कथा : कालिजको शिकार

~जयबहादुर घिमिरे~Jay Bahadur Ghimire

फाल्गुनको महिना, कृष्णपक्षको निष्पट्ट अँध्यारो रातको तीन बजे । दिउँसो भए तल हेर्दा रिङटा लाग्ने भीर, ठाउँ–ठाउँमा गुराँसका बोट, गाँउबस्तीबाट दुई घण्टाको दूरीमा रहेको जंगलको अपट्टेभीरमा एउटा टर्चको प्रकाशको सहायताको भरले अत्यन्त सानो मान्छे हिंडेको गोहो पहिल्याउँदै म वासस्थान फर्कने सुरमा छु । हात खुट्टा लगलग कामिरहेको छ । सानो पोथ्रो गुराँसको फेदमा छु ।

तीन महिनादेखिको भगिरथ प्रयत्नपश्चात् आज मेरो कालिजको शिकार गर्ने लक्ष्य पूरा भएको छ । तर मेरो जोश जाँगर भने यौन समागमको कार्यपश्चात् विर्य स्खलन भएको पुरुष यौनाङ्ग बरावर मानसिक तथा शारीरिक रूपले दुर्वल भएको छ । मेरै अगाडि गुराँसको फेदमा मैले हानेको भरुवाको छवटै छर्राहरू छातीभरि लागेर मूर्छित कालिज मुखबाट रगत छाद्दै प्याकप्याक मुख बाइरहेछ । मलाई दशैमा खसी च्याट्ट छिनेर टाउकोले आँ मुख बाउँदा पानी हालिदिएको सम्झना आउँछ । नजिकै कतै पानी छैन । मेरो हात पनि कति ज्याद्रो रहेछ, निकै बेर भयो कालिजको प्राण पखेरु उड्न सकेन । टिपेर मुन्टो बटारी दिए छिटो मर्ने थियो भन्ने सोचें, फेरि त्यसो गर्न हात कामेर सकिनँ ।

मलाई भूतप्रेतको पटक्कै डर लाग्दैन शिकार खेल्न प्रतिवन्धित चरा कालिज पनि हा,े तथापि अहिले पुलिस यहाँ आइपुग्दैन । म भरुवा लुकाइवरी सुरक्षित स्थानमा पुग्न सक्छु । कहालीलाग्दो भीर पनि अहिले आइ पुगेको छैन, सुरक्षित ठाँउमा उभिएको छु । हिंस्रक जन्तु यो भीरमा सजिलै मध्यरातमा किन पो आउँथे ? तर पनि म किन थरथरी कामेको हुँ छक्क परिरहेको छु । सोच्छु, यस्तो भयानक नृशंश अपराध यो जीवनको उत्तरार्धमा आएर किन गरेंं ? हरे शिव ! यसले मेरो के विराएको थियो र मध्यरातमा निदाएको मौका छोपी यस्तो अपट्टे भीरमा ज्यानको बाजी राखी यो शिकार गरें । आखिर म जुनीभरिको शिकारी पनि हैन, भएन ओशो तथा महात्मा गान्धीको आत्मवृत्तान्त पढेपछि आजसम्म खाइ ल्याएको खसीको मासुसमेत यसै पालिको दशैदेखि वहिष्कार गरी शाकाहारी बनेको छु । मासु खानको लोभले मैले यो निरीह चरालाई हत्या गरेको होइन ।

यसो सोच्छु, निशाना परीक्षण त भयो, उडाइदिऊँभने यो बाँच्नेवाला छैन, राम्ररी सास जान दिएर टिपेर लगी छिमेकीलाई खानदिने र जीवनभर पुन यस्तो अपराध नदोहो¥याउने प्रतिबद्धता त मनमनै त्यति बेला नै गरें तर के यो दृश्य चित्रगुप्तले देखिराखेका छैनन् ? पापको अभिलेख दर्ता भै सकेन होला र ? अवश्य भयो यदि पुर्नजन्मको अस्तित्व यथार्थ हो भने मैले त्यस पापको सजाय भोग्नु नै पर्नेछ । बरु मलाई यहाँसम्मको क्रुर नियति बनाउन कसको हात छ ? त्यसैलाई पहिचान गरी कालिजको सट्टा त्यही मानवको छातीमा विद्यमान कानुन छली गोली बर्साएको भए मलाई यति धेरै डरलाग्ने थिएन । चित्रगुप्तले पनि विवेक पु¥याएर त्यसको अभिलेख राख्ने थिए होलान, त्यस कालिजको कहीँकतै नालिस उजुर गर्ने हैसियत थिएन । उसले बदला लिने डर पनि मलाई नभएर नै मैले त्यो निरीह पंक्षीको नृशंश हत्या गरे । मैले यो सोची सक्दा कालिजको प्राण पखेरु उड्यो । लल्याकलुलुक भएको कालिज टिपेर झोलामा हालें ।

पिठयूँमा बन्दुक भिरेर हातमा टर्च बोकी घर फर्कदै छु । भीरमा दुई–चार दिनअघि आगो लागेको हुनाले समाउन कुनैै झारबुटोको नामनिशाना नै छैन । सबै छुराले कपाल खौरेको टाउको जस्तो छ । अत्यन्त सानो मानिस हिंडेको ठाँउठाँउमा निसाना भेटिन्छ । कथंकदाचित खसियो भने ठूलै प्रयत्नपश्चात् मात्रै चिनोचपेटा भेटिन सक्ला । नत्र यहीँबाट झरेको भनी ठाउँ पहिल्याएर काजक्रिया गरे हुन्थ्यो दिउँसो भए, रातमा त्यो पनि असम्भव । पाठकवृन्द ! तपाईलाई पनि लागिरहेको होला, यति ठूलो खतरा मोलेर शिकार गर्नुको औचित्य चाँहि के ? म कुरा खोल्दै छू । कुरा तीन महिना अघिको हो । मेरै घरअगाडि ल्याएर आँगनमा चराले कुन्नि कताबाट हो पाकेको रुद्राक्ष आधा बोक्रा खाएको आधा बाँकी रहेको खसालेको रहेछ, । छोराले भेटेछ, मलाई देखायो । राम्ररी बोक्रा ताछेर हेरेंं, अठार मुखे रहेछ । हतार हतार बजार लगेर असी हजारमा बिक्री गरें । लोभको कारणले गान्धीझैँ इमान्दार हुन सकिन । यसमा लज्जित छु । यो कसको हो भनेर दानाका रुख हुनेहरूलाई सोध्न म गइनँ । फटाफट दस वर्ष अघिदेखि स्थगित रहेको मेरो बरण्डा बनाई घर सिगार्ने काम दशै न तिहार पूरा गरे । मेरा छिमेकीहरू मुखिया वा अन्य एक दुई जना मेरा प्रगतिमा ज्यादै निम्नकोटीको इष्र्या गर्ने गर्थे । उनीहरू मैले कहाँबाट पैसा ल्याएर आज दस वर्षदेखि सिँगार्न नसकेको घर सिँगारी बसाइँवाला भएर पनि उनीहहरूको भन्दा राम्रो बनाएँ पत्ता लगाउन अनेक उपाय गर्दै थिएँ । मैले दाना भेटेको कुरा हल्ला गरिन । किनभने मेरो दानाको रुख थिएन । कसैले मेरो भनी दाबी गर्न आउने सम्भावना थियो । नजिकै छिमेकीको दानाका रुखहरू थिए । फेरि म त्यस ठाँउमा बत्ती, पानी, शिक्षा, स्वास्थ्य सदरमुकाम नजिक भएको कारण अन्य स्थानबाट बसाइँ आएको निम्सरो प्रवृत्तिको बसाइँवाला थिएँ । तथापि त्यहाँका पुराना मुखिया बाहरूका अरौटैभरौटे कसैलाई स्वस्ति गर्ने प्रवृत्ति ममा थिएन । मर्दापर्दामा भने म उनीहरूकहाँ सरिक हुन्थें । तै पनि छिमेकीहरूमसँग सकेसम्म रुष्ट भएका थिए ।

यस्तैमा संयोगवश मुखिया बाले सार्वजनिक धारामा नुहाउँदा सावुन पानीले चिप्लिएर आधा तोलाको औठी हराएछन् । उनी घर फर्कनेबित्तिकै म धारामा पुगेको थिएँ । तर मैले औंठी भेट्टाएको थिइन । उनले औंठी खोजे, सोधपुछ गरे तर पाएनन् । तर मुखियाले शंका मलाई गरेका रहेछन् । त्यसको लगतै पछि मैले दाना भेटी बिक्री गरी घर सिँगारेपछि भने छिमेकी तथा मुखियालाई मैले नै औंठी भेटाएको कुरो पक्का भयो । त्यही मुखियाकै घरमा बसोबास गर्ने विद्धान् भनेर गनिने क्याम्पस प्रमुख, कलेजका उनका साथी प्रोफेसरहरूलगायत छिमेकी पञ्च भलाद्मीहरूको सभामा मलाई अकस्मात बोलाइयो । एक जनालाई कीर्ते साक्षी बकाई मैले नै औठी भेटेको भन्नसमेत लगाइयो । मैले अत्यन्त्त अनुनय विनय गरेर आफूले औंठी नभेटेको कुरा प्रष्टंयाएँ, तर मेरो पुकारा कसैले सुनेन । उल्टो मलाई समाजका सामू साह्रै निम्नकोटीको आमाचकारी गाली मुखिया बाबाट एकोहोरो रूपमा भइ नै रहयो । कसैले पनि किन त्यस्तो बोलेको भनी समाजमा उनीसँग प्रतिवाद गरेन । म पनि नभएको फत्तुर सहनु, , त्यसमा पनि आमाचकारी गाली एकोहोरो सुनिरहँदा आवेशमा आई मुखिया बालाई एक पटक उनकैजस्तो निम्नकोटीको गाली गर्न पुगेको मात्र थिएँ यत्रो समाजको सामुन्नेमा के वोलेको भनेर च्याप्प समाते क्याम्पस प्रमुखले । यही मौकामा मुखियाले मेरो नाकमा भएभरको बल गरी मुड्की बजारे । म रगतपच्छे भएँ । दुखाइले शरीर तातेको बेला मैले मुखियालाई कुट्न खोजं,े तर मलाई विद्धान् र वलिया क्याम्पस प्रमुखले चटपटाउन नै दिएनन् । समाजले केही सहानुभुति राख्छ कि भनी आशा गरें । कसैले चुँइसम्म गरेनन् ।

जि.प्र.का.को एक जना पुलिस अफिसर विनावर्दीमा त्यहीँ उभिएका थिए । मुखियाका छिमेकी भएको नाताले उनी पनि मौन रहे । त्यतिकैमा मलाई मेरी श्रीमतीले तानेर घरतर्फ लगी सुरक्षा दिइन् । मैले रगत धोएँ, ऐना हेरं,े अनुहारमा देखाइ नसक्नु नीलो दाग लागेको रहेछ । शारीरिक पीडा त मलाई जतिको थियो नै, त्यसमा पनि समाजले मुकदर्शक बनी रमिता हेरी केही नवोलेकामा मानसिक रूपले समेत म घायल भएँ । सोचं,े अड्डामा उजुरी दिऊँ, फेरि मेरो पक्षमा गएर कसले साक्षी बकिदिने ? पार्टीको आश्रय पनि कुन पाटीको मागूँ ? म कुनै पार्टीको झन्डा बोकेर आन्दोलेनमा गएको थिइन । उल्टो पार्टीहरूलाई देशको अस्तित्व आपसमा झगडा गरेर नै नडुबाओ अथवा भौगोलिक सुन्दरतामा विश्वचर्चित मेरी धर्तीमातालाई दोस्रो अफ्गानिस्तानमा परिणत नगरिदेओ भनेर पत्रपत्रिकामा बारम्वार लेख रचना पठाउने हुँदा जिल्लास्तरका चिनिएका पार्टी कार्यकर्ताले देखे सुने भने खुच्चिङ भन्ने कुरो निर्विवाद थियो । अतः मैले उजुर गरिन ।

बजारमा निस्कँदा लाज हुनेहुँदा गाउको पुरानो घरमा गएर घरेलु औषधि गरी निको भए तापनि नाकमा चोरीको अभियोगमा कुटिएको दागभने गएन । मलाई हात हाल्ने वृद्ध मुखियासँग भन्दा पनि मलाई समाउने क्याम्पस चिफ र मूकदर्शक बनेर रमिता हेरी केही नबोली मौनसहमति जनाउने समाजसँग दुख्नसम्म चित्त दुख्यो । मैले क्रमशः प्रतिशोधको उपाय सोच्न पुगें ।

यस्तैमा एक जना माओवादी शिविरबाट घर फर्की घरजम गरी वसेका माओवादी सेनासँगको सम्पर्कमा पुगें । उनको सहयोगले सोडा, गन्धक तथा भक्यौला वा अररीको कोइला पिनेर बारुद बनाउन वन्दुक भर्न निशाना ताक्न सिकें । निर्जिव निशाना ताक्न सिपालु भइसक्दा पनि पूर्ण सन्तुष्टि नमिलेका कारण एकै पटकको लागि त्यो निरीह कालिजको निर्मम हत्या गरें ।

शङ्खुवासभा

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.