अनूदित कथा : बाजी

~एन्टोन चेखोभ~Anton Chekhov
भावानुवादः दण्डपाणि जैसी

(१)

काजी गुमान सिंह बस्न्यात बुढा भइसकेका थिए र उनीसँग पहिलेको शान शौकत पनि बाँकी थिएन। पुस महिनाको एक रात। काजी आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठिक पन्ध्र बर्ष अघि पुष महिनाको एउटा साँझमा आफुले आयोजना गरेको भोजको सम्झना गरिरहेका थिए। काजीले त्यस भोजमा शहरका नाम चलेका मानिस बोलाएका थिए। भोजमा निकै रमाइला कुराकानीहरु भएका थिए। कुराकानीकै क्रममा उनीहरुबीच मृत्युदण्डको बारेमा बहस चलेको थियो। भोजमा आएका पाहुनाहरु मध्ये नाम चलेका पत्रकारहरु तथा प्रख्यात बुद्धिजिवीहरु पनि थिए। उनीहरुले मानिसलार्इ मृत्युदण्ड दिएर मार्नु हुँदैन भन्ने तर्क गरिरहेका थिए। उनीहरुको बिचारमा मृत्युदण्ड बर्बर, अनैतिक तथा मानव सभ्यताको लागि कलंक थियो। कोही भन्दै थिए मृत्युदण्डलार्इ संसार भरमै प्रतिबन्ध लगाएर जन्मकैदमा परिणत गर्नु पर्छ।

भोजको आयोजक काजी साहबको चाँहि फरक बिचार थियो। उनले भने ‘म चाँही तपाइहरुको विचारमा सहमत छैन। हुन त मैले मृत्युदण्ड वा जन्मकैद दुवै कुरा भोगेको छैन, तर पनि नैतिकता तथा मानवीयताको हिसाबले दुर्इ मध्ये कुन ठीक भनेर भन्नु पर्‍यो भने जन्मकैद भन्दा मृत्युदण्ड नै ठीक हुन्छ जस्तो लाग्छ। मृत्युदण्डले मानिसलार्इ एकै पटकमा मार्छ तर जन्मकैदले त उसलार्इ जिवनभरी मारि नै रहन्छ।‘ पाहुनाहरुसँग प्रतिप्रश्न गर्दै काजीले भने, ‘तपार्इहरु मलार्इ एउटा कुरा भन्नुहोस त, तपार्इहरुलार्इ कुन चाँहि जल्लाद ठीक लाग्छः जसले तपाइँलार्इ एकै पटकमा मार्छ वा बर्षौ लगाएर दिन दिनै मार्छ?’

भोजमा उपस्थित एकजना पाहुनाले भने, ‘मेरो बिचारमा दुवै सजाय समान रुपमा अनैतिक हुन्। कुन ठीक वा कुन बेठीक भन्ने कुरै आउँदैन। किनभने दुवैको उद्देश्य त मानिसको ज्यान लिनु नै हो। राज्य भगवान हैन। उसलार्इ आफुले फिर्ता दिन नसक्ने कुरा अरुबाट लिने अधिकार पनि छैन।‘

पाहुनाहरु मध्ये करीब पचीस बर्षको एकजना तन्नेरी वकील पनि थियो। कानुन बिषयको ज्ञाता पनि भएकोले सबैले यस बारेमा उसको राय जान्न खोजेपछि उसले भन्योः

‘हेर्नुस, मेरो बिचारमा त मृत्युदण्ड र जन्मकैद दुवै कुरा अनैतिक हुन्। तर कथंकदाचित मलार्इ यी दुइ कुरा मध्ये एउटा कुरा रोज्नै पर्ने अवस्था उत्पन्न भयो भने, म चाँही मृत्युदण्ड हैन जन्मकैद रोज्नेछु। किनभने उखानै छ नीः मर्नु भन्दा बौलाउनु निको।‘

कुराकानी रमाइलो मोडमा पुगेको थियो। त्यसबेला काजी साहेब जवान थिए, उनी केही भावुक अनि संबेदनशील पनि थिए। उत्तेजनामा आएर टेबलमा मुड्की बजार्दै वकिलसँग कराउँदै भने, ‘वकिल साहेब, मलार्इ तिम्रो कुरा मन परेन। ल, मैले बीस लाख बाजी लगाएँ, जन्मकैदको त के कुरा तिमी पाँच बर्ष पनि नजरबन्दमा एक्लै बस्न सक्ने छैनौ।‘

वकिल युवकै थियो। उ पनि के कम। उसले भन्यो, ‘काजी साहब, यदि तपाँइले यो कुरा इमान्दारीताका साथ भन्नु भएको हो भने, मलार्इ तपाइको बाजी मञ्जुर छ। अर्को कुरा, यदि बीस लाखको कुरो हो भने त, पाँच हैन, पन्ध्र बर्ष खुसीसाथ नजरबन्दमा एक्लै बस्न सक्छु।‘

(२)

काजी गुमान सिंहले पनि आवेशमा आएर कराउँदै भने, ‘पन्ध्र बर्ष? ल, बाजी पक्का भयो ! मैले पनि बीस लाख बाजी लगाएँ।‘

वकिलले भन्यो, ‘ल, बाजी पक्का भयो ! मैले पनि स्वीकारें। तपाँइ बीस लाख दाउमा लगाउनु होस म मेरो स्वतन्त्रता दाउमा लगाउँछु।‘

लहै लहैमा काजीको बीस लाख र वकीलको पन्ध्र बर्ष नजरबन्दको बाजी दाउमा लाग्यो ! तिनताका काजी अथाह सम्पतीको मालिक थिए, उनलार्इ बीस लाख कुनै ठूलो कुरा थिएन। यस बाजीबाट काजी निकै खुसी देखिन्थे। यतिकैमा खाना खाने बेला भयो। काजीले वकिलको कुराको मजाक उडाउँदै भनेः

‘समय बाँकी नै छ वकिल साहब ! केही बिग्री सकेको छैन। यसैले राम्रोसँग बिचार गर है ! मेरो लागि बीस लाख केही पनि हैन तर तिमी चाँही आफ्नो जिवनको तीन अथवा चार बर्षहरु बिथ्थामा खेर फाल्न गइरहेको छौ। मैले तीन या चार बर्ष भन्नुको अर्थ के हो भने, तिमी यस भन्दा बढी नजरबन्दमा बस्नै सक्दैनौ। अनि अर्को महत्वपूर्ण कुरा पनि बुझी राख, यो स्वेच्छिक नजरबन्द भन्ने कुरा अनिवार्य नजरबन्द भन्दा निकै गाह्रो कुरा हो। बीस लाखको माया मारेर स्वेच्छाले कुनै पनि बेला बाहिर निस्कन सक्ने तिम्रो जुन अधिकार हुनेछ, त्यही कुराले तिम्रो सम्पूर्ण अस्तित्वलार्इ झन् झन् बन्दि बनाइरहेको हुनेछ। तिम्रो अवस्था देखेर मलाइ साँच्चै दया लागिरहेको छ।‘

अहिले काजी गुमान सिंह आफ्नो कोठामा ओहोर दोहोर गर्दै ठीक पन्ध्र बर्ष अघि भएका यी सबै कुरा सम्झिरहेका थिए। उनले आफैसँग सोधे, ‘त्यस बाजीको उद्देश्य के थियो ? त्यस मानिसको पन्ध्र बर्ष र मेरो बीस लाख रुँपिया खेर फाल्नुको के अर्थ थियो ? के यस कुराले मृत्युदण्ड भन्दा जन्मकैद राम्रो हो भनेर प्रमाणित हुन सक्छ ? होइन। यो सब बाहियात र निरर्थक थियो। मेरो लागि यो फगत आवेश तथा लहड थियो भने उसको लागि केवल पैसाको लोभ मात्र थियो।‘

त्यसपछि उनले त्यस साँझ भएका अन्य घटनाक्रमहरु एकएक गर्दै सम्झन थाले। उक्त बाजीको सम्झौता बमोजिम वकीलले काजीको बगैचामा रहेको एउटा घरमा कडा निगरानीका बीच नजरबन्दमा रहनु पर्ने थियो। पन्ध्र बर्ष सम्म उसले त्यस घरबाट बाहिर आउन, कुनै मानिससँग भेट्न, कुनै पनि मानिसको आवाज सुन्न, कुनै पत्र प्राप्त गर्न र कुनै पनि पत्रिकाहरु पढ्न आदि कुराहरु गर्न नपाउने सहमति भएको थियो। उसलार्इ एउटा बजाउने पियानो र मन लागे जति किताबहरु राख्ने छुट चाँही थियो। यस्तै चिठि लेख्ने कुरा, रक्सी तथा चुरोट पीउने कुरा गर्न पनि उसलार्इ छुट थियो। संझौतामा उल्लेख भए बमोजिम बाहिरी संसारसँग सम्पर्क गर्नका लागि भनेर उ बसेको कोठामा एउटा सानो झ्याल बनाइएको थियो। लिखित रुपमा माग गरेको खण्डमा किताबहरु, संगितका सामग्री, रक्सी आदि कुरा चाहेको जति मात्रामा उसलार्इ प्राप्त हुन्थ्यो। तर बाजीको शर्त बमोजिम यी सबै कुराहरु उसलार्इ त्यही झ्यालबाट मात्र प्राप्त गर्ने सहमति भएको थियो। उसको बन्दि जिवनलार्इ पूर्ण रुपमा एकान्त बनाउनका लागि झिना मसीना कुराहरु पनि बिस्तृत रुपमा सम्झौतामा उल्लेख गरिएका थिए। वकिललार्इ सम्बत १९७० साल पुष १४ गतेको मध्यान्हबाट सम्बत १९८५ साल पुष १४ को मध्यान्ह सम्म सम्झौतामा तोकिएको शर्तमा रही त्यस घरमा एक्लो जिवन बिताउनु पर्ने थियो। शर्तहरु यति कडा थिए कि, तोकिएको अवधि पुरा हुनु भन्दा दुर्इ मिनेट मात्र अघि पनि सम्झौताको उलंघन भएको खण्डमा बीस लाख रुपैया तिर्नु पर्ने शर्तबाट काजीले उन्मुक्ति पाउँथे।

(३)

बन्दिले लेखेका विवरणहरु पढेपछि कसैले पनि सहजै अनुमान लगाउन सक्थ्यो कि नजरबन्दको पहिलो बर्ष उ एक्लोपन तथा मानसिक तनावबाट ग्रस्त भएको थियो। दिन रात उसको कोठाबाट पियानोको आवाज मात्र सुनिइ रहन्थ्यो। उसले रक्सी र चुरोट लिन अस्वीकार गरेको थियो। उसका अनुसार रक्सीले इच्छालार्इ उत्तेजित पार्छ र यहि इच्छा नै बन्दि जिवनको सबैभन्दा ठूलो शत्रु हो। असल असल रक्सी पिउन पाउने तर कसैसँग भेटघाट गर्न चाँही नपाउने जत्तिको पट्यारिलो कुरो जिवनमा अरु केही हुनै सक्दैन। कोठामा वायु प्रदुषण हुने भएककोले चुरोट लिन छोडेको भनेर लेखेको थियो। शुरुको बर्ष उसले मागेका किताबहरु सामान्य बिषयका जस्तै माया प्रेमका कथा, सनसनीपूर्ण कथाहरु र रमाइला कथाहरु आदि हुने गर्थे।

दोस्रो बर्ष उसको कोठामा पियानो बजेन। अब उसले उत्कृष्ट किताबहरुको माग गर्न थालेको थियो। पाँचौं बर्षमा उसको कोठाबाट संगितको धुन पुनः सुनिन थाल्यो र उसले रक्सीको पनि माग गर्न थाल्यो। झ्यालबाट उसलार्इ देख्नेहरु भन्थेः यस बर्ष खानु, पिउनु, ओछ्यानमा सुत्नु, हार्इ काड्नु र रिसाएर आफैसँग कुरा गर्नु बाहेक उसले अरु कुनै काम गरेन। उसले कुनै किताब पनि पढेन। कहिले काँहि राती लेख्न बस्थ्यो र घण्टौं सम्म लेखि रहन्थ्यो। बिहान भएपछि रातभर लेखेका सबै कुरा च्यातेर फालिदिन्थ्यो। धेरै पटक उ रोएको पनि सुनिन्थ्यो।

छैठौं बर्षको दोस्रो खण्डमा उसले गम्भीर भएर भाषा, दर्शन र इतिहासको अध्ययन गर्न शुरु गर्‍यो। यी कुराहरुको अध्ययनमा उसले आफुलार्इ यति समर्पित गर्‍यो कि काजीलार्इ उसले मगाएका किताबहरु उपलब्ध गराउन हम्मे हम्मे पर्‍यो। चार बर्षको अन्तरालमा उसको अनुरोधमा करीब छ सय किताबहरु मगाइ सकिएका थिए। यही अवधिमा काजीले उसको निम्न अनुसारको पत्र प्राप्त गरेका थिएः

‘काजी साहब, मैले तपाइलार्इ यी हरफहरु विभिन्न छ वटा भाषाहरुमा लेख्दै छु। यो कुरा तत् तत् भाषा जान्ने मानिसहरुलार्इ देखाउनु होला, उनीहरुले यो कुरा पढुन, यदि उनीहरुले मेरो लेखाइमा एउटा पनि गल्ती फेला पार्न सकेनन् भने, अनुरोध छ, बगैचामा आएर एकपटक बन्दुक पड्काउनु होला। त्यस बन्दुकको आवाजबाट मेरो प्रयास विफल भएन भनेर मैले अनुमान लगाउने छु। मेरो बिचारमा बिभिन्न देशका, विभिन्न उमेरका विद्वानहरुले भिन्न भिन्न भाषा बोल्छन् तर उनीहरुको हृदयमा बल्ने ज्योति चाँही एउटै हो जस्तो लाग्छ। उनीहरुलार्इ बुझेपछि अहिले मेरो हृदयमा कस्तो अनुभुति भइरहेको छ भन्ने कुरा म यो पत्रमा बयान गरेर सक्दिन।‘

बन्दि वकिलको इच्छा पुरा भयो। काजीले बगैंचामा एकपटक हैन दुइपटक बन्दुक पड्काउन लगाए।

(४)

नजरबन्दको दश बर्ष पछि त्यो बन्दि आफ्नो टेबलमा एकाग्र भर्इ भागवत गिता मात्र अध्ययन गरेर बस्यो। काजीलार्इ के कुरामा आश्चर्य लागिरहेको थियो भने, जो मानिसले चार बर्ष भित्रै करीब छ सय थान उत्कृष्ट किताबहरु पढेर सक्यो, त्यही मानिस अहिले गिताको एउटा पातलो किताब च्यापेर समय बर्बाद गरिरहेको छ। गिताको अध्ययन सकेपछि उसले धर्म र इतिहास सम्बन्धी किताबहरुमा अध्ययन केन्द्रित गर्‍यो।

बन्दि जिवनको अन्तिम दुर्इ बर्ष उसले बिना कुनै प्राथमिकता बिभिन्न बिषयका अनगिन्ती किताबहरु पढ्यो। कहिले प्राकृतिक विज्ञानका किताबहरु पढीरहेको हुन्थ्यो भने त्यसपछि देवकोटा र शेक्शपीयरका किताबहरुको माग गरिरहेको हुन्थ्यो। यही क्षेत्रको किताब भन्ने नै थिएन। एकै पटकमा रसायन बिज्ञान, औषधिहरुको पुस्तिका, उपन्यास, धर्म, दर्शन सम्बन्धी लेखहरु ल्याइदिन अनुरोध गरिएका नोटहरु पनि भेटिन्थे। उसको अध्ययनको शैली हेर्दा यस्तो लाग्थ्यो कि उ एउटा डुब्न लागेको जहाजको यात्री हो जो कहिले एउटा बाकस समातेर आफ्नो प्राण बचाउने प्रयास गरिरहेको हुन्छ त कहिले अर्कै बाकस। उसलार्इ देख्दा उ ज्ञानको खोजीमा भौंतारिइ रहेको प्रतित हुन्थ्यो।

बुढा काजीले अतितका यी सबै कुराहरु सम्झिए, अनि सोच्न थालेः

‘भोली दिनको ठीक बाह्र बजे उसले आफ्नो स्वतन्त्रता पुनः प्राप्त गर्नेवाला छ। हाम्रो सम्झौता बमोजिम मैले उसलार्इ बीस लाख रुपैया दिनु पर्नेछ। यदि मैले उसलार्इ बीस लाख रुपैया दिएँ भने, म त बर्बाद नै हुनेछु।‘

पन्ध्र बर्ष पहिले काजीको लागि बीस लाख रुपैंया भन्ने कुरा सामान्य कुरा थियो; तर अहिले उनी ऋणको पहाडले थिचेर उठ्नै नसक्ने भएका थिए। मोजमस्ती र फजुल खर्चको कारण उनको अथाह सम्पती नाश भइरहेको थियो। काजीको पहिलेको शान शौकत समाप्त भइसकेको थियो। अब उनी एक मध्यम वर्गिय साधारण मानिसमा परिणत भइ सकेका थिए। सम्पत्तीको नाममा काजीको दरवार र थोरै सम्पत्ती बाहेक केही बाँकी थिएन। ऋणको कुरा सम्झँदा मात्र पनि काजीको निधारबाट चिटचिट पसीना आउँथ्यो।

दुवै हात टाउकोमा राखेर काजीले मुर्मुरिदै भने, ‘यो अलच्छिना बाजी। हैन, यो कैदि किन नमरेको होला ? उ अहिले बल्ल चालीसको भयो। उसले म सँग भएको सबै सम्पती लगेर बिहेबारी गरेर आनन्दका साथ बाँकी जिवन बिताउने छ। अनि म चाँही बुढेसकालमा एउटा भिखारीले जस्तै डाह गर्दै उसलार्इ हेरीरहेको हुनेछु। उसबाट सधैं एउटै कुरा मात्रै सुनेर बस्नु पर्नेछः काजी साहेब, मेरो जिन्दगिमा खुसीयाली ल्याइदिनु भएकोमा म सदैव हजुरको ऋणि रहने छु, म हजुरलार्इ मद्दत गर्न चाहन्छु। यो त अति नै भयो ! अब मलाइ कंगाल तथा अपमानित हुनबाट जोगाउने एकमात्र उपाय भनेको त्यस मानिसको मृत्यु नै हो, त्यसले मर्नै पर्छ।‘

(५)

काजीको भित्ते घडीले बिहानको तिन बजेको घंटी बजायो। घरका सबैजना मस्त निद्रामा सुतिरहेका थिए। बाहिरको सिरेटोले हल्लाएर बजेका रुखका पातहरुको आवाज बाहेक बाहिर केही पनि सुनिदैनथ्यो। काजीले बन्दीको कोठामा लगाएको तालाको चाबी पन्ध्र बर्षदेखि फलामको सेफमा सुरक्षित रुपमा राखेका थिए; बिरालोको चालमा गएर सेफबाट त्यो चाबी झिकेर कोटको पाकेटमा राखे अनि एउटा भयंकर बिचार मनमा लिएर घरबाट बाहिर निस्के।

पुषको चिसो रात, बाहिर बगैंचामा चुक घोप्टाए जस्तै अँध्यारो थियो। सिमसिम पानी परिरहेको थियो। लगातार चलिरहेको हावाका कारण बगैंचाका रुखहरु हल्लीरहेका थिए। काजीले छाम छुम गर्दै बन्दिलार्इ राखेको घरमा जाने बाटो पहिल्याउने कोशिस गर्दै थिए। अँध्यारो यति धेरै थियो कि उनलार्इ त्यहाँ भएका सेता संगमरमरका मूर्तीहरु, रुखहरु र त्यो बन्दिलार्इ राखेको बगैंचाको घर केही पनि देखिइरहेको थिएन। बन्दि रहेको घर पत्ता लगाउन उनले आफ्नो चौकिदारलार्इ दुइ पटक बोलाए। तर उताबाट कुनै जवाब आएन। चिसो मौसमका कारण चौकिदार आफ्नो कोठामा गएर सुतिसकेको थियो।

काजीले मनमनै सोचे, ‘यदि आज मैले आफ्नो इच्छा पुरा गर्न सकें भने, पहिलो शंका त सबैले यही चौकिदारलार्इ नै गर्नेछन्।‘

सिढीहरु छाम छुम गर्दै काजी बन्दिलार्इ राखेको त्यस घरको प्रवेशद्वारमा पुगे। त्यहाँबाट केही अगाडी बढेपछि सलाइको काँटी कोरेर बाटो उज्यालो बनाए। त्यहाँ कुनै प्राणिको उपस्थिति थिएन। बिना ओछ्यानको एउटा खाट थियो त्यसको छेउमा एउटा फलामको स्टोभ राखिएको थियो। पन्ध्र बर्ष पहिले बन्दिको कोठाको ढोकामा लगाएको लाहा छाप जस्ताको तस्तै थियो। सलाइको काँटी निभेपछि काजीले बन्दिको कोठामा रहेको सानो झ्यालबाट भित्र चिहाए। उत्तेजनाको कारण काजीका हात खुट्टा थरथर कामीरहेका थिए। बन्दिको कोठामा मधुरो प्रकाशमा एउटा मैनबत्ती बलीरहेको थियो। बन्दि आफ्नो टेबलमा बसीरहेको थियो। त्यस सानो झ्यालबाट बन्दिको पिठ्यूँ, कपाल, तथा उसका हातहरु बाहेक केही पनि देखिइरहेको थिएन। टेबलमा, छेउमा रहेका दुइवटा आराम कुर्सीहरुमा र कार्पेटमा खुला किताबहरु यत्र तत्र देखिन्थे।

काजीले सास रोकेर पाँच मिनेटसम्म त्यस बन्दिलार्इ हेरिरहे, तर बन्दि भने एकपटक पनि चलमल नगरी टेबलमा बसीरहेको थियो। पन्ध्र बर्षको नजरबन्दले उसलार्इ स्थिर भएर बस्न सिकाइ सकेको थियो। औंलाले झ्यालमा ठकठकाए, तर बन्दिको तर्फबाट कुनै प्रतिक्रिया आइरहेको थिएन। काजीले ढोकाको ताल्चामा लगाएको लाहा छाप फुटाएर त्यसभित्र चाबी छिराए। ताल्चामा खिया परिसकेको हुनाले चाबी घुमाउँदा त्यसबाट ‘कट कट’ को आवाज आयो। कुँइकिने आवाज सहित ढोका पनि खुल्यो। काजीले सोचेका थिए कि त्यहाँ कुनै पदचाप सुनिने छ र डर मिस्रीत बन्दिको चिच्याहट सुनिने छ। तर त्यस्तो केही पनि भएन। तिन मिनेट बित्यो। कोठा एकछिन पहिले जस्तो सुनसान थियो त्यस्तै रह्यो। काजी दृढ निश्चयका साथ आफ्नो काम फत्ते गर्न अगाडी बढे।

(६)

टेबलमा एउटा अनौठो मानिस निश्चल मुद्रामा बसिरहेको थियो। उसको शरिरमा हाड छाला बाहेक केही पनि थिएन। उसको कपाल आइमाइको जस्तै लामो भइसकेको थियो। उसका दाह्री पनि लामा लामा भइसकेका थिए। मुहार पहेंलो थियो, गाला गाडीएका थिए र उसको ढाड सुकेर लामो भएको थियो। चिउँडोमा हात राखेर टाउको अड्याएर बसेको थियो। उसका हातहरु दुब्लाएर खिरिला भइसकेका थिए, कपाल सेतै फुलीसकेको थियो, गालामा खाडल परेको थियो। उसको अनुहार हेरेर कसैले पनि उसलार्इ चालिस बर्षको भनेर पत्याउने अवस्था बाँकी नै थिएन। उ मस्त निद्रामा थियो। टेबलमा उसको निहुरिएको टाउको मुनी एउटा कागजमा सफा अक्षरमा केही कुरा लेखिएको थियो।

काजीले मनमनै भने, ‘बिचरा ! निदाएको रहेछ। शायद बीस लाख को सपना देखिरहेको होला। मैले यस अधमरो लार्इ खाटमा लडाएर सिरानीले मुख थिचेर मार्ने काम मात्र बाँकी छ। कुनै पनि बिशेषज्ञले यसको मृत्युलार्इ हत्या भनेर पत्ता लगाउनै गाह्रो पर्नेछ। तर यसलार्इ मार्नु भन्दा पहिला यस कागजमा के लेखेको रहेछ भनेर त हेरौं…..। ’

काजीले टेबलमा रहेको कागज उठाएर हेरे, त्यसमा यस्तो लेखिएको थियोः

‘प्रिय काजी साहेब, भोली दिनको ठीक बाह्र बजे मलार्इ मेरो स्वतन्त्रता पुनः प्राप्त हुनेछ र मैले अन्य मानिसहरुसँग भेटघाट गर्न पाउने छु। तर यो कोठा छोडेर भोलीको सूर्योदय हेर्नु अघि म तपाँइलार्इ केही कुरा भन्न चाहन्छु। काजी साहेब, मैले पूर्ण विवेकका साथ, भगवानलार्इ साक्षी राखेर आज के कुरा भन्न चाहन्छु भने स्वतन्त्रता, जिवन र स्वास्थ अनि तपार्इका किताबहरुमा लेखिएका कुराहरु मात्र संसारका बिशिष्ट कुराहरु हुन् भन्ने कुरा म मान्दिन र यस्ता बिचारहरुलार्इ म तिलान्जली दिन चाहन्छु।‘

‘पन्ध्र बर्षसम्म मैले संसारलार्इ पढेँ। यो कुरा सत्य हो कि मैले न कुनै मानिसलार्इ देख्न पाएँ, न संसारलार्इ नै देख्न पाएँ तर तपाइको किताबहरुमा मैले उत्तम रक्सीको रसास्वादन गर्न पाएँ, गितहरु गाउन पाएँ, जंगलमा गएर मृग र बनेलको शिकार गर्न पाएँ, सुन्दर कन्याहरुसँग प्रेम गर्न पाएँ। तपार्इका कविहरुले रचेका सुन्दर कविताहरु सधैं सपनीमा मेरो कान नजिक आएर सुन्दर कथाहरु सुनाउँथे जसको आनन्दको सीमा नै थिएन। तपाँर्इको किताबमा मैले सगरमाथा, कंचनजंघा हिमाल आरोहण गरेको छु, ती चुचुराहरुमा उभिएर मैले पूर्वबाट घाम झुल्केको देखेको छु र साँझमा अस्ताउने बेलामा उसले आकाशमा छरेको लालीमा र हिमाल-पहाडका चुचुराहरुलार्इ रातो मुकुटले सजाएको पनि देखेको छु। त्यहाँ उभिएर मैले मेरो शिर माथी बिजुली चम्केको देखेको छु र बादललार्इ हातले छोएको छु। मैले तपार्इका किताबहरुमा हरियो वन, धानका लहलहाउँदा खेतहरु, नदीहरुको गडगडाहट, झरनाको झरझर, ताल तलैयाहरुको रमणीय दृष्य, र ठूला ठूला शहरहरु पनि देखेको छु। मैले सल्ला घारी सुसाएको र गोठालाहरुले बजाएको बाँसुरीको धुन पनि सुन्न पाएको छु। भगवान बिष्णुको सन्देश लिएर आएको उनको बाहन गरुडको पँखेटा छोएको छु, उसँग कुरा गरेको छु। तपार्इका किताबहरुको सहायताले म अनन्त गहिरार्इ भएको कुवा भित्र छिरेर चमत्कार देखाएको छु, मानिसहरुलार्इ मारेको छु, शहरहरु जलाएको छु, नयाँ धर्म सिकाएको छु र सम्पूर्ण राज्य समेत बिजय गरेको छु…..’

(७)

‘काजी साहब, तपाँइका किताबहरुले मलार्इ धेरै ज्ञान दिए। युगौं देखि मानिसका चंचल बिचारहरुबाट श्रृजित कुराहरु अहिले मेरो दिमागको एक कुनामा संगालिएर बसेका छन्। म दावाका साथ भन्न सक्छु कि, ज्ञानको मामिलामा म तपाँइहरु सबै भन्दा अब्बल छु।

तर पनि काजी साहेब, म तपाँइका किताबहरुलार्इ घृणा गर्छु, ज्ञान तथा संसारबाट प्राप्त वरदानलार्इ पनि घृणा गर्छु। यी सबै बेकारका कुरा हुन र क्षणिक छन्। मृगतृष्णा जस्तै यीनले मानिसलार्इ गलत दिशा तर्फ डोर्‍याइ रहेका हुन्छन् र यी भ्रमात्मक पनि छन्। तपाँइ गर्व गर्न सक्नु होला, ज्ञानी हुन सक्नु होला र असल पनि हुन सक्नु होला, तर एकदिन मृत्युले तपार्इलार्इ यस धरतीबाट यसरी बढाडेर लैजाने छ कि दुला भित्र बसेको मुसा र तपाँइमा कुनै अन्तर हुने छैन। एकदिन तपार्इको सम्पन्नता, तपार्इको इतिहास र तपार्इको अमर ज्ञान सबै पृथ्वीको गर्भमा समावेश भएर जानेछन्, समाप्त भएर जानेछन्।‘

‘काजी साहेब, तपार्इले विवेक गुमाएर बाटो बिराइ सक्नु भएको छ। सत्यको ठाउँमा असत्यलार्इ रोज्नु भएको छ, सुन्दरतालार्इ छोडेर कुरुपतालार्इ अंगाल्न पुग्नु भएको छ। कुनै चमत्कार भएर स्याउ र सुन्तलाका रुखमा भ्यागुता छेपाराहरु फलेछन् भने वा सुगन्धित गुलाबमा काखीको पसिना गन्हाउन थालेछ भने मात्र तपाँर्इ सफल हुनु होला नत्र चाँही कुन्नी। यसैले यहाँनिर म दावाका साथ भन्न सक्छु कि तपाँइ भन्दा म सफल भएको छु, किनकि मैले संसारिकताको सट्टा स्वर्गलार्इ रोजें। अब मलार्इ तपार्इको बारेमा केही कुरा पनि जान्नु छैन, सबै कुरा थाहा पाइसकेको छु।‘

‘तपार्इका हरेक व्यवहारहरुलार्इ म घृणा गर्छु। तपार्इ अहिले जुन कुराको लागि बाँचीरहनु भएको छ, म ती सबैलार्इ घृणा गर्छु। तपार्इलार्इ मेरा यी कुराहरुमा विश्वास लागिरहेको छैन होला, त्यसैले यस कुरालार्इ व्यवहारमै प्रमाणित गर्न चाहन्छु। मैले तपार्इको बीस लाख रुपैया नलिने निर्णय गरेको छु। त्यसबेला मेरो जिवनमा बीस लाख रुपैयाले ठूलो माने राख्दथ्यो, तर आज म त्यस कुरालार्इ घृणा गर्न थालेको छु। बीस लाख पाउने मेरो अधिकारबाट आफुलार्इ बञ्चित गर्नकै लागि भनेर तोकिएको समय भन्दा पाँच घण्टा पहिलै यस ठाउँबाट बाहिरिदै छु। मैले हामी बिच भएको सम्झौताको उल्लंघन गरें।‘

सबै पढीसकेपछि काजी गुमान सिंहले त्यो चिठी टेबलमा राखे, त्यो अचम्मको मानिसको टाउकोमा म्वाइ खाए, अनि रुँदै त्यस घरबाट बाहिर निस्किए। काजीलार्इ आफ्नो जिवनमा यस भन्दा बढी अपमानित कहिल्यै हुनु परेको थिएन। घर पुगेर ओछ्यानमा पल्टिए तर आँखाबाट बगेको आँसु तथा भावनामा उर्लेको ज्वार भाटाको कारण काजीलार्इ निदाउन घण्टौं लाग्यो।

भोलीपल्ट बिहानै चौकिदारले कालोनिलो हुँदै आएर काजीलार्इ त्यो बन्दि मानिस झ्यालबाट निस्केर, बगैचाको बाटो हुँदै गेटमा पुगेर गायब भएको कुरा सुनायो। काजीले चौकिदारलार्इ लिएर त्यस बन्दिगृहमा पुगे अनि आफ्नो बन्दि त्यहाँबाट भागेको कुरामा बिश्वस्त भए। यस घटनाको सम्बन्धमा शहरमा अनावश्यक चर्चा चल्न सक्ने संभावना भएको हुँदा काजीले टेबलमा राखेको त्यो चिठी उठाए जसमा वकिलले बीस लाख रुपैयाँ नलिने कुरा लेखिको थियो। घर पुगेपछि काजीले त्यो चिठी आफ्नो फलामको सेफमा जतनसाथ थन्काए।

(जैसी सिंचाइ बिभागका सिनियर डिभिजनल इन्जिनियर हुन्।)

(स्रोत: Setopati )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in अनूदित कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.