~सुबेश घिमिरे~
छन्द : शार्दूल बिक्रिडीत
सीमा भारतको नया मुलुक यो नेपालको काखमा
मेरो बाल्य थलो मधेश खजुरा* पश्चिम नेपालमा
माँ बागेश्वरीको* क्रिडास्थल अहो! ग्वालाहरुको बलो
चुरे पर्वतको सिरान बढिया यो उष्णताको थलो ॥१॥
भैंसी गाइ लिई बथान बहुतै साथीहरु भेलमा
तर्थ्यौं त्यो किरनै* नदी सहज नै पुग्थ्यौं अनि फाँटमा
खान्थ्यौं ती बनका तिजुँ, बयर औ जामून, किम्बू अनि
खेल्थ्यौं खेल थरी – थरी सब मिली काटेर घाँसै पनि ॥२॥
बित्थ्यो साँझ बिहान हामी सबको थाहै नपाईकन
बस्ता* त्यो जब खुल्दथ्यो शयनको हुन्थ्यो ठूलो चाहना ।
घोक्ने पाठहरु प्रसस्त तर लौ टाईम काहाँ थियो
भोलीको भरमा कुनै पनि हरे ! पाठै सिधिन्न थियो ॥३॥
माष्टर्जी ननिका, कडा अनि छुचा पाठै नसिध्याँउदा
भाग्थ्यौं लौ डरले त्यहीं नजिकको छाया मुनी बृक्षका
ल्याएको सँगमा चमेना सबको बाडेर खाईकन
गाउँथ्यौं बिरहा* रमेर सबले भाका मिलाईकन ॥४॥
सारा पोल अहो ! जसै घर महाँ पाठ्शालाका पुग्दथे
बाबाको मुखमण्डलै भर तहाँ ! मुस्कान नै नाच्दथे ।
भन्दा मृदुल वोलीले किन अहो ! बाबू नपढ्ने भइस् ?
न्युराई शीर चूपचाप रमिते बन्थें । अनि रीशले- ॥५॥
बाबाले सँगको छडी लिई कठै सोंठ्याउदा बेसरी
रूँदै काख महाँ गई जननीको लाडे बनी सुस्तरी
उफ्रँदै नजिकै खला* तक गई बोलाई संगी सब
खेल्थ्यौं डण्डि –बियो, कपर्दि सबले पालो मिलाई तब ॥६॥
बित्यो बालपना छिटै अनि भयो टाढा खजुरा पनि
स्वप्नै मात्र भयो सुखी जीवन औ ती ख्याल – ठट्टा अनि
साथी ती छुटिए कता पुगिगए एक्लो म छु साथमा
ताजा यादहरु लिई मगजमा तैरन्छु एकान्तमा ॥७॥
***खजुरा- मध्य पश्चिम तराईको एक गाँउ ।
***बागेश्वरी- नेपालगंज सहरमा अवस्थित एक प्रसिद्ध मन्दिर ।
***किरन- खजुरा मा बग्ने एउटा सानो खोला ।
***बस्ता- स्कुल लाने झोला ।
***बिरहा- पश्चिम तराईमा गाईने अवधि (स्थानिय) भाषाको लोक गीत ।
***खला- खलिहान, खमार, दाँई गर्ने सम्म परेको ठाँउ ।
(स्रोत : Subesh’s Blog )