~रोबर्ट जे. मार्टिन~
अनुवाद : एकदेव अधिकारी
डाक्टरको कलम चार्टमा केही लेख्दैगर्दा रोकियो, “त्यसो भए यो तपाईँको तेश्रो दाँतको सेट हो होइन?”
बिरामीले स्विकृतीमा टाउको हल्लायो, “हो डाक्टरसाब। तर यसपाली त धेरै ढिलो आयो नि त?”
डाक्टरले कौतुहलतापुर्वक सोधे, “त्यसैले तपाईँ बुस्टरडोज लिन चाहनुहुन्छ, होइन?”
“हैन, हैन!” उसले आफ्नो हत्केला डेस्कमा राख्दै भन्यो, “पोहोर एउटा दुर्घटनामा मेरो बुढीऔँला काटीयो। त्यो फेरी पलाउन छ महिना लाग्यो।”
डाक्टर केही सोचमग्न भए र कुर्सीमा अडेस लगाउँदै भने, “अँ बुझेँ।” उसले आफ्नो खल्तीतिर हात लगेको देखेर डाक्टरले भने। “तलतल लागेको भए चुरोट पिउनुहोस,” चार्ट हेर्दै डाक्टरले भन्यो, “छ महिना त धेरै नै भयो। अचम्म, त्यतिबेला यसको ख्याल नै गरिएन।” केहीबेर शान्तरूपमा केही पढ्दै डाक्टरले एउटा फाराम नत्थी गरिएको फाइलबाट निकालेर भर्न थाले। “ठीकै छ, तपाईँलाई बुस्टर डोज दिने बेला भए जस्तो छ। तर त्यसको लागि केही सामान्य परीक्षणहरू गर्नुपर्ने हुन्छ। शंकास्पद त छैन, तरपनि पहिला पक्का त हुनु पऱ्यो।”
अधबैँसे मानिसले सन्तोषको सास फेऱ्यो र केहीबेरमै अनकनाउँदै सोध्यो, “किन र त्यस्तो खतरा त केही छैन, नि?”
डाक्टरको अनुहार हँसिलो मुद्राबाट अर्धमुस्कानयुक्त, विश्वस्त पार्ने शैलीमा फेरीयो। “अहँ खतरा त कुनै पनि छैन। तन्तुहरूको पुनर्निर्माण प्रकृया अहिले पुरै हाम्रो नियन्त्रणमा छ। तर पनि तपाईँलाई त थाहै छ, सही जानकारी र रेकर्डहरू अझ पछाडिका थुप्रै अनुसन्धानहरूका लागि लाभदायक हुने छन।”
डाक्टरको भनाइबाट विश्वस्त हुँदै उसले आफ्नो गुठी कुरा खोल्यो, “साँच्चै भन्नुपर्दा, ठीक त होइन, तर मलाई यी डोजहरू लिन त्यति मन पर्दैन। दुख्ने डरले त होइन, तर सायद म अलि पुरानो पाराको भएँ, मलाई यी सबै चमत्कार त्यति ठीक लाग्दैन।” केही धक मान्दै उसले सोध्यो, “यो त्यस्तो अनपेक्षित केही त होइन?”
डाक्टरले खुल्लारूपमा हाँस्दै भन्नथाल्यो, “होइन, होइन। गएका केही वर्षहरूमा केही कुराहरू धेरै द्रुत गतिमा परिवर्तन भइरहेका छन। यसैपनि मानिसहरूको संवेगात्मक प्रतिकृयाहरू विकासक्रमसँग घुलमिल हुन केही समय त लाग्छ नै। यो कुरा सामान्य नै हो।”
उसले आफ्नो कुर्सी डेस्कभन्दा पछाडि धकेल्दै भन्यो, “सायद यो कुरा बुझ्न त्यति गाह्रो पनि छैन। उदाहरणको लागि मानिसहरू आगोसँग हजारौँ वर्षसम्म डरको कारणले टाढा बसे – किनकि उनीहरूले आगोको नियन्त्रण गर्न जानेका थिएनन्। सिद्धान्त त त्यहि त हो नि; पहिला हामी कुनैकुराबाट आफुलाई बचाउन सिक्छौँ; त्यसपछि नियन्त्रण गर्न सिक्छौँ; अनि बल्ल त्यसको उपयोग तथा उपभोग गर्न सक्छौँ।” डाक्टरले उसको हातको चुरोटतर्फ इसारा गर्दै भने। “यति भइसक्दा पनि मानिस आगोबाट नडराइरहन सक्दैन – त्यस्तै यो तन्तुहरूको पुनर्निर्माण प्रकृया पनि त त्यस्तै त हो नि, यहाँ परीवर्तन द्रुत गतिमा बढीरहेको बेला, त्यस्तो डर हुनु, डराउनुपर्ने केही कुरै नभए पनि, स्वाभाविक नै हो। तपाईँ यसमा विश्वस्त हुनुस्।”
डाक्टर, परीक्षण कार्य सकिएको इङ्गीत गर्दै उठे। जब बिरामी उठेर हतार हतार चुरोट निभाउँदै थियो, डाक्टर उसको नजिकै आयो र भन्यो, “चिन्ता नलिनुस – चिन्ता लिनुपर्ने कुनै कारण छैन। हामी आजको यस अचम्मको युगमा छौँ। कुनै ठुलै दुर्घटना बाहेक, अन्य कुनै कारणबाट पनि हामीलाइ अर्को पचहत्तर वर्षसम्म बाँच्न कसैले रोक्न सक्दैन। जे भए पनि, तपाईँको स्वास्थ्य सम्भारको लागि त्यतिको भाइरल संरचना हामीसँग उपलब्ध छ।”
जसै उनीहरू ढोकासम्म हिँडेर गए, उसले मुन्टो हल्लायो र भन्यो, “सायद तपाईँले ठीकै भन्नुभयो, डाक्टरसाब। यसले साँच्चैनै राम्रो काम गरेको छ, अनि मलाई लाग्छ, तपाईँ विशेषज्ञहरूलाई त थाहा होला नि के गर्दै हुनुहुन्छ भन्ने कुरा, सामान्य व्यक्तिले नबुझे पनि।”
ढोकाबाट डाक्टरतिर फर्कन खोज्दै उसले सोध्यो, “के मेरो एउटा प्रश्नको उत्तर दिनुहुन्छ…यो ‘चीज’ …खै, खोप कि यस्तै केही… कहाँबाट आयो? मैले सुने अनुसार, धेरै अगाडि, मानिसहरूले यसलाई काबुमा ल्याउनु अगाडि – यो अर्कै केही थियो – अझ भन्नुपर्दा डरलाग्दो थियो। त्यसको केही नाम पनि थियो। मैले भनेको कुरा बुझ्नु भयो नि?”
डाक्टरको हात ढोकाको ह्याण्डलमा कसिँदै गयो। “अँ मलाई थाहा छ,” शान्त मुद्रामा डाक्टरले भन्यो, “तर धेरै सामान्य मानिसहरूले त सम्झन पनि सक्दैनन। मेरो कुरा आफ्नो दिमागमा राख्नु। कुनै पनि चिजहरूको एउटा संरचना हुन्छ, पहिला बच्नु, नियन्त्रण गर्नु, अनि उपयोग तथा उपभोग गर्नु।” डाक्टर उ भएपट्टि फर्कियो, “पछिल्ला वर्षहरूमा यो हामीहरूको लागि अति उपयोगी सिद्ध भएको छ – तन्तुहरूको पुनर्निर्माणमा, बुढ्यौली तथा रोगहरूको निरूपण गर्न – हाम्रा सबै खोपहरूको आधार, यो आफैँमा बनेको छ।”
उसको प्रश्नवाचक हेराइको जवाफ फर्काउँदै र ढोका खोल्दै डाक्टरले भन्यो, “हामी त्यो दिनबाट धेरै टाढा आइसक्यौँ,” डाक्टरले बिस्तारै भन्यो, “ती दिनहरूमा उनीहरूले यसलाई ‘क्यान्सर’ भन्ने गर्थे।”
०८ जनवरी २०१४
सौराहाद्वार, चितवन
(मूल लेखक रोबर्ट जे. मार्टिनको सर्ट स्टोरी Beyond Pandora को नेपाली अनुवाद)