~गीता थापा ‘दोषी’~
‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम ? बोथ भेरी लक्की ।’ बसुन्धराकी छोरी जेनीले बार्दलीमा उभिएर भनेको कुरा याद आयो कमलालाई। आज भन्दा दश वर्ष अघिको कुरा हो। त्यतिखेर कमला र जीवनको भर्खर विवाह भएको थियो। लज्जालु स्वाभवकी कमलाले जेनीतिर हेर्दै मुसुक्क हाँसेर स्वीकारेकी थिई। जीवनले घोसे मुन्टो लगाएर टारेको थियो। जेनी अमेरिकामा जन्मेकी, नेपाली भाषा सिक्न खुव मन गर्थी । तीन महिनाका लागि आमाबुवा सँग नेपाल घुम्न आएको बेला कमलाले जेनीलाई नेपाली भाषा बोल्न सिकाएकी थिई ।
अमेरिका फर्केपछि ट्युसन पढेर अहिले त जेनी नेपाली खरर बोल्न र लेख्न सक्छे । अमेरिका फर्कने बेलामा ‘म नजाने आण्टीसँगै नेपाल बस्छु’ भनेर आमासँग निक्कै झगडा गरेकी थिई । तर ‘यहाँ भविष्य छैन्, पछि पढाई सकेर आउँनु’ भनेर आमाबुवाले सम्झाई बुझाई अमेरिका लगेका थिए । त्यो बेलादेखि जेनी नेपाल आएकी छैन् । अब त उ २० वर्षकी जवान केटी भैसकी ।
अन्लाईनमा भेट हुँदा ‘पढाइ सकेर मम ड्याडको जन्मभूमिको लागि केही गर्छु’ भन्छे । कति लगाब त्यो उतै जन्मी हुर्की सुख शैलीमा जीवन बिताएकी बच्चीलाई । तर आमा बुवा भने यता बस्न मन गर्दैनन । गर्मी, धुवाँ, धूलो,बिजुली आउँदैन यस्तै यावत समस्याको गुजुल्टो पारेर पन्छिन्छन् । सासू ससुरा पनि उतै बस्न थालेको तीन वर्ष भयो । कमला दुई मसिना छोरीसँग नेपालमा बसेकी छ । पति जीवन पनि कोरियातिर गएको दुई वर्ष भयो । हुन त ईन्टरनेटको दुनियाँले विश्व सानो भएको छ । तरपनि नजिक भएको जस्तो हुँदैन । एक्लो त्यो घरले कमलालाई टोक्न आउँला झैँ लाग्छ । कहिले त डरले रातभरि निदाउँदिन उ । भर्खर बिवाह गरेको बेला जेनीले भनेका तिनै शब्द गुञ्जिन्छन् उसका कान वरिपरि ‘अंकल आण्टीको हाउ नाइस कपल हगी मम? बोथ भेरी लक्की ।
अचेल कमलालाई जेनीले भनेका ति शब्द अभिसाप सावित भएका छन् । उ आफ्नो पुन्पुरो भित्तामा ठोक्दै धेरै चोटि रोइसकी । भाग्य सप्पैले देख्छन् । तर भित्रभित्रै गँवारो किराझैँ टाँसिएर बसेको अभाग कसले देख्छ ? हुन त कमलालाई केहीको दु:ख छैन् रपनि उसले सन्तोषको गहिरो निन्द्रा निदाउँन सकेकी छैन् । उसको माइती घरमा यत्रो महल थिएन । खानको लागि बास्मती चामल थिएन । फ्रिज थिएन । ४२ इन्चको रङ्गिन टेलिभिजन थिएन । न त थियो बाथरूम र टुवाइलेटको घरभित्रै ब्यवस्था र सुत्नका लागि बाक्लो डनलप । रैपनि उ राती ओछ्यानमा पुग्ने बित्तिक्कै भुसुक्कै निदाउँथी । ‘कति सुत्न सकेकी यो केटी उठ’ भनेर बिहान आमाले घच्घच्याउँदा लामो हाई काडेर आङ तन्काउदै उठ्थी उ
तिसब आज निक्कै पछाडि छोडेर अगाडि आईसकी कमला । उसले चाहेर पनि त्यो समय फर्केर आउँदैन । त्यो एउटा अतित थियो । त्यही अतित अचेल सम्झना बनेर उसको मानसपटलबाट ठुङ्ग्न आउँछ रातको सुन्यतालाई चिर्दै । उ उतानो पारेर लामो… लामो… सास तानेर पलङमा पल्टिएकी छ । सदाझैँ आज पनि उसको पति जीवन अन्लाईनमा झुल्कियो । न खुलेर हाँस्छ उ । न खुलेर बोल्छ । भर्खर परिचय भएको अजनबीझैँ हाइ हेल्लो” गरेर कतातिर ब्यस्त हुन्छ । कुर्दाकुर्दै कमलाका नौनारी फत्रक्कै गल्छन् अनि निन्द्रा लाग्यो भन्ने बहाना पारेर कम्प्युटरबाट बाहिरिन्छे उ ।
‘कहिले घर आउँनु हुन्छ’ दुई वर्षमा हजारपल्ट भन्दा बढी सोधिसकी । कति पल्ट त छोरीले हेर्न मन गरेका छन् भनेर सम्मेत बहाना बनाई । तर जीवन घर फर्कने मनै गर्दैन । केको हतार घरमा आएर मात्रै के हुन्छ भनेर टार्छ । अचेल आजित भएर त्यो बिषयमा कुरै गर्न छाडि उसले ।
पहिला जति शान्त स्वभाव थियो कमलाको अचेल त्यो भन्दा ज्यादा चिट्चटाहटमा परिणत भएको थियो । उसलाई अचेल एकदम रिस उठ्ने भएको छ । उ भित्र भित्रै टुटीसकी । अब उसको बैवाहिक जीवनमा सुख हुन्छ भन्ने आशा र विश्वाश मरिसक्यो । पीर र ब्यथाको आँधीहुरीमा पिसिएर उसले एक्लो जीवन पाँच वर्ष बिताइसकी । ति दुई छोरी अगाडि देख्दा पनि उसलाई शंका लाग्न थालेको छ । यी मैले जन्म दिएका छोरी हुन र ? मेरै छोरी हुन र ? मेरो बिवाह भएको होर ? उ आफैँ सँग प्रश्न गर्छे । छोरीले मम्मी भनेर बोलाउँदा पनि अनौठो लाग्छ उसलाई । छोरी मसिना छन् । आमालाई के भएको छ भनेर भेउ पाउन सक्दैनन् । कमलालाई अचेल केही होस् हुँदैन । कहिलेकाहीं त छोरीहरुलाई स्कूलबाट घर ल्याउन सम्मेत बिर्सिन्छे । धन्न एकजना छिमेकी बहिनी उसका छोरीहरु पढ्ने स्कूलमा पढाउँछिन र उनैको हात समातेर घर आउँछन् छोरीहरु ।
पैसाको ओछ्यान र आलिसान महल छ । तर त्यहाँ माया छैन् । लोग्नेको न्यानो अँगालो छैन् । बिवाह गरेर एक अर्काको राम्रो र नराम्रो पक्षको पहिचान गर्न नभ्याउँदै । खुलेर हाँस्न र बोल्न नपाउँदै । कोरिया लागेको जीवन । पहिली छोरी दुई वर्षकी थिई । दोश्री गर्भमै थिई उ कोरिया लाग्दा । दाजु भाउजु अमेरिका । आमा बाउले कमाएर राखेको प्रसस्तै सम्पत्ति छ । ‘यतै केही गर्दा हुन्छ’ भन्दा समेत ‘दुईचार महिना घुमेर फर्किन्छु’ भन्थ्यो । आज पाँच, पाँच वर्ष बितिसक्दा पनि अझैँ घर आउन चासो नराख्दा कमलालाई जीवनको चरित्रमाथि शंका लाग्न थालेको छ । श्रीमती भएको नाताले त्यो शंका स्वभाविक पनि हो । अभावमा बिछोड सहन सक्छ मान्छे। पुगिसरी हुँदा पलभरको बिछोड पनि कठिन हुन्छ उसलाई ।
एकदिन अन्लाईनमा कमलाले मुखै फोरेर भनि- हजुरले बिवाह गर्नु भयो कि कसो ? ‘
‘तिमीलाई कस्ले भन्यो ? के प्रमाण छ तिमीसित ? बसेर खाएको मात लागे जस्तो छ । ‘ नाँनाथरी शब्दको झटारो अन्लाईनबाटै फ्याँक्यो जीवनले । तर त्यो दिन कमला पनि हार मानेर चुपचाप बसिन । कति सहने घरमा खानै खाँचो भए ठीक थियो । तर जीवनको घरमा त सात पुस्तालाई ओखाइ पोखाइ खाए पनि पुग्ने सम्पत्ति छ । उसले विदेशमै ढुक्कै बस्नु पर्ने कारणनै छैन।
कमलाले भनि ‘त्यसो हो भने घर सम्पत्ति छोरी जिम्मा लिन आउँनु । म दिन रात एक्लै सुनसान मसानघाट जस्तो आलिसान महल रुँघेर बस्न सक्तिनँ । यो चारदिवारबाट छुट्कारा चाहन्छु । मलाई तर्साउँछ तपाईको भुत बङ्गालाले । एकगाँस भातको लागि पिँजडाभित्र उड्न सक्ने पखेटालाई कुञ्जो बनाई केको रहरले कहर काँट्नु ? म तपाईकि जीवन संगिनी हुँ । बिहान बेलुका भातको लोभले घर रुँघेर बस्ने नोकर्नी होईन । ‘ कमलाका शब्दको तिखो प्रहारले जीवनलाई करेन्टको झट्का लागे झैँ लाग्यो क्यार । उ अन्लाईन बाट हरायो ।
कमलाले म्यासेज छोडेर कम्प्युटर निभाउँन आँटेकी थिई । जेनी अन्लाईनमा झुल्की ‘हाइ आण्टी ‘ भन्दै । जेनीलाई देख्ने बितिक्कै कमलाको रिसले तातेको पारो सेलायो । उत्साह र उमंग पलायो । जेनीले उताबाट लेखि ‘आण्टी हजुरको लागि एउटा गूड् न्युज छ । ‘
‘छिटो भनन जेनी म सुन्न हतारिएकि छु’ कमला उत्साहित बन्दै भनि ।
‘ओ रेअल्ली आण्टी ?’
‘यस रेअल्ल डार्लिङ्ग’ यताबाट लेखेर पठाई कमलाले ।
‘म नेपाल आउँदैछु’ जेनीबाट रिप्लाई आयो । त्यो कुराले कमलाको भुइँमा खुट्टा भएन । ‘को सँग ?’ सोधी ।
‘एक्लै । म २२ वर्षकि भईसके आण्टी । अब त आफैँले केही गर्नु पर्छ ।’
‘के गर्ने बिचार छ जेनी ? ‘
‘पहाडको बिकट गाउँ बस्तीमा घुमेर गरीब र दुखीहरुका पक्षमा काम गर्ने सोच बनाएकि छु । मम र ड्याडले पनि तिम्रो इच्छानै त्यही छ भने हामी सघाउछौं भन्नु भएको छ । ‘
रात धर्तिको छाती माथि बिश्राम गरेर घ्वार… घ्वार… घुर्दै थियो । जेनीका शब्दले भने तानिरहेको थियो उसलाई । जेनीको साहस र सकरात्मक सोच देखेर गर्व महशुस भएको थियो उसलाई । निक्कैबेर उ च्याट बक्समा केही नलेखिकन जेनीका कुरा पढेर मात्रै बसी । उताबाट जेनीले सोधी- ‘आण्टी निन्द्रा लाग्यो ? ‘
‘आँखा पोलिरहेका छन् । तर तिम्रा कुराले यो कम्प्युटर छोडेर जान्नै मन छैन ।’
‘अब हजुर सुत्न जानुस निन्द्रा बिगार्नु हुन्न। शरीरले पुग्दो मात्र आरम पाएन भने कम्जोर बन्छ ।’ कमलाले अचम्म मान्दै लेखि ‘होईन जेनी तिमीले यति धेरै कुरा कहाँ देखि सिकेकी ? ‘
‘इच्छा र जिज्ञासा भयो भने मैले मात्रै होईन सप्पैले सिक्न सक्छन्’ जेनीले उत्तर फर्काइ ।
‘अँ साच्ची आण्टी मेरो लागि एउटा राम्रो नेपाली नाम जुराईराख्नु ल ?’
‘त्यो नाम के भयो र ?’
‘होईन मलाई नेपाली नामनै मन पर्छ। ममको कस्तो राम्रो नाम छ बसुन्धरा । म अमेरिकामा जन्मिएकी भएर ड्याड र ममले मेरो नाम जेनी रखिदिनु भयो । अब म आफ्नै नेपाली नामले परिचित हुन चाहन्छु ।’
‘ठीक छ तिमी नेपाल आउ म तयार पारी राख्छु । ल अहिले कम्प्युटर निभाउँछु । अलिबेरमा बिहान हुन्छ ।’
‘ओके आण्टी शुभरात्री ! ‘
कमलाले जेनीलाई शुभरात्री फर्काएर कम्प्युटर निभाई ।
बिस्तारमा गइ । दुई छोरीहरु आन्नदले निदाइरहेका थिए । दुबैलाई एकटकले हेरी र दुबैजनाको गालामा म्वाइ खाई । ‘म मेरा छोरीलाई जेनी जस्तै असल सोचबिचार भएका दुखीहरुको सेवा गर्न बनाउँछु’ मनमनै गमी र शिरान छेउको बत्तिको स्विच बन्द गरेर आँखा चिम्मलिएर ढल्की । शायद जेनीका शब्दमा गहिरिएर दिमाग थाकेछ क्यारे । त्यो दिन मज्जाले निदाई उ ।
बिहान उठ्दा शरीर चङ्गाझैँ भएको थियो । आफू उठेर छोरीहरुलाई उठाई । तल दुधवालले घण्टी बजायो । बिहान त खाना बनाएर छोरीहरुलाई खुवाएर स्कूलको गाडीसम्म छोड्न आउ जाउ । उनीहरुका कपडा धोइधाई गर । समय मिलिक्कै जान्छ । साँझमा पनि छोरीहरुलाई केहिबेर पढाउ । ग्रिहकार्य गराउ । खाना खुवाउ । आफू खाउ । जुठा भाडा खकाल्दाखकाल्दै रात परिहाल्छ । अनि मात्रै बल्ल जीवन अन्लाईनमा छ कि भनेर कम्प्युटर खोल्छे उ ।
तर आज उ अन्लाईनमा देखा परेन । इन्बक्स खोली….म्यासेज छाडेको रहेछ । पढ्न थाली… तर त्यो म्यासेज जीवनले लेखेको हो भन्ने पत्यारै लागेन उसलाई । ‘नजानु के कमी छ र’ भन्दा दुईचार महिना घुमेर आउँछु भनेर गएको थियो, सानी छोरी गर्भमा छोडेर । आज पाँच वर्ष बितिसक्यो । मेरो बारेमा केही नसोची निर्लज्ज म तिमीबाट छुटकरा चाहन्छु रे ! मैले घर छाड्नुको कारण पनि तिम्रो र मेरो बिवाहनै हो । किनकी मैले आमा बुवाको करकापमा परेर तिमीसित बिवाह गर्नु पर्यो । शायद गरीबकि छोरी पैसाको लोभले नोकर्नीको दर्जा दिँदा पनि हुन्छ भन्ने ठान्यो होला !
कमलाका आँखा आँसुले जलथल भएर भरिए । गला हुँदै सिंगो छाती भिज्यो । निक्कैबेर जीवनले लेखेको म्यासेज हेरेर घोत्ली उ । उसको मन भित्र आँधी तुफान उठ्यो । तर त्यो आँधी तुफानलाई छिन्मै शान्त पारेर उत्तर लेखि उसले ‘तिमी आफूलाई के सोच्छौ ? ठीक छ म तिम्रो कुरामा मञ्जुर छु । उसैपनि माया नभएको नाताको आडमा लुकेर तिम्री श्रीमती हुने शौख छैन् मलाई । म पनि अहिलेकि नारी हुँ । मलाई कमजोर देख्ने भुल नगर्नु तिमीले । आफ्नो खुट्टामा आफैँ उभिन चाहन्छु म पनि । जति खेल्नु थियो खेल्यौ मेरो जिन्दगीसँग तिमीले । अब यो खेल बन्द गरेर आआफ्नो बाटो हिँडेकै राम्रो । म मायावीहिन तिम्रो घरको चारदिवार रुँघेर एकगाँस भातको लागि जीवन बिगार्न चाहन्न । जति सक्दो चाँडो आआफ्नो गन्तव्य रोजेको बेश । यो समयको माग हो । यसलाई म केही अनौठो मान्दिनँ । बेलैमा मेरा बन्द आँखा उघारिँदिएकोमा आभारी छु जीवन ।’ कम्प्युटर बन्द गरेर यत्रो दिनसम्म तड्पिँदै बिताएको एकाङ्की जीवनको एक एक पल सोफामा बसेर सम्झन थालि उ ।