~प्रा. डा. सुषमा आचार्य~
वातावरण निकै रमाइलो थियो । क्याम्पस छोडेको दस वर्ष पछि पुराना साथीहरूसँग भएको भेटघाटमा खुसी साटासाट गर्न सबै व्यस्त देखिन्थे । धनकुटा बहुमुखी क्याम्पसले आयोजना गरेको पुनर्मिलन समारोहमा अधिकांश पूर्व विद्यार्थीहरू तेह्रथुमको तीन जुरेको जङ्गलमा भेला भएका थिए । जहाँ अट्ठाईस भन्दा बढी प्रकारका गुराँस फुल्थे र आफ्नो सौन्दर्य विश्वभरी नै छर्थे । वसन्त ऋतुको आगमनसँगै पर्यटकहरूको आगमन पनि बढ्थ्यो । धनकुटादेखि नै बाटाघाटो र हिले, बसन्तपुर बजार दुलही झैँ सिँगारिएका हुन्थे । स्थानीयबासीहरू आफ्ना उत्पादन विक्री गर्नमा तल्लीन देखिन्थे ।
वैशाखको धूपमा पनि यहाँ आएपछि चिसो हावाले डाँडामा उडाएर ल्याउने कुहिरो स्थानीबासीको मृदु मुस्कान, प्रदुषणमुक्त वातावरण र पहाडै रङ्गीन बनाउने गुराँस हेरेर मन्त्रमुग्ध भई, कतिपय विदेशीहरू त आफ्नो देश फर्कनु पर्दा रुँदा रहेछन् । यस्तै ठाउँमा हुर्केकी दिलमाया निकै हँसिली, रसिली र पुखली थिई । बान्की परेको गोरो अनुहार, सिरूपाते ओँठ, गुराँसझैँ गाला र मत्स्याकार आँखाहरू देख्दा उसलाई एकपटक देखेपछि फर्केर नहेर्ने कुनै युवक हुँदैनथ्यो ।
दस वर्ष अगाडि दिलमाया र लालबहादुरको अध्ययनको क्रममा धनकुटा क्याम्पसमा भेट भएको थियो साँस्कृतिक कार्यक्रममा । दुवै मिठासपूर्ण स्वरका धनी भएकाले युगल गीत प्रस्तुत गर्ने सन्दर्भमा नजिकिन पुगे । सबैको ताली र प्रशंसाको ओइरोले दुवैको हृदय ठोक्किन पुग्यो, घाइते भए मुटु र कलेजाहरू शल्यक्रिया भई साटिएछ दुवैको मन ।
बाबुको मृत्यु पश्चात भोजपुर घर भएका लालबहादुर आमासँग धरान झरेका थिए । आमाले एउटा छोरालाई जसरी पनि पढाउँछु भन्दै पहाडको सबै बेचेर धरानमा घर घडेरी जोडी सानोतिनो व्यापार गर्थिन् । लालबहादुर सानैदेखि पढ्नमा तीक्ष्ण र मिहेनती भएकाले धनकुटा क्याम्पसमा शिक्षा डिप्लोमाको पढाइ पूरा गर्दै थिए । यसैबीच प्रमाणपत्र तहमा पढ्ने वसन्तपुर निवासी दिलमायाको सुरिलो स्वर, फस्र्याइलो बोलीवचन, चुम्बकीय रूपले गर्दा लालबहादुर दिलमाया विना बाच्नै नसक्ने भइदियो । दिलमायाले डिप्लोमासम्म पढ्ने रहर गर्दागर्दै पनि दुवै विवाह बन्धनमा बाँधिए । आज यही कार्यक्रममा दिलमाया र लालबहादुर पनि आएका छन् र आ–आफ्नै साथीहरूको माझ अतीतमा डुब्न व्यस्त छन् । आफ्नै साथीहरू मध्ये कतिपयले निकै उन्नति गरेको देख्दा दिलमायालाई आपूmले पढाई पूरा गर्न नपाएको, घरको सबै जिम्मेवारी बहन गर्नु परेको, एक छोरा र छोरीको दायित्व समेत बढिसकेको र लालबहादुरको मात्र शिक्षकको एक्लो जागिरले जीवन कष्टप्रद भएको देख्दा आपूm आर्थिक, सामाजिक र शैक्षिक कारणले धेरै पछि परेको अनुभव भई ग्लानी भयो । यद्यपि ती साथीहरू भन्दा ऊ केहीमा कम थिइन । अझ सुरिलो स्वरको बरदान त उसमा छँदै थियो । साथीहरूको हाँसोले बनै रन्किन्थ्यो तर दिलमायाको मन त्यति खुल्न सकेन । सबै आ–आफ्ना अतीतमा व्यस्त थिए । कसैले कसैको चासो राख्ने फुर्सद थिएन ।
दिलमाया त्यहाँबाट बिस्तारै उठी र उसले पनि केही गर्नुपर्छ, अर्थपूर्ण जीवन बाँच्नुपर्छ, खान त पशुले पनि खाएकै हुन्छ तर यो मात्र जीवन होइन भन्ने लाग्यो । उसलाई उन्नति गर्नमा रोक्ने पनि त कोही छैन । एकपल्ट घरलाई सम्झी— आमातुल्य सासू, दुईवटा मुनाहरू, आपूmभन्दा हुरुक्कै हुने पति, घरधन्दा सिवाय काम पनि त केही छैन । यति काम त जुनसुकै घर परिवारका व्यक्तिले पनि त गर्नु पर्छ नि । यति सुखी परिवार हुँदाहुँदै पनि केही नगर्नु भनेको मेरो आफ्नै कमजोरी र अल्छीपन हो । दिलमायाले एकपल्ट आफ्नो शरीरलाई हेरी— हात खुट्टा सग्लै छन्, रोग छैन, प्रमाणपत्र सम्मको अध्ययन छ केवल अभाव भनेको जोश जाँगर मात्र रहेछ भन्ने लाग्यो । उसले पनि मिहेनत गरेर केही गर्ने हो भने आर्थिक अभाव पूरा हुने र ती साथीहरूको भन्दा कुनै कुरामा पनि कमी नहुने देखेर र दृढइच्छा शक्ति लिई काम खोज्न थाली ।
दिलमाया एक दिन काम खोज्दै जाँदा एउटा म्यानपावर कम्पनीमा पुगी । खाडी मुलुकमा घरेलु कामदारको रूपमा जाने खर्च हाल्नु नपर्ने गरी पन्ध्र दिन भित्रै उडाइदिने शर्तमा दिलमायाले हात खर्च मात्र बटुल्न थाली । उसको जोश जाँगर देखेर लालबहादुर र उसकी आमा छक्कै पर्थे । कसैले नजाउ भन्लान् भनेर ऊ पहिले नै भनिदिन्थी— तीन वर्ष मात्र हो । अनि त आफ्नै देशमा त्यहाँ कमाएको पैसा ल्याएर काम गर्छु । बच्चाहरू ठूलो हुँदा पढाउन सजिलो हुन्छ । कसैले नसोधिकनै आश्वस्त बनाउन चाहन्थी । म अरूजस्तो कहाँ हो र बन्द बाकसमा आउने । म त पैसा कमाएर ल्याउँछु भन्दै धारा प्रवाह बोलिदिन्थी ।
बुहारीको जाने दिने, चङ्गा जस्तो हलुको भएको सासूको जीवन अब जाँतोले थिचिएजस्तो भयो, मन अन्योलग्रस्त । त्यसैले मुखले व्यक्त गर्न सकिनन् । लालबहादुरले अनुहारमा खुसी देखाए पनि बिछोडिनु परेको पीडाले मनमनै रोएको थियो । केटाकेटी आमा कहिले आउने भन्दै सामानको फर्माइस गर्दै यताउता भौँतारिन्थे । दिलमायाको मन गह्रौँ भएपनि शरीरमा जोश जाँगर थियो ।
हात हल्लाउँदै, आँसु पुछ्दै दिलमाया हवाइजहाजमा उडेपछि मूर्ति नभएको मन्दिर झैँ खाली मन लिएर लालबहादुर घर फर्कियो । दिलमाया जानु ठीक भयो कि बेठीक केही भन्न सकेन र लालबहादुरले खुइइ्य गर्दै सम्झाउँदा पनि केही लागेन भन्दै लामो सुस्केरा हाल्यो ।
दिलमायालाई गएको तीन दिनपछि घरेलु कामदारको रूपमा एउटा घरमा पु¥याइयो । घर कम्पाउण्ड निकै ठूलो, तीन–चारवटा गाडी देख्दा दिलमायाको आशा पलायो । बिहान उठेदेखि बेलुकी झण्डै एघार बजेसम्म एकोहोरो काम गरिरहनु पर्दा केही दिनमा नै दिलमायाको शरीर दुखेर चलाउन नहुने भयो । दिनमा चौध पन्ध्र घण्टा काम गर्नु पर्ने, खाने समयसमेत नपाइने र आँखा साउन भदौ भई बर्षिरहने गर्दा उसको शरीर शिथिल हुन थाल्यो । समय–समयमा घर मालिक्नीले काम विस्तारै गरी भनेर गाली मात्रै गर्ने होइन, पिट्न पनि बाँकी नराखेको देख्दा दिलमायालाई अब यो ज्यान फर्किएलाजस्तो लाग्न छाड्यो । कुन ग्रह दशा बिग्रिएर त्यस्तो घर छोडी यहाँ आइपुगेँ भन्दै बच्चाहरू सम्झी आँखाबाट मूल फुटेझैँ गरी आँसु वर्षन्थे रातैभरि पनि । विस्तारै शरीर त अभ्यस्त हुँदै गयो दिलमायाको । एकदिन कोठा सफा गरिरहँदा घर मालिक कोठाभित्र प्रवेश ग¥यो र दिलमायाको प्रशंसा गर्दै अघि बढ्न थाल्यो । हेर्दै डरलाग्दो ज्यान र अनुहार आपूm नजिक आउन लागेको देख्दा बेतोडले मालिक्नीको कोठामा गएर भन्न थाली तर मालिक्नीले सुनेको नसुनेझैँ गरी टारिदिई । उसलाई भन्नु नै व्यर्थ लाग्यो । त्यस दिनदेखि उसको मन निकै आत्तिन थालेको थियो । घरमा कोही नभएको मौका पारी एकदिन भान्छामा काम गरिरहँदा छोरा आएर उसलाई समाएर कोठामा लान खोज्यो । दिलमाया आत्तिदैँ तल ओर्लेर ढोका बाहिर निस्कन खोजी तर त्यहाँ पनि घरभित्र पस्न लागेको अर्को मान्छेले उसलाई अँगाल्न खोज्दै मसँग बिबाह गर भन्न थाल्यो । दिलमाया हत्तारिँदै ढोका बाहिर निस्की र चारैतिर हेर्न थाली । कोही नेपाली भेट भए पनि हुन्थ्यो भन्ने लाग्यो तर विरानो ठाउँमा को भेटिन्थ्यो र ! यस्तो ठाउँमा बसेर पैसा कमाउनु भन्दा आफ्नै घरमा एकछाक खानु वेश, अब त कुनै हालतमा यहाँ बस्दिन भन्ने अठोट गरी । यही समयमा घर मालिक्नी आइपुगेर किन काम नगरी बसेको भित्र हिँड भन्दै माथि लगिन् । दिलमायाले छोराको कुरा भन्न खोज्दा उल्टै उसलाई राम्रो काम नगरेको भन्दै गाली गरिन् । अब यहाँ कसैले कुरै नसुन्ने भएपछि बस्नु नै धिक्कार छ भन्ने लाग्यो दिलमायालाई । जे पर्ला, जहाँ पुगिएला भन्दै त्यहाँ नबस्ने उसले अठोट गरी । बेलुका सबै सुतेपछि उसले ढोका खोल्न खोजी तर ढोका खोल्दा आवाज आउने भएकोले बिस्तारै झ्याल खोली र चारैतिर हेर्दै वरण्डाको रेलिङ्गमा टेक्छु भन्दाभन्दै खुट्टा चिप्लिएर एकैपल्ट तल सिमेन्टमा बजारिन पुगी । के को यति ठूलो आवाज आयो भनेर सबै हेर्न आउँदा दिलमायाले संसार छोडिसकेकी थिई ।
केही दिनपछि त्यहाँ भएका नेपाली र नेपाली दुतावासको सहयोगले दिलमायाको लाशलाई नेपाल पठाइयो । गोलभेँडाझैँ राता आँखा लिएर साथीहरूको सहयोगमा लालबहादुर बिमानस्थलमा उपस्थित थियो । अरूजस्तो म बन्द बाकसमा आउँदिन भन्थी तर आज यो के देख्नुप¥यो भन्दै लालबहादुर डाँको छोडी रुन थाल्यो ।
एक हुल साथीहरूले एÓ दिलमाया किन एक्लै बसेकी भन्दा पो बलिन्द्र धारा आँसु बगाएकी दिलमाया झसङ्ग झस्की । अस्मिताले के भो किन रोएकी भनेर सोध्दा पो उसलाई लाज पनि लाग्यो र मनमनै आफ्नै देशमा रहेछु भन्दै खुसी पनि लाग्यो । गुराँसको फेदमा बस्दाको आनन्दले म त निदाएर सपना पो देख्न पुगिछु भन्दै साथीहरूलाई टारिदिई ।
पुनर्मिलन समारोहबाट घर फर्किएपछि दिउँसोको सबै घटना र तर्कना लालबहादुरलाई सुनाई । आँखाभरि आँसु पार्दै दुवैले विदेश नगई आफ्नै देशमा काम गर्ने भन्दै नछुट्टिने प्रण गरे ।
पाँच वर्ष पश्चात दिलमायाको हातबाट मोबाइल भुइँमा बस्न पाउँदैन । घरको चारैतिर पूmलैपूmलको संसार छ, सुगन्धित वातावरण छ । उसको गाडीलाई रोकिएर बस्ने फुर्सद छैन । घरमा दस–बाह्रजना कामदार छन् । कहिले होटेल, कहिले पार्क, कहिले घर–घरबाट पूmल विरुवाको अर्डर आउँछ । स्वदेशका विभिन्न ठाउँमा मात्र होइन विदेशको पनि अर्डर आउँछ । पुष्प प्रदर्शनीमा दिलमाया फ्लोरीकल्यरको नाउँले प्रसिद्धि कमाएको छ । दिलमायालाई कसैसित गफ गरेर बस्ने फुर्सद छैन । पूmलप्रेमी धरानबासीहरू आफ्ना सन्ततिहरूलाई नाम कमाउन र धन कमाउन विदेश जानु पर्दैन भन्दै दिलमायाको उदाहरण दिन्छन् ।
(स्रोत : INA)