कथा : क्याब ड्राइभर

~जया राई~Jaya Rai

“जकिया के अब म तिम्रो विहेको तयारिमा लाग्न सक्छु ?”
यो प्रश्न मैले हजारौं सहास बटुलेर जब उनको नजिक पुग्छु, मुखबाट एक वाक्य मरे निस्कदैन । सत्ते सक्तिन, स्वर त कता–कता घाँटी भित्रै हराउँछ । हजारौं जोरजाम गरेर बटुलेका मेरा सबै सहासहरु क्षण भरमा नै पसिना–पसिना भएर खलखलि बग्न थाल्छ । त्यो बेहोसीमा आफैं कुन लोकमा हुन्छु थाहा पाउन्न, मेरा स्नायु तन्तुहरु बेकम्मा हुन्छन् । के मेरा सबै प्रयासहरु यसरी नै तुहिएर जाने हुन् त ?

म उनलाई “जाकिया तिमी अब विहे गर” भनेर उनको नौनी भन्दा पनि कोमल मनलाई बिझाउन पनि चाहान्न, चाहेर पनि नसक्ने रहेछु । आफूलाई कत्ति न साहसी ठानेको त, वास्तवमा त म त बेपत्ताको लोतिखारे, पीलन्धरे पो रहेछु । मैले शिर निहुराएर मेरो वीरताको विल्ला उनको अगाडी झारिसकेको छु । यदि मैले उनलाई भनिहालेमा पनि म माथिको उनको विश्वासमा मैले डडेलो लगाएको हुने छ ।

जाकिया साँच्चै नै टाढा भै भने…!

मलाई पनि त उनको दूरता कम कष्टदायक हुने छैन । लिएको ताप बराबर दिएको ताप हुन्छ भन्छ नि त विज्ञानले !
मनमा हजारौं गुडुल्की परेर आउने विचारहरु संग आफैं बादि र प्रतिबादिको अदालतमा खडा हुन्छु । आफैंले सुन्ने गरि, ऐना अगाडि उभिएर, आफैंलाई साक्षी राखेर भनेको छु “ तिमीलाई, चाहेर पनि अन्त कतै पठाउन सक्तिन जाकीया !” फेरी त्यै मनले विरोधमा उत्रेर आफैंलाई सत्तो सराप पनि गरेको छु । यो बेला मेरो अनुहारको रौंनक ऐनामा हेरेर आफंै तर्सेको छु, लाग्छ, म पागल हँुदै छु ।
बोलौं कसैको जीवनमा घात हुने, नबोलौं ममा पागलपनको भूत सवार भएर सताएको कष्ट कस्ले खपिदिने !

धेरै पटक जुन कुरा भन्न भनेर आँट गरें, हो, त्यो कुरा भन्न चाहेर पनि भन्न सकि रहेको छैन । तर चुपो लागेर बुझ पचाएर चुपचाप बसिरहन पनि सकिदैन नि ! मानिसलाई सत्य कुरा बोल्न पनि यत्रो कष्ट किन होला नि ?

म, आफै बेलाकुवेलामा अनायसै कराउन थाल्छु, “जाकिया तिमीसंग कुन साइतमा भेट भए छ, तिमीले यो के सजाया दिलायौ ? जसको कुनै उपचार नै छैन, म के गरौं ? हर घडी आफैं पीडित छु, न त तिमीलाई भनेर म उम्कन पाउँछु , न त नभनेर नै म चुपचाप सहिरहन सकेको छु, खाली आफैंले आफैंलाई मनको आगोको भूंग्रोमा पीरोलेको छु । यो असहिय पिडा कसै गरे पनि शान्त हुन्न जाकिया सत्ते हुन्न । भो यो द्दिविधामा म कहिले सम्म पो झुण्डिएर रहन सकांैला र !”

“मैले खेपिरहेको यो पीडा र विवस्ता तिमीले चाहेर पनि बुझ्न सक्तिनांंै । हेर, म यति थाकिसकेको छु, कि त्यो थकाई मेरो यस जीवनमा नमर्न पनि सक्छ । बरु म आत्मा हत्या नै गरौंला, लिन्छु आफ्नो ज्यान ! तिमीलाई भो दिन्न पीडा । पीडा आफैं बोकेर जान्छु, आफैंलाई मेटेर, बरु यस संसारबाट विदा लिन्छु । अहिले तिमीले खेपिरहेको दुःख–पीडा, तिम्रो लागि मोर देन इनप्m छ । कसरी ती विवस्ताहरु खेपिरहे छौ ? कुन साहसले खेप्दै छ्यौ हँ ? तिमीलाई त्यो साहस दिने तिम्रो खुदासंग मलाई पनि धेरै धेरै साहस दिन आग्रह गर्ने छु, “मसंग त्यस्तो साहस छैन खुदा ! जति जाकिया को छ, त्यस्तै साहस मलाई पनि देऊ !”

तिमीले धेरै चोटी भनेकी छ्यौं “आत्मा हत्या महापाप हो, कुनै पनि हालतमा आफ्नो हत्या आफैंले गर्दिन, बरु जीवनमा पाइने हदै सम्मको दुःख खेपौंला ।”

तिम्रा विचारहरु सही हुन्, तिम्रो त्यो दृढताले गर्दा नै त तिमी त्यो असहिय पीडाहरुलाई पनि न्यानो स्पर्सको छानोमा छाँद हालेर बाँचेकी हौ । तिमीले खेपेका दुखःहरुको चाङ मैले सुन्न नसकेर तिम्रो काखमा बालक जस्तै क्वाँ– क्वाँ रोएको पनि छु ।

मेरो प्रश्न, के तिमीलाई मेरो नालियकीले, जीवन जीउन अझ साहस होला र ?

तिमीले मलाई अवश्य पनि धिक्कार्ने छ्यौंं । मेरा आत्मा हत्याको खबरले यो दुनियाँमा केहि असर गर्दैन, खाली लोकल पत्रिकामा समचार बन्ला । तर संसार भने कत्तै खालीे हुन्न, तिमीलाई चाहीं केही समय मेरो अनुपस्थितीले अत्यास लाग्ने छ । अवस्य पनि तिम्रो त्यो झपक्कै फलेका परेलीहरु आँसुले लपक्कै भिज्ने छन् । तर कता कता संका लाग्छ, लासै लासमा पाइला टेक्दै हिडेको तिम्रो कलिलो जिन्दगीले, मेरो एउटा लासले खासै असर नगर्ला !

तर तिमीलाई यस लोकमा एक्लो पारेर, भो म एक्लै त्यो नसोचेको लोकमा जाने कल्पना सम्म पनि गर्न सक्दिन । बरु म तिम्रो हिडन पिडा खप्नै तयार छु । म कसै गरि पनि उम्कन नसक्ने रहेछु । होमिङ्ग वे वर्डको पखेटा भन्दा पनि छिटो चल्ने तिम्रा ती परेलीहरुमा कति दुखः वेदना र पीडाहरु लुकेका छन्, त्यो मैले बुझेको छु । कति आँसु बगाएकी छ््यौ, मैले केहि वर्ष यता लगातार देखि रहेको छु । तिम्रो कहिले सुनेर नसकिने दर्दानाक यातनाहरु ! यस्तो सास्ती र पीडामा पनि मानिस भन्ने जीव बाँच्न सक्दो रहे छ ।

हेर्छु, ऊ मेरी छोरी रागिनी बराबरकी छे । हरेकमा तुलना गर्छु, उमेर, रुप, जीउडाल, बोली, उचाई सबै उस्तै । यो त रागिनीको क्लोनिंग हो कि कसो ! आफैंलाई भ्रम हुन्छ ।

उनको बाउ बनेर नजिक गएर संरक्षक वा अभिभावकत्व म भित्र कतै अनायसै पलाउछ र उनको निधार छोपिएको अगाडिको कपाल पन्साउदै मेरा हत्केलाले मायाको न्यानो स्पर्स दिन खोज्छु । तर उसलाई त्यो स्विकार छैन ।

ऊ भन्छे “भो हाम्रा बाहरुले छोरीलाई यसरी छोएर माया गर्दैनन्” उस्ले टेढा आँखा पर्दै हेर्छे । अचानक म हच्केर एक कदम पछि सर्छु । त्यै क्षणमा ऊ एक कदम अगाडि बढेर तीनै फर्फर् चल्ने उनका परक्क फर्केका परेलीहरु हल्लाउदै मलाई छाँद हाल्न आइपुग्छे । अनि म भित्रको पुरुष बाऊ, गोमन सर्प जस्तै ढडिएर फँडा फुलाउदै ढस्न निस्कन्छ । मेरो डसाईमा उस्ले के मोहकता भेट्टाएकी छे कुन्नी ऊ साँच्चै नै मोहित भएकी छे । सुरुमा मैले नचाहेर पाएँ, अहिले उनीबाट चाहेर पनि भाग्न सकेको छैन । तर पनि मैले यो मिलन विन्दुबाट भाग्नै पर्छ ।

मैले नचाहेर पनि मनमनै उनको विहेको तयारीमा लाग्छु । मलाई रागिनीको बाउ जस्तै जाकियाको पनि बाउ हँु भन्ने लाग्छ । तर उनको अगाडि गएर भन्न साहस यस जुनीमा छैन । जीन्दगीका यी दुबै प्रकारका अभिवाकत्व र आत्मियताले खेप्तै आएको विवसताको घडीको विचमा कस्तो–कत्रो अन्तर द्न्वद !

रागिनी जसलाई जीन्दगीको धेरै लक्षहरु मध्येको एउटा लक्ष आफ्नो अठार वर्षको घोषणा गर्नु हो । अनि स्वतन्त्र भएर आकाश गंगाका स्वतन्त्र चरीहरु झैं जताततै उड्दै हिड्नु । हतार भएर भर्खरै मात्र एउटा ठूलो पार्टीको आयोजना गरेर उसका सारा साथीहरुलाई ऊ अठार वर्ष पुरा गरेको जानकारी गराएकी छे । उसले ठान्छे एउटा भयंकर युद्द जीतेकी छ, अथवा ऊ बन्दी गृहबाट छुट्कारा पाएको उत्सव मनाएकी छ । मानौं ऊ वर्षौं नजर बन्दमा परेकी थिई !

फेरी नियालेर हेर्छु जाकीया र रागिनीमा आकाश पातालको असमानता पनि छ । रागिनी उसलाई अठार वर्ष पुरा गरेकोमा कत्रो घमण्ड वा गौरव छ । तर जाकियालाई यो अठार वर्ष अरु वर्षहरु भन्दा केही पनि फरक छैन । खाली आफ्नो उमेरको उकालो यात्रा न हो यी जन्म दिनहरु । जन्मदिन मनाए पनि हुन्छ, नमनाउदा यसले कुनै खराबी गर्दैन, मनाएर आफैंलाई उमेरको गणनाले कत्रो महत्व नै बढने हो र ठान्छे ! जीन्दगीको सुक्ष्मत विन्दुका हरेक पाटालाई केलाएर हेर्ने गरेकी छ र तीता अनुभवको रासमा दौडेर जीवन के हो ? गृहयद्दले के के गर्छ ? भोक, रोग, अत्याचार, हिँसा कसरी हुन्छ ? त्यो थाहा पाएकी छ ।

मलाई जस्तै उसलाई पनि आफ्नो देश ज्यान भन्दा प्यारो छ । उनका आफ्ना तीन जना दिदीहरु उतै छुटेका छन् । जीवनमा ती सबै दिदीहरुलाई भेट्ने सम्भावना कम देख्छे । बा आमाले पन्द्र वर्ष नपुग्दै विहे गरेर आफ्नो जिम्मेवारी सकियो ठानेका थिए । ती छोरीहरुका हरेक वर्षमा जन्मिएका सन्तानहरुको अर्को लामो नामावली थपिसकेको छ, संसारमा ।

“तीनजना दाईहरु कता छन् होला, विहानै आएका हतियार धारिहरुको जत्तथाले धिसार्दै लैजादा आमाको क्रन्दनले तिनलाई रोकेन, एउटा गोलिको आवाजले आमाको आवाज रोकियो । त्यो घडी हामीमा कुनै प्रतिरोधको शब्द चूँ …सम्म निस्कन सकेन । विस्तारै थाहा भयो, मेरा दाइहरु मात्र नभएर गाउँका अरु पनि जवान केटाहरुलाई लगिए छ । ” ऊ यी वाक्यहरु मलाई भनि रहँदा बोलि बिस्तारै झिनो भएर आँसुका थोपाहरु परिणत भएका थिए ।

औपचारिक शिक्षा छोरीहरुका लागि तालिवानले बन्द गरे पछि, अफ्गानी महिलाहरु आँखो भएका अन्धा जीव भएकाछन् । अब शिक्षा सम्भव भएन । सबैलाई साधारण जीवन जीउन पनि असंभव होला जस्तो भयो । आकाशमा कालो वादल संगै रकेट, फाइटर प्लेन उड्न थाले । आकाशमा उडेका चरा अन्तै लोक बसाईं सरे । पाईला पाईला राखिएका बमका पोका ब्वाङ्ग ब्वाङ्ग फुटन थाले । वर पर जताततै बम र बन्दुकको आवाज मा जीवन धर्मराउन थाल्यो । विराना, झन विराना पराया मानिसहरुको आगमनले गाउँबस्ती आफैं विरानों हुँदै गयो । उनका बाले चलाउदै गरेको व्यापारलाई बन्द गरे । काकाको अफिम खेतीको आम्दानीको मालिक अरुहरु नै हुने भए, जो संग हतियार छ, बन्दुक छ ।

बाबा र काकाहरु पनि अब अरु गाउँलेहरु संगै पाकिस्तानमा रहेको सरणार्थी सिविरमा जाने निधो गरे । हिड्न अगाडि सानो कार्यक्रम बनाएर जाकियाको मगनी उनका काकाको छोरा संग भयो । जो उनको ईच्छा विपरित थियो । विरोधको आवाज निस्कनु त्यो सम्भव छैन, आदेश बन्दुकको नालमा भए जस्तै, आदेश समाजको नियममा पनि लेखिएको हुन्छ, चुपचाप स्वीकार गर्नुको विकल्प अर्को छैन ।

विरोधको आवाज यदि आज जस्तै निकाल्न सक्ने भए जोड जोडले कराएर भन्ने थिई, होली, “मलाई मेरो भविष्यको निर्णय गर्न आफैंलाई दिइयोस् । जसका भएका सन्ताहरु जन्मे देखि जवान भए सम्म ओछ्यानमा बेहोस लडेका छन्, तीनका हातपाऊ लुला भएर गलेका छन्, त्यस्ता सन्तानहरुको सन्तान म जन्माउन चाहान्न । त्यस्ताको भ्रुण मेरो गर्भा समया हुर्काउन चाहान्न, मेरा सन्तान सापे भएर रात दिन ओछ्यानमा पल्टेको हेर्न सक्तिन । तिनको म रात दिन स्याहार गरेर दिन विताउन्न, मलाई पनि मेरो जीन्दगीको सजिला पाटाहरु उपभोग गर्न दिइयोस्, मेरो जीन्दगी निर्णय आफैंले गर्न पाऊँ । ”

भित्र कोठामा उस्को हुनेवाला लोग्ने ओछ्यानमा पल्टेको छ, ऊ बर्बराउछे,“ है न तिमी चैं सद्दे हौ भनेर काका र मेरा बाले मलाई सुम्पेका हुन् । यस्तो लक्का जवानको पनि अचानक कसरी हात खुट्टा गलेर लुला हुन्छन् त हँ ! पाकिस्तानी शिविरमा बाबा र काकाले विहेको विधि सकौं भन्दा पनि तिमीले नै मानेनौं, युरोप पूगेर गरौंला भनेर । जब हामी विभिन्न मार्गहरुपार गर्दै बेलायत आईपुग्यौं, तिमीले त जीवनको भारि विसायौ त, थकाई त पक्कै मरिसक्न पर्ने, किन उठ्दैनौं । यी संसार भरका सरणार्थीहरुका ठेकेदारहरुले यस पृथ्वीका सारासरणार्थी मानिसहरुको विपत्तिहरु आफैंहरुले पनि भोग्न परेमा, अनि मात्र थाहा पाउने थिए सरणाथीहरुको जीवन कहानि । नत्र कसरी रोकिएला यो चलिरहेको नरित्तने सरणार्थीको साइकल ।”

“ जाकिया भो नभन, तिम्रो सरणार्थी शिविरका कष्टहरु ! सुन्न सक्तिन म तिम्रो कलिला पाईतालाहरुले नापेका मरुभूमी र चिसा नागीहरुका भोकै, तिर्खामा छिचलेका डरलाग्दा रातहरु, चट्टयाङग् र हुण्डरीले तर्साएका अँध्यारा दिनहरु । ट्याङकरमा पशुसरी खादिएर गुम्सिएका छोटा–छोटा जीवनका निरासाहिन गन्दे स्वासहरु !!”

भिजेको मुसो जस्तो निन्यारो, दुव्ली पालली, ख्याउटी, थोत्रो, फाटेका, धुजा–धुजा भएका लुगामा आफ्नो अंग लुकाउन हम्मे हम्मे भएकी जाकिया आज हेर्दा त्यो क्षणहरु लाग्छ, उस्ले कसरी भोगि होली ती सब पीडा । मैले घरको ढोका सम्म पुर्याउदा बामे सर्दै सिढी उक्लेकी थिई । ऊ जस्तै ख्याउटे, भोक, थकाई र पीडाले लखतरान भएर गलेको जो जीन्दगीको भारी सकि नसकी खुट्टा टेकिरहेको केटो संग अथवा उसको हुनेवाला लोग्ने संग !

मैले विदा हुने बेलामा छोडेर गएको भिजिटिङ कार्डले हाम्रो दुई वर्षे सम्बन्धलाई लम्ब्याएको हो । मेरो काम नै क्याव ड्राइभर । मलाई त काम न चाहिएको हो । जस्ले बोलाए पनि काम हो जानु पर्छ, जान्छु । जाकियाले एकपटक भनेकी छे, “तपाई यस विरानो ठाउँमा भेटिएको मेरो पहिलो परिचित व्यक्ति झैं लाग्छ ।”

उसका अरु सहयोगीहरुले कता कता के के दर्ता गर्न लगे, के के काम गरी त्यो मेरो सरोकारको विषय भएन । म त सिर्फ क्याव ड्राईभर । काम चाहिएको छ, काम ।

हतार छैन घर जान, घर भन्नु नै पो के छ र । मानिसलाई बढी स्वतन्त्रता दिए बाटो चाहिँ विराउने रहे छ । मेरी रानीचरीले आफ्नो गुड्मा लातमारेर कुन चीबे चरोको गुड बनाउन हो, उता बसाई सरेकी छ । जीवन साथी रोजेर म संगको संबन्ध तोड्न चाहेकी छ । डिवोर्सको लागि मद्दा दर्ता गरेकी छ । असन्तुष्टीको पराकाष्ठा, उसले अहिले बसिरहेको घरको आधा हिस्सा मागेकी छे । विपूल यूनि गएको छ, उसले आफ्नो बाटो तय गरि सकेको छ । रागिनीको ए लभेल सक्दै छे, यसको चिन्ता न हो, देखाजाएगा, समयले जता पुराउला !

उसलाई चिनेको छ महिना नहँुदै एक दिन अत्तालिन्दै फोन गरी, एक्कासी आएको ज्वरोले उसकोे हसनका सल्सलाउदो हात गोडा लुला भएका छन्, बोली बन्द भएर आँखा बेपत्ताको पारेर टुलुटुलु हेर्छ ।

नजिकैको हस्पीटलमा लगें, ठीक होला भनि आशा गरेको ज्वरो त निको भयो, तर उसका लुला हात गोडा र टाढा अन्त कतै हेर्ने आँखा ठीक ठाउँमा आएनन न त बोलि नै । ऊ त एउटा अर्कै अनौंठो जीवमा परिवर्तन भएको छ अब ।

ऊ उहि पुरानो कुरा दोहोर्याउदै आँखा छोप्छे, “यो पहाडलाई कसरी पार गरौं, मेरा काका पाकिस्तानी सरणार्थी सिविरमा छन् । उनको मन घरमा बेहोस लडेका उनका तीनवटा जवान छोराहरुको स्याहार गरिरहेकी आफ्नी श्रीमतीको मायाले रात दिन कति भतभती पोलिरहेको होला, अझ यो खबर उनले सुने अब के होला !”

मैले ईश्वर संग मागें “ प्रभु ! संसार भरका सरणार्थीहरुको, समयका अगुल्ठाले पोलेका घाउहरुको ओखोती, चाँडै बनोस् ।”

जया राई , लन्डन -१० अप्रिल २०१२

(स्रोत : INA)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.