~गोविन्द नेपाल~
आँखैमा राखी हेर्दा नजर हो जिन्दगी
सजाए ओठभरि अधर हो जिन्दगी
गुम्सिई कति बस्नु आफैंमा खुम्चिएर
फैलिए सागर झै लहर हो जिन्दगी
उमंग उत्साहले जीवन यो ज्यूनु पर्छ
नभए दुःख अनि कहर हो जिन्दगी
सबैले भन्ने गर्छन् अमृत हो जान्नेलाई
पिउन नजान्नेलाई जहर हो जिन्दगी
सम्झिए हरियाली वासन्ती छ मोहनी
हारेमा आफैसँग बगर हो जिन्दगी ।
