‘दिदी एउटा कुरा थाहा पाउनु भयो ? ‘ निक्कै अचम्म मान्दै साबीत्राले झ्याल बाहिर उभिएर सोधी । प्रत्युत्तरमा मैले भनेँ ‘तिमीले भने पो थाहा पाउनु ।’ जिज्ञासु बनेँ ‘के विशेष हो ? ‘ कलियुगमा नहुने नहुने कुरा हुन्छ भन्नु हुन्थ्यो हजुरबुवाले । साँच्चै हो र छ । मैले झिँजो मान्दै भनेँ- आ….. साबित्रा कुरा के हो खुलस्तै भन न । घुमाइ फिराइ भूमिका बाँध्ने तिम्रो बानी मलाई मन प्रदैन । एक त समयको बर्बाद, अर्को सुन्न पट्यार लाग्दो हुन्छ ।
मेरा कुरा भुइँमा खस्न नपाउँदै उसले ओंठे जवाफ फर्काई ‘आफू कुरा गर्न थाल्नु भयो भने अरुलाई मौका दिनु हुन्न । खसाल्न पाउँदा भुइँमै पुर्याउनुहुन्छ ।’ म पनि के कम, सवालको जवाफ दिएँ ‘कुरा खसाल्ने र उचाल्नेको होईन ।’
उसले यथार्थको गाँठो फुकाउन नभ्याउँदै मेरो बैठकमा फोनको घण्टी बज्यो । सोचेँ- जरुरत भन्दा ज्यादा सुख सुविधाले पनि झर्को लगाउँछ । बेला न कुबेला किरिङ्ग…किरिङ्ग… घण्टी बजाएर । ‘ल साबीत्रा भरे भोली भेटेर गफ गरौँला’ भन्दै म बैठकमा छिरेँ ।
फोन उठाएर हेल्लो… मात्रै गर्न भ्याएकी थिएँ। एक्कैचोटि क्वाँ.. क्वाँ…रोएको आवाजले मेरो कान डम्म टालियो । मलाई ठूला मान्छेले डाँको छोडेर रोएको राम्रो लाग्दैन । रुवाइ यति चर्को थियो की यस्तो लाग्थ्यो, मानौँ म कोठामा नभएर माछा बजारमा छु जहाँ मान्छेहरु मच्ची मच्ची कुर्लीरहेछन् । फोन न राख्नु न उचाल्नु । केही नभनी राख्दा अनुशासनहीन हुईन्छ । नराखौं कुरा बुझेको होईन । रनन मेरो कन्सिरी तातियो । छिनमै सेलायो । मैले भनेँ- रुन छाडेर कुरा के हो भन उषा ? यथार्थ ओकेल्नु भन्दा अगाडि रुने तेरो बानी अझैं गा’को छैन ।
उसले ठसठस कन्दै भनि – मेरो श्रीमानले अर्को श्रीमती ल्यायो । छिमेकमा हल्ला फिँजिएको छ । उसका शब्दले मन ग्रहुँगो भयो । भित्रभित्रै उकुसमुकुस भयो । सोचेँ उफ्….एउटी श्रीमती छँदाछदै अर्की ल्याउने संस्कारको कहिले अन्त्य होला ? छातीमा परेको गाँठो लाई लामो सास तानेर सहज बनाउँदै भनेँ- छिमेकीका कुरा सुनेर कि तँलाई पनि श्रीमानमाथि शंका छ ? काम विशेषले कतै गएको पनि हुन सक्छ ।
होईन मलाई नसोधी कहीँ नजाने मान्छे । श्रीमती ल्याएकै हो । केहि दिनदेखि उसको ब्यवहारमा भिन्नता आएको थियो । अड्की अड्की जवाफ दिइ उसले । मैले भनेँ- शंका लागेपछि सोध्नुपर्दैन थियो त ?
सोधेको – अचेल तपाईलाई के भएको छ ? धेरै बोल्नु हुन्न । खानेकुरा पनि मनलगाएर खानु हुन्न । सञ्चो छैन् भने डाक्टर देखाउँनु पर्छ । तर उसले मेरो भावनाको कदरै नगरी रुखो जवाफ दियो “मलाइ केही भएको छैन् । तँ आफ्नो बिषयमा सोच । खा ! दिनभरि टि.भीमा सिरियल हेर….! किन चासो लिनु पर्यो मेरो निजी मामिलामा ?” रिसायो । उसको अभद्र ब्यवहारले मलाई पनि रिस उठ्यो । त्यसपछि मैले पनि उती चासो राखिनँ ।
‘अहिले कहाँ छ केही थाहा छ ? ‘
‘घर नआएको तीनदिन भयो । काँ छ, के गर्दै छ, अत्तोपत्तो छैन । पसल काम गर्ने केटाको भरमा लठिभद्र छोडेर हिँडेको छ । म एक्ली आइमाईले ब्यापार सम्हालुँ कि छोराछोरी हेरौं । के के गरौं ? ल तँ आफैँ भन त ? यो सम्भव छ ?’ उ फेरि डाँको छोडेर रुन थाली । मैले मन दह्रो पारेर भनेँ – कस्ले भन्यो तँ एक्ली छस् ? म छु साथमा । त्यसरी नरो…! मरेरै गएको त होइन नी । कति दिन पो लुक्छ ? आईहाल्छ नि ! रोएर मात्रै नबस छोराछोरीको पनि ख्याल गर । तेरो यो डाँको छोडेर रुने बानीले बच्चाहरुमा नराम्रो असर पर्छ । आमा भएर धेरै कुरामा सचेत हुनुपर्छ। बुझिस ?
‘बुझेँ ।’
ल बुझेकी भए ती बगिरहेका आँसु पुछ । सत्यलाई स्वीकारेर अगाडि बढ्नेबारे सोच । म अहिले फोन राख्छु ।
फेरि उ म माथि खनिन थाली । के थाहा तँलाई लोग्ने नभएपछि मान्छेले कति हेप्छन् । भर्खरै मैले तँलाई सम्झाएको यति चाँडै भुलेकी ? हुने हुनामी टारेर टर्दैन । मान्छेको नियतीनै हो, हेप्ने, थिच्ने, मिच्ने । ताली बजाउँने । उबेला आफ्ना लागि आफैँले गर्नु पर्छ भन्दा टेरिनस । पतिनै प्रमेस्वर ठानेर घरको चारदिवार रुँघेर बसिस् । अहिले देखाईदियो तेरो पति प्रमेस्वरले । जे भो भो, यो रुने कमजोरी काम छोडेर आफ्नो खुट्टामा उभिने उपाय सोच । अझैंपनि केही बिग्रिगा’को छैन । साह्रो, गाह्रोमा मपनि सघाउँछु । छोराछोरी छँदैछन् । पीर नगरी व्यापार सम्हाल । संघर्षनै जीवन हो । मैले उसलाई ढाडस दिँदै फोन राखेँ ।
फोन राखेपछि मलाइ उधुम रिस उठ्यो । उषाको श्रीमानसँग । आखिर के कमी थियो ? कस्ता राम्रा तामाका मुना जस्ता छोराछोरी थिए । उषापनि सँगै हिँडाउँदा छि भन्ने रुपनै नभएकी पनि थिइन । लोग्ने मान्छे त लोग्ने मान्छे भयो । त्यो दुई दुईजना छोराछोरीको बाउसँग आउँने स्वास्नी मान्छे पो कस्ती भन्या ? कमसेकम छोरी मान्छेको मर्म त छोरी मान्छेले बुझनु पर्छ । जमाना पनि कस्तो आयो ? पैसा भए पुग्ने अगाडी पछाडि केही नसोच्ने । म एक्लै मनसँग भुतभुताईरहेकि थिएँ । फेरि बाहिरदेखि साबीत्राको आवाज आयो ।
मनमा कुरा राखेर कहाँ सञ्चो मानेर बस्न सक्ने केटी हो र साबीत्रा । फेरि आईपुगी । यसले गर्दा मेरो बानी बिग्रीसक्यो । ढुक्कले पढ्न लेख्न निन्द्रादेबीसँग सापट लिनुपर्छ । बाँदर आफु पनि घर बनाउँदैन । अरुलाईपनि बनाउन दिँदैन । म चुल्होमा पकाउन बसाएको मकैको पिठो फत्केझैं मनमनै फत्किँदै बाहिर निस्किएँ ।
मलाई सामु देख्ने बित्तिक्कै सहानुभूति प्रकट गरि उसले -दिदी कोठामा कति गुम्सिएर बस्नु हुन्छ ? यसो बाहिर फेरको शीतल हावापनि खानुपर्छ । फेरी प्रश्न गरि- कस्ले फोन गरेको दिदी ? मैले ‘उषाले’ भनेर जवाफ दिन नभ्याउँदै फेरी अर्को प्रश्न तेर्स्याइ – के कुरा भयो ? उसका प्रश्नमाथि प्रश्नले दिग्दार भएर मैले भनेँ -तिमीलाई सबै खोजीनिति चाहिन्छ ?” उ उल्टो मलाई टोकसो गर्न थाली ’यो दिदीसित केही सोध्नै हुँदैन । त्यसै रिसाइहाल्नु हुन्छ । तपाईको उज्यालो मुहारमा अँध्यारो सलबलाएको देखेर सोधेकि । नत्र मलाई के चासो तपाईको ठाउँमा अर्को कोही हुन्थ्यो भने । उ साखिली पल्टिएर हिहिही….. गर्दै हाँसेर टार्छे ।
उठेको रिस आफैँ भित्र दबाउँदै मैले भनेँ – साथी फोनमा धेरै रोएकीले नरमाइलो लाग्या छ । मेरो बोली खस्न नपाउँदै सोधी- किन रुँनु भएको ? ‘ मन नलागी नलागी जवाफ दिएँ- ‘श्रीमानले अर्की श्रीमती ल्यायो रे ।’
एक बित्ताको लेघ्रो तानेर अर्थ्याउन थाली उ- तपाईलाई थाहा छ दिदी नपाउँञ्जेल कस्तो पाएपछि सस्तो भन्ने उखानै छ । पोहर मेरो बुढाले पनि म माथि झन्डै सौता हालेका थिए । मैले त उनको साथीमार्फत चाल पाएर ल्याउँन तयार पारेकी आइमाईबाट अलग पारेँ । नत्र मेरो पनि यिनताका बेहाल हुन्थ्यो । यी लोग्ने मान्छेको जातलाई गोठालो लाग्नु पर्छ । उसको कुरा सकिनासाथ मैले भनेँ- नचाहिँदो कुरा नबोल । के बस्तु हो र गोठालो लाग्नु ? मान्छेलाई पनि गोठालो लागेर सम्भव हुन्छ ? फेरि तिमी जस्तै बाठाटाठा सप्पै कहाँ हुन्छन् ? माया प्रेम भनेको एक अर्काको विश्वाशले बन्ने चिज हो । जवर्जस्ती गरेको सम्बन्ध कतिञ्जेल टिक्छ ? के गर्नु दिदी नियती यस्तै छ, श्रीमान श्रीमती बीचको । सम्बन्धमा धुमिलपन नछाओस् भन्ने हेतुले श्रीमतीले सचेत भएर नाता बचाउँन धेरै जिम्मेवारी निभाउनु पर्छ ।
तपाईलाई बरु ढुक्क विवाह पनि गर्नु भएन । उ जिज्ञासु बनेर मेरो शिरदेखि पाउसम्म आफ्ना गुच्चा जस्ता आँखा घुमाएर प्रश्न गरि – साँच्ची दिदी तपाईले किन विवाह नगरेको ? म उतिर फेर्केर भन्छु – तिम्रो दिमागमा यी अर्नगल कुरा कति उब्जिनसकेका ? अब मेरै दिमाग चाट्न सुरु गर्यौ ।
कुराको चुरोसम्म नपुगी कहाँ उ चपचाप बस्छे र फेरि । अचम्म लाग्छ । यति राम्री पढेलेखेकी जागिरे हुनुहुन्छ । के कसैले आँखा लगाएनन् त ? म पनि सिधैँ भनिदिन्छु- मैले आँखा लगाएकाले मलाई लगाएनन् । मलाई आँखा लगाउँनेलाई मैले लगाईन । यस्तै भयो । साँचो कुरा भन्ने हो भने विवाह गर्न आवश्यक ठानिनँ । उ गम्भीर हुँदै उपदेशको भाषा बोल्न थाली- बल्लबल्ल ८४ जूनी पार गरेर मान्छेको जूनी पाईन्छ। विवाह नगरी किन बस्ने ? उसको जिज्ञासु प्रश्नमाथि प्रश्न थपें मैले- के हाम्रो जन्म बिवाह गर्नका लागि मात्रै भएको हो ? ‘खोइ के सोची कुन्नी’ स्तब्ध भई उ । मैले उसको जवाफको प्रतिक्षा नगरि भनेँ – अब मेरो बिषयको कुरा बन्द गर । जुनदिन लगन जुर्ला त्यहीं दिन सोचुँला । यत्रो संसारमा मैले विबाह नगर्दा सगरमाथाको उच्चाई घट्दैन क्यारे ? छोरी मान्छे एक ठाउँ भेला भएपछि फेद न टुप्पाको बिषयबारे एकपछि अर्को कुरा उम्रिन्छन् । खान्न खान्न लोकाचार, खान लागे मानाचार भने अख्यान चरितार्थ हुनपुग्छ । मेरो एकहोरो संवाद सकिएको निक्कैबेरमा बल्ल वाक्य फुटाइ उसले- यो दिदीलाई अख्यान पनि कति आ’को ।
चुप्प लाग्न सक्तिनँ म पनि- यही अख्यान र फजुल कुरा भन्दा अरु के गर्न सकियो र ? हातको सिन्काले भुइँ खोस्रिदै उसले भनि- यो पनि एउटा कला हो । त्यो तपाईमा छ ।
उसका कुरालाई उछिन्दै म प्रश्न गर्छु ‘अँ ! साँच्ची तिमीले नयाँ कुरा थाहा पाउँनु भयो ? भन्थ्यौ नि ? ‘ उ उत्साहित हुँदै भन्न थाली “त्यो छनी मनशोभा क्या त । के भयो उसलाई ? त्यसको पहिलो लोग्ने बसले किचेर मारेको थियो । साथमा चार वर्षको छोरा छ । फेरि विवाह गरिछ । के के न विशेष कुरा होला भन्ने ठानेको त । जावो विवाह गरेको कुरा पो ? वाहियात कुरा । के बिराई अर्को विवाह गरेर ? दिदी पूरा कुरा त सुन्नु । आज्ञाकारी बनेर म उसको कुरातिर चासो देखाउँछु । उ भन्दै गई -’केटासँग होईन । केटी सँग । जोसँग आफ्नो भित्री कुरा मिल्छ, उही सँग गर्ने हो विवाह भनेको । किनकी एक अर्का खुशी भएर जीवन बिताउँनु नै विवाहको साँच्चो अर्थ हो । मैलेपनि आफ्नो विचार थपेँ -’के गर्नु कसैले स्वीकारेका छैनन् । घर घरमा अचेल त्यहीं बिषय बनेको छ । कति लाजमर्दो बनाई बुढा भएका आमाबाउलाई । मलाई त साथि हो भन्न पनि लाज लाग्छ । उसले मुन्टो बटार्दै खकारेर थुइक्क गरेर भुइँमा थुकी ।
‘होईन साबित्रा उसको नीजी जिन्दगीमा तिम्रो टाउको किन दुखेको ? ‘
‘तपाई धेरै त्यो गतिछाडाको पक्ष नलिनु दिदी ।’ मैले रिसले अनुहार रातो पार्दै चर्को स्वरमा भनेँ-अरुको खोइरो खन्नु चाँही राम्रो । त्यसो होईन भन्दा पक्ष लिएको हुन्छ ? उ नाजवाफ भएर मेरो अनुहारमा टुलुटुलु हेरिरही र जुरुक्क उठेर थाप्लोमा हातले छोएर भनी ‘ओहो ! भुसुक्कै बिर्सिएछु । बुढाको युनिफर्म धोइदिनु थियो । घाम पनि मधुरा भैसकेछन् । भोली काममा हिँड्ने बेलासम्म सुकेन भने मेरो सातो लिन्छन्।” उसको अनुहारमा डरको रेखा प्रस्ट देखिन्थ्यो । उसको समस्यामा राहत होस् भनेर मैले सुझाएँ- धोएर छतमाथि ह्याङ्गरमा झुण्ड्याई देउ । रातभरिको पूर्वी हावाले भोलीसम्म मज्जाले सुक्छ। मेरो सुझाउले उ प्रसन्न भएर भन्न थाली- राम्रो सल्लाह दिनु भयो । गुरुआमानै ठहरिनु भयो।
म उसका कुरा सुनेर ओँठमा हाँसो च्याप्दै भित्र पसेँ । पानीका घुट्काले घाँटी भिजाएर कुर्सीमा थचक्क किताब खोलेर बसेँ । पढाईतिर ध्यान पटक्कै गएन । उषाले गरेका कुरा बारम्बार दिमागमा गुञ्जिरह्यो । म भित्रभित्रै मर्माहित हुन पुगेँ । किताब बन्द गरि आँखा चिम्लिएर गहिरो सोचमा डुबेँ । जन्मनुको अर्थ हुने थिएन होला जिन्दगीमा अगाडि बढिरहन पाए । घरीघरी जिन्दगीको गोरेटोमा गुडिरहेको गाडी ब्रेक फेल भएर एक्कासी पछाडि सर्छ । मान्छे दुखी हुन्छ । रुन्छ, कराउँछ । सुखमा मात्तिन्छ । दुखमा आत्तिन्छ । यो मान्छे भन्ने कस्तो प्राणी हो ? कसैगर्दा पनि सन्तोष मान्दैन ।
भन्छामा गएर केही बनाई तुल्याई गरेर खाने जाँगर पनि मर्यो । सोच्ता सोच्तै त्यसै पल्टिएँ । अचेल साँझपख जाडो हुन थालेको छ । खुट्टा मुन्तिर पट्याएर राखेको सिरकको तह खोलेर ओढेँ । टाउको पनि दुख्लादुख्ला जस्तो भयो ।
शरीर र मौसम्’को केही भरोसा हुँदैन । मौसम पनि छिनमै अँध्यारोले छोपेर गड्याङगुडुङ् गर्दै घनघोर वर्षा हुन थाल्छ । छिनमै टन्टालापुर घाम लाग्छ । शरीर पनि घरी दुख्छ । घरी पोल्छ । घरी घोच्छ । ठीक छ भन्ने त दिन नै हुँदैन । मुखभरि हाई काढ्दा काढ्दै कुनबेला निदाएँ पत्तै पाईन । बिहान टेबलको घडी टिङ् टिङ् बज्दा पो ब्यूँझें ।
बिस्तारबाट उठ्ने बित्तिकै चिया चाहिन्छ । चिया खाएन भने दिनभरि जिउँ गह्रुंगो हुन्छ । नमीठो लत बसेको छ चियाको । भान्छामा गएर ग्याँस बालेर चियाको लागि पानी बसाएँ । बैठकमा फोनको घण्टी किरिङ…. किरिङ…. बज्यो । बलेको ग्याँस सानो पारेर बैठकमा पुगेर फोन उठाएँ।
उषा रै’छे । शायद रातभरि रोएर बसी होला, स्वर भासिएको थियो । उसले बोलेको राम्रो सँगले बुझिन । यताबाट भनेँ -अँ उषा श्रीमानको पत्तो लाग्यो ? निन्याउरो हुँदै भनि- के लाग्नु घरबार त्यागेर हिँडेको मान्छेको । त्यसैको लागि दाजु भाउजु आउनु भएको छ । अब प्रहरी चौकी जान लागेका ।
धेरै चिन्ता नगर । ठण्डा दिमागले सोचेर निर्णय गर । बितेको कुरा फर्केर आउँदैन । म पनि आउँथेँ विद्यार्थीहरुको परिक्षा नभएको भए । हिजो अल्छीले केही नखाई सुतेँ । आज टाउको दुखेर फुट्ला जस्तो भएको छ । रिँगाटा पनि चलेको छ । अब केही तातो बनाएर खान्छु । आज ९:३० मै स्कूल पुग्नु पर्छ । ढिला भयो भने हेड सरको गाली खानु पर्छ । आफूमाथि भरोसा राख सबै ठीक हुन्छ । परिक्षा सकिएपछि म तँलाई भेट्न आउँछु । मैले एक्कै सासमा भनि सिध्याएँ । मसिनो स्वरमा हुन्छ…भनेर उसले फोन राखी । म पनि ग्रहुँगो मन पार्दै भान्छातिर छिरेँ ।
गीता थापा (दोषी)