कथा : आरम्भ अर्थात् सुरुआत

~धीरकुमार श्रेष्ठ~

वर्तमान लगातार साइरन बजिरहेको छ । सबैलाई लाइनअगाडिको खुला चउरमा हातहतियारसहित उपस्थित हुनाका लागि जनाउ दिइएको हो, यो ।

जो जुन अवस्थामा छन्, सोही अवस्थामा लाइनतिर दगुर्छन् । भात खाइरहेकाहरु थाल छाड्दै, नुहाइरहेकाहरु शरीरका साबुन नपखाली,

शौचालय गएकाहरु पूर्ण निवृत्त नभई लाइनतिर कुद्छन् । जतिसक्दो छिटो युनिफर्म लगाएर कोतघरतिर कुद्न हतारिएका छन् सबै । आआफ्ना

कम्ब्याटड्रेस लगाउँदालगाउँदै सबैका छाती ढक्क फुलेका छन् । सम्भावित त्रास सबैका आँखामा छन्, अनुहारमा मृत्युको भय टाँसिएको छ । कोही

कसैसँग कुरा गरिरहेका छैनन् । गरुन् पनि के । सधैं एकनाशको जिन्दगी बित्न थालेको दशक पुग्न लागिसक्यो । उही बम, उही बारुद, उही

मृत्युको समाचार । लाग्छ, मानिसको वरिपरि जीवन होइन मृत्यु बाँचिरहेछ । मानिस जीवनका नाममा मृत्युको डोली बोकिरहेछन् । काँधमा

बन्दुक होइन, मृत्युको सन्देश बोकिरहेछन् । गलामा गोलीका माला होइनन्, विषालु गोमन सर्प बोकिरहेछन्, जसले कुनै पनि बेला कसैलाई

छानीछानी डसेर तत्काल मृत्युलोकमा पुर्याउन सक्छ । पिठ्यूँमा बोकेका भारीमा बन्दोबस्तीका सामान होइनन्, मृत्यु ओछ्याएर मृत्युमाथि लमतन्न

सुत्न भारी बोकेका छन् । तुम्लेटमा तिर्खा मेट्ने पानी होइन, मृत्युको थोपाथोपा सञ्चित छन्, जसलाई प्रत्येकपटक प्यास लागेर पिउँदा मन्द

विषले शरीर गलाउँदै लान्छ । उफ् । कस्ता दिन आए ।
साइरन लगातार बजिरहेको छ । म अरुसँगै कोतघर पुग्छु । सबै हातहतियार बोकेर चउरतिर दगुर्दै छन् । त्यो चउर, जहाँ सधैं बिहान परेड र

पि.टि. खेलिन्थ्यो, बेलुका भएपछि खेलकुद गरिन्थ्यो आजभोलि युद्धग्रस्त रणमैदान बनेको छ । त्यहाँ निर्धक्क स्वतन्त्रतापूर्वक एक्लै निस्कन

हुन्न । जुन डाँडाकाँडाका शिखरले चारैतिरबाट छेकेर चउरलाई सुरक्षा प्रदान गरेका थिए, तिनै शिखर जुनसुकै बेला आगो ओकल्न तयार छन् ।

वरिपरिका डाँडामा झुरुम्म हुर्केका रुखविरुवाले ताजा हावा होइन, बारुदका गन्ध फ्याँक्न थालेका छन् । तिनले पर्यावरणको सुरक्षा होइन,

वातावरणलाई दूषित पारिराखेका छन् । जंगलमा अचेल जीवन होइन, मृत्यु कुदिरहेको छ ।
साइरन बज्ने क्रम रोकिएको छ । सबै हातहतियार बोकेर सामेल भएका छौं । कसैका हातमा इन्सास, कसैका हातमा एस्.एल्.आर्, कसैका

हातमा मेसिनगन कसैका हातमा एम्. सिक्सटिन छन् । कोहीकोही लंगरेन्ज हतियार, ग्रिनेड र मोर्टारले सुसज्जित छन् । म सबैका हातमा

साक्षात मृत्यु निर्धक्क नाचिरहेको देख्छु । थाहा छैन, आजका दिनमा त्यसले कतिलाई आहारा बनाउने हो । विडम्बना, त्यो अगस्ति छ । जति

जीवन चपाउँदा पनि भोक मेटिन्न । जहिले त्यो जीवन निल्न सुरसाको मुख खोलिरहेको हुन्छ ।
कमान्डर लामो भाषण छाँट्छन् । देशभक्ति र वीरताको पाठ पढाउँछन् । लडाइँमा पिठ्यूँ फर्काएर भाग्ने होइन, छातीमा गोली थापेर मर्नुपर्छ भन्छन्

। दुस्मनको सेनालाई पराजित गर्नै पर्ने उनको तर्क छ । भाषण सुन्दासुन्दै सबैमा जोस र उमंग भरिन्छ । डरले छाती ढक्क फुलेकाहरु कमान्डरका

अगाडि सगर्व छाती तन्काउँछन् । त्रासले लगलग काम्नमात्र बाँकी रहेकाहरुका आँखा चम्किला देखिन्छन् । सबैको अनुहार देख्ता लाग्छ, अब

मृत्युसँग जीवन होइन, जीवनसँग मृत्यु डराउने बेला आएको छ । सबैका उत्साहका अगाडि काँतरताले जमिन छाडिसकेको छ । सम्भावित

विजयको कल्पनाले सबैलाई फूर्तिलो बनाएको छ । पिठ्यूँका गह्रौं भारी र गह्रौं हतियार फूलझैं हलुका महसुस हुन थालेका छन् ।
कमान्डर सतर्क गोडाफाटको आदेश दिन्छन् । हामी उसको आदेशलाई रिट्ठो नबिराई भुइँमा खस्न नपाउँदै पालना गर्छौं । कठोर अनुशासन

हामीलाई थाहा छ । यसमा हामी गौरव पनि गर्छौं तर दुःख यसमा छ कि राष्ट्रको सिमानामा लडेर जित्नुपर्ने लडाइँ हामी देशको मध्यभागमा

लडिरहेका र्छौं । विदेशी सेनासँग लड्नुपर्ने लडाइँ हामी आफ्नै दाजुभाइ र दिदीबहिनीसँग लडिरहेका छौं । समयको विडम्बना नै भन्नुपर्छ, हामीले

जितको खुसियाली मनाउँदा हामीमध्येकै कोही आँसुको सागरमा डुबिरहेको हुन्छ । जितको खुसियाली मनाउने अथवा मृत्युको मलामी जाने । म

केही सोच्न सक्तिन । सोच्यो भने जिउमा काँडा उम्रिन्छ ।
कमान्डरको आदेशमा हामी मार्च गर्छौं । मार्च गर्दै ब्यारेकको मूलढोकाबाट बाहिर निस्केपछि आदेशमा पोजिसन लिएर अगाडि बढ्न थाल्छौं ।

सिकारीले सिकार भाग्ला भनी चाल मारेर अगाडि बढेजस्तो हामी टाउको लुकाउँदै अगाडि बढ्न थाल्छौं । अन्तिमपटक फर्केर म साइरनतिर हेर्छु ।

हामीलाई मृत्युयात्रामा हिंडाएर ऊ मस्त निदाएको छ ।
विप्लव मोबाइल फोनसेटको घन्टी लगातार बजिरहेको छ । कमान्डर फोन उठाएर कुरा गर्न थाल्छन् । कुरा हुँदै जाँदा उनको अनुहारको रंग

परिवर्तन हुँदै जान्छ । उनको खुकुलो अनुहारमा तनाव छाउँछ र रातोबाट कालोमा परिणत हुँदै जान्छ । उनका आँखाका आँखीभौंहरु क्रमशः तन्किन

थाल्छन् । यत्रतत्र छरिएर बसिरहेका साथीहरु कमान्डरका वरिपरि भेला भएर कुरा सुन्न थाल्छन् । जतिजति उनीहरु फोनका कुरा सुन्छन्,

त्यत्यिति सबैको मनोदशा परिवर्तन हुँदै जान्छ । कमान्डरले फोनको सुइचअफ गरेपछि उभिएर सबैलाई सम्बोधन गर्छन् साथी हो, दुस्मनको सेना

यतै आउँदै छ । आज हामीले निर्णायक लडाइँ लड्नुपर्छ । दुस्मनको सेनालाई धूलो चटाउन सकेमात्र हाम्रो देशले मुक्ति पाउँछ । देशको सुनौलो

भविष्यका लागि आजको लडाइँ जित्नै पर्छ । मुक्तिकामी योद्धाले संघर्षबाट पछाडि हट्नुहुन्न । संघर्षबाट भाग्नु भनेको कायरता हो । हामीले देशको

मुक्ति र न्यायका लागि कायरता देखाउनु भनेको जिउँदै मर्नुसरह हुन्छ । बाँचेर सदा मर्नुभन्दा एकपटक मरेर सधैं अमर बन्न सक्नुपर्छ ।
कमान्डरको सम्बोधनपछि सबैका आँखामा सुन्दर देशको नक्सा नाच्न थाल्छ । सबैमा एउटा दृढ विश्वास झल्किन्छ । नाचीनाची बत्तीमा होम्मिन

तयार पुतलीजस्ता देखिन्छन्, सबै । म पनि मेरो गाउँको स्वरुप परिवर्तन भएको देख्न थाल्छु । जुन मेरो गाउँ विकट मानिन्थ्यो, त्यहीं सबै

प्रकारका सुविधाहरु छन् । गरिबी र दुःखले कुम्लोकुटुरो बोकेर कुलेलम ठोकिसकेको छ । कसैका आँखामा विषाद छैनन् । सबैका जीवनमा अटाई

नअटाई खुसीहरु भरिएकाले देशको सीमाभित्र दुर्गम नामको ठाउँ छैन । यसकारण शब्दकोशकारहरु शब्दकोशबाटै दुर्गम शब्दलाई हटाउनुपर्ने विषयमा

तात्तातो बहसमा जुटिरहेका छन् ।
साथी हो, आआफ्ना हातहतियारसहित पोजिसन लिएर बस्ने । अब हाम्रो भेट लडाइँ जितेपछि मात्र हुन्छ । कमान्डरको संक्षिप्त आदेशपछि हामी

यत्रतत्र छरिएर हातहतियारसहित पोजिसन लिएर बस्छौं ।
डाँडाको टुप्पामा बसेको सेन्ट्रीमा मृगको आँखा प्रत्यारोपण भएको छ । उसको आँखा राडारझैं चारैतिर घुमिराखेको छ । उसको हातमा हरियो र रातो

झन्डा छ । अहिले उसले हरियो झन्डा उचालिराखेको छ । उसले रातो झन्डा उचाल्नेबित्तिकै फायर खोलिहाल्ने आदेश छ । यसकारण हाम्रा आँखा

उसले बोकेका झन्डामा केन्द्रित छन् । एकै छिनका लागि म झन्डाबाट ध्यान हटाएर उसको अस्तित्वलाई छाम्न खोज्छु । जता छाम्दा पनि हरेक

अंगबाट अभाव, गरिबी र भोक तपतप चुहिरहेका देख्छु । हाम्रा आँखामा रोपिएका सपना उसका आँखामा पनि छन् । त्यसैले उसको दीनहीनता

उसबाट हराएर अहिले फूर्तिलो बनेको छ । उसका हातमा ठिंग उभिरहेको भरुवा बन्दुकले उसलाई अदम्य साहस दिइरहेको छ ।
कमान्डरको हातमा रहेको फोनको घण्टी बजेको बज्यै छ । ऊ फोनमा कुरा गर्दै हामीलाई तयार रहन आदेश दिइरहेको छ । बीचबीचमा संक्षिप्त तर

जोसिलो भाषण दिन ऊ चुक्तैन । उसको जोसिलो भाषणले मृत्युको भयलाई कसैको छेउ पर्न दिंदैन ।
वरिपरिको वातावरणबाट बेखबर म केही बेरका लागि आकाशतिर हेर्छु । आकाश गजधम्म रक्ताम्य छ । त्यहाँबाट बर्सिने पानीमा निर्मलता नभएर

रगत मिसिएको छ । त्यसले गर्दा रुखबिरुवा जमिन सबैसबै राताम्य छन् । आकाश गिद्दले भरिएको छ । स्वच्छन्द विचरण गरिरहेका गिद्दहरु

कहिलेकाहीं रक्ताम्य मान्छेलाई झम्टिन खोज्छन् । अशक्त मान्छे हातसम्म उचाल्नसक्ने भएकाले सकी नसकी गिद्दलाई धपाउँछन् । एउटालाई

धपाएर के गर्नु । गिद्दहरु हुलका हृुल बाँधेर आक्रमण गर्छन् । समय यी सब दृश्यलाई चुपचाप हेरिरहेको छ । उसको अकमण्र्यले गर्दा आक्रमण

झन्झन् बीभत्स बन्दै छ । सल्लाहरु सुसाउन छाडेर टक्क उभिएका छन् । आक्रमणहरु झन्झन् क्रूर बन्दै छन् । आआफ्ना डम्फू बजाउने जनावरहरु

रमिते छन् । गिद्दले मान्छेलाई सिध्याउला र बिनापरिश्रम तर मार्न पाइएला भनेर ती र्याल काढ्दै छन् । एउटा विशाल देखिने गिद्दले अघि सरेर

निरीह मान्छेलाई अन्तिम आक्रमण गर्छ ।
आमा । दुब्लो सेन्ट«ी ढल्छ । अन्तिमपटक उसले हामीतिर आँखा तानेर हेर्छ र मुखबाट हुलुक्क रगत छाद्छ । कमान्डरले आक्रमणको आदेश

दिए । हामी बन्दुकको मोहरी सोâ€ड्ढयाएर औंलाले ट्रिगर दबाउँछौं । एक्कासिको आक्रमणले दुस्मनका सेना तिरमिराए । तिनीहरु तितरबितर हुन

थाल्छन् । चारैतिर बन्दुक र बम पड्केको आवाजले पृथ्वी नै थरर काँप्न थाल्छ । कानको जाली नै फाट्लाजस्तो आवाजले डाँडाकाँडा घन्किएको छ

। अघिसम्म मान्छेलाई झम्टिरहेका गिद्द र रमिते बनेका जनावरहÂरू पुच्छर लुकाएर भागिसकेका छन् । मेरो कानको छेउबाटै बन्दुकका गोलीहरु

जान्छन् । मैले हेल्मेटका रुपमा प्रयोग गरेको कराहीमा आएर एउटा गोली ठोक्किन्छ । तै टाढाबाट हानेका रहेछन् । नजिकबाट भए, त्यसले मेरो

टाउको छेडिसक्थ्यो । म बाँचे, मरिन, तर कराहीमा प्वाल परेछ । त्यस प्वालबाट छिरेको चिसो सिरेटोले मलाई आफू असुरक्षित ठाउँमा बसेको

जानकारी दिन्छ । हतपत वरिपरि हेर्छु । यस्तै बेलाका लागि भनी बनाइएको बंकर खाली रहेछ । म त्यहींभित्र पसेर फायर गर्न थाल्छु ।
लडाइँ जित्नै लागेका बेला यो थाहा भयो कि हामी एकतिरबाट होइन, चारैतिरबाट घेरिएका रहेछौं तर तिनीहरु सयका संख्यामा र हामी हजारका

संख्यामा रहेकाले हिम्मत हार्दैनौं, फायर गरिरहन्छौं ।
वर्तमान सर्चअपरेसनमा दुस्मनको सेल्टर खोज्दै हिंडेका छौं, हामी । बिरालाको जस्तो चाल मारेर घस्रँदै अगाडि बढेकाले हामी नजिक पुगेको

उनीहरु चाल पाउँदैनन् । डाँडाको टुप्पोमा उभिरहेको सेन्ट्रीलाई देखेर एकजनाले फायर गर्छ । सेन्ट्री आमा भन्दै ढल्छ । ऊसँग सिंगै देश रोएको

सुन्छु तर त्यसलाई दुईतर्फी चलेको फायरले निर्ममतापूर्वक दबाउँछ । दुस्मनको सेना सामरिक दृष्टिले उपयुक्त ठाउँमा सेल्टर बनाएर बसेको रहेछ ।

तिनीहरु अत्यधिक संख्यामा अत्याधुनिक हातहतियारले सुसज्जित रहेकाले हामीलाई युद्ध जित्न आच्छुआच्छु बनाउँछ तर हामीले चारैतिरबाट घेरा

हालेर आक्रमण गरिरहेकाले अन्ततः हाम्रो जित हुने निश्चित हुन्छ । हामी फायर गरिरहन्छौं ।
विप्लवः दुस्मनको सेना राम्रै तयारी गरेर आएको रहेछ । उसले चारैतिरबाट आक्रमण गर्दा पनि हामी डटेर मुकाबिला गरिरहन्छौं । घाम रक्ताम्य

भएर डुबिसकेपछि निस्पट्ट अन्धकार हुन्छ । त्यो अन्धकार दुस्मनसेना र मित्रसेनाका बीचमा बिनाभेदभाव आएको छ । त्यसका लागि हामी दुवैमा

कुनै अन्तर छैन । त्यसले हामी दुवैलाई समान न्याय दिएको छ । कहिलेकाहीं दुस्मनसेनाले आकाशमा फायर गरेको भेरिलाइटले केही बेरका लागि

अन्धकारलाई चिर्छ र चारैतिर उज्यालो छाउँछ । त्यसैको प्रकाशमा म चारैतिर हेर्छु । वरिपरि मान्छेका ठाउँमा निस्तेज लासहरु छरिएका छन् ।

घाइतेहरु पीडाले कराइरहेका छन् । कसले कसलाई जोगाउने । सबै युद्धउन्मादले झन्झन् फायर तेज बनाउँदै छन् ।
वर्तमान रातले गमलंग छोपेपछि को कता परे, थाहा पाउन गाह्रो छ । आफूले हानेको गोली दुस्मनसेनालाई लाग्छ अथवा मित्रसेनालाई, त्यो पनि

थाहा छैन । रातका बीचमा अन्धाधुन्ध चलाएको गोलीले पक्कै दुस्मन र मित्र चिनेन । त्यसले, जसलाई अगाडि भेट्यो, त्यसैको छाती छेड्यो ।

फायर गरेर अगाडि बढ्दै जाँदा म एउटा बंकर फेला पार्छु । त्यहाँ बसेर एउटा मान्छे दुस्मनसेनातिरै गोली हान्दै छ । पक्कै त्यो मित्रसेना हुनुपर्छ ।

यही सोचेर म बुद्रुक्क उफ्रेर बंकरमा पस्छु र फायर गर्न थाल्छु । आकाशमा नाइटभिजन हेलिकप्टर उडिरहेको छ तर त्यसले केही गर्न सक्तैन

किनभने हामी बसेको ठाउँलाई रातले छोपेको मात्र होइन, हुस्से लागेर भिजन क्लियर छैन ।
विप्लवः अन्धकारमा एउटा कालो छाया मसँगै बंकरमा आएको छ । ऊ दुस्मनसेनातिर गोली बर्साउँदै छ । उसमाथि शंका गर्नुपर्ने आवश्यकता

ठान्दिन । दुस्मनसेनातिर गोली बर्साउने मित्रसेना नै हो । मकै भुटेझैं आवाजमा गोली बर्साइरहन्छु । उसले पनि परर ताली पड्काएझैं गोली

बर्साइरहन्छ ।
वर्तमानः पूर्वतिर क्रमशः लाली छाउन थाल्छ । रिमरिमे उज्यालो हुन थाल्दा गोली चलेको आवाज क्रमशः कम हुन थाल्छ । वरिपरि लासहरु

छरिएका छन् । गोली चलाउनेमा ऊ र ममात्र बाँकी छौं । हामीले गोली पड्काएको तिरबाट जवाफी फायर आउन छाडेपछि हातमा राइफल उचाल्दै

खुसी भएर हाम्ले लडाइँ जित्यौं भनेँ । तर …..
विप्लवः बिहानको मधुरो उज्यालोमा प्रत्याक्रमण हुन छाडेपछि रातभरिको थकाइलाई बिर्सेर म विजयको उद्घोष गर्छु हाम्ले लडाइँ जित्यौं । तर

….
वर्तमानः तर मैले ऊतिर फर्केर युद्ध जितेको खुसियाली मनाउन खोज्दा थाहा पाउँछु, ऊ दुस्मनको सिपाही रहेछ । अन्धकार रातमा हामी दुवैले

एकैतिर आक्रमण गरेछौं । हाम्रा आक्रमणले दुवैतिरका सेना सोत्तर भएछन् ।
विप्लव ः तर ऊतिर फर्केर अँगालो हाल्न खोज्दा म थाहा पाउँछु, ऊ मित्रसेना होइन रहेछ । एकछिन मैले केही सोच्नै सकिन । ऊ पनि हतप्रभ

छ । अचानक मेरो दिमागमा बिजुली चम्कन्छ र ऊतिर बन्दुक सोâ€ड्ढयाएर आत्मसमर्पण गर्नाका लागि हेन्ड्सअप भन्छु ।
वर्तमान ः हेन्ड्सअप हामी दुवैको मुखबाट एकैपटक आवाज निस्कन्छ । दुवैले एकैपटक एकअर्कातिर राइफल तेस्र्याउँछौं । म सोच्छु यसले भन्दा

पहिला पड्काएर सिध्याइहाल्नुपर्छ । नभए यसले मलाई सिध्याउँछ । हतारहतार औंलाले ट्रिगर थिच्छु तर ….
विप्लव ः यसले भन्दा पहिला गोली चलाएर युद्ध जित्नुपर्छ । होइन भने यसले युद्ध जित्छ । यही सोचेर म राइफल पड्काउँछु तर ….
वर्तमान ः पडकँदैन ।
विप्लवः पडकँदैन ।
वर्तमान ः अब के गर्ने ?
विप्लव ः अब के गर्ने ?
वर्तमान ः नयाँ उपाय ।
विप्लव ः नयाँ उपाय ।
वर्तमान यो जित न तिम्रो भयो न मेरो । न तिमीले हार्यौ न मैले । यो युद्धमा जित कसैको भयो भने त्यो युद्धको भयो, जसले बन्दुकको

मोहरीबाट जीवन होइन मृत्युमात्र दियो । कसैले हार्यो भने त्यो मानिस र जीवनले । त्यसकारण मानिस र जीवनले जित्ने युद्ध लडौं । हुन्छ ?
विप्लव ः हुन्छ । युद्धमा मानिसले विजय पाउन सकेन । त्यसैले अब मानिसले हार्नु नपर्ने युद्ध लडौं । त्यसका लागि कर्मशील बुद्धहरुको खोजी

थालौं । अघिसम्म अकमण्र्य र चुपचाप बसेको समय यही भनिरहेछ । हुन्छ ?
वर्तमान ः हुन्छ ।

sabdankur58@yahoo.com/dhires@gmailcom

(स्रोत : Nepalikavita.com)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.