घर अगाडिको जमीनको सानु एक टुक्रा र त्यसमा फुलेका रङ्गी–विरङ्गी फूलहरू, भँमरा एकदेखि अर्कोमा बस्तै र उड्दै, भुइँøयाँ स्वर निकाल्दै छन् । मन्द चलेको हावाले त्यो फूलबारीका प्रत्येक फूल, पात र बिरुवा सुस्त–सुस्त हल्लाइरहेको छ । छेवैमा एउटा धारो छ, र कञ्चन पानी कलकल बग्दैछ । एउटा सुन्दर संसार, एउटा मीठो सपना ।
घरभित्र अनेक कोठाहरू छन् । मूल सडकसमीपको मुख्य कोठा विशेष किसिमले सिंगारिएको छ र त्यहाँ तारा छे । ढोका बन्द छ, बाहिरबाट ह्याण्डल लगाइएको । तारा तिर्खाले व्याकुल छे, चर्को स्वरमा कराउँछे । “पानी ! पानी ! !” को चर्को आवाज झ्यालबाट निस्केर बाहिर छरिन्छ । बाटो हिँड्ने बटुवाहरू त्यो आवाजले एकपटक त्यता खिचिन्छन्, तर कालान्तरमा नबोली बाटो लाग्छन् । “पानी ! पानी !!” तारा झन् जोडले कराउँछे ।
“म बाहिर जान्छु, मलाई तिर्खा लाग्यो ।” चर्को स्वरमा ऊ रुन्छे ।
“तारा !” एउटा चर्को स्वरले उसको सपना भत्किन्छ । ऊ झल्याँस्स हुन्छे । पसीना पसीना भएछ अनुहार । तीव्र गतिमा चलेको मुटुको चाल कति चर्को हो ? ऊ दङ्ग पर्छे । हेर्छे र देख्छे, टेबुल ल्याम्प झ्वाल्ल प्रकाश छरेर बलिरहेको छ । बाहिर झम्झम् पानी परिरहेछ, मेघ कराइरहेछ । भित्र ऊ छे, र उसको श्रीमान् प्रवीण छ । प्रवीणको हातमा कलम छ, टेविलमा कागज र केही अलपत्र कितापहरू । ऊ तारातिर हेर्दै छ ।
“के भयो ? किन डराएको ?” बिउँझेकी तारातिर हेर्दै उसले सोध्यो ।
“उफ् !” तारा एकपल्ट सुस्केरा हाल्छे । “सुत्ने होइन ? यस बेलासम्म पनि बत्ती बालिरहने !” ऊ भित्ते घडीतिर हेर्छे, साढे एघार बजेछ ।
“तिमी सुत न, म एकछिनपछि, अलिकति काम छ ।”
“सुविस्ताले सुत्न पनि नपाउने, उफ् ! कस्तो डर लाग्यो !” ताराको रुञ्चे स्वर निस्कियो ।
“डर ……..?” निधार खुम्च्याउँदै उसले आश्चर्य भावमा सोध्यो – “तिमीलाई आखिर भयो के, हँ तारा ? म यहीँ छु ! भर्खर साढे एघार हुँदैछ । अनि यो भयङ्कर त्रासदी जस्तो के हो ?” प्रवीण अल्लि चर्को र कठिन भयो ।
“कस्तो डरलाग्दो सपना देखें ।” तारा रुनै थाली ।
“प्लिज तारा, मलाई डिस्टर्व नगर । सुत खुरुक्क । म अति जरुरी काममा छु ।”
प्रवीण टेबिलतिर फक्र्यो । ताराले एकछिनसम्म उसलाई हेरिरही । ऊ लेख्नमा तल्लीन भए झैँ अभिनय ग¥यो ।
भोलिपल्ट बिहान थान्कोमान्को गर्दा ताराको दृष्टि एउटा पत्रिकामा प¥यो । प्रवीणको फोटो र एउटा खुशीको समाचार थियो त्यहाँ । गर्दागर्दैको काम एकछिनलाई चटक्कै छाडेर उसले त्यो पढी । हतारहतार पढिसकी, दोहो¥याएर पढी । हो, साँच्चै । त्यो प्रवीणको खबर बोकेको कागज थियो । उसले पत्रिकाको फोटो र ओछ्यानमा सुतिरहेको प्रवीणको अनुहारलाई दाँज्दै हेरी, ठीक उस्तै । फरक यत्ति कि फोटोमा आँखा खुलेका थिए, त्यहाँ बन्द ।
तारा फुरुङ्ग परी । “छनक्छनक् छम्” गर्दै नाचूँजस्तो लाग्यो त्यसलाई । “त्यसो भए यथार्थ यस्तो छ ?” आफैसित प्रश्न गरी उसले ।
“मेरो प्रवीण यस्तो आमूल परिवर्तनकारी ? ऊ दङ्ग परी ।” उसले प्रवीणतिर हेरी, ऊ मस्त निदाइरहेको थियो ।
“हेलो प्रवीण । मेरो प्यारो पतिदेव !” यसरी बोलाऊँ झैँ लाग्यो तारालाई ! ऊ विस्तारै ओछ्यान नजिकै गई र प्रवीणको निधारमा हात राखी । नारी स्पर्शले ऊ बिउँझ्यो । आँखा खोल्दा देख्यो – तारा ऊतिर हेर्दै मुस्कुराइरहेकी । उसले निधार खुम्च्यायो र ताराको हात पर सा¥यो अनि कोल्टे फे¥यो । तारा खिस्रिक्क परी ।
खानाको परिकार आज अल्लि थपिएको थियो, थप समय पनि केही छिटो । ताराले डाइनिङ टेबुलमा सबै परिकार राखी र ती दुई जोई पोई खान बसे । प्रवीण गंभीर र सौम्य देखियो; तारा प्रफुल्ल सुन्दर; तर कुनै प्रश्नको जवाफ खोज्दै गरेकी जस्ती ।
“राति अबेरसम्म के लेख्तै हुनुहुन्थ्यो ?” नम्र स्वरमा ताराको गलाबाट एउटा जिज्ञासा झ¥यो । प्रवीण खाँदै थियो, केही बोलेन । ताराको अनुहार उसैमा केन्द्रित थियो, अल्लि असजिलो मान्यो र भन्यो – “आर्टिकल, नयाँ रचना ।”
“कविता ? कथा ? कहानी ?” प्रवीणको अनुहारमा आँखा अड्याएर ताराले सोधी ।
“ओ हो ! अब त म हैरान भैसकें । प्लिज डोन्ट् डिस्टर्व मी ! कीप् साइलेन्स ! तरकारी सकियो । अचार थप । अनि खै खुर्सानी छैन ?”
ताराको मुखबाट एक शब्द झरेन । उसले प्रवीणलाई चोर आँखाले हेरी, ऊ खानमा तल्लीन थियो । अचार र तरकारी थपी । खुर्सानीको प्लेट अगाडि सारिदिई । प्रवीण चुपचाप खाँदै गयो ।
“एउटा कुरा भनूँ है ?” प्रवीणको अनुहारमा हेर्दै उसले चम्चा मुखमा राखी ।
“के ?” एक गाँस निलेपछि ताराको मुखमा हेर्दै उसले सोध्यो ।
“मलाई एउटा जागिर खोजीदिनुस् न । दिनभर एक्लै बिना काम यत्तिकै बसिरहन वाक्कै लाग्छ ।” तारा प्रवीणतिरै हेर्दै थिई ।
“तारा । तिमी के भन्दैछौ ?” खाने कामलाई रोकेर उसले तारातिर हे¥यो ।
“हो भन्या साँच्चै । प्लिज, मेरा लागि पनि एउटा जागिर खोजिदिनुस् न । म त बोर भैसकें !”
“तारा !” खाँदै गरेको चम्चालाई प्लेटमा राख्दै स्वरलाई अल्लि ओरालेर प्रवीण बोल्यो – “म भएसम्म तिमीलाई त्यस्तो कष्ट उठाउनु आवश्यक छैन प्रिये । तिमीलाई के चाहियो भन, म त्यो पु¥याउँछु ।”
“मेरो मतलव त्यो होइन श्रीमान् । म आफ्नो प्रतिभाको उपयोग गर्न चाहन्छु । सधैँ यो चुलो–चौकामा सीमित हुने हो भने मेरो बी.ए. को सर्टिफिकेटको अर्थ के भयो हजूर ?”
“तिमीलाई जागिर खाइरहनु पर्ने आवश्यकता छैन तारा । यस जिन्दगीको लागि हाम्रो बाउकै छाला यथेष्ट छ । त्यसमा थप, मेरो आम्दानी पनि छँदैछ । आजसम्म हामीलाई राम्रै चलेको छ, हैन र ?” एप्रोनले हात मुख पुछ्दै प्रवीणले भन्यो – “फेरि, हेर प्यारी, हाम्रो कुल जागिर खानुपर्ने त्यस हैसियतको पनि होइन नि !” ऊ मुस्कुराउने प्रयत्न ग¥यो ।
ताराको हातबाट चम्चा एकाएक छन्द्रङ्ग गर्दै टेबिलमा खस्यो । ऊ एकदमै झस्किई ।
“तपाईं के भन्दै हुनुहुन्छ श्रीमान् ? मलाई त ताज्जुब लाग्दैछ ।” ऊ जुरुक्क उठ्यो । ऊ पनि उठी ।
“कृपया मलाई डिस्टर्व नगर तारा, म असाध्यै व्यस्त छु, मलाई हतार छ ।”
“के कुनै प्रोग्राम छ ?” तारा तातेकी छे, ऊतिर हेर्दै छे ।
“हो प्रिये ! आज मेरो कृति ‘नारी मुक्ति’ बारे मलाई एक समारोह बीच पुरस्कृत गरिँदैछ ।” भित्ताको ऐनातिर हेरेर टाई मिलाउँदै ऊ बोल्यो ।
“अनि के एक्लै जानुहुन्छ ? म नजाने ?” ताराले आत्तिएर प्रश्न गरी ।
“ओहो तारा । त्यो तिम्रो काम होइन” ऐनाबाट अनुहार हटाएर तारातिर हेर्दै ऊ बोल्यो – “खाना राम्रो बनाएर राख, भरे पार्टी हुनेछ । थुप्रै लेखक साथीहरू आउने छन् । नारी मुक्तिको गीत गाइने छ । मेरी प्रिये । म तिमीलाई विशेष उपहार लिएर आउने छु ।” ताराको गालामा म्वाई खाला कि झैँ गरी फिल्मी शैलीमा प्रवीण मुस्कुरायो ।
“आडम्बर !” चर्को रोदन मिश्रित स्वरमा तारा कराई । “मलाई यो थोत्रो आडम्बर चाहिँदैन । म आफ्नै खुट्टामा उभ्भिन चाहन्छु । म आफै बाँच्न चाहन्छु । गर्ने एक थोक, भन्ने अर्को । यो पाखण्ड हो, अन्याय हो, अत्याचार हो ।” ऊ ह्वाँ ! ह्वाँ गर्दै रोई ।
“तारा !” प्रवीणले विस्तारै ताराको कुम मुसा¥यो ।
“मलाई नछुनोस् !” कोलाहलपूर्ण स्वरमा झर्किँदै ऊ कराई – “तपाईं स्वार्थी ! तपाईंको नक्कली स्वभाव मलाई मन पर्दैन ।” तारा अझै चर्को स्वरमा जंगिई ।
“ह..ँ ह.. !” अलिअलि हाँस्तै प्रवीण बोल्यो – “तारा ! तिमी इन्दिरा गान्धी वा चियाङ चिङ, गोल्डामेयर वा भण्डारनाइके, म्याडम अक्किनो वा श्रीमती थ्याचर कोही पनि हुन सक्तिनौ । तिमी त तारा हौ तारा, मेरी प्रियसी !”
“थु !” क्रुर अनुहारमा तारा बोली – “तिम्रो स्वार्थी घमण्डमाथि म थुक्छु !” दुई पाइला पछाडि सरेर प्रवीणको अनुहारमा आँखा अड्याउँदै दरो स्वरमा ऊ बोली ः
“माक्र्स र लेनिन्, लिङ्कन र गान्धी, माओ र चाओ, हो चिमिन्ह र स्तालिन, गङ्गालाल र भगतसिंह जन्माउने आमा हुँ म ! सृष्टिकी प्रथम मुहान म हुँ । तिम्रो थोत्रो संस्कार र जन्जाललाई लात हानेर म धुजाधुजा बनाइदिन्छु ।”
“त्यो त तिम्रो भनाइ मात्र हो प्रिये ! जे हुँ, म हुँ । म त लोग्ने हुँ प्यारी ।” प्रवीणले एउटा व्यङ्गात्मक हाँसो फुस्कायो । “तिमी नोरा१ वा हेलेन२ केही पनि होइनौ ।”
“तिमी मूर्ख हौ, अधम । स्वतन्त्रताको गीत गाउँदै झ्यालखाना बनाउने दुष्ट !” तारा पड्किई ।
“गीत र नाटकका कुरा छोड प्रिये । नाटक नाटक नै हो । जीवन, अझै भनौं यथार्थ जीवन त त्यसभन्दा फरक छ प्यारी । तिमी यो तथ्य बुझ ।” प्रवीण अझै गम्भीर भयो ।
“ओहो प्रवीण । तिम्रो सक्कली रूप त मैले आज प्रष्ट देखेंँ । यसको घुमलो आभास मैले यस घरको पिँंढीमा पाइला राखेकै दिनमा पाएकी थिएँ ।” अल्लि सानु तर दृढ स्वरमा तारा बोली । ती दुवै एक अर्कालाई हेरिरहेका थिए ।
“जे भन प्यारी, म सहन्छु, तर यति विघ्न नरिसाऊ ।” स्वरलाई अझै तल झारेर प्रवीण बोल्यो – “तिमी यहीँ बस प्रिये, आऊ । तिमी बाहिर निस्कनु हुन्न । तिमी कोमल छौ र कमजोर छौ । तिम्रो जाति, सम्पूर्ण नारी जाति कमजोर छ, तिमी फराकिलो आकाशमा उड्न सक्षम छैनौ प्यारी ।” अरू गंभीर हुँदै विस्तारै ऊ बोल्दै गयो – “सृष्टिको इतिहास अनेक उतार–चढाव पार गर्दै यहाँसम्म आइपुगेको छ तारा, त्यो तिमी बुझ । तिमीले कमसेकम बुझ्ने प्रयत्न गर । हज्जारौं वर्ष पुरानो संस्कारले तिमीलाई र तिम्रो जातिलाई, कमसेकम हाम्रो आकाशमुनिका नारी जातिलाई थिचिरहेको छ । तिम्रा पँखेटा कुजिएका छन्, तिनले उडान भर्न निक्कै समयसम्म पूर्वाभ्यास गर्न जरुरी छ प्यारी ! त्यो तिमीले गर्न जरुरी छ प्यारी ! त्यो तिमीले गर्न सक्तिनौं । विस्तारै युग आउने छ त्यस्तो !”
“त्यो युग कहिले आउँछ ?” अनौठो मान्दै भ्रमपूर्ण स्वरमा ताराले एउटा प्रश्न गरी ।
“समय लाग्छ प्यारी ! त्यस्तो हुन अझै केही समय लाग्ने छ ।” उसले गम्भीर अनुहारमा हल्का मुस्कान छर्दै बोल्यो । “तर त्यो आएरै छाड्नेछ, धैर्य गर ।” यसो भन्दै ऊ बाहिर निस्कने ढोकातिर बढ्यो । “लौ त प्रिये, ऐलेलाई बस, म गएँ, हतारमा छु ।”
तारा झट्ट अगाडि बढेर उसको बाटो छेकी । ऊ बिना शब्द तारालाई हेरिरह्यो एकछिन । ताराले कम्मरबाट साँचोको झुप्पा झिकेर अल्ली साह्रै त्यसलाई प्रवीणको हातमा थमाउँदै बोली – “लौ लिनोस् श्रीमान् तपाईंको साँचो, र घर समाल्नोस्, अब पुग्यो, म अघाएँ ! बाई ! बाई !” प्रवीणको नाकैनेर हात फु¥याएर हत्केला हल्लाउँदै ताराले उसलाई एकपटक गहिरिएर हेरी र फरक्क फर्केर ढोकाबाट बाहिर निस्किई ।
“तारा !” अल्लि कडा स्वरमा, अनुहारलाई सकेसम्म गम्भीर बनाएर ऊ बोल्यो – “तिमीले के गरेको यो ?”
तारा आँगन कटेर सडकमा ओर्ली र पछाडि हेर्दै नहेरी सरासर अगाडि बढेर गै । प्रवीण आँगनमा निस्केर हे¥यो । तारा पछाडि हेर्दै नहेरी सरासर अगाडि जाँदै गरी ।
वातावरणमा लागेको कुहिरो विस्तारै हट्न थाल्यो र घाममा किरणहरू चारैतिर छरिँदै गए । प्रवीण दङ्ग पर्दै तारा गएको बाटोतिर हेर्दै धेरै बेरसम्म टोलाइरह्यो ।
२१ श्रावण, २०४५
भरतपुर क–१२÷१५
भरतपुर, टाउन, चितवन
………………………………………….
१. नोरा ः– नर्वेली प्रसिद्ध नाटककार हेन्रिक इब्सेनको ‘कठपुतलीको घर’ नाटककी नायिका ।
२. हेलेन ः– गोपालप्रसाद रिमालको नाटक ‘मसान’ की नायिका ।