“ट्वाक, ट्वाक, ट्वाक” लगातारको आवाजले कान्छाको निँद खुल्यो । बारी गोड्दागोड्दै कान्लाको हरियो नरम घाँसमाथि ऊ निदाएको थियो । उसले आँखा मिच्दै वरपर हेर्यो । कतै लहाँचेले रुखको हाँगा खोपेर गुँड बनाउन लागेको हो कि भनेर रुखमाथि हेर्यो । एउटा लाहाँचे बसेको थियो । तर उसले टोड्को बनाउन लागेको थिएन । तर ट्वाक, ट्वाक आवाज आउन छाडेन ।
उसले बारीको डिलतिर हेर्यो । अचम्म ! एक जना पुड्को मानिसले कान्लाको ढुंगामाथि केही कुरा फोर्न लागेको उसले देख्यो । कान्छाले जीवनमा त्यति सानो मानिस देखेको थिएन । त्यो मानिस खरायोजत्रो थियो । उसले सेतो लुगा लाएको थियो । पहिले त उसलाई डर लाग्यो । तर अचानक उसले आफ्नो बजैले सुनाएको सेतो भूतको कथा सम्झ्यो ।
सेतोभूतलाई कब्जामा लिन पाए उसले गाडेको धन भेट्टाइदिन्छ भन्ने कान्छाले सुनेको थियो । त्यो सानो मानिस पक्कै पनि सेतोभूत हुनर्ुपर्छ भन्ने उसले ठान्यो । जीवनभरि अर्काको घरमा हलो जोतेर बसेको कान्छाले अचानक धनी हुने उपाय देख्यो । उसले त्यो सेतो भूतलाई समात्ने बिचार गर्यो ।
सेतोभूत एक सुरले ढुंगामाथि ओखर फोरिरहेको थियो । कान्छा चाल मारेर उसको नजिक आएको उसले पत्तै पाएन । कान्छाले अचानक त्यो भूतलाई च्याप्प समात्यो र भाग्ला भनेर बेस्सरी अँठ्यायो ।
“आम्मै ! के गरेको -” त्यो सेतो भूतले अत्तालिँदै सोध्यो ।
“लौ तैँले पैसा कहाँ गाडेको छस् – भन् । नभनेसम्म तँलाई छाडदिन ।” कान्छाले अरू कुरामा नअल्मलिई सेतो भूतलाई भन्यो ।
“ओ हो म निसास्सिएर मर्न लागेँ । अलि खुकुलोसँग त समात ।” सेतो भूतले भन्यो ।
“हात खुकुलो पारेँ भने त तँ भागिहाल्छस् नि । कुरामा नभुला । मलाई गाडेको धन देखा ।” कान्छालाई कहिले भूतले पैसा देखाइदेला भन्ने ध्याउन्ना थियो ।
भूतले नरम हुँदै भन्यो, “पहिले मलाई सास फर्ेन त देऊ । म मरेँ भने तिमीलाई पैसाको ध्याम्पो कसले देखउँछ -”
“लौ त लौ । नभाग नि । ध्याम्पो कहाँ छ चाँडै भन् ।” कान्छाले हात अलि खुकुलो पार्दै भन्यो ।
“हामी सेतो भूतले एकपल्ट बोले पछि बोल्यो बोल्यो । हामीले मानिसले जस्तो कुरा फर्ेन जान्दैनौँ । पहिले मलाई भुइँमा राखिदेऊ अनि पैसा गाडेको ठाउँ देखाइदिउँला ।” भूतको कुरामाथि कान्छालाई विश्वास लाग्यो ।
कान्छाले भूतलाई भुइँमा राखिदियो । भूतले आङ तन्काएर लामो सास फेर्यो अनि कान्छालाई भन्यो, “लौ हिँड मसँग । खोल्सा पारिको बनमा जाउँ ।”
सेतोभूतको पछिपछि लागेर कान्छा खोल्सामा पुग्यो । खोल्सामा सानो खोला बगिरहेको थियो । उसले भूतलाई हातमा बोकेर खोला तर्न सघायो । खोला तरेपछि उनीहरू अलिअलि उकालो हिँडदै बनतिर लागे ।
उनीहरु बनको माझमा पुगे । त्यहाँ पुगेपछि सेतोभूतले भन्यो, “लौ हामी धन गाडेको ठाउँमा आइपुग्यौँ ।” उसले एउटा रुखको फेँदतिर औँल्याउँदै भन्यो, “लौ यही रुखको मुन्तिर झण्डै पाँचहात तल सुनका मोहरले भरिएको एउटा ध्यम्पो छ । तिमी आफैले खनेर ध्याम्पो झिक्नर्ुपर्छ ।”
सुनको मोहरले भरिएको ध्याम्पोको नजिक पुगेको थाहा पाएर कान्छा दंग पर्यो । उसले जतिसकेको चाँडो त्यो ध्याम्पो हात पार्ने बिचार गर्यो । तर ध्याम्पो पाँच हात तल थियो । त्यसलाई नखनी निकाल्न सकिँदैनथ्यो । तर कान्छासँग खन्ने औजार थिएन । उसले भूतसँग खन्ने कुरा माग्यो । तर भूतसँग पनि औजार थिएन ।
भूतले भन्यो, “तिमी घर गएर खन्ने औजार लिएर आए भइहाल्छ नि ।”
“ठिक कुरा गर्यौ । मैले औजार लिएर नआएसम्म तिमी यहीँ बसिराख है त ।” कान्छाले भन्यो ।
“अब म किन बसिराख्नु पर्छ र – तिमीले औजार लिएर आउ र खनेर लगे त भइहाल्यो नि ।” भूतले भन्यो ।
“त्रि्रो कुरा त ठिक हो । तर म फेरि फर्केर आउँदा यही ठाउँ र यही रुख कसरी चिन्ने -” कान्छाले सोध्यो ।
भूतले हाँस्दै भन्यो, “यति सानो कामको लागि पनि म यहाँ बसिराख्नु पर्छ र -”
“कसरी थाहा पाउने त -” कान्छाले उत्सुक हुँदै सोध्यो ।
भूतले भन्यो, “तिमीले लाएको टोपी यो रुखको टुप्पामा राखेर जाऊ । र्फकँदा टाढैबाट रुख चिनिहाल्छौ नि ।”
कान्छालाई भूतको कुरा चित्त बुझ्यो । ऊ रुखमाथि चढ्यो र आफूले लाएको ढाकाटोपी फुकालेर सबैभन्दा अग्लो हाँगामा बाँध्यो ।
रुखबाट ओर्लेपछि उसले सेतोभूतलाई धन्यवाद दियो । खन्ने औजार लिन ऊ हतारिँदै घरतिर लाग्यो ।
घर पुगेर उसले चुच्चे, कोदोलो र साबेल लियो । पैसाको ध्याम्पो राख्नको लागि बोरा पनि लियो । ती सबै कुरा डोकामा राखेर ऊ हस्याङफस्याङ गर्दै बनतिर लाग्यो । बनको माझमा पुग्दा अँध्यारो हुन थालेको थियो । उसले आफ्नो ढाकाटोपी अडकाएको रुख खोज्यो ।
तर अचम्म ! उसले बनका सबै रुखका टुप्पामा एकएक वटा ढाकाटोपी झुण्डिएको देख्यो । असर्फीको ध्याम्पो गाडेको रुख अब कसरी चिन्ने – कान्छा निराश भयो । “बदमास भूतले मलाई झुक्यायो” भन्दै ऊ थुचुक्क रुखको फेँदमा बस्यो । भूतलाई नछाडेको भए आफूले चिताए जति धनसम्पत्ति उसले दिन्थ्यो होला भनेर कान्छा पछुतायो ।
त्यही बेला रुखमाथि कोही खितितिति हाँसेजस्तो लाग्यो । उसलाई भूतसँग रिस उठेको थियो । पक्कै पनि रुखमाथि बसेर भूतले जिस्क्याएको होला भन्ने उसलाई लाग्यो । रिसको झोँकमा ऊ जुरुक्क उठ्यो र सकेसम्म बल गरेर रुख हल्लायो ।
रुख हल्लाउँदा भूत त झरेन तर रुखमाथि झुण्ड्याएको टोपी झर्यो । कान्छाले भुइँबाट टोपी टिप्यो र आफ्नो ढाकाटोपी हो कि होइन भनेर हेर्यो । उसको ढाकाटोपी मैलो थियो । तर त्यो ढाकाटोपी भर्खर दर्जीकहाँबाट ल्याएजस्तो नयाँ थियो । उसले त्यो टोपी आफ्नो खल्तीमा हाल्यो ।
आफ्नो टोपी पत्ता लगाउन पाए त ध्याम्पो गाडेको रुख पत्ता लागिहाल्छ भनेर कान्छाले वरिपरिको रुख हल्लाउँदै टोपी झार्न थाल्यो । झरेका टोपीहरू बटुल्दै उसले डोकामा राख्न थाल्यो । रात पर्यो । डोको पनि भरियो । तर कान्छाले आफ्नो टोपी फेला पारेन ।
रात छिप्पिएपछि उसलाई बनमा बस्न डर लाग्यो । भूतलाई मनमनै गाली गर्दै डोको भरि ढाकाटोपी लिएर कान्छा घर फक्र्यो ।
अचेल कान्छा बजारको चोकैमा ढाकाटोपी पसल राखेर बसेको छ ।
(प्राचिन आइरिस लोककथाको आधारमा)