~मिलन बगाले~
“के के न गरुला सोचेर पत्रकारिता थालेको थिए समोसा खाएरै जुनी बित्नेभो । रिपोर्टिङको क्रममा मैले दिनको ७ वटासम्म समोसा खाएको छु । समोसा खादै ‘भन्नुभयो’ ‘थप्नुभयो’ ‘जोड दिनुभयो’ ‘उल्लेख गर्नुभयो’ ‘जिकीर गर्नुभयो’ ‘प्रकाश पार्नुभयो’ ‘आग्रह गर्नुभयो’ ‘चेतावनी दिनुभयॊ’ जस्ता दुई पैसे कुरा कापीमा टिपेर मेरो उर्जाशील समय बर्बाद गएको छ । “
सबै पाना रंगीन भएको ठूलो साईजको अखबारमा काम गर्ने एक उर्जाशील पत्रकार मित्रले एक बिहान कफी खादै पोखेको पीडा हो यो । आफूले गरिरहेको पत्रकारितालाई उनले ‘समोसा पत्रकारिता’ को उपमा दिएका छन् । दिनदिनै सभा समारोह गोष्ठी पत्रकार सम्मेलन दलका कार्यालय र पुतलीसडकतिरका क्लबमा गएर अखबारवालाले ‘महावाणी’ बटुल्ने जिम्मा दिएको र सो सामान बटुल्न जादा घरबेटीले जतापनि समोसै खुवाएको दिक्कलाग्दो कथा सुनाउदै थिए उनी । पछिपछि समोसाको पोको आफूले नखाएर झोलामा हाल्ने गरेको र साझ आफू भाडामा बस्ने फ्ल्याटका भाईबहिनीहरुलाई बाड्ने गरेको उनले बताए । ‘मालिकले चाकरी पत्रकारिता गर्नाले हामी समोसा पत्रकार बन्यौ । कस्तो जुनी भो गाठे’ थक्थकाउदै बोलेको उनको थरथर आवाज अहिले पनि मेरो कानमा गुन्जिईरहेछ ।
खोजेर नलेख । टिपेर लेख । सक्छस भने अझ फूलबुट्टा भरेर लेख । यही समाचारको टुक्रो देखाएर बिज्ञापनको लागि हात पसा्रनु छ । खोजेर लेख्दा पैसो खर्च हुन्छ रे । अझ लहरो तान्दा पहरो खस्छ रे । अनि सुकेन पैसोको मुल ब्यापारिक घरानाका स्यानातिना र खुद्राखुद्री कुरा पनि समाचार बन्न थालेको गुप्ती अर्थ बल्ल म बुझ्दै छु । नेतालाई चाहि मनपरि हिर्काउने छुट छ रे । नेता हिर्काएपछि र हिलो छ्यापेपछि मात्र पग्लीने जन्तु भएकोले त्यसो गरेको भन्छन ए चल्तापूर्जा मित्रहरु ।
यस्तोबिधि फोहोरी काम गराउदा रैछन । किन किर्नो झै टास्सिएर बस्या तनी? उत्तर काईदाको आयो – हलो जोत्न सक्दिन, डल्ला फोर्न सक्दिन, पढाएर खान सक्दिन । कुरौटे बानी सिकियो । डुलुवा बानी सिकियो । त्यसैले पेशा मरेकाटे फेर्न सक्दिन । ‘चार पाच महिनापछि तलब देलान नी केको पीर’? केको पीर भन्दै गर्दा उनको अनुहार कालो बादल लागेको आकाशजस्तै देखियो । उराठलाग्दो । टीठलाग्दो ।
एक टुक्रो समाचार लेख्न काईदाको कलम चाहिने । डायरी चाहिने । गाडीभाडा चाहिने । रेकर्डर चाहिने । क्यामेरा चाहिने । मोबाईल चाहिने । कम्प्युटर चाहिने । पि्रन्टर चाहिने । ईन्टरनेट चाहिने । पैसो मरेकाटे नपाईने । अझ आमनागरिकको सरोकारको कुरो मजाले लेख्न पनि नपाईने । भजन र चाकडी लेख्यालेख्यै गर्नुपर्ने । अनि समोसाको पोकोले कहिलेसम्म धानिन्छ पत्रकार जिन्दगी ? मित्र ,जवाफ मसग छैन । जवाफ मालिकसगै छ जसले तिम्रो कलमको नीब थुतेको छ र तिमीलाई सुईरोले लेख्न बाध्य पार्दैछ ।
पण्डित रामबहादुरका अनुसार घाम पूर्वबाट उदाउछ । भौतिकशास्त्री हर्कबहादुरका अनुसार पृथ्वी गोलो छ । फलाना बैज्ञानिकका अनुसार हावालाई देख्न सकिदैन पानी तरल पदार्थ हो ढुंगा ठोस हो र अक्सजन ग्यास हो । फलानाका अनुसार पातको रंग हरियो हुन्छ, बेसार पहेलो, मुला सेतो, पाकेको कागती पहेलो ………। के के हो के के । यो पीडा चाहि यहाभन्दा बढी सुन्न नसकेर कान थुने मैले । डेस्क सम्पादकलाई जे कुरो पुष्टि गर्न पनि ‘बाईट ‘चाहिन्छ रे ‘बाईट’ । मालिकभन्दा सय गुणा ज्याद्रो छन रे समाचार पास गर्ने जाचकीहरु । ‘सब मालिकका चम्चा’ तिनैमध्ये एउटो त जिल्ला रिपोर्टरसग पैसा खाएर मात्र समाचार छापिदिने बदमास पनि थियो । समोसा खुबाएर नपुग्ने । झोलपानी खान पुग्ने पैसो चाहिने । बदमास कहिको ! पत्रकार मित्र अझै बडबडाउदै थिए ।
‘समोसा पत्रकारिता’ मेरो लागि स्कूप थियो । गतहप्ता एउटा चिया पसलमा सजिलै हात पारेको । केही बर्ष पहिलादेखि चिनजान भएका पत्रकार मित्रले यस्ता ‘अनोठा अनोठा कुरा’ यति सजिलै उकेल्लान् भनेर मैले चिताएकै थिईन । कागतमा लेख्ने र छाप्ने कामलाई चिरिच्याट्ट पेशा पो ठानेको थिए मैले त । काम गर्न पाईने-पैसो नपाईने देख्न पाईने – लेख्न नपाईने लेख्न पाए – छाप्न नपाईने अनि समोसा खान पाईने – भात खान पुग्न पैसो नपाईने । नेपालका अधिकांश पत्रकारको दुखेको कथाको सार यै निकाले मैले त । लेख्नलाई लेखे छाप्ने-नछाप्ने पत्रकारकै मर्जी ।
(स्रोत : Nepalipost)