~बिमल कुँवर~
उ हिजो अनि आज र अस्ति पनि सडकभरि छरपष्ट छारिएकी थिइ, पोखिएकि थिइ ,अलपत्र परेकी थिई |उसको पुरानो बिगत त मलाई पनि थाहा छैन तर सुनेको छु कुनै एक शिक्षकको श्रीमती थिई र उसको लोग्ने आन्दोलनमा शहिद भयो रे ! अनि उ र छोरा-छोरी घर बाट निकालिए |छोराछोरी कता हराए कता तर उसको यथार्थ बर्तमान भने मा धेरै दिन देखि यहीको चोकमा देख्दैछु |उ त्यहिको गल्लीहरुमा ओहोर दोहोर गर्दै कुकुरको बथानको अघि अघि दौडिन्छे ,तर दौडिनु उसको सोख भने हैन | कुकुरले समेत लखेट्छन उसलाई |
जीवनलाई जसरि भोग्यो त्यो नै जीवनको परिभाषा बन्दो रहेछ | सायद गन्तब्यहिनता नै उसको जीवनको परिभाषा हुनसक्छ |
आज बिहान निकै जाडो थियो |उसले काँधमा पोको,जिउमा च्यातिएको पातलो च्यादर अनि एउटा खुट्टा मा जुत्ता बेगरको मोज्जा लगाएकी थिई | निला-निला ओठहरु र जाडोले कापेका हातहरु पसार्दै चिया पसलमा उ केहि मागिरहेकी थिई | पसलेको पहिलो हप्काईले डेग नचलेपछी पसलेले एक भाडो पानी छ्यापिदियो | उसको चुल्ठो देखि कापिरहेको हातसम्म पानीको धाराहरु बग्न थाल्यो | उ लगलग काँप्दै केहि बर्बराउदै त्यही उभिरहेकी थिई | एकैछिनमा उसको टाउको मा लाठि बजारिएको आवाज आयो | उसले पसारिएको हात खुम्च्यौदै निधारबाट बहेको रगतको धारोलाई पुछ्दै सडकमा लडिबुडी गर्न थाली | यो त्यही सडक हो जहाँ उसको श्रीमान सहिद भएको थियो , आज उसको पनि रगत यहि बग्दैछ जहाँ उसको श्रीमानले गोली खाएको थियो | र यो त्यही समाज हो जो न त उसको श्रीमान लाई सम्झन्छ न त उसको बेदना लाई बुझ्छ | आज उसलाई पागलनी नामले पुकार्ने समाज सहिद दिवसको दिन यहि चोकमा भेला भएर लोकतन्त्र प्राप्तिको कथा सुनाउछ |
उसको वरिपरी एउटा भिड जम्मा भइसकेको छ | पसले बडो धाक लगाएर कसरि उसले पानी छ्याप्यो र कसरि कुट्यो त्यो भिडलाई सुनाउदैछ | आईमाईहरु उसलाई चोर्नी नाम दिदैछन | र नेताजनहरु चिन्तित छन कसरी मधुमल्ला बाट पागलको संख्या घटाउने ! केटाकेटी हरु उसको पोको पन्ताराहरु यता उतै गुडाउदै छन | सायद पोको भित्रको उसको संसार फेरी एकपटक सडकभरि छरिएकोमा उसको भक्कानो फुट्दैछ | म त्यहाँ देख्दै छु एउटा फ्रेम गरिएको फोटो छ ,एकजना लोग्ने मान्छे, २ बच्चिहरु र उ पनि छे त्यो फोटोमा | सायद उसको परिवार हो क्यारे | केटाकेटी संगको तानातानमा खै कसरि फुट्छ त्यो फ्रेम | अब उसको मुखाकृति हेर्दै कुनै आधी आउन लागेको आकाश जस्तो देखिन्छ | एक्कासी ढुंगा टीप्छे र पहिलो पप्रहार गर्छे पसलेलाई | अब त्यहाँ एक भयावह स्थिति सिर्जना हुन्छ ,उ कसैलाई छाड्दिन | अनायासै उसको मुखबाट जिन्दाबाद,मुर्दाबाद आवाज निस्किनुको साथै ढुंगा प्रहार नेताजी हरु पट्टि तेर्सिन्छ | अनि मा चाही सुटुक्क भाग्छु त्यो हुल बाट |
घर आइपुगेर सोच्छु ,आज भन्दा अगाडी कहिले उसलाई त्यो चंडालिका रुपमा देखेको थिइन मैले |सायद उसको सहनशीलताको अन्तिम बिन्दु त्यही थियो | घरको झ्यालपट्टि सुन्छु अहिले पनि चोकमा खलबल छ | अघि एक जना जनताको नेता भन्न रुचाउने नेताले भनेको कुरा दिमागमा आउछ ” मधुमल्लामा पागलहरु यति बढे कि अब यसलाई पागल हरुको गा.बि.स. भनेर चिन्ने बेला भो, त्यसैले बेलैमा केहि सोच्नु पर्ला “| हो बास्तव मा यो पागलहरूको नै गा.बि.स. रहेछ ,त्यसभित्र को एउटा पागल म पनि | बढ्दै गैरहेको पागल को संख्या हामीलाई याद छ तर घट्दै गैरहेको मानवताको मिटर कहानेर छ ,कसैलाई पत्तो छैन |
फेरी अर्को दिन आयो | जाडोको समय निन्द्रा नै प्यारो त्यो भन्दा तातो सिरक प्यारो | सुतिरहेको छु ,बिहानै चोकमा हल्ला सुन्छु ,लाग्छ आज पनि उसले केहि गरि | त्यतिकैमा बाटोमा कोहि गफ गर्दै हिडेको सुन्छु “कस्तो अचम्म गरि” | अब मा पनि उसले गरेको अचम्म हेर्न पुग्छु | उ लडिरहेकी थि ,छेउमा एउटा प्लास्टिकको झोलामा अलिकति भिजेको चिउरा र एउटा सानो कुच्चिएको बोतलमा अलिकति पानी रखिछ | कोहि हास्दै छन ,नेताजी खुसि देखिन्छन | केटाकेटी पोको भित्रको थैली खोतल्दै छन | साच्चैं आज त अचम्मै गरि छ | नजिकै एक प्रहरी यसरी रिपोर्ट तयार गर्दैछन आज उसले गरेको कार्यको : “एक मानसिक सन्तुलन गुमाएकी अधबैसे महिलाले खाना मा बिष मिलाएर खाएर आत्महत्या गरेकी छिन् ” | त्यही रिपोर्ट मा हस्ताक्षर गर्ने नेताजी पागल संख्या १ घटेको गणना गर्दै १ घण्टा लगाएर आफ्नो नाम लेख्छन | मा चाही खानामा बिष भन्ने वाक्यको पछि दौडिदै घर आइपुग्छु |
-बिमल कुँवर
मधुमल्ला-१ ,मोरङ
Email:- kanxo.kto@gmail.com
(स्रोत : INA)