कविता : वागमती लहरले उठेर बर्सिदेऊ

~वैरागी काइँला~Bairagi Kaila

पानी…..पानी…..पानी
वागमती लहरले उठेर बर्सिदेऊ…..
पानी…..पानी…..पानी

जलेको मन झैं
डढेलो सल्केको वन झैं
रुख र पातहरूमा दुर्लभ अभिलेखहरू झैं

सिंगो देश आगाको भेलमा जलिरहेछ जिउँदै।

आगो मनबाट लाग्यो कि तनबाट?
मनमा लाग्यो कि वनमा?
लायौ आफ्नै घरमा आगो आफैंले, उहिले कहिलेे?
मैले लाएँ कि तिमीले लायौ?
सीमा नाघेर कि को आयो तेस्रो व्यक्ति र लगायो आगो?

खप्न सकेनौं एकले अर्काको उपस्थिति,
अस्वीकारको ठक्करले ठक्कर दिँदै ठक्करले ठक्कर
सल्क्यो मन साँघुरो ठोक्किँदै द्वेष र हिंसाको झिल्काले
र समय र जीवनको भूगोल ढाक्यो…
चेतनभित्र, अवचेतनभित्र थाक स्मृतिमा इतिहास
ज्वालामुखीको मुखमा जलेरझैं जलाइयो
इन्द्रचोक, बसन्तपुर र नयाँसडक
संस्कृति
सम्पदा
सभ्यता
शताब्दिऔंअघिको मनुष्यता र
मानव उपलब्धिको लेखाजोखाको ठडिएको अल्गो लिंगो…..।

हाम्रो शब्द र स्वरहरू खोसेर
बिगुलको चर्को धुनमा
अपहरित चेतनाको टाउकामाथि बुटले कुल्चँदै
को आएर हाम्रो बुद्धिमा कवाज खेल्दै छ?

काँधमा बलेको सडक भाँच्दै इँटाका टुक्राहरूले
आँखाहरूमा डढेलो सल्केको सल्केकै छ
विगत र वर्तमान
र अन्धकारको गर्तमा अनागत
रात जलेर देह डढेलो सल्कियो।

पानी…..पानी…..पानी
वागमती लहरले उठेर बर्सिदेऊ…
पानी…..पानी…..पानी

क्षितिजमा सखारैको रातो बलेको सूर्य
तातो उम्लेको भकभकी लप्कोले
पृथ्वीमा क्याम्पफायर र
आकाशमा आगो लगाएर,
फूल र पातहरूको आहुतिमा पड्कँदो पटपटि,
आह… जल्दै गरेका पखेटाले उडेका पन्छीहरू
र तिनको उडान… कतिन्जेल र कहाँसम्म?

पानी…..पानी…..पानी
विष्णुमती लहरले उठेर बर्सिदेऊ…..
पानी…..पानी….पानी

फूल, पात र पुतलीका जलेका लासको खरानी
र मासुको गन्धबाट उम्कन
भागेर देशबाट….
कता हिँडेको यहाँ
कहाँ पुगेर यहाँ–कहाँ आएँ?

सायद, मेरो देश अब अन्त कतै छ!
सायद, मेरो देश अब कुनै देशभित्र कतै छ!
सायद, मेरो देश अब अन्त कतै छैन!

फाँट, मैदान र पहाडको कठिनसँग जुधेर, हारेर, कुदेर
डुब्दै पौडिँदै डुब्दै
कोशी र महाकालीको उर्लँदो रगतको भलबाढी
डुब्दै पौडिँदै डुब्दै
अज्ञात लहरले फ्याँकेको बगरमा हतप्रभ,
डढेलो सल्केको तनमन
कुदेर
सल्केको आगोको जलनबाट मुक्त हुन
सकिनँ
सकेनौं
सकेनन्।

पानी….पानी….पानी
सप्तगण्डकी लहरले उठेर बर्सिदेऊ….
पानी…. पानी….पानी….

लाग्थ्यो मेरो हत्याले तिम्रो आयु थपिनेछ
तर तिमी मसँग नै किन मर्दैछौ?
लाग्थ्यो, बन्दुक बोकेरै म सुरक्षित हुनेछु
तर भयभीत अझ तिमीसँगै बढी किन हुन्छु?

हो, अघि यसरी डढेको थिएन मेरो देश,
शुभ्र र शान्त थियो मेरो देश।
फूल फुल्थे सुगन्धमय
बतास चल्थ्यो शित्तल शित्तल स्वास्थ्यबर्द्धक
पन्छीहरू आकाशमा उड्दथे आकाशमा सीमाहीन
आफ्नै बोली बोलेर
र गीत गाएर आआफ्नै,
नदीमा प्रेम बहन्थ्यो,
वागमतीमा पानी,….
सद्भावको हरियालीले जीवन हरियो… बाँच्दथ्यौं हामीहरू।

पानी…..पानी…..पानी
सप्तकोशी लहरले उठेर बर्सिदेऊ…..
पानी….पानी….पानी

किन खप्न सकेनौं एकले अर्काको उपस्थिति…..
के हामी एकै घरभित्र अँटाउँदैनथ्यौं?
ऊ ऊ नै भएर
तिमी तिमी रहेर
म म नै भएर
आआफ्नै बोली बोलेर….
जसरी भिन्न रंगका फूलहरू भिन्न बासना छरेर
फुल्दछन् फूलबारीमा फूल भएर फुलेर?
र फूलबारी सम्पूर्णले हुन्छ सौन्दर्यमय फूल भएर फुलेर?

पानी…. पानी….पानी…..

(स्रोत : काइँलाको कविताकृति – ‘अन्धा मान्छेहरू र हात्ती’ बाट )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.