कथा : एउटा मौन समय

~दीपक सापकोटा~

म ब्यूँझिए । बिहान भइसकेको आभाष त अघि नै भएको हो । आँखा नउघारी धेरैपटक हाई काढ्ने मेरो बानी छ । आङ यताउति मर्काएँ र पिसाब फेर्न जान खुट्टाले चप्पल खोज्न थालेँ ।

म बसेको पालछेउ लेकको ओसिलो जङ्गलमा हिउँ परेको पर्‍यै थियो । दुईटा स्लिपिङ व्यागले पनि जाडो छेकेको होइन । हिजो राति परेको हिउँ अलि बाक्लै जमेको थियो । अलि तल जुनारको रुख भएको घमाइलो लेकमा भने रातिको बाक्लो हिउँ पग्लिसक्न लागेको थियो ।

हिमाल छेडेर बिस्तारै सूर्य उदाउँदा मेरा आँखा तिरमिराए । घामको मधुरो सुन्तला रङले म पनि रङ्गिए कि ? पहाड घुम्न निस्केका बेला प्रेमिकाको खुब याद आउँछ । डायरी खोलेर केही लेख्न बस्छु । त्यसबेला मैले लेखेको थिएँ-म प्रेममा परेको छु । एकाबिहानै मलाई चियाउने त्यो कलेजी सूर्य मेरो प्रेमको साक्षी हो । कतै म कविजस्तै विम्बहरूमा त बोलिरहेको छैन ? कतै पागलजस्तो अभिनय गरिरहेको वा बढी नै स्वच्छन्द बनिरहेको त छैन ?

त्यसो त एक महिनाअघि राति बास बसेको घरकी केटी साह्रै स्वभावकी थिई । सहरकी मेरी प्रेमिकालाई त्यसले बिर्साइदिएकी थिई । उसैले पकाएको भात खाइवरी दङ्ग परेको थिएँ । मोबाइलमा सेभ गरेको मेरी प्रेमिकाको फोटो हेर्दै बिस्तरा मिलाउँदा उसले भनेकी थिई-‘सर कति राम्री रहिछन् । तपाईंकी श्रीमती हो ?’ म अक्मकिएको थिएँ र केही पनि बोलेको थिइनँ । उसकी आमा चाहिँ लालटिनको मधुरो उज्यालोमा सिलाम केलाइरहेकी थिई । सानो भाइ ठूलो स्वरमा रोइरहेको थियो । त्यो केटीप्रति म यति आकषिर्त भएँ कि मेरी प्रेमिकालाई केही छिनका लागि बिर्सिसकेको थिएँ ।

म अबेरसम्म निदाउन सकिनँ । स्लिपिङ ब्यागभित्र चटपटाइरहेँ । त्यस केटीकी आमाले अघि भनेकी थिई, ‘अब सबै घरबाट एक-एक जना माओवादीमा जानुपर्ने रे । नत्र खोसेर लैजान्छन् रे । बेसी खेतमा धान रोप्दा चाउरेले सुनाएको ।’ गाउँभरिबाट २४/२५ जना तन्नेरी टिपिसकेका थिए तिनले । नमान्नेको घरमा राति आएर जर्बजस्ती लैजान्थे रे । मैले गाउँलेको आँखामा त्रास देखेको थिएँ । त्यस घरकी केटीको आँखामा झनै ठूलो डरको रङ मडारिइरहेको देखेँ । जसलाई पठाए पनि तीन दिनको म्याद दिएका थिए माओवादीले ।

बाबुआमा बूढा थिए । छोरा सानो कखरा सिक्ने उमेरको । मैले अन्दाज गरेँ, ‘माओवादीले यही केटीलाई लान्छन्, तानेर ।’ अघि भात खाने बेला केटीकी आमाले भनेको सुनेँ, ‘रमा अब के गर्ने

त ? हामी बूढाबूढी माओवादीसँग वन जान सक्दैनौँ । भाइ सानै छ । तँ के गर्छेस् त ? नगए मार्लान् फेरि ।’ ऊ आफ्नी कलकलाउँदी छोरीलाई ‘जनयुद्ध’मा सरिक गराउन चाहन्छे । मनमनै लाग्यो, ‘कति निर्दयी आमा रहिछे ।’ त्यसबेला रमा सुक्कँ-सुक्कँ रोएको मैले सुनेँ । उसका आँसु आँखा हुँदै थालमा पुगेर अडिएका थिए । एक मन त लाग्यो, ‘यसलाई आजै टिपेर सहर भागुँ । यति राम्री कलकलाउँदी केटी माओवादीसँग गएर कलिला हातले कसरी बन्दुक

समाउली ?’

त्यस रात छट्पटीमै बित्यो । स्लिपिङ ब्यागभित्र कोल्टे फेरिरहेँ । बिहानको कलिलो घाम स्लिपिङ व्यागभित्र पस्न खोज्दै थियो । रमा आइ र भनी-‘सर चिया लिनुस् ।’ उसलाई आँट गरेर बिस्तारै सोधेँ-‘तिमी जान्छ्यौ त माओवादीमा ?’ ‘जान मन छैन’, दबिएको स्वरमा उसले भनी, ‘तर, म गइनँ भने बूढा बुबालाई लैजान्छन् सैतानले ।’ उसको अनुहार फुङ्ग उडेको थियो । कुनै खाले चमक देखिनँ । बिस्तारै थाहा भयो, उसको बिहे भइसकेको रहेछ र श्रीमान् माओवादीको गोलीको निसाना भएको रहेछ । म छाँगाबाट खसेजस्तो भएँ । मन अमिलो भएर आयो । मेरो अघि सुन्दरी बिधवा उभिएकी छे मदमत्त बैंस लिएर । उसको श्रीमान् सेनाको जागिरे रहेछ र पाण्डुसेन बाजुरामा माओवादीसँगको भिडन्तमा मारिएछ । कल्कलाउँदो बैंस भएकी विधवा । बिहे भएको वर्ष दिनमै सिन्दुर पखालिएछ विचरीको । तर मलाई के भइरहेछ ? म यो केटीप्रति अलिकति पनि संवेदित भएको छैन । उसको रूपले तानिरहेछ । यो सबै घटना सुनेपछि त्यो केटीप्रतिको मेरो हिजो साँझ पलाएको प्रेम त्यसै हराएर गयो । मैले प्रेम गरेको रहेनछु । मात्र आकषिर्त भएछु, उसको बैंससँग ।

केही छिनमै बुट बजार्दै एक जना केटो आइपुग्यो । अनुहार कलिलै थियो । जुँगाका रेखी बस्न सुरु गर्दै थिए । मेरोबारे सामान्य सोधपुछपछि उसले रमाको बुबालाई सम्झाउन थाल्यो । ‘हामीले रमालाई मात्र लैजाने होइन, गाउँलेका हजारौंैं छोराछोरी उसकै साथ हुनेछन्,’ त्यो केटोले सम्झाएको थियो ।

‘म त एक्लै हुन्छु, ज्वाइँ मरेपछि ऊ यता आएर हाम्रो सहारा भएकी छे’, उनले भने, ‘मलाई चिन्ता छ छोरीको ।’

‘पीर नगर्नुस् बा,’ ऊ चर्किंदै भन्दै थियो, ‘ऊ लाखौँ जनताका लागि क्रान्तिमा उभिन्छे ।’ लाग्थ्यो, केटो भर्खरै कुनै ठूलो भनाउदो नेताको प्रशिक्षणबाट सीधै यता आएको थियो ।

म रमालाई हेर्छु । सपँ्रदै गरेका अवयवहरू । बिचरी अभागी रहिछे, सानैमा बिहे गरिदिएछन् । हुर्कंदै गरेकी तुलसीको बोटझैँ छे । उज्यालो अनुहार । केटो अझै सम्झाउँदै थियो, ‘जङ्गलमा ऊ एक्लै हुँदिन । गाउँका अरू पनि हुने छन् उसको साथमा ।’

‘तपाइर्ंहरूले यी नानीहरूलाई बन्दुक चलाउन सिकाएर के गर्न्ा खोजेको ?’ बूढाले लामो सुस्केरा हाले ।

‘यो सबै क्रान्ति तपाइर्ंहरूकै निम्ति हो बा’, उसले भनेको थियो, ‘तपाईंहरूसँग के छ ? न चैन, न सुख, सडक, न बिजुली न स्वास्थ्य सेवा । धनीमानी पेट दुखे पनि उपचार गराउन पिलेन चढेर विदेश पुग्छन् । हामी भने ठूलै रोग लागे पनि यही भीरपाखामै मर्नुपर्छ । हामी सबैको मुक्तिका लागि लागेका छौँ । हामी त यही कालो पहाडमा सधैं जिन्दगी घिसार्न अभिशप्त छौँ बा ।’

भोलि साँझतिर रमालाई लिन आउने र त्यसका लागि तयार भएर बस्नु भन्दै केटो उकालो लाग्यो । रमा ढोकाको आडै लागेर मलिन अनुहारमा भन्दै थिई, ‘म नगए तपाईंहरूलाई मार्छन् बा ।’

दुःखी बाबुछोरीको यो संवाद नसकिँदै म घरबाट निस्किनँ तयार भइसकेको थिएँ । मैले रमाको हात समाउँदै भने, ‘पीर नगर सबै ठीक हुन्छ ।’

त्यसदिन यता म रमाको घर गएको छैन । अहिले रमा के गर्दै होली ? वा हातमा बन्दुक लिएर कसैलाई मार्न उद्यत पो छे कि ?

म जुनार फुलेको फाँटमा आइपुगेको छु । तल बाटोतिर र्झदर्ै गरेको १०/११ वर्षको उज्यालो अनुहार भएको केटोले डोकोको भारी बिसाएर सोेध्यो, ‘जुनार खाने हो सर ?’ २० वटा जुनारको ६० रुपियाँ बतायो । ‘चालीसमा दिन्छौ’ भन्दा अनुहार बिर्गादै भन्यो, ‘हुन्न सर । यो जुनार बेचेर स्कुलको किताब किन्नु छ, फेरि किताब पनि त महँगो छ ।’

केटोको योजना सुनेर उसको उज्यालो अनुहार हेर्दै ७० रुपियाँ दिएर उकालो लागेँ ।

त्यसको तीन दिनपछि एउटा दोबाटोमा म अल्भिmएँ । माथि डाँडातिर हेर्दै उभिइरहेका बेला एक जना केटो आइपुग्यो जसले मलाई ‘उल्टो बाटो गइरहेको’ सुझायो । मीठो बोली र उज्यालो अनुहार भएको केटो त्यही रहेछ जसले केही दिनअघि मलाई जुनार बेचेको थियो । मैले हत्तपत्त उसलाई सोधेँ, ‘किताब किन्यौ त ?’ ‘कहाँ किन्नु ? पैसा पुगेन । वनबाट दाउरा काटेर घर ल्याएको छु, तल बजार लगेर बेच्छु, अनि पक्का किताब किन्छु सर ।’ हिजो साँझ दाउरा बेच्न सहर पुगेको केटो आज बिहान घर फिरेको रहेछ । अनि भात खायौँ त ? उसले हिजो राति पनि नखाएको बताउँदै भन्यो, ‘छैन सर, भात खान घरै पुग्छु ।’ अनि खुरुरु तलतिर दौडियो । उसको घर पुग्न त्यहाँबाट एक घण्टाभन्दा बेसी लाग्थ्यो ।

बाटैमा पर्ने त्यही केटोको घरको आँगनमा एउटा लाश थियो र वरिपरि गाउँलेहरू । त्यही केटो पनि लाशमा घोप्टो परेर डाँको झिक्दै थियो । डाँको छोडर रुँदै गरेकी सायद केटोकी दिदी थिई । पछि थाहा लाग्यो, त्यो लाश उसकै बाबु भक्तबहादुरको रहेछ । भक्तबहादुरकी जहान दुर्गाको डाँको सबैभन्दा ठूलो थियो । वरपर जम्मा भएका छिमेकीहरूका आँखामा पनि आँसु बगिरहेको प्रस्टै देखिन्थ्यो ।

बिहान म ब्यूँझदा सुनिएको ठूलो आवाज बन्दुकबाट निस्किएको गोलीको रहेछ, जुन गोली भक्तबहादुरको छातीमै लागेको रहेछ । गाउँलेहरूले १० मिनेट माथिको उनको घर पुर्‍याएका रहेछन् ।

त्यस बिहान के भएको रहेछ भने, सधैँझैँ भक्तबहादुर घाँस-दाउरा गर्न जङ्गल हिँडेका रहेछन् । गाउँमा गस्ती गर्दै गरेको सेनाले केहीबेर सोधपुछ गरेपछि माओवादी भन्ने ठहर्‍याएर ठाउँको-ठाउँ गोली ठोकेका रहेछन् ।

काठमाडौँ हिँड्दै गरेको म त्यो घटनामा अल्झेर बस्ने मनस्थितिमा थिइनँ, हिँडिहालेँ ।

काठमाडौँ पनि कहाँ शान्त थियो र ? काठमाडौँको अन्धकारमा राति पड्केका गोलीका चर्का आवाजले मान्छेको निद्रा बिथोलिदिन्थ्यो । चिसो र कुहिरोले डम्म ढाकेको जस्तो भएको थियो । युद्धका विषेश खबरहरू सुनाइरहन्थे रेडियो । लाग्थ्यो, संसारकै विषेश समाचार भइरहेको थियो नेपाल । टेलिफोन खुब बज्थ्यो । उठाएर साध्य थिएन । भिडन्त भएको र प्रहरी मरेका रक्तमुच्छेल फोटोहरूले पत्रपत्रिका भरिएको हुन्थ्यो । म फेरि आफ्नै काममा लागेँ । एउटा राष्ट्रिय सञ्चार माध्यममा रिर्पोटिङ गर्थेँ म ।

रात सडकमा कफ्र्यु लाग्थ्यो । सबैको आँखामा आपत्तिको रन्को भरिएको थियो । सडकमा दिनहुँजसो हुने विरोधका जुलुसहरूले कोही न कोही घाइते जन्माइरहेको हुन्थ्यो ।

समय बित्दै गयो । एक दिन बिहानै सम्पादकले फोन गरेर भने, ‘तपाईं फेरि गाउँ गएर त्यहाँको स्थलगत रिर्पोटिङ गर्नुपर्‍यो ।’ खासमा पहिले रिर्पोटिङ गरिएका पात्रहरूकै जीवनको फ्लोअप गर्न उनी अह्राइरहेका थिए । त्यसै दिन साँझको बस समातेर म खोटाङ जान हिँडे । एक वर्षअघि खोटाङबाट काठमाडौँ पसेको म फेरि खोटाङ जाँदै थिएँ ।

खोटाङ ओर्लिएपछि बम र गोलीको एक खालको नमीठो गन्धले नाक पोलिरहृयो । अघिल्लो दिन राति बजारमा भिडन्त भएको रहेछ माओवादी र प्रहरीको । त्यो युद्धमा तीन सेना मारिएका रहेछन् । माओवादीले सदरमुकामको प्रहरी चौकीमा आक्रमण सुरु गरेपछि दोहोरो भिडन्त भएको रहेछ । त्यसको रिर्पोटिङपछि म गाउँतिर उक्लिने मुडमा थिएँ । बजारको एउटा होटलमा चिया खाँदै गर्दा एउटा केटोले नजिकै आएर सोध्यो, ‘सर सञ्चै हुनुहुन्छ ?’ मेरा नजरले उसलाई धेरैबेर गौढ गरेर हेरेपछि मात्र चिन्न सक्यो । त्यो केटो त्यही रहेछ, जसले एक वर्षअघि म खोटाङको गाउँमा घुमन्ते भएर डुल्दै गर्दा जुनार बेचेको थियो । र, उसको किताब किन्ने योजना मैले सुनेको थिएँ । त्यसको केही दिनपछि उसको बाबुलाई माओवादीले सुराकीको आरोपमा छातीमा गोली हानेर मारेको थियो । म काठमाडौँ हिँड्नेबेला बाबुको लाशमाथि घोप्टो परेर ऊ रोएको गाढा सम्झना मेरो मस्तिष्कमा ताजै भएर बसेको छ । त्यस घटनापछि म निकै दिन विक्षिप्त भएको थिएँ । म सहर पुगेपछि पनि यो उदास केटोको अनुहार निकै दिनसम्म आउँदै-जाँदै गरेको मलाई सम्झना छ । मैले हत्तपत्त नाम सोधेँ, ‘रामलाल सर’, उसले भनेको थियो । त्यो उज्यालो अनुहार मात्र मेरो दिमागमा आइरहेको छ । अहिले म उसको मलिन अनुहार नियालिरहेको छु । जहाँ अनेक दुःख, शोक र पीडाका धर्सा मडारिइरहेको अनुभव गर्न सक्छु ।

गाउँमा बुबा मरेपछि केटोको पढाइ छुटेछ र ऊ सदरमुकामको एउटा होटलमा भाँडा माझ्न आइपुगेछ । परिवारको एउटा सदस्यको मृत्युले कति छिन्नभिन्न हुँदोरहेछ परिवार ? यो द्वन्द्वले कहिल्यै ननिभ्ने घाउ दियो । एउटा डँढेलो सल्काएर गयो । उसलाई अरू केही पनि सोधिनँ । गाउँ जान उकालो लागेँ ।

लौ अचम्म हिजो राति पनि गाउँमा हिउँ परेछ । पहाडी बाटो छिचोल्दै गर्दा हिजो परेको हिउँ अलि बाक्लै जमेको थियो । भक्तबहादुरकी स्वास्नी दुर्गा घर्तीको घर मैले हेरिरहेको दुईतिरको हिउँको बीचमा थियो । बाटोको देब्रे किनारमा । रातोमाटोले लिपिएको घरका भित्ता चर्किएका थिए । अघिल्लो दिन परेको जमेको पानी छानाबाट बग्दै आएर गाह्रोमा धर्सो परिरहेको देखियो ।

एउटा मुर्दाशान्ति व्याप्त थियो घरवरिपरि । झ्यालढोकामा पुरानो मक्किँदै गरेको चाइनिज ताला झुण्ड्याइएको थियो । घरमा कोही पनि थिएन । मलाई दुर्गाको विषयमा फिचरिङ गर्नु थियो । जसले द्वन्द्वमा आफ्नो श्रीमान् गुमाएकी थिइन् ।

एकजना बूढो चुरोटको धूँवा उडाउँदै थिए । केही ठिटा ती बूढासँग गफ चुट्दै थिए । दुर्गालाई कतै पनि नदेखिएपछि उनीहरूलाई सोधेँ, ‘दुर्गा खोइ ?’ जवाफ दिन सबै तम्सिए-

-श्रीमान् बितेपछि अलि फरकजस्ती भएकी थिई । एकोहोरो हुन्थी । अनेक तकर्नामा हराइरहन्थी । उसको केही पनि कामको ठेगान थिएन ।

-बिचरी एक्ली छे । उसको छोरा बजारको होटलमा भाँडा माझ्छ । त्यतै गएकी होली ।

-घरमा कोही नभएपछि हामी नै हौँ उसलाई सहयोग गर्ने । हामीसँग पनि झगडा गरेर हैरान गर्थी । बजारतिर माग्दै होली ।

दुर्गाकी जेठी छोरी शारदाले पल्लो गाउँको एउटा माओवादी नेता छानेर बिहे गरिछे । बूढा यसो भन्दै थिए, ‘भएकी एउटी छोरी पनि पोइल गई, दुर्गा एक्लै भएकी छे ।’ राति रक्सी खाएर खुब चुट्छ अरे शारदालाई । ‘मेला गएर साँझ घर पस्दा कोसँग सुतेर आइस् भन्दै सधैं नितीखोजी गर्छ अरे, दुःख पाई विचरीले,’ बूढा भन्दै थिए, ‘लोग्ने सेनालाई झैं मारिदिन्छु भन्दै बर्बराउँछ रे बेलाबेला ।’

सुरु-सुरुमा त पोइल हिँडेकी छोरी पनि आमालाई फरिया, पटुका, पछ्यौरा ल्याइदिन्थी । आमालाई निकै माया गर्छे जस्ती थिई ।

अब त आउनै छोडी । बिचरी आमा दुर्गाको जीवनले कत्ति कष्ट भोगेछ ? धेरैपटक ऊ भोकै सुतेकी गाउँलेले थाहा पाएका रहेछन् । दुर्गा रातोदिन लोग्नेलाई सम्भिmइरहन्थिन् । ‘यो मन कठै कहाँ हो कहाँ ? मलाई मारेर त्यहाँ पुर्‍याइदिने को होला ?’ गाउँलेहरूसँग उनी विलौना गर्थिन् । मनमा एउटा छिन्नभिन्न परिवारको विम्ब नाचिरहृयो । सोचेँ-परिवारको शक्ति पनि द्वन्द्वले गुम्ने रहेछ । दुई दिन गाउँमै बसेँ । गाउँमा घाउ उस्तै छ तर युद्धले यता न उता भएको परिवार यही दुर्गाको हो । विचरी दुर्गाले लोग्ने बाँचुञ्जेल पनि सुख पाइनँ, मरेपछि त झनै सुख भएन ।

पल्लो गाउँकी रमा के गर्दै होली ? माओवादीले जङ्गल लैजान मरिहत्ते गरेकी रमा कुन हालमा होली ? एक वर्षअघि घरमा जाँदा आँगनमा लुटुपुटु गर्दै कुचो लगाउँदै गरेकी रमा अहिले पनि त्यस्तै भेटिएली ? मेरी प्रेमिकालाई बिर्साउने रमाको मलिन अनुहारमा चमक फर्कियो होला ? यस्तै सोच्दै गाउँको चिया होटलमा चिया घुट्क्याइरहेँ । बल्लतल्ल साँझ पर्नै लाग्दा रमाको आँगन टेकियो । कुहिरो लागेकै थियो । बाटो हिलो र गज्याङगुजुङ । भर्खरै हिलो पखालेर लिपिएको आँगन सफा थियो । आँगनमै साग पखालिरहेकी थिइन् रमाकी आमा । सानो छोरा कराउँदै कापीमा केही लेख्दै थियो । मलाई देखेपछि झ्याम्मिदैँ मतिर आयो । आमा चाहिँले बस्नलाई चकटी राखिदिई । ‘रमा खोई त ?’, अरू हालखबर सोधेपछि रमाको बारेमा सोधेँ । निकैबेर सन्नाटा छायो । उसका आँखामा आँसु टम्म भरिएजस्तो लाग्दै थियो । चाहेर पनि शब्द निस्किन सकिरहेको थिएन । बिस्तारै बोली, ‘रमा त मरी अरे । जान्न भन्दै थिई, माओवादीले लिएर गएका थिए । बीचमा एकचोटि साह्रै थाकेर घर आएकी थिई । मैले हतियार चलाउन जानेकी छैन आमा भन्थी । खुब दुःख हुन्छ आमा भन्दै थिई । घरबाट गएको एक महिनापछि खबर आयो-राति सुतेकै ठाउँमा सेनाले गस्तीका बेला गोली चलाएछ । सात जनाको हूलमा ऊ पनि मरिछे । हामीले त लाश पनि पाएका होइनौँ ।’ यति भनिसक्दा उसका आँसु गाला हुँदै भुँइमा तप्प झरिसकेका थिए ।

म हिँड्न भनेर झटपट उठेँ । रमाले करेसाबारीमा रोपेका आरुका बोटमा फूल फुल्ने बेला भएको थियो । सायद अबका केही दिनमा त्यसमा फूल फुल्नेछन् र आरुको बास्ना घर तलैसम्म फैलिनेछ तर यता उसकी आमाको हाल ठीक छैन । मलाई लाग्यो-मान्छेको शक्ति भनेको उसको परिवार हो । जब त्यो नै रहँदैन, ऊ एक्लो र निरस हुन्छ ।

अगाडि रात ठिङ्ग उभिएको थियो । झमक्कै रात परिसक्दा म जङ्गलबीचमै थिएँ । हावाको सुसेली दिने आरुको फूलको रङ अहिले अँध्यारोले छोपिदै गइरहेको थियो ।

(स्रोत : मधुपर्क बैशाख, २०६८ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.