सुविधाको कुरा मात्रै गर्ने कि आफ्नो मन्त्रालयमा केही सुधारको काम पनि गर्ने?
महिलाः ओ, साफसुधरीको काम त म गरिहाल्छु।
प्रधानमन्त्रीः कसरी गर्नुहुन्छ त? के योजना छ तपाईंसित?
महिलाः म बिहान–बिहान आएर झाडुपोछा गरिहाल्छु।
बाराभः (मुसुक्क हास्दै) मैले त्यस्तो सुधार भनेको होइन। तपाईंले आफ्नो भौतिक योजना मन्त्रालयलाई कसरी कसरी नेतृत्व गर्नुहुन्छ? तपाईंसित के कार्ययोजना छन्, भन्नुस!
महिलाः त्यस्तो लेखापढीको कुरा त म बुझ्दीन माई बाप!
प्रधानमन्त्रीः हेर्नुस मैले त देश र जनताको लागि केही काम गर्नुहुन्छ कि भनेर पो तपाईंहरुलाई मन्त्री बनाएको। तपाईंहरुले मेरो इज्जत धुलोमा मिलाउनुभो। हिजोसम्म सबैतिर मेरो हाई– हाई थियो। तपाईंहरुलाई मन्त्री बनाएपछि सबैले बाई बाई भन्न थाले। तपाईंलाई म आजै बर्खास्त गर्छु। अब जानुस घर!
(महिला अत्तालिदै प्रधानमन्त्रीको खुट्टामा छाँद हाल्न पुग्छिन् र डाँको छोडेर रुन्छिन्)
महिलाः ना… माइ बाप! यस्तो नगरिहाल्नुस।
प्रधानमन्त्रीः म अब कुनै पनि हालतमा तपाईंहरु जस्ता नालायकहरुलाई काखी च्यापेर हिँड्दिन। म आफ्नो राजनीतिक करिअर दाऊमा लगाउन चाहन्न। तपाई गइहाल्नुस् यहाँबाट।
महिलाः (एकाएक उठेर आक्रोशित मुद्रामा) ठीक छ। म पनि तपाईंलाई हेर्छु।
बाराभः के हेर्नुहुन्छ?
महिलाः म यो सरकार गिराइहाल्छु। हाम्रो पार्टी सरकारबाट हटेपछि कसरी चलाउनुहुन्छः? बौवा, अध्यक्षलाई फुन लगाउ। (पिएले फोन लगाउन थाल्छन्।)
प्रधानमन्त्रीः (हड्बडाउँदै) होइन, होइन के गर्न आँट्नुभएको! मैले त ठट्टा पो गरेको। तपाईंजस्तो सक्षम मन्त्रीलाई मैले हटाउँला त?
महिलाः त, ठीक छ। मेरो कुराहरु त सुनिलिनुभयो। मैले भनेको कुराहरु पूरा भएन भने सम्झिनुस्, सरकार गिर्यो।
बाराभः हस्, यहाँले कत्ति धन्दा मान्नु पर्दैन। म सबै पूरा गर्छु। ढुक्क भएर जानुस भन्ने मलाई लाइराछ।
महिला हिँड्न आँट्छिन्। तर झट्ट एउटा कुरा सम्झेर फर्किन्छिन्।
महिलाः डाक्डर साहेब अर्को एउटा सानो काम थियो।
प्रधानमन्त्रीः भन्नुस के काम हो, ज्यान हाजिर छ।
महिलाः मेरो घरमा भैंस चार दिनदेखि बिमार पडिरहेको छ। एकबार आएर ओखतिमूलो गरिदिहाल्नुस!
November 19th, 2011
(स्रोत : Mysansar)