समीक्षा : प्रगतिशील सांस्कृतिक आन्दोलनको अमूल्य निधि समिक्षा

~रारा नेपाल~

मोहनविक्रम सिंहका शब्दहरूमा जीवन शर्माका संगीत लिएर नयाँ भिसिडी बजारमा आएको छ–“लेफ्ट राइट कदम बढाऊ।” रक्तिम भिसिडी भाग –३ को रूपमा आएको यो कृतिलाई प्रगतिशील सांस्कृतिक आनदोलनको एक अमूल्य निधीको रूपमा लिन सकिन्छ। यसभित्र समेटिएका कोशेलीहरूले क्रान्तिप्रति अगाध आस्था जगाइदिने मात्र होइन, त्यसमा लगातार लागिरहन उच्च प्रेरणा प्रदान गर्दछन्। भिसिडीमा समेटिएका गीतहरू सबै क्रान्तिप्रति समर्पित मात्र छैनन्, सही जीवन दर्शनले भरीपूर्ण पनि छन्। कम्युनिष्ट आन्दोलनमा दार्शनिक र राजनैतिक नेतृत्व प्रदान गर्दै आउनुभएका शीर्ष व्यक्तिका शब्दहरू र सर्वहारा वर्गीय गीत संगीत र गायन क्षेत्रका शीर्ष व्यक्तिको संगीत, –दुबैको समीश्रण हुँदाको सिर्जना कस्तो होला? हो, त्यही सिर्जना देख्न सकिन्छ रक्तिम भिसिडी– “लेफ्ट राइट कदम बढाउ” मा।

सुखी र समुन्नत समाज व्यवस्था सायद सबैको चाहना हुन्छ। तर त्यो समाज आफै सिर्जित हुँदैन। त्यसको लागि हरेक व्यक्तिले निश्चित योगदान दिनैपर्ने हुन्छ। कुराले मात्र क्रान्ति आउँदैन। क्रान्ति चाहानेहरूले आफ्नो कर्तव्य पनि निभाउन सक्नुपर्छ –क्रान्तिका लागि। यही यथार्थ तथ्यको बोध गराउँदै २०१० फागुन २४ को युवावस्थामा मोहनविक्रम सिंहद्वारा रचित कविता अहिले भिसिडीमा गीत बनेर आएको छः

“कुटो कोदालो जोत्ने हलो
सुख सम्बृद्धि सर्वस्व
पत्निको मुस्कान हाँसो सन्तानको
व्यक्तिगत आकांक्षा सम्बृद्धिको
सबै सबै चढाउनै पर्छ कर्तव्यको बेदीमा
क्रान्ति आफै आउन्न रगतको आहुती दिनैपर्छ
कर्तव्यको बेदीमा……..”

देशमा क्रान्ति त्यो बेला मात्र सम्भव हुन्छ जब शोषित,पीडितजनहरू एकगठ भएर क्रान्तिको बलिवेदीमा होमिन्छन्। कुनै एउटा तह र तप्काका समुदाय मात्र जाग्दैमा क्रान्ति पूरा हुन सक्दैन। जनताको सत्ता स्थापनाका लागि किसान, मजदुर मिल्नुको विकल्प छैन। त्यही भाव बोकेको कविता जसलाई पनि सिंहले २४ फागुन २०१० मै लेख्नुभएको थियो। यो पनि गीत बनेर आएको छ भिसिडीमा। क्रान्ति कसरी आउँछ त? जवाफमा गीत बोल्छः

“मलाई अरू अरू केही चाहिन्न…
चट्टानका एउटा टुक्रा देऊ
आरनको रातो फलाम देऊ
धानको एउटा बाला अनि मैकको एउटा घोंगा देऊ
क्रान्ति नाँच्दै आउनेछ…..”

भिसिडीमा मोहनक्रिम सिंहद्वारा लिखित विभिन्न ८ गीतहरू समावेश गरिएका छन्। ती गीतहरू सबै २०१० सालदेखि २०२९ सम्म विभिन्न कालखन्डमा लेखिएका कविताहरूबाट बनाइएका छन्। प्रत्येक गीतहरूले क्रान्तिको गाथा बोकेका छन्, जनतालाई क्रान्तिमा होमिन अभिप्रेरित गरेका छन्। कहालीलाग्दो वर्तमान मात्र होइन सुन्दर भविश्यको यथार्थ चित्रण गरिएका गीतहरू छन् त्यहाँ।

जब जनताहरू सचेत भएर उठ्छन् तब उनीहरूको शक्तिलाई कसैले रोक्न सक्दैन। जनताले चलाएका न्यायपूर्ण आन्दोलनहरूमा देखिंदै आएको यथार्थता हो यो। भिसिडीमा समेटिएको “छेक्न सक्दैन” बोलको गीतमा यही यथार्थता समेटिएको छः

“छेक्न सक्दैन अन्धकारले प्रकाशलाई।
रोक्न सक्दैन कोटी–कोटी पदचापलाई…”

पाल्पा जेलमा रहेका बेला २० वैशाख २०१३ सालमा रचिएको कविता संगीतबद्ध भएर उक्त गीत बने जस्तै अहिलेसम्म संगीतबद्ध भएर प्रशारित नभएका ५ वटा र रक्तिमका विभिन्न गिती एल्बममा प्रकाशित भैसकेका ३ वटा गीतहरू भिसिडीमा समावेश छन्। सुन्दै रगत उमाल्ने भाव बोकेको रक्तिमको भाग २ मा समेटिएको कालजयी गीत “लेफ्ट राइट” भिडिसीमा शीर्ष गीत बनेर आएको छ। २०१३ साल आश्विन १७ मा प्यूठान जेलमा रहँदा सिंहद्वारा उक्त गीत रचिएको थियो। उच्च क्रान्तिकारी भाव बोकेको उक्त गीत बोल्छः

“चाहे बर्सोस् लाठी गोली तोप र खुनी तरबार
तर लड्दै बड्दै जाओस् क्रान्तिको उभार
डाँडा काँडा फाँटमा घन्कोस इन्कलावको आवाज
संसारभमा विजय बनोस् आजादीको शिरताज
लेफ्ट राइट….”

भिसिडीमा समेटिएका मध्ये “एक नयाँ दिशामा” बोलको गीत राजेश वि.क.द्वारा संगीतबद्ध हो। १५ श्रावण २०१२ मा सिंहद्वारा रचित कवितालाई संगीत दिएर बनाइएको यस गीतलाई रक्तिमले आफ्नो भाग–४ एल्बममा समावेश गरेको थियो। भिसिडीमा रहेका ८ गीतहरू मध्ये ५ वटा जीवन शर्माका एकल स्वरमा गाइएको छ भने अन्यमा ल73मी गुरूङ र राजेश वि.क. लगायतका कलाकारहरूको स्वर पनि रहेको छ। गीतहरूमा रक्तिमका केन्द्रीय कलाकारहरूको नृत्य तथा अभिनय रहेको छ। मोहन विक्रम सिंहको भावनात्मक सम्बन्ध गाँसिएको ठानिएका प्यूठानका विभिन्न स्थानहरूमा ती गीतहरूलाई दृश्यांकन गरिएको छ। म्यूजिक नेपालको प्रस्तुति रहेको यस भिसिडीमा छायांकन जीवन श्रेष्ठले गर्नुभएको छ भने यसको व्यवस्थापन दुर्गा पौडेलले गर्नुभएको छ। जनताका बीचमा निरन्तर रूपमा विभिन्न सांस्कृतिक अभियानहरू लिएर गईराख्ने रक्तिमका कलाकारहरूको माझएको नृत्य एवं अभिनय कला यसमा देख्न सकिन्छ।

सिर्जना आफैमा जटिल विषय हो। कसैको सिर्जनामाथि संगीत भर्नु शायद त्यो भन्दा पनि जटिल विषय हो। जुन उच्च क्रान्तिकारी भावनामा डुबेर सिंहद्वारा विभिन्न कविताहरूको सिर्जना गरिएको थियो। त्यसमाथि न्यायपूर्ण संगीत भर्नु पक्कै पनि सजिलो काम थिएन। एउटा त्यस्तो संगीतकर्मी जो स्वयं पनि सोही प्रकारको विश्व दृष्टिकोणले लैस छ, उसले मात्र ती कविताहरूलाई गीतमा न्यायपूर्ण किसिमले रूपान्तरण गर्न सक्दथ्यो। भिसिडीमा आएका गीतहरू सुन्दा हामीबिना हिचकिचावट भन्न सक्छौं–सबै गीतहरूले न्यायपूर्ण संगीत पाएका छन्। गीतहरूले जुनप्रकारको उच्च क्रान्तिकारी भाव बोकेका छन्–संगीत पनि सोही अनुरूपको रहेको छ।

भिसिडीमा समेटिएका गीतहरूमा रहेको सबैभन्दा महत्वपूर्ण पक्ष यसमा निहित विचार र भाव हो। जो निकै उच्चकोटीको रहेको छ। कम्युनिष्ट आन्दोलनका यात्रीहरू, जो शोषणरहित समाज सिर्जना नहुन्जेसम्म महासमरको यात्रामा हिंडिरहन चाहन्छन्, उनीहरूलाई लगातार उर्जा र प्रेरणा दिने खाले गीतहरूहरू छन् यसमा। आफूमा क्रान्तिकारीपन, सही विचार र दृष्टिकोण जीवित राख्न चाहने जो कोही क्रान्तिप्रेमीहरूले हेर्नै पर्ने मात्र होइन संग्रहनै गरेर राख्नुपर्ने कृति बनेर आएको छ यो भिसिडी। संसारभरीनै कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुगिरहेको यो घडीमा त्यसबाट विचलित नभई सही कम्युनिष्ट आन्दोलनमा निरन्तर अगाडि बढ्न यो सहयोगीसिद्ध हुन सक्छ। उच्च क्रान्तिकारी भावनाले भरीपूर्ण यस्तो कृति आजसम्म यो रूपमा बन्न सकेकै थिएन भन्दा पनि शायद फरक नपर्ला। यसलाई सांस्कृतिक आन्दोलनको मात्र होइन कम्युनिष्ट आन्दोलनकै अमूल्य कृति मान्न सकिन्छ।

(स्रोत : हाँक विक्ली – वर्ष २७, अंक २२ – २०६७ बैशाख १ गते)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.