अनूदित कथा : प्लेटको टुक्रा

~बेट्टी बी योङ्स~
अनुवाद : अच्युत कोइराला

घरका काम धेरैजसो आमाले गर्नुहुन्थ्यो। कहिलेकाहीँ मैले सघाउन खोज्दा उहाँ चिनियाँ माटोले बनेका हेर्दै रहरलाग्दा भाँडा नै डाइनिङ टेबलमा राख्नू भनेर अह्राउनुहुन्थ्यो। म उहाँले भनेजस्तै ती प्लेटलाई सजाएर राख्थें। हाम्रो घरमा हरेक दिन चिनियाँ माटोले बनेका चिल्ला एवं राम्रा बुट्टा भएका रहरलाग्दा भाँडामा नै खाना खाइन्थ्यो। यसैमा अभ्यस्त मलाई डाइनिङ टेबलमा रहरलाग्दा चिनियाँ भाँडा सजाउनु नयाँ कुरा लाग्दैनथ्यो।

एक साँझ म टेबलमा तिनै रंगीन प्लेट सजाउँदै थिएँ। आमा पकाउन व्यस्त हुनुहुन्थ्यो। यत्तिकैमा छिमेकी काकी आइपुगिन्। सजाइएका प्लेटहरू देखेर काकीले भनिन्-’आज पाहुना आउने दिन हो कि क्या हो ? म कतै गलत समयमा त आइन ?’ ‘के-को गलत समय हुनु नि ! हामीले कसैलाई खाने निम्तो दिएका छैनौं’, खाना पकाउँदै आमाको उत्तर थियो।

‘अनि किन यति राम्रा प्लेट निकालेको त ?’ छिमेकी काकीको जिज्ञासापछिको भनाइ थियो-’म त यस्ता प्लेट वर्षमा एक-दुई दिन मात्र निकाल्छु।’ ‘म त सधैं निकाल्छु’, छोटो उत्तरसँगै मेरी आमाले पुनः थप्नुभयो-’यदि विशेष पाहुना आउँदा मात्र टेबललाई राम्रोसँग सजाउने र राम्रा प्लेटमा खानेकुरा दिने हो भनेे मेरा लागि परिवारका सदस्यहरू विशेष होइनन् र ? मेरा लागि श्रीमान् र छोराछोरी पाहुनाजत्तिकै महत्वपूर्ण छन्। त्यसैले म हरेक दिन राम्रा प्लेटमा खाना पस्किन्छु।’
‘त्यो त ठीक छ, तर यसो गर्दा यी महँगा र राम्रा प्लेट-बटुका फुट्ने डर हुन्छ नि’, छिमेकी काकीले अझैं पनि आमाले भन्न खोजेको कुरोको चुरो बुझ्न सकेकी थिइनन्। आमाले भन्नुभयो-’गाँठी कुरा के भने, यी महँगा भाँडा फुट्नु कुनै ठूलो कुरा होइन। यति महँगो प्लेट फुट्यो भनिएला तर त्यो भन्दा पनि महत्वपूर्ण कुरा डिनर टेबलमा यी सुन्दर भाँडाका साथ हरेक साँझ अविस्मरणीय तरिकाले खाना खानु नै हो।’ त्यसपछि आमाले जे भन्नुभयो, त्यो मेरा लागि निकै कौतूहलको कुरा थियो। उहाँले भन्नुभयो-’जब यी भाँडा फुट्छन्, त्यो फुटाइसँगै यिनले एउटा कथा बोक्छन्।’ आमाले छिमेकी काकीलाई यसरी हेर्नुभयो, मानौं दुई सन्तानकी आमा ती काकीलाई त यी सामान्य कुरा थाहा हुनुपर्ने हो।

आमा प्लेट राखिएको र्‍याकतिर लाग्नुभयो र एउटा प्लेट निकाल्नुभयो। त्यसलाई देखाउँदै उहाँले भन्नुभयो-’यो प्लेटको एउटा टुक्रा छैन नि, होइन ? म १७ वर्षकी हुँदा यो प्लेट फुटेको थियो। अहिलेसम्म मैले यसलाई राखेकी छु। किन थाहा छ ? किनभने, यो प्लेटले मेरो जीवनमा महत्वपूर्ण मोड ल्याइदियो। यो त्यतिबेलाको कुरा हो, जब हाम्रो घरमा मेरा दाइहरूका एक साथी आइपुगेका थिए। हाम्रो घरमा केही काम थियो र उनी हामीलाई सघाउन आएका थिए। ती युवक हेर्दै राम्रा र आकर्षक थिए। त्यो दिन मैले लुकीछिपी उनलाई मात्र हेरिरहें।’ त्यसपछि आमाले चोइटो उछिट्टएिको त्यो प्लेटलाई विस्तारै सुम्सुम्याउनुभयो।

‘दाइहरूले ती साथीलाई खाना खाएर जान अनुरोध गर्नुभयो। खाना खाने बेलामा ठूल्दाइले मलाई ती युवकसँगै बसाउनुभयो। तिमीहरू त्यो बेला मलाई कति लाज लाग्यो होला भन्ने कल्पना पनि गर्न सक्दैनौ। मेरो मुटु मुखबाट फुत्त निस्केलाझैँ भएको थियो। घरिघरि म छड्के आँखाले उनको गतिविधि नियाल्थें। उनी मलाई नै हेरिरहेका हुन्थे, मानौं उनी मलाई अहिल्यै चपाएर निल्न चाहन्छन्। यस्तो अवस्थामा मेरो बोली पूरै बन्द भएको थियो। म एकटकले टेबलमा आँखा गाडिरहेकी थिएँ।’
आफ्नो प्रेमकथा छिमेकी र छोरीलाई पो सुनाइरहेकी छु भन्ने महसुस गरेर होला, उहाँले तुरुन्त कथालाई टुङ्ग्याउने विचार गर्नुभयो। उहाँले थप्नुभयो-’ती युवकले मलाई एउटा प्लेट थमाउँदै खाना दिन आग्रह गरे। मैले आफ्नो अगाडि अचानक आएको प्लेटलाई लिने कि नलिने भन्ने दोधारमा हात थापें। डर, लाज र अनेक आशङ्काले म पसिना-पसिना भएकी थिएँ। मेरो हात पनि पसिनाले निथु्रक्क भएको थियो। त्यसै त मेरो हातमा बढी पसिना आउने, त्यसमाथि यस्तो अवस्था ! ती युवकले त्यो प्लेट छोडे र मैले थापें। पसिनाका कारण प्लेट चिप्लियो अनि टेबलमा भएको एउटा भाँडोसँग ठक्कर खाँदै टेबलमाथि बजि्रयो। धन्न केही भएन, मात्र एउटा चोइटो उछिट्टयिो !

छिमेकी काकीलाई यो कथाले पटक्कै छोएन। उनले भनिन्-’हेर्नुहोस् दिदी, कहिलेकाहीँ यस्तो हुन्छ। यस्ता कुरालाई सधैं मनमा राख्नुहुँदैन। म त यस्ता कुरालाई तुरुन्तै बिर्सिदिनुपर्छ भन्छु।’

आमाले भन्नुभयो-’उक्त घटनाको एक वर्षपछि मैले विवाह गरें। जसबाट म एकदिनमै त्यति धेरै प्रभावित भएकी थिएँ, उनैसँग मेरो लगन जुरेको थियो। अझै पनि जब म यो प्लेट देख्छु, त्यो दिनको झल्झली सम्झना आउँछ।’ आमाले मलाई त्यो प्लेट अघि निकालेकै ठाउँमा राख्न लगाउनुभयो। मैले यो कथा पहिलो पटक सुनेकी थिएँ। म वाल्ल परेर उहाँलाई हेरिरहेकी थिएँ। उहाँले मलाई हेर्दै आँखा झिम्क्याउनुभयो।

छिमेकी काकीको अनुहार पढ्न खप्पिस मेरी आमालाई थाहा थियो, काकीले यो कथाको अर्थ बुझिनन्। त्यसैले उहाँले अर्को प्लेट पनि झिक्नुभयो। त्यो प्लेट देख्दा गरिबले लगाउने ठाउँ-ठाउँमा टालेकोे लुगाको सम्झना आउँथ्यो। धेरै टुक्रा जोडिएको प्लेट देखाउँदै आमाले भन्नुभयो-’यो प्लेट ठूली छोरीले फुटाई। बिचरा, उसले जानेर पनि होइन। तीन छोरीपछि पहिलो पटक छोरा जन्मिएको थियो र म अस्पतालबाट पहिलो पटक घर आउँदै थिएँ। त्यो दिन निकै जाडो थियो। मलाई सहयोग गर्न ६ वषर्ीया ठूली छोरी आइपुगेकी थिई। प्लेटलाई मैले अह्राए जसरी राख्ने प्रयास गर्दा झर्‍यो। यो प्लेटका अनेक टुक्रा भए। यति महँगो प्लेट फुट्दा मलाई दुःख त लाग्यो, तर छोरालाई लिएर घर आएको खुसीमा मैले जाबो प्लेट फुट्यो भनेर चिन्तित हुनुको कुनै तुक देखिन। अनि, पछि जब फुटेको प्लेटलाई हामी सबै परिवार मिलेर जोड्यौँ- मैले त्यो दिनको रमाइलो मैले अझसम्म भुलेकी छैन।’

अब मलाई विश्वास भयो। मेरी आमा प्लेट र बटुकाका कुरा गरेर अरूलाई दिनभर रिँगाउन सक्नुहुन्छ। उहाँ यस्ता अरू दर्जनौं कथा सुनाउन सक्नुहुन्छ। ती कथा झेल्न नसकेर काकी टाप कसिन्। कयौँ दिन बिते। मैले आमाको घटना सुनाउने शैलीका कारण ती फुटेका प्लेटहरूको कुरा बिर्सन सकिनँ। खासगरी त्यो प्लेटका बारेमा, जसबाट मेरा बाबा र आमाको प्रेमकथा सुरु भएको थियो।

एकदिन आमा किनमेलका लागि बजार जानुभयो। यस्तो बेलामा स्वाभाविक ढङ्गले भाइबहिनीहरूको रेखदेखको जिम्मा मैले नै लिनुपर्छ तर यतिबेला जिम्मेवारीको कामभन्दा पनि आफ्नो रुचिको काम गरिन्छ। सोहीअनुसार म पनि पहिलो दस मिनेट आमा-बाबाको कोठामा गएँ। हामीलाई उक्त कोठामा पस्न निषेध थियो। यसअघि पनि म आमा-बाबाको कोठामा सुटुक्क छिरेकी थिएँ। मलाई त्यहाँ के-के सामान राखिएका छन्, एक-एक थाहा थियो। म उहाँहरूको ओछ्यानमा उक्लिएँ र ओछ्यान नजिकको दराजमाथि रहेको एउटा सानो बाकस झिकें। बाकसमा केही गहना थिए। ती गहना मलाई साह्रै मन पर्थे। त्यसैले आमा नभएको बेला म ती गहना लगाउँथें। यसपटक पनि मैले त्यो काम दोहोर्‍याएँ। त्यहाँ हिसिला आन्टीले दिनुभएको रातो माणिकको औँठी थियो। मोतीका कोमल झुम्काहरू थिए। यी झुम्का मेरा मावली हजुरबाले हजुरआमाका लागि भनेर किनिदिनुभएको थियो। अहिले ती झुम्का आमासँग थिए अनि अर्को एउटा औंठी पनि थियो। एउटा औंठी आमाको विवाहको थियो।
मैले सबै गहना लगाएर आफू कस्ती देखिन्छु भनेर हेरें। मलाई आमाजस्तै राम्री देखिन रमाइलो लाग्थ्यो। मलाई चाँडै हुर्किन मन लाग्थ्यो। किनभने हुर्किएकाहरूको एउटा बेग्लै दराज हुन्थ्यो। त्यो दराज कसैलाई पनि छुन दिन्न भनेर ध्वाँस देखाउन पाइन्थ्यो तर यो कुराले मलाई दस मिनेटमै वाक्क लगायो। त्यसमा भएको एउटा चिनियाँ माटोको प्लेटको टुक्राले मेरो ध्यान तान्यो। यो त्यही टुक्रा थियो, जसलाई मैले कयौं पटक देखेकी थिएँ तर कहिल्यै ध्यान दिएकी थिइन। आज अकस्मात् उक्त टुक्रा देख्दा मलाई आमाले भन्नुभएको कुरा सम्झना भयो। मैले त्यो बाकसबाट प्लेटको टुक्रा निकालें र दौडिँदै भान्सा पुगें। भान्सामा राखिएको त्यही फुटेको प्लेटसँग यसलाई जोडेँ। आमाले भन्नुभएको सही रहेछ। यो त्यही प्लेटको टुक्रा थियो, जुन प्लेट समात्न खोज्दा आमाले खसाल्नुभएको थियो र त्यसपछि उहाँहरूको प्रेम झाँगिएको थियो। कुरा बुझेपछि मलाई मेरी आमाप्रति अझ श्रद्धा जाग्यो। मैले त्यो अमूल्य टुक्रालाई जतनका साथ जसरी राखिएको थियो, त्यसैगरी बाकसमा हालें। मलाई थाहा भयो, आमाको चिनियाँ माटोका भाँडाप्रतिको मोह। आमाले सबै फुटेका सम्झनायोग्य प्लेटहरू सम्हालेर राख्नुभएको छ, तर बाबासँगको पहिलो भेटको त्यो टुक्रा मुटुमै सँगालेर राखेको मैले पाएँ-गहनाहरूको बीचमा ! सायद उहाँका लागि अरू गहनाभन्दा यही नै मूल्यवान् चीज थियो। अहिले पनि म उहाँहरूबीच अझै उत्तिकै गहिरो प्रेम देख्छु।

केही समयअघि हामी सबै जना भेला भएका बेला आमाले आफ्नो मृत्युपछि क-कसलाई कुन-कुन गहना दिनुहुन्छ भन्ने प्रसङ्ग उठ्यो। यद्यपि यो ठट्टामा उठेको कुरा थियो। मेरी ठूली बहिनीले रातो माणिकको औंठी आफूले मन पराएको बताई। कान्छी बहिनीले हजुरआमाले दिएको मोतीको झुम्कामा आफ्नो अधिकार हुने बताई। मैले केवल हाँसेर टारिदिएँ। त्यतिबेला मैले आफ्नो चाहनाको कुरा गरेको भए सबै जना हाँस्ने थिए। मलाई त त्यही प्लेटको टुक्रा चाहिन्छ। यसको मूल्य कि त मेरी आमालाई थाहा छ कि मलाई ! मेरा लागि त्यो प्लेटको टुक्रा एउटी साधारण महिलाको असाधारण प्रेमकथा हो। एउटा असाधारण प्रेमकथाको मूल्य कसैले तोक्न सक्ला त ?

बेट्टी बी योङ्स

(“जिन्दगी तपाईंको, जित पनि तपाईंकै” पुस्तकको एउटा अंश)

(स्रोत : नारी पत्रिका अंक: जेष्ठ, २०७१)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.