~अनुपम रोशी~
आज फेरी उनकी श्रीमती गइन् ।
‘एयरपोट गएर आएको !’ सामान्य हुन खोज्दै बोले उनी ।
‘यति छिटै ’ म आश्चार्य हुदै सोध्छु ।
‘नमिले पछि के गर्ने त !’ उस्तै मुद्रामा जवाफ आयो ।
‘उति टाढावाट आएर पनि कती छिटो गएकी त !’ मेरो असन्तुष्टि पोखिन्छ ।
‘यस्तै पर्यो उनलाई जानु पर्ने भो ।’
‘यतिका वर्षमा आएकी श्रीमतीसंग बसेर पुग्यो त ?’ म सोध्छु ।
‘पु-याउनु पर्ने रहेछ !’ यतिखेर भने अलि निरास देखिए उनी ।
‘यो छोटो समयको बसाइमा कति खुसी हुन सक्यौ त ?’ म रोकिन्न ।
‘सुख र दुखको सीमा मेटीसकेको छु मैले !’ उनले कठोरता देखाउन खोजेको स्पष्ट थाह हुन्छ । उनको यो वाक्यमा मैले मेरो प्रश्नको जवाफ भन्दा गहिरो उदासी पाउछु ।
‘छोडेर आउदा निकै गा-हो भयो होला हगी !’ सोध्दिन भन्दा भन्दै निस्किन्छ ।
‘छैन ! सधै त छोडेर आएको छु ! अब त बानी भै सक्यो ।’ आफुलाई कमजोर नदेखियोस भनेर केही हाँस्न खोज्दै बोले उनी ।
‘किस खाएर आएको हो ?’ उनको ओठ ओरीपरी लिपिस्टकको टलक देखे पछि जिस्किन खोज्दै सोध्छु म ।
‘के भनेको ?’ उनि अलि अप्ठेरो मान्दै हात चिउडोमा पु-याउछन् । ‘नपुछ !’ म हाँस्छु । उनी बाथरुम पस्छन् । सायद उनलाई आफ्नो अनुहार हेर्नु थियो ऐनामा ।
उनकी श्रीमती विगत सात वर्षदेखी बाहिर छन् । विहे गरे पछी जापान गएकी उनी वर्ष, दुइ वर्षमा घर आउछिन र उसै गरि जान्छिन् । उनी सधै झै एयरपोटवाट म कहाँ आउछन् । अनि घण्टौँ बसेर जान्छन् ।
हेर्दा ठिकै देखिए पनि मलाई उनको अनुहारमा नदेखिने गहिरो उदासी सधै महसुस हुन्छ । थाहा छैन उनकी श्रीमती कस्ती छन ? तर उनले बारम्वार मलाई आफ्नो श्रीमती जस्तो लाग्छ भनेको सुनेकी छु । निकै बोल्ड, लप्पन छप्पन मननपर्ने, केटा जस्तो स्वभाव भएकी, ट्यालेन्ट केटी । तर उनी भने निकै फरक लोग्नेमान्छे लाग्छ मलाई । बाहिररुप अर्कै र भित्ररुप अर्कै भएको पुरुष ।
कहिलेकाहीँ मान्छेका त्यस्तै अनुमानहरु जिन्दगीको सत्य बन्दो रहेछ । उनको जिन्दगी यस्तै अडकलवाजी र अनुमान भएर चलीरहेको छ ।
यस कारण पनि म उनीसंग त्यती बोलिदनथे । कुनै कुनै वेला त औपचारिकता देखि पनि भाग्थेँ । तर एउटा यात्राले हामीलाई परिचित गरायो । उनी जस्तो देखिन खोज्छन् त्यस्तो पटक्कै रहेनछन् । र पनि मान्छेका अगाडी उनी सधै जिस्कन चाहन्छन्, मजाक मस्ती र सबैलाई हँसाउन खोज्छन् । जिन्दगी हाँसेरै विताउने बस्तु हो भन्छन् यस कारण उनी भित्रको गहिराई मान्छेलाई पत्तै हुदैन ।
झट्ट हेर्दा एक हाउडे र मोजमस्तीमै रमाउने आम लोग्नेमान्छे जस्तो देखिने उनी । एक गम्भिर पुरुष पनि हुन । उनको भावुकता सबैले बुझ्दैनन् । मात्रै आवरणमा अल्झिने मान्छेको समाजले उनलाई बाहिरी रुपमै चिन्छन् । एक स्वास्नी विदेशिएकी लोग्नेमान्छे । अर्थात स्वतन्त्र पुरुष ।
कुनै स्त्रीसंग बोल्नु उनका लागी लान्छनाको विषय बन्छ । स्त्री र पुरुषको सम्बन्धलाई मात्र यौनसंग जोडेर हेर्ने यो आर्दश समाजका मान्छेहरुले कसैसंग मिठो बोल्यो की स्वास्नी नभएको नाममा उसैसंग नाम जोडी दिन्छन् । संगै हिडेको देख्यो भने त बेडमै पुगेको सिन तयार पारी दिन्छन् र प्रसारण गर्दै हिड्छन् । जबकी स्वास्नी हुनेहरु यो भन्दा बढी निकृष्ट भएको प्रमाण प्रसस्त छ हामीसंग । घरमा स्वास्नी छाडेर होटेलमा रात विताउनेहरुको लिस्ट सबै भन्दा धेरै भेटिन्छ खोज्ने हो भने ।
धेरै अप्ठेरोमा पनि सजिलोसंग बाचेको अभिनय गर्न सक्ने कलाकार जस्तो लाग्छ मलाई उनको जिन्दगी । आफु भित्रको गहिरो उदासीलाई कसैका सामु नपोख्ने एक कठोर मान्छे छ उनी भित्र ।
यस्तो लाग्छ दुखलाई सिरानी हालेर चुपचाप निदाउन सक्छन् या आँसुलाई हाँसोमा अभिब्यक्त गर्छन् । उनले कहिल्यै गुनासो गर्दैनन् श्रीमतीको र गर्दैनन् अविश्वास श्रीमतीलाई । उनी प्रेम गर्ने मान्छे हुन । र प्रेम गर्छन् सबैलाई । त्यो अनुभूतिमा नरित्तिने प्रेम अर्थात मनको उच्चतम् अभिब्यक्ति तर मान्छे उनको आवरणमा अल्झिन्छन् । लवाइ खवाइ र बोलीमा अलमलिन्छन् । उनले देखाएको अभिनयमा सन्तुष्ट हुन्छन् । र उनलाई नबुझेरै झेली रहन्छन् ।
थाहछैन कहाँ लुकाएकाछन उनले आफुभित्रको जिउदो मान्छेलाई ? या कसरी बाँचेका छन दुखहरुको बीचमा हाँसेर ? तर यस्तो लाग्छ अरुको हाँसोमा उनले आफ्नो खुसी समेटेकाछन् र लागी रहन्छन् सधै अरुलाई हँसाउन ।
उनकी श्रीमतीले उनलाई कती प्रेम गर्छे म भन्न सक्दिन ? तर उनको श्रीमती प्रतिको श्रद्धा र विश्वास देख्दा के यिनि पनि यही समुदायको लोग्नेमान्छे हुन ? भन्न बाध्य हुन्छु म ।
कुनै लोग्ने मान्छेले यसरी विदेशिएकी श्रीमतीलाई माया गरेको देखेकी छैन मैले । गएको छ महिना नपुग्दै अर्कि भित्रयाउनेहरु पनि प्रसस्त छन । तर उनको श्रद्धा निकै फरक छ । एक्लै भएर पनि उनी सधै सम्झिरहन्छन् उनलाई नै ।
स्वास्नीले के के गरिहोला भन्ने कुराको अविश्वास छैन उनमा । स्वास्नी मान्छे घरवाट बाहिर निस्के पछी बिटुलिन्छन् भन्ने रुढीग्रस्त समाज भन्दा धेरै माथि देखे मैले उनी भित्रको चेतना । श्रीमतीले प्रगती गर्नु पर्छ । अगाडी बढ्नु पर्छ । उनको निजित्वमा हस्तक्षेप गर्नु हुदैन भनेर पटक पटक भनिरहन्छन् उनी । जो पुरुष इगो र अहमवादी समुदायको विपरित छ । स्वास्नीले एक पाइलो अगाडी टेक्दा खुम्चिएर आफ्नो नैतिक आधार भत्किएको ठान्ने मान्छेहरुको बीचमा उनी एक नमूना पुरुष हुन् ।
तीस पैतिस वर्षिय लोग्ने मान्छे स्वास्नीसंग विछोडीएर जिन्दगीको महत्वपूर्ण समय विताइरहेको छ । आफुसंगैका साथीहरु एस .एल सी दिने छोरा छोरीका बावु आमा बनी सके उनको भने यो पटक पनि यत्तिकै भयो ।
सन्तान प्रतिको उनको चाहना मैले नदेखेको होइन । मुखले नबोले पनि मेरा छोरा छोरी प्रतिको उनको मोह मैले विर्सन सक्दिन । उनले पटक पटक मेरा छोरा छोरीलाई अंगालोमा लिएका छन । गहिरोसंग चुमेर आफ्नोपन जताएकाछन । म सोच्थें, आफ्नै सन्तान भए कति प्रेम गर्थेहोलान् ?
यो पटक मैले प्रार्थना गरेकी थिए । उनकी श्रीमती आमा बन्ने मानसिकतामा आउन र उनको अत्यास लाग्दो जिन्दगीमा अंगालो भरिको आफ्नोपन दिउन् । तर उनलाई यो पटक पनि आमा बन्न मिलेन । उनी त्यतिकै गइन् ।
मलाई डर लाग्छ, लामो समय छुट्टिएर बस्दा उनले पो विर्सिदिने होकी । यति धेरै विश्वास गरेको लोग्नेलाई छोडीदिने पो हो की, कुर्दा कुर्दै उनको जिन्दगी सधैलाई खाली हुने हो की ? उनको प्रेम, उनको विश्वास, एकाएक भत्किएको घर जस्तो हुने हो की ? मन पिरोलिन्छ । उनले जस्तै मैले पनि सोच्न सक्दिन यस्तो कुरा । म चाहन्छु उनको त्यो विश्वास कहिल्यै नटुटोस, र उनीहरु छिटै संगै होउन ।
उनि बाथरुम वाट आइपुगे । म उनको अनुहारमा हेरी रहन्छु । उनले सिधै मलाई हेर्न सक्दैनन् । ‘के भो ?’ भित्तामा टांगिएको फोटो तिर हेर्दै उनी आफै बोल्छन् ।
‘कसलाई ?’ म प्रति प्रश्न गर्छु ।
‘किन हेरेकी त्यसरी ?’ उनी म नजिकै आएर सोफामा बस्दै सोध्छन् ।
‘हेर्न मन लागेर !’ म जवाफ दिन्छु ।
‘नहेर त्यसरी ! के भएको छ र ?’ उनी ठूलो स्वास फेर्दै बोल्छन् ।
‘केही नभएको देखेर त हेरेको !’
‘के हुनु पर्यो र ?’ उनले केही सोचे जस्तो गरि बोले ।
‘केही त हुनु पर्थ्यो होइन र !’ म सोध्छु ।
‘जस्तै !’ केही नबुझे जस्तो गरी बोल्छन् उनी । मलाई उनको यो बानी ठ्याक्कै मन पर्दैन । ‘हरेक कुरामा बन्छन् त मान्छे !’ म कराउछु ।
‘बनेको होइन भन्या !’ उनी पनि कराउछन् ।
‘बन्नुको पनि त सीमा हुन्छ । अरुका लागी पो बनी दिनु आफ्नै लागी पनि बन्छ त कोही !’ म सम्झाउन खोज्छु ।
‘मेरो स्वभाव नै यस्तै छ त म के गरु ?’ उनले छोटो जवाफ दिन्छन् ।
‘तिमी अरुका लागी भन्दा आफ्नो लागी बन्छौ । जसले गर्दा तिमी सधै भ्रम बाच्छौ ! यो राम्रो होइन ।’ म रन्किदै भन्छु ।
‘जन्मनु र मर्नु छोडेर जिन्दगी पनि एक भ्रम नै लाग्छ मलाई !’ उनी फेरी लामो स्वास फेर्छन ।
‘मन अप्ठेरो भएको होला हगी !’ म सोध्छु ।
‘छैन !’ उनि अति सामान्य बन्न खोज्छन् ।
‘किन लामो लामो स्वास फेरेको त ?’ मेरो प्रश्नलाई उनले जवाफ दिन चाहदैनन । मलाई नबोल्न आग्रह गर्छन । मलाई उनले नबोल भनेको मन पर्दैन । अरुका खुसीमा जे गर्न पनि तयार हुने उनी आफ्नो दुखमा यसरी नै भाग्न खोज्छन् । मलाई उनको यही बानीले सताउछ । कसैलाई नलागेको माया लागेर आउछ । कठोर भएको उनको मुटु शब्दले चिमोटी चिमोटी रुवाउन मनलाग्छ । मन भित्रको उकुस मुकुस पानी भएर छचल्कियोस जस्तो लाग्छ । कलाकार बाच्ने प्रक्रियावाट बाहिर निस्किउन जस्तो लाग्छ ।
किन किन मलाई लागी रहेको छैन उनकी श्रीमतीले पनि उनलाई उनले जत्तिकै माया गर्छे । वा विश्वास र श्रद्धा गर्छे । एउटा औपचारिकता जस्तो उसको आगमन किन किन रित्तो लाग्छ मलाई । कुनै आफ्नोपन नभए जस्तो ।
‘अब कहिले भेट हुन्छ ?’ म सोध्छु ।
‘को संग ?’ उनी अलमलिएका हुन या बुझ पचाएका हुन म बुझ्न सक्दिन ।
‘ऊसंग ! अब कहिले आउने कुरा छ ।’ म हैरान हुदै सोध्छु ।
‘सायद अर्को बर्ष ।’ उनि छोटो जावाफ दिन्छन ।
‘अनि बच्चा पाउन ढिलो भएन र ?’ म उनलाई यथार्थसंग जुधाउन खोज्छु । उनि मौन हुन्छन ।
‘यसरी कहिले सम्म बस्छौ ?’ म सोध्छु ।
‘थाह छैन !’ उनि भावुक हुन्छन् ।
‘पछी तिम्री बुढीले छोडी भने !’ म बोल्न रोकिन्न ।
‘तिमी नबोल्न सक्दिनौ !’ उनी फेरी भाग्न खोज्दै बोल्छन् ।
‘उमेर हुन्जेल एक्लै बाच्यौ, पछी विछोडिनु पर्यो भने ! के सोचेका छौ जिन्दगीलाई तिमीले ? जिन्दगी काट्ने मात्रै कुरा होइन । भोग्नु पनि पर्छ ।’ म बोली रहन्छु ।
यतिवेला उनको अनुहार रसिलो हुन्छ । पानी पर्नै आटेको आकाश जस्तो उनको आखा, म हेरी रहन सक्दिन । उठेर हिड्न खोज्छु । हिड्नै लाग्दा उनले च्याप्प मेरो हात समाउछन मैले उनको अनुहारमा हेर्छु । उनले आँखा बलजफ्ती चिम्लेका थिए । आसु गाला हुदै भुइतिर झर्दै थियो । यो बीचमा एक पटक लामो स्वास लिन्छन् र बोल्छन् उनि ।
‘के तिमी मेरो बच्चाको आमा बन्न सक्छेऊ ? भन के तिमीले मलाई बावु बनाइदिन सक्छेऊ ?’ उनको यो प्रश्नले म नाजवाफ हेरेको हेर्यै हुन्छु ।
anupamroshi@gmail .com
(स्रोत : Nepali Kala Sahitya)