~सुमन मञ्जरी~
बिहान,दिउँसो र साझँको चक्रमा साधारण बितिरहेका दिनहरुमा फरक एउटा दिन यस्तो आईदियो कि केटीले जुन जुन आफ्नो स्वभावलाई स्वाभिमान ठानेकी थीई उसको लोग्ने बनेको केटाले त्यसलाई घमण्डको नाम दियो। बस्, समस्या त्यही दिन अनी त्यहीँबाट सुरु भयो। समस्याको बीऊ रोपिन मात्र गाह्रो हो रोपिए पछी त्यो रछानको मूला झैँ हालक्क हल्केर आउँछ । केटा र केटीको बीचमा पनि त्यहीँ भयो । एउटा निहुँको बीउ उम्रिएको ठाउँमा दिनदिन मौका मिल्दा अरु ससाना बीउ नउम्रने ग्यारेन्टी पनि त
हुन्न नि !
यस्तै दिनहरु बित्दै गर्दा एउटा अर्को त्यस्तो दिन पनि आयो जुन दिन केटीले संसारका सबै लोग्नेमान्छेहरुलाई तिरस्कार गरेर घिनलाग्दो रुपले हेर्न सुरु गरी र अन्तत: त्यसको बिरोध स्वरुप अर्की आफु जस्तै केटीसँग बिहे गर्ने शंखघोष गर्दै आफुलाई स्वतन्त्र गराई बिगतको प्रेमी यानेकी वर्तमानको लोग्नेसँग कानुनी रुपमा भने सबै ‘पुरुष’हरु सँग भावनात्मक रुपमा । आफ्नो निर्णयमा समाजको प्रतिकृयाको अनुमान केटीलाई पहिल्यै थियो यसर्थ उसले आफ्ना पछाडि काट्ने कुराहरुको बेवस्ता गरिदीई र आफ्नै स्वतन्त्रता र ‘घमन्ड’को नाम पाएको स्वाभिमानमा रमाई । शारीरिक र मानसिक दुबै हेरचाहको अभावमा ओईलाएको केटीको अनुहारको गुराँसमा पुन: रङ्ग चढ्न थाल्यो त्यसको केही दिनमा ऊ ढकमक्क फुली आफुले रोजेको वातवरणमा ।
क्याम्पस जीवनका अन्तिमा खुड्किलाहरु चढ्दै गर्दा केटाले केटीलाई र केटीले केटालाई भेटेका थिए। केही भेटहरु पछि केटो केटीको राम्रै प्रशंसक बनेको थियो रुपको मात्र नभैइ साना ठुला व्यवहार र केटीको सोचाइ अनी पढाइ र काम गराईको तालमेल सबैको । दिनदिनको संगतले केटीले केटो मन पराई केटोले केटी पहिल्यै मन पराएकै थियो । आपसमा बिहे गर्ने निधो गरे र त्यसको केही दिनमा सँगै बस्न थाले प्रेमीप्रेमिकाबाट लोग्नेस्वास्नीमा रुपान्तरित भएर । केटी चाहन्थी केटो उसको जीवनमा मालिक नभई सहयात्री बनेर आओस्। केटो सहयात्री पनि ओहोरै असल सहयात्री बनेर देखियो सुरुवाती दिनहरुमा । तर, जसै हिजो,आज र भोलीको चक्रमा दिनहरु बित्न थाले शनै: शनै: केटोमा सहयात्रीपन ओईलाउन थाल्यो भने बदलामा जरा गाड्न थाल्यो मालिकपनले ।
”कमाउने म छँदै छु तिमी केलाई दु:ख गर्छ्यौ,छोडिदेउ जागिर। फेरी तिम्रो कार्यालय पनि टाढा छ।” बिहेको केही महिना भित्रै केटाले केटीलाई एकसाँझ भन्यो। भएको के थियो भने, क्याम्पस पढुन्जेल र बिहेको सुरुवाती दिनहरुमा राम्रैसँग दबाएको या उपयुक्त अवसर नपाएको केटोको ‘पुरुष मानसिकता’ले बिस्तारै बिस्तारै केटीलाई भुइँ मानेर जरा गाड्न सुरु गरेको थियो। बिहान केटी केटो भन्दा चाडै उठ्थी, कालो कफी खाँदैँ हतारिदैँ दाल,भात पकाउँथी। तात्तातै दुईचार गाँस खान्थी र कार्यालयका लागि तयार हुन्थी। जब केटी ”लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु” भनेर हतारिँदै निस्किन्थी तब केटो उठेर जिउ तान्दै हाई काढ्थ्यो र नित्यकर्म सकेर चिया या कफिको सट्टा केटीले पकाएर राखिदिएको भात खाएर अल्छे पारामा कार्यालय पुग्थ्यो। बेलुका केटो केटी भन्दा पहिल्यै घरमा दाखिल हुन्थ्यो तर बिहान आफैले खाएर छोडेका जुठा भाँडा देख्दा ऊ झ्याउ मान्दै केटीलाई पर्खन्थ्यो। ईमान्दार भएर भन्दा एक कप चिया सम्म पनि आँफै बनाएर नखाई ऊ केटीको पर्खाईमा बसिदिन्थ्यो।
केटी झमक्क साँझ परेपछी आईपुग्थी र कार्यलयीय लुगा समेत फेर्ने फुर्सद नपाई जुठा भाँडा माझ्ने र चिया पकाउने काममा जुट्थी। केटालाई चिया दिन्थी र पुन: बेलुकीको दाल भातको जोहोमा लाग्थी। केटो पुराना नयाँ पत्रीका हेर्ने बाहनामा चिया खान्थ्यो र चुपचाप बसिरहन्थ्यो तर कुनै पनि दिन केटाले केटीलाई काममा सघाउन आवश्यक ठानेन । सुरुवाती दिनहरुमा ” तिमी चाडै आईपुगे पछि त यसो यी बिहानका जुठा भाँडा माझ्दै गर्नु नि,आखिर पहिले एक्लै बस्दा सबै काम गरेकै हौ क्यारे, मेरै बाटो किन हेर्छौ?” केटीले थोरै गुनासो मिसाएर प्रश्न पनि गरी तर केटोले जवाफ दिनु आवश्यक ठानेन। बरु भोलिपल्टबाट केटो केटी भन्दा पछि घरमा उपस्थित हुन थाल्यो कहिले मिटिङ त कहिले पुरानो साथी भेटेको बाहनामा। केटीले उसको बाहना राम्रैसँग बुझी त्यसैले दोहोर्याएर केटोलाई केही भनिन तर केटीको मनमा विचारका विविध लहरहरु आउँदै जादैँ गरिरहे।
जागिर छोड्ने कुरासँग केटी पटक्कै सहमत भईन यो कुरा सजिलै अनुमान गर्न साकिन्थ्यो । बरु केटाको व्यवहारमा पुरुषअंहमका बीउहरु फुटेर पोथ्रा भईसकेको अनुभव गरी केटीले । केटी केटोको कुरा सुने नसुने झैँ चुपचाप आफुलाई काममा व्यास्त पार्न प्रयत्नरत गर्न थाली। केटीको मौनता ”ल हुन्छ,म भोली देखी जागिर जान्न” भन्ने स्वीकार पक्कै थिएन बरु यो त एउटा मौन बिद्रोह थियो,हाँक थियो। भोलीपल्ट सधैं झैँ घाम उदायो सधैं झै केटीले तात्तातो भात खाएर कार्यालयको बाटो समाती तर पहिले झै ”लौ म गएँ है,खाना चिसो नहुँदै खानु र समयमै अफिस जानु” भनेर केटोलाई भन्नु आवश्यक ठानिन।
अब केटो दिनहुँ केटीलाई ”जागिर छोड” भन्न थाल्यो। मौनता भत्काएर ”तिमी छोड बरु जागिर म किन छोड्ने मै पालुँला तिमीलाई, मेरो अफिस पायक पर्ने ठाउँ सरौँला कोठा पनि टाढा लाग्छ भने ,तिमीलाई तिम्रो अफिसले दिएको सुविधा भन्दा कता हो कता धेरै सुविधा छ मेरो जागिरमा” भनेर भन्ने मन नभएको त कहाँ हो र केटीलाई तर यति रुखो हुन केटीको प्रेमिका मन मानेन्।
”तिमीलाई थाहा छ मैले यो जागिर कती दु:खले पाएकी हुँँ र दिनरातको मेहनतले आजको स्थान प्राप्त गरेकी हुँ अनी तिमीलाई यो पनि थाहा होला कि तिमीले छोडिदेऊ भन्दैमा खुरुक्क जागिर छोडेर घरमा म कुनै हालतमा बस्दिन भनेर अनी के को दिनदिनको रटान हो” रुखो नबोले पनि केही आवेगमा आएर केटी कराई।
”मेरो ईज्जतको पनि ख्याल किन गर्दिनौँ,साथीभाइ खिस्याउँछन मलाई ”यसकी त बुढी पनि जागिरे” भन्दै उडाउँछन। केटोले सम्झाउँने पारामा भन्यो।
”खै त मेरा साथी त न मलाई खिस्याउँछन न उडाउँछन कस्ता साथी हुन त तिम्रा को जागिर खान्छ को खाँदैन, अनी कस्ले के गर्छ के गर्दैनको चेवा गर्दै अर्काको वैयक्तिक जीवनको चासो गर्दै हिँड्ने,के तिम्रो अफिसमा कामकाज हुन्न?” केटीको महिनौँ देखी दबेको आवेगले निस्किने बाटो खोज्छ।
”साँच्चै भन्दा मलाई पनि मन परेको छैन तिमीले जागिर खा’को, के नपुग्दो छ र? दिनभरिको कामबाट घर आयो एक कप तातो चियाको आशले तर जुठा भाँडाले स्वागत गर्छ, पहिले को कुरा बेग्लै थ्यो तर अब तिमी घर सम्हाल्न तिर ध्यान देऊ।” अर्को कुनै बिदाको दिन केटोले फैसला सुनायो।
”पहिलेको कुरा बेग्लै थियो रे भने पछि पहिलेको मान्छे पनि बेग्लै अहिलेको बेग्लै होला होइन, यसै पनि तिमी पहिले झै छैनौँ, र अर्को जहाँसम्म घर सम्हाल्ने कुरो छ त्यो मैले अहिले पनि सम्हालेकी छु तिम्रो पनि घर हो तिमीले पनि सम्हाल्न हुन्छ, मेरै मात्र भाग किन लाउँछौ? पछिल्लो पटक कहिले घरको काममा सघाएका थियौ याद पनि छ? तिमीलाई अफिस सम्हालेर घर आउँदा चिया खुवाउँन मैले जागिर छोड्नुपर्यो होइन, मैले यतिका महिना देखी घर र अफिस एकसाथ कसरी सम्हालेकी छु कहिल्यै सोच्यौ? म भन्दा दुई घण्टा चाडै आउँने मान्छे तिमी हो क्यारे कति काम गर्ने गरेको छौ आँफैलाई थाहा होला ।” केटी राम्रैसँग वादविवाद गर्ने सुरले मंचमा ओर्ली।
” ए अब त्यसो भए अब मैले भाँडा माझेर,चिया टक्र्याएर महारानीको सेवा गर्नु पर्यो।” केटो बुरुक्क उफ्रेर कुर्लियो।
”गरे हुन्छ,अनी चिच्याउँन मलाई पनि आउँछ बुझ्यौ,तिम्रा बा’ले तिम्री आमालाई, भिनाजुले दिदीलाई र दाइले भाउजुलाई थर्काए झैँ तिमीले पनि मलाई थर्काउँला भन्ने सोचेको भए त्यो सोच आज अहिल्यै निकालेर फालिदिए हुन्छ। म तिम्रो आसे होइन परिआए प्रतिस्पर्धी हुँ यति बुझे हुन्छ। ” केटीले फैसला सुनाई।
”घमण्डी” केटोले भुइँमा थुक्दै केटीलाई हेरेर भन्यो ।
” सही भनिस्, आफ्नो स्वाभिमानमा बस्न चाहने र अस्तित्वको लडाइँ गर्नेलाई यो समाज यही उपनाम दिन्छ।” केटीले पटक्कै हार मानिन।
”म तँसँग बस्दिन यदि जागिर छोड्दिनस् भने।” केटोले विकल्प सहितको अर्को फैसला सुनायो सायद यही सोचेर कि निर्णय आफ्नो पक्षमा पर्ला।
” तँ मलाई के छोड्छस् मै छोड्छु तँलाई।” त्यही निर्णय सुन्न पुर्वतयारी सहित बसे झैँ केटीले आफ्नै पक्षमा फैसला सुनाई। यदिका महिना देखी मनमा थन्किएर बसेका आवेगहरु पोखिदाँ आफ्नै मन हलुङ्गो भएको महशुस भयो केटीलाई। त्यस माथि भर्खरै आफ्नो पक्षमा आँफैले सुनाएको फैसला सम्झेर मनैमनमा मुस्काई।
केटोसँगको सम्बन्ध असफल भएपछी केटीमा पुन: विपरित लिङ्गी प्रतिको मोह लेश सम्म पनि बाँकी रहेन। अन्तत: आँफैले घोषणा गरे अनुरुप अचेल केटी अर्की उस्तै राम्री र सक्षम केटीसँग नारिएर हिँड्छे। हिजोआज केटी पहाडी गुराँसलाई आफ्ना गालाहरुमा रातम्य फुलाएर बसन्तपुर दरबार परिसरतिर या भक्तपुर दरबार परिसरमा कहिले एक्लै त कहिले अर्की सहयात्रीको साथमा निस्फिक्र घुम्छे दुनियाँलाई बिर्सेंर। अचानक एकदिन केटीले मलाई पाटन दरबार परिसरमा बोलाई र आफ्नो कथा सुनाई साथमा यो पनि सुनाइ कि ऊ आफ्नो जीवन बँचाइसँग पूर्ण सन्तुष्ट छे र अहोरै खुशी पनि छे। अझ… मैले उसको कथा लेखिदिने थाहा पाए पछि उसको खुशी दुगुना भएको थियो।
(स्रोत : Manjari’s Blog)