बिहे गरेको ५-७ वर्ष भईसक्दा पनि बाबु नभएकोमा आफुलाई भन्दा आफन्तहरुलाई पीर पर्दों रहेछ भन्ने कुरा तपाईंहरुले बुझ्नु भएको छ कि छैन कुन्नी तर मैले भने बुझेको छु । नाती- नातीनी हेर्ने रहर मेरो बा आमालाई त भयो भयो । त्यसको साथै मेरा अभिन्न मित्रहरु लगायत मावली देखी ससुराली, गाउँको उकाली देखी ओरालीका छिमेकहरुसम्मलाई म बाबु नबनेकोमा उदेक मानेको देखेर म आफैं उदेक भई सकें । तपाई भन्नु होला “तँ त
भाग्यमानी रहेछस् । यत्तिका शुभचिन्तकहरु भएकोमा पनि उदेक मान्छन् र ?” तर यो शुभचिन्तकहरुको मन राखी बाबु बनेपछि कसरी बाबुको बिहे देखिंदो रहेछ भन्ने कुरा चाहिं शायद मैलेमात्र बुझेको छुं ।
जे होस उपरोक्त शुभचिन्तक मित्रहरुलगायत मावली र ससुरालीहरुका साथै अझ सबैभन्दा बढी माता पिताको ईक्षा पुरा गरीदिने धोको मनमा जाग्यो । त्यसमाथी उमेरमा कान्छो, बिहे गराईमा कान्छोहरुपनि पटापट बाबु बनेको देखेर आफुमा अलिकति इर्ष्या अलिकति ईख र अलिकति भुकुल्ले ढुनुमुनु काखमा खेलाउने रहर जाग्यो । यी बिहे गराईमा र उमेरका कान्छाहरु तिनका स्याउला काखमा खेलाउंदै मतिर हेरेर ङिच्च हांस्दा मेरो पुरुषार्थलाई चुनौती दिए झैं पनि लाग्न थाल्यो । त्यसउसले मपनि बाबु बन्ने निधो गरें । श्रीमतिसंग छलफल गरेपछि कहाँ कसलाई कहिले जचाउन जाने कि फुकाउन जाने निधो गरियो ।
काकताली भनौं या के भनौं नभन्दै श्रीमति त केही महिनापछि दुई जीउकी भईन् । गन्हाउनेदेखि वान्तागर्नेसम्मको रोग तिनैलाई लाग्यो । घर टोल, छर छिमेकी, मावली, ससुराली, चौध अंचल, पचहत्तर जिल्ला चारैतिर आगो फैलिए सरी यो समाचार फैलियो । कसैले ‘मोज गर’ भने कसैले ‘बधाई छ’ भने त कोही ‘भोज ख्वा’ भन्दै पछि लागे । मुसुक्क हांस्दै बधाई स्विकार्दै हिंडेँ । तर बाबुहुने दिन जतिजति नजिकिँदै गयो उति उति आफ्नो दुख बढ्दै गएको आफुले महशुस गर्न थालें ।
दुई जीउकी भएपछि धेरै चलहल नगर्नु आराम बढी गर्नुपर्छ भन्ने सर सल्लाह दिने डाक्टरहरु धेरै निस्किए । त्यसै मुताबिक श्रीमतिको राज बढ्यो । अब उनी बसी बसी खाने र आराम गर्ने भईन् भने बिहान बेलुकाको चुल्हो चौका मैले नै गर्नु पर्ने भयो । चिसो दाउरा चुल्होमा ठोस्दा पतपत निस्किने धुंवाले आफुलाई राले र सिंगाने बनायो । जागीर, किनमेल, भात भान्छा गरी राती ओछ्यानमा डंग्रगं पल्टिंदा पो कति स्वादले खाईमात लागेको रहेछ मलाई भन्ने थाहा हुन थाल्यो । जागीर खाई, घर आई बुढीले ठिक्क पारेर राखेको भात खाई, मीठो नभए श्रीमति उपर आंखा तराई , अझ बेलुका खुट्टा मिचाई, सब हरण भयो । बाबु बनू भन्नेहरुको सल्लाह अब अभिशाप लाग्न थाल्यो । यिनका कुरा किन सुनेछुं नि भनी आफैंलाई सरापें । शायद यिनीहरुले आफुले खाएको गोता मैले पनि खाओस् भनि उचालेका रहेछन् क्यारे !
अहिले नै त यो गति पछि झन् के गति हुने हो भन्ने आतङ्कले आँङ जिरिंङ्ग भयो । तर पनि मनमा अरुप्रति जागेको ईष्र्याले भने ‘हिंड बाबु, हिंड बाबु बन्न’ भनी घचेटि पनि रहेको हुन्थ्यो । दिन पर दिन श्रीमति भकुण्डो जस्तो देखिन थालिन् । उसै त भण्टाको बोटमा झटारो हान्ने खाले तिनी त्यसमाथी यो दोजियाले झन बाउन्ने देखिन थालिन् । उपरी माथि थुपरी भने झैं तिनको एइया र आत्थाको नखराले मेरो झन् होस् हरायो । होस् हराएको डरले होईन कि रीसले । एक त आफ्नो सुख चयन लुटियो त्यसका साथै बचत पनि लुटियो । अनि श्रीमतिको स्याहार सुसारमा आफ्नो मोज लुटियो । कहिले श्रीमति सुत्करी होलिन् र ससुराली धपाउं भन्ने आतुरले सताउन थाल्यो ।
बल्ल बल्ल श्रीमतिको महिना पुगेछ क्या रे आधा रातमा पेट मुसार्दै पानी विनाको माछा झैं एक कुनाबाट अर्को कुना गर्न थालिन् । डाक्टरले भनेको सम्झें र दिन गनेको त अस्पताल लानुपर्ने बेला भएछ । हतार हतार पीडाको कांडा मार्न अरुले भने बमोजिम काँडा बनाएर खान दिएँ र ट्याक्सी लिन दगुरें । जांदा जादै पल्लो कोठाको भाउजुलाई हेर्दै गर्नु भनि बाहिरिएं । झण्डै एक डेढ घण्टा ट्याक्सी कुर्दा कुर्दा आतुरले आफैंलाइ ब्यथा लागे जस्तो भईसकेछ । उता श्रीमतिको अर्कै ब्यथा, यता आफ्नो अर्कै ब्यथा ।
एक डेढ घण्टाको कुराई पछि बल्लबल्ल एउटा ट्याक्सी भगवान सरी आईपुग्यो । रोकेर समस्या सुनाएं । ‘अस्पतालबाट खाली फर्कनु पर्छ ,सुत्केरीको मामला डबल नदिए नि डेढी त लिन्छु’ भन्न थाल्यो । श्रीमान श्रीमतिलाई फरक फरक ब्यथा लागेको बेलामा कताको डेढी कताको डबल ‘जाउँ’ भनें र बसें । एकै सासमा भाउजुलाई ट्याक्सी आई पुगेको भनें तर भित्रबाट ‘अब पर्दैन’ भन्ने सुनियो । के भो भन्ने प्रश्नको उत्तरमा छोरा भो भन्ने सुनियो । मन खुशीले बुरुक्क उफ्रियो।
खास्सै त सुत्केरी स्याहार्ने भनेको अब पो रहेछ । घिउचाकु र भात अनि ज्वानोको झोल दिनको चार पटक पकाएर खुवाउनु पर्ने रहेछ । सुत्केरी स्याहार्ने विदा नपाउने भएकोले बेतलवी विदा भए पनि लिएर श्रीमति स्याहार्न थालें । दिनको चार पटक भान्छामा टुपी ठाडो पार्नुपर्दा सांच्चै नै ताईं देखियो । न्वारनसम्म जसोतसो श्रीमति स्याहारे पछि उनी माईत गईन । त्यसपछिमात्र टाउकोबाट पहाड झिके जस्तो महशुस भयो । अब फेरी बाबु नबन्ने भन्ने मनमनै मैले निधो गरें भने श्रीमतिपनि प्रशव पीड़ा सम्झेर अब आमा नबन्ने भन्दै आँखा तर्दै मलाई गाली गर्दै थिईन् ।
तपाईले यस्तो भोगाई भोग्नु भएको छैन भने तपाईं भाग्यमानी हुनुहुंदो रहेछ । यदि भोग्नु भएको रहेछ र बिर्सनु भएको रहेछ भने एक पटक फेरी बावु बनी हेर्नु होला । हुन त तपाईंको श्रीमति मेरो श्रीमति जस्तै नखरा पार्ने छैनन् होला । यदि पार्ने रहिछन् भने मलाई खुसुक्क भन्नु होला है ?
भर्जिनिया
2009-08-29
(स्रोत : Khasskhass.com )