कथा : अनुभूती

~बिना तामाङ ‘सुनगाभा’~

अकल्पनिय थियो त्यो हाम्रो भेट । मैले कहिल्यै सोचिन उसंग फेरि दोर्‍याएर यो जुनिमा भेट हुन्छ भनेर । झण्डै झण्डै स्मृतिका गर्तमा पुगिसकेको थियो त्यो बिम्ब । सायद त्यस् दिन हाम्रो भेट हुनुथ्यो र म आफ्नो सानु फुच्चेस्कुटीलाई वर्कसपमा थन्क्याएर कलकींदेखि चावहिल सम्म माईक्रो बसको कठिन यात्रामा होमिएकी थिएं बसभित्रको कुनापट्टि एउटा सिट बाँकी रहेछ। म त्यहि टुसुक्क बसें ।केहिबेरमा त्यो बस भरियो ।कोचाकोच गरेर यात्रुहरु खाँदिन थाले। म नि कोच्चिएं । नजिकै एकजना भद्र पुरुष बसेको थियो मसंगै कुम जोडेर। कुम कुम जोडेर बस्नु हाम्रो बाध्यता थियो ।झप्प दाह्री ,पावरवाला चश्मा लगाएको ,घुमुर्किएको कपाल,साईड व्याग बोकेको यस्तै ३०, ३५ वर्षको त्यो मान्छेले घरि घरि मलाई हेर्दै गरेको अनुभव गरें। त्यसरी घरि घरि मलाई हेरिरहदाँ मैले कस्तो कस्तो असहज महशुस गरें ।उसको त्यो हेराईबाट जोगिन मैले झ्यालतिर हेर्न थालें ।ठूला ठूला घरहरु, खम्बाहरु ,सडक पेटि सबै सबै बेस्मारी कुदिरहे झै लाग्यो । जति नै गरें पनि ध्यान एकिकृत गर्न सकिराथिइन ।किन किन त्यो मान्छेभएतिर हेर्न मन् लाग्यो ।अनि मैले पनि एकदुई नजरहरु त्यो मान्छे भएतिर फ्याँक्न थालें ।किन किन एककिसिमको आत्मियता भेटेको महसुश गरें ।कता कता चिने झै लाग्यो। मैले आँखा चिम्लेर कल्पना गरें । कल्पनामा त्यो दाह्री, पावरवाला चश्माबिनाको त्यो मान्छेको अनुहार कता कता मेरो स्कुलेजीवनको साथी सागर संग मिल्न गएको महशुस गरें ।
गन्तव्य जति नजिकिदैं थियो उति नै यो मन् बतासिदैं थियो । कतै उहि सागर नै पो हो कि जस्तो लाग्यो । कौतुहलताले गज्जबले डेरा गरेको थियो ।बोलाईहालुँकि जस्तो लाग्यो । तर कहाँको त्यो फुच्चे, पातलो , मुडुले टाउकोको सागर कहाँको यो दाह्रीवाला ,पावरवाला चश्मामा यो मान्छे, अहं कतै कुनै कोणबाट पनि नमिल्ने । म अकमक्क परिरहें। फेरि पनि त्यो कस्तो आकर्षण थियो कुन्नि म घरि घरि त्यो मान्छेपट्टि फर्केर हेर्न थालेकी थिएं ।
बिस्तारै बिस्तारै म भित्र द्वन्द चल्न थाल्यो। तर त्यो द्वन्द धेरै बेर चल्न पाएन । म तिर फर्किएर त्यो मान्छेले’ कृपया म गलत भएं मलाई माफ गर्नुहोला। तपाईमा मैले मेरो स्कुलेजीवनको साथी कलाको प्रतिबिम्ब भेटें। के तपाँई कला हुन्हुन्छ?” भनेर प्रश्नसंगै जिज्ञासा राख्यो ।
मेरा आँखाहरु एक्कासी चम्किए ।म मुसुक्क हाँसे । स्वीकारोक्तीमा टाउको हल्लाएं ।म जे अनुमान लगाउँदै थिएं त्यो मिल्न गएकोमा खुसी भएं त्यो भन्दा पनि बिछट्टै खुसी मेरो स्कुले साथी सागरलाई भेटेकोमा थिएं । हो उ मेरो बाल्यकालको साथी सागर नै रहेछ। उ पनि हाँस्यो । अनि हामी दुवै बेस्मारी हाँस्यौं । हामी हाँसेको सुनेर अरु यात्रुहरु पनि हाँसे ।
हामीले असजिलो महशुस गर्‍यौं ।हामी चुप लाग्यौं । एकछिन पछि सागरले नजिकै मेरो कानैमा ‘कला तिमी कता हिडेकी? कता बस्छ्यौ ? के गर्दैछौ?” एकैपटक प्रश्नहरुको लाईन लगाईदियो ।यसो भनिरहदाँ उसको स्वरहरु भने काँपिरहेको थियो ।
म अलमल परें। कण्डक्टरले “चावहिल ओर्लेनेले भाडा दिराख्नुस ” भन्न थालेको थियो ।झ्याल बाहिर हेरें ।गन्तव्य आइसकेको थियो ।मैले उसको प्रश्नहरुलाई सम्बोधन् गर्नै भ्याईन ।
ओर्लदाँ ओर्लदैं मैले “मलाई फोन गर्नु ल।”भनेर मोबाईल नम्बर दिएं। उसले हतपत्त नोट गर्‍यो ।
एकैछिनमा बस मलाई छोडेर बेपत्ता कुदिहाल्यो । म जिल परेर उभिएं केहिबेर ।
म फेरि अतितको गर्तमा डुब्न थालें संगसंगै पाईलाहरु भाटभटिनि सुपर मार्केटतिर बढाउन थालें । यसरी एकहोरो भएर हिड्दाँ म झस्याङ्ग भएं। गाडी ठिक मेरो अघिल्तिर रोकिएको थियो भने ड्राईवर के के भनेर गाली गर्दैथ्यो सायद म अलि धेरै नै डुबेछु बिगतमा र त वरिपरि कतै नहेरी बाटो काट्न लागेछु सरासर।
हाँस्न मन् लाग्यो आफ्नो पागलपन देखेर। कसरी यति धेरै डुब्न पुगेछु सागरको यादमा जसले बर्षौं पहिले मलाई वेवास्ता गरेको थियो।
अफिसमा पुगें ।नूनको सोझो गर्नुथ्यो गरें पनि तर अन्य दिनभन्दा बिल्कुलै फरकशैलीमा । मार्केटमा किन्न आउनेहरुको भिडमा पनि म आफूलाई एक्लो महशुस गर्दैथें । सामानहरु आफू जस्तै असरल्ल परिराको थियो । ग्राहकहरुसंग राम्रोसंग ड्रिल गर्न सकिराथिन । एककिसमको उद्वेग मन चलिराथ्यो ।मानसपटल रिङ्गिराथ्यो। विगत वर्तमान बनेर चिमोटिरहन्थ्यो । सागर मनभरि छाल हुर्याईरहन्थ्यो अनि म पाखामा पछारिरहन्थें । यो क्रम पटक पटक् अथवा भनुँ दिनैभरि जसो चलिरहेथ्यो
अचानक् मेरो सारा ध्यान भङ्ग गर्ने गरि सामसुङ् ग्यालेक्सी वाईमा ‘यो कस्तो यात्रा रहेछ मैले बुझ्नै सकिन ‘ भन्ने रिङ्ग टोन बज्यो ।नम्बर हेरें नयाँ थियो ।मेरो चिनजानको लिस्ट भन्दा बाहिरको। रिसिभ गरुँ नगरुँ मनमा फेरि अर्को द्वन्द चल्यो । सायद सागरको हो कि? मनले उठाउ भन्ने निर्देशन् गर्‍यो । खाजा खाने समय लगभग हुनै लागेकोले म कल रिसिभ गर्दै क्यान्टिनतिर हुईकिएं ।
” हेलो! कला हियर् ”
“हाई ! म सागर”
“अँ भन न “म गफ गर्ने मुडमा थिएं । टेबलमा खाजा आईपुग्यो । मन पर्ने खाजा बर्गर् रहेछ । थाम्नै सकिन मन्लाई एक् टुक्रा काँटाले घोचेर क्वाप्पै हालिहालें।
“तिमी के गर्दैछौ? कहाँ छौ? भनन तिम्रो कथा तिम्रो व्यथा।”
” हे हे ।” म हाँसे र भने” यति लामो कुरा फोनमा गरेर के साध्य? बरु भेट्म न भरेभोली ।”
“हुन्छ म त जतिखेर पनि फ्रि छु ।बरु तिम्रो पो समय कस्तो छ ।काठमाण्डौं अति व्यस्त मानिसहरुको अखडा हो भन्छन् ।” सागरले व्यङ्ग्य हानिहाल्यो।
“त्यति सारो त हैन भरे ५ बजे शंखपार्क धुम्बाराई आउ न त ।” व्यङ्ग्य नबुझे झैं सहज जवाफ दिएं ।यतिमै हाम्रो स्ंवाद सकियो । फोनमा लामा लामा कुरा गर्न मलाई त्यति मन पर्दैन । त्यसैले हामीले भेट्ने योजना बनायौं ।पुन: ड्युटी शुरु भयो । आँखाहरु भित्ताको घडीमा टाँसिरहेकै थियो । किन किन त्यस दिन घडीको सुई ढिला घुमेझै लागिरहेथ्यो । प्रतिक्षामा अधिर अनि अस्थिर मन्लाई थुम्थुम्याउन उल्कै गाह्रो हुने रहेछ। अनुभब गरियो। बल्ल बल्ल घडिले ५ बजायो।मनमनै धन्यवाद दिएं घडिलाई अझ त्यो भन्दा पनि बढि समयलाई जुन बिस्तारै फेरि पनि मलाई छाडेर एक्लै निक्लन हतारिदैंथ्यो ।जसरी बिहान हुरहुरिए त्यसै गरि बेलुका पनि हुरहुरिएं । म पार्कमा पुग्नु अगावै सागर पुगिसकेको रहेछ। गेट अगाडी उ पहिलेदेखि नै दुईवटा पपक्रन समातेर मेरो प्रतिक्षा गर्दै रहेछ। हामी फेरी एकार्कालाई देखेर फेरी हाँस्यौं। अहिले को हाँसोमा केहि नजिक अनुभूत गर्यौं । पार्कको दक्षिणतिर गएर बस्दा पशिचम क्षितिजले सूर्यलाई निल्न खोज्दैथियो । हामी एकार्काको
नजिकै बसेका थियौ त्यसैले होला अलिक अप्ठ्यारो लागिरहेको थियो कसैले देखे के भन्लान भन्ने कुराले मनभरि हुरि चलाईरह्यो ।किनकी म कसैको अर्धङ्गिनी थिएं र हाम्रो नेपाली समाजमा जो कोहि पुरुषसंग यसरी गफिनुलाई सकारात्मक दृष्टिकोणबाट हेरिदैंन । यस्तैमा पनि हामीले कुराकानीलाइ अगाडी बढाइरह्यौं ।बिहान देखि सोधौं सोधौं लागेको प्रश्न तेर्स्याएं । ” हैन के हालत बनाएको आफ्नो? ऐना हेरेका छौ?”
मेरो सोधाई थियो ।
जवाफ” किन र मन परेन?” बाङ्गो थियो । मलाई थाहा थियो उसको जवाफ मेरो प्रश्न जतिकै सिधा पक्कै आउंदैन भनेर त्यसैले कुनै सक् लागेन मलाई ।सहजै पचाएं र भने” हैन त्यसो तर पनि यो झप्प दाह्री, गुजुल्टो कपाल अनि चश्मा कस्तो अनौठो लागिरहेको छ ।सायद धेरै पछि देखेकोले होला ।”
उसंग बिताएको केहि समयमै उसको बिगत र वर्तमान थाहा पाएं ।
त्यो सानो फुच्चे केटो आजभोली ‘भावुक’ उपनामले साहित्यिक जगतमा चिनिन थालेको रहेछ ।केहि किताबहरु पनि प्रकाशित गरिसकेको रहेछ । म पो पढ्दिन त साहित्यिक किताबहरु उ त धेरै लेख्थ्यो । यहिंनेर त हामी बिच खाडल परेको थियो ।तर उ अरु जस्तो शृङ्गारिक भावभङ्गीमा रचना गर्दैनथ्यो ।अलिक क्रान्तिकारी स्वाभावको थियो । उसलाई सधै देशको चिन्ता हुन्थ्यो ।
मलाई आज पनि याद छ बिद्यालयका ती दिनहरु जुन दिनहरुमा उ निडर, साहसी एवं अन्यायबिरोधका आवाजहरु घन्काउँथ्यो आफ्नो कवितामा ।गुरुवर्ग देखि बिद्यार्थी सबै मन्त्रमुग्ध भएर सुन्थे उस्ले वाचन कविता गर्दा । कहिले मुठ्ठी कस्थे कहिले दाँत किट्थे । अनौठो शक्ती थियो उस्को कविता वाचन शैलीमा। एककिसिमको आक्रोश पोखिन्थ्यो कवितामार्फत । भन्ने गर्थ्यो ” यो रुन्चे कविता मलाई लेख्नु छैन । लेखेपछि अलिक् जुझारुक ,क्रानतिकारी कविता लेख्नु पर्छ। बरु म लेख्दै लेख्दिन। कलम भनेको बैचारिक युद्दको लागि हो न कि प्रेममा जोगी भएर गीत गाउनको लागि हो ।
त्यति बेला म उस्को आँखामा अनौठो चमक देख्थें । उस्का ती गुच्चा जस्ता गोला गोला आँखाभित्रका काला गेडीहरु गुडिरहेझै देखिन्थे ।
समयको खेल हो वा उसको व्यक्तित्वको प्रभाव परेको हो म उ बाट प्रभावित थिएं ।सायद मन् पराउन थालेकी थिएं ।तर आफ्ना मनका उद्वेगहरु उसको सामुन्नेमा पोखाउन कम कठिन थिएन । स्वाभावत प्रेम प्रस्ताव भनेको केटातर्फबाट आउनुपर्छ भन्ने मान्यता थियो र अहिले पनि विध्यमान छ ।
त्यसमाथि उसका सृजनाहरुले मलाई परैबाट डंक मार्थ्यो । उ प्रेम मायामा विश्वास नराख्ने मान्छे र सृजनाहरु पनि उस्तै भयंकर डरलाग्दा । अनि त कसरी राख्न सक्थें प्रेम प्रस्ताव ।
प्रेममा आकर्षण भन्ने तत्व हुदों रहेछ । त्यस्को पनि विभिन्न चरणहरु हुने ।त्यो बिस्तारै विस्तारै बढ्दै गएर एउटा चरम उत्कर्षमा पुगेपछि भने मानिसमा पागलपन सवार हुदों रहेछ । मैले अनुभव गरेकी छु । उ प्रतिको मेरो आकर्षण पनि सोहि अनुरुप सानो बिन्दुबाट शुरु भएको थियो । जुन समयको वहावसंगै झन झन बढ्दै गैइरहेको थियो । अन्त्यत: एकदिन मैले त्यो पागलपन देखाएछु । S.L.C पछि अब भेटिन्न भन्ने डरले खुट्टाहरु कपाउँदै प्रेम प्रस्ताव राखेकी थिएं । त्यति बेला मेरो स्वरहरु भासिएको थियो । जति उकास्न खोजे पनि पुरिन्थ्यो।
तर मैले सोचे भन्दा पनि अझ धेरै पर पुगेर उसले मेरो प्रस्तावलाई लत्याईदियो । उसले मेरो प्रेमलाई यति हल्का रुपले लिइदियो त्यति त हावाको वजन पनि हुन्न होला ।
हाँस्दै सुमधुर तर चोटिलो शब्द प्रहर गर्दै भनेथ्यो ” प्रेम , माया भन्ने शब्ददेखि दिक्क लाग्छ। मानिस किन यस्ता कुरामा आफूलाई अल्झाईरहन्छन् ? बेकार अनि वाहियात हो यो प्रेम । आफैलाइ माया गर अरुलाई हैन ।”
एक्दमै अप्रत्यासित थियो उसको जवाफ । म स्तब्ध भएं । यति धेरै घृणा गर्छ भनेर मैले कहिल्यै सोचिन । म त्यस दिन भरिएर गएकी थिएं प्रेमले तर फर्किएं रित्तो भएर ।
त्यसपछिका दिनहरु मलाई असह्य हुन थाल्यो । मलाई एककिसिमको डाहा हुन्थ्यो ।
एक्दमै अफ रहन्थें । दिनैभरि आफूलाई कोठाभित्र बन्दी बनाईराख्थें । जीवन एक्दमै तितो भयो तिते करेली जस्तै।
मेरो हालत बयान गरिनसक्नुको थियो । न बोल्थें न बाहिर हिड्थें । न केहि कम गर्थें न पढ्थें । पुरै मानसिक तनावमा थिएं ।
मलाई आज पनि अचम्म लाग्छ मैले कसरी त्यस्तो कठोर मानिसलाई प्रेम गरें भनेर ।
त्यतिखेर मैले उसमा कुनै त्यस्तो परिवर्तन देखिन जसले गर्दा उसले मेरो प्रेमलाइ आभास गर्‍यो भन्ने जनाउँथ्यो वा झल्काउँथ्यो । उ जस्तो पहिले थियो उस्तै पछिका दिनहरुमा पनि देखें । उस्तै जुझारु कबिता लेख्थ्यो, उस्तै चोटिलो बोल्थ्यो ,उस्तै सफाचट परेर हिड्थ्यो ।
यस्तैमा पीडा,अकालन्तमा पनि जिवित रहदों रहेछ मान्छे ।म पनि बाँचिरहें । मर्न नसकिदोंरहेछ। आशाहरु जिउँदो हुदाँ । कहिं कतै सागर उल्टो हिडेर म सम्म आईपुग्छ कि? भन्ने लागिरहन्थ्यो ।
एकपटक शारदा दिदीको बिहेमा हाम्रो भेट भएको थियो ।
त्यतिबेला मैले ” आज निकै खुसी देखिन्छौ नि ।” भनेकी थिएं ।
“किन डाहा लाग्यो?”
उस्तै उत्तर आयो ।
सायद यसो भनिरहदाँ उ जिस्कने मुडमा थियो तर साँच्चै त्यतिबेला
उसले मेरो मन टुटाएको थियो
आत्मा झनै फुटाएको थियो
खैर केहि छैन फेरि पनि
बाँच्नलाई साहस् जुटाएको थियो
हो त्यसपछि भने मैले मेरो सारा ध्यान सागरबाट हटाउने प्रयत्न गरें । यति धेरै चोट दियो कि अब सहने शक्ति नै क्षिण भएर गएको थियो । शुरुवात गर्नुपर्छ ढिलो चांडो अन्त्य हुन्छ । मैले पनि अब मुटु ढुङ्गा बनाउन शुरु गरें । टुक्र टुक्रा यादहरुको एउटा ढिक्का बनाएं । अभ्यस्त गर्दै लाँदा त्यो ढिक्कासंगै आफैलाई पनि एक ढिक्का बनाएं । अब त्यो साह्रो मुटुले कसरी आभास गर्न सक्थ्यो र प्रेमको ? यदयपी ढुङ्गा बनाउनु चानचुने कुरा भने पक्कै थिएन । चर्को घाममा राख्ने हो भने जस्तै कमलो नरम बस्तु पनि कि त सुकेर साह्रो हुन्छ कि त रापिएर नष्ट हुन्छ । रातोदिन म पनि जलिरहें बलिरहें अनि सुकिरहें सागरको प्रेममा । यस्तोमा म साह्रो मुटु भएको मानिसमा परिवर्तन भएं । उस्को शब्दहरुसंगै म छटपटिएकी थिएं , विचारहरुसंग भुटिएकी थिएं अनि व्यवहारसंग चुडिंएकी थिएं । यति भए पछि म स्वत ढुङ्गामा परिवर्तित भएं।
यो कुनै नौलो कुरा पनि थिएन ।
म चेतना शूनय भएकी थिएं । मानिसले त्यतिखेर दु:ख ,पीडा अनुभव गर्दछ जति बेला उसमा चेतना हुन्छ अथवा ईन्द्रियहरुले मस्तिष्कसम्म भावहरु सम्प्रेषण गर्दछ । चेतना नै नभए पछि आगोले पोले पनि ,डढाए पनि धारिलो हतियारले रेटे पनि दर्द महशुस नहुदोंरहेछ । त्यो साह्रो ढुङ्गालाई फुटाए पनि कुटाए पनि दुख्दैनथ्यो र त मेरो विवाह सागरसंग नभैइ विश्वाससंग हुदाँ पनि मैले केहि अनुभव गरिन ।
एउटा संस्कारलाई निरन्तरता दिनुथियो दिएं पनि । छोरी मान्छेको जात अर्काको घरमा जानै पर्ने भन्ने चलिआएको मान्यता अनुमोधन गरिदिएं चुपचाप कुनै विद्रोह नै नगरि । न मैले खुसियाली मनाएं न विरोध। न पटका पट्काएं न आफूभित्रको बम बिस्फोट् गरें । बस् चल्दै गएं जसरी मलाई चलाईयो समाजले । त्यसपछि मैले सागरलाई भेटिन ।
विपरित ध्रुबको मिलन असम्भावी थियो ।त्यसैले न उ आयो मेरो कल्पनामा न मैले आउन दिएं उसलाई । मेरो छुट्टै संसार ,छुट्टै अस्तित्व ,छुट्टै पहिचान थियो जहाँ उ बिना पनि सुन्दर फूलहरु फुलेकै थियो, झुलेकै थियो ,मगमगाएकै थियो अनि बासना छरेकै थियो ।
बिगत १५ वर्ष देखि यहि फुलबारीमा आफ्ना हातका नङ्ग्राहरु खियाउंदै आएकी थिएं, फूलहरु गोड्दै आएकी थिएं ।जीन्दगी यसैमा सुगन्धित हुदैंथियो ।नमिठो समयलाई पाखा लगाएर एउटा मिठो समयसंग म लुकामारी गर्दैथिएं अचानक उसंग मेरो भेट भयो । करिब २ घण्टा बिताएं सागरसंग त्यस दिन मैले । त्यसपछि छुटिएको हाम्रो भेट उसको तेस्रो गजल संग्रह” पागल” को प्रज्ञा भवन कमलादीमा विमोचन हुदाँ भएको थियो । उस्तै गेट अपमा थियो उ । गजल संग्रह विमोचन भयो एउटा मेरो हातमा पनि पर्‍यो। भिडभाड र बेफुर्सदिलो उसलाइ देखेर म उसलाई त्यतिकै छोडेर घर फर्किएकी थिएं ।
बेलुका सबै धन्दा सकाएर उसको गजल संग्रहलाई निल्न बसें । जति जति पन्नाहरु निल्दै जान्थें उति उति म चित खादैं जानथालें । पाना पल्टिदैं जान्थ्यो विगत पनि पल्टिदैं जान्थ्यो ।हलचल ल्याउन थाल्यो भावहरुले। मभित्र द्वन्द चल्यो । गजलिय भावहरु पुरै प्रेममा समर्पित थियो । कहाँको त्यो क्रान्तिकारी जुझारुक कवि कहाँको यो प्रेममा पागल ‘भावुक ‘कवि। उफ् ! सोच्नै सकिन। औंलाहरु अनायसै मोबाईलको कि प्याडमा सागरको नम्बर डायल गर्न पुग्यो ।
एकैछिनमा “हेलो ”
“सागर गजल संग्रहको बारेमा कुरा गर्नुछ ।”भनें ।
“पुन: हाम्रो भेट हुनेछ भोली उहि पार्कमा बेलुका ४ बजे” उसले समय दियो ।
फोन काटियो ।
भोलिपल्ट हाम्रो भेट् पुन: भयो ।हामी फेरि उसोरी नै हांस्यौं ।
हामी अब नबोली बसिरहेका थियौं । पार्कमा आउनेहरुको भिड र कोलाहललाई हाम्रो शून्यताले चिर्न सकेन अन्तत मैले नै ” सागर तिमी प्रेम अनुभूत गर्न सक्ने भएछौ । खुसी लाग्यो तर यति धेरै डुब्छौ कहिले लागेन ।” भनें । उ फिस्स हाँस्यो । ओठ हाँस्न खोज्दथ्यो आँखाहरु साथ दिदैंनथ्यो । पावरदार चश्माबाट सबै छर्लङ्ग देखिन्थ्यो आँशुहरु रातमा तारा टिलपिलाए झैं । गह्रौ र भासिएको स्वरहरुमा ” कला , हो अहिले म अनुभूत गर्दैछु प्रेम कस्तो हुन्छ , यस्ले कति आनन्द दिन्छ र फेरि कति जलन छट्पटी दिन्छ भनेर ।”
एउटा दम्भ र अहंकारले भरिएको पहाड आज आफ्नो शरीरमा लागेको चोटहरुबाट फतक्क गलेर झरेको छ फाँटमा यस्तै लाग्यो सागरको त्यो सुस्केराहरु । उ भन्दै थियो ” कला तिमीले राखेको प्रेम प्रस्तावलाइ मैले आत्मसाथ गर्न सकिन त्यति बेला । मलाइ त्यति बेला सांच्चै प्रेम बकवास लाग्थ्यो । तर म प्रेममा परें । मेरो घमण्ड चकनाचुर भयो । कलेजका दिनहरुमा म वर्षासंग नजिकिएं । नजानिदों तवरबाट उनिसंग प्रेम गर्न थालेछु । थाहै नपाई दिलभित्र सजाएछु । म प्रेममा बग्न थालेछु भन्ने त्यतिखेर मात्र मलाई थाहा भयो जति बेला उन्को र मेरो कलेजको पढाई सकिने दिनहरु नजिकिदैंथियो । फेरि फेरि भेट हुने हो हैन भन्ने लागिरह्यो। दिन जति छोटिदैं जान्थ्यो मुटुको धडकन तिव्र हुदैं जान्थ्यो । अन्तिम दिनमा मैले राखेको प्रेम प्रस्ताव टुक्रिदाँ पो मैले चाल पाएं तिरस्कारको पीडा कति असह्य हुदों रहेछ भनेर । वास्वमा म त्यतिबेला तिमीलाई सम्झिरहेथें । तिमीलाई दिएको चोट ,तिरस्कार् ,घृणा र अपशब्दको पाप म भोग्दैथें सायद र त मनमा एकपटक तिमीलाई भेटेर माफी माग्ने अठोट गरेथें ।एकातिर म वर्षाको प्रेममा पागलसरी हुन पुगेको थिएं अर्कोतिर प्रेममा असफलता प्राप्त हुदाँ हरेक पल घडि तिम्रो त्यो कञ्चन मुहारले लखेटिरहन्थ्यो ।म यहि दौडादौडमा भागमभाग गर्दैथें । कतिन्जेल भाग्नु? नियतिले आखिरमा मलाई बन्दी बनाइ छाड्यो । जीन्दगीको बन्दी जहाँबाट उम्कन नसक्दा मैले आफ्नो भावनाहरु सृजनामा लगेर पोखाईदिएं । हरेक पीडा,दु:ख हाँसो रोदनलाई गजल बनाएं , मर्महरुलाई कविता बनाएं ।म गलत थिएं गलत । हामी प्राणी हौं हरेकमा मुटु हुदों रहेछ अनि त्यसले संवेदनाहरु महशुस गर्दो रहेछ।र हरेक प्राणीलाई प्रेमले नै बाँच्न सिकाउँदो रहेछ ।प्रेमले नै मार्दो रहेछ पनि । म दम्भ भर्थें मेरो रचनाहरु रुन्चे हुन्नन् भनेर। म कहिल्यै लेख्दिन वेदना र पीडाका अक्षरहरु ।म कहिल्यै सुसाउँदिन रिक्तताका सुस्केराहरु । यस्तै लाग्थ्यो तर म फेरि पनि गलत रहेछु । म अहिले प्रयाश्चित गर्दैछु । मैले चाहेको प्रेम प्राप्त गर्न नसक्दाको वयान गर्न नसकिएको प्रसव पीडा आजभोली शब्दहरुमा लेखिदिन्छु । त्यो तिमी पढ्न सक्छौ यि किताबहरुमा ।” गहिरो निन्द्राबाट बिउँझिएझै भएको थियो सागर । म आफै पनि उसको त्यो तातो गफले असिन पसिन भएकी थिएं । टाउको उठाएर हेरें । फेरि पनि पश्चिमी क्षितिजले सूर्य निल्न शुरु गरिसकेको थियो । यतिबेला उ अत्यधिक पीडाबोध गर्दैथियो सायद अनि मसंग क्षमायाचना पनि गर्दैथ्यो । तर त्यसमा उसको कुनै गल्ति नै थिएन ।यि सब त नियतीको खेल थिए । “सागर जीवन प्राप्ती हैन रहेछ। प्रेममा प्राप्ती हुनु जरुरी छैन । हो केहिबेर उ रनभुल्ल हुन्छ आफ्नो प्यारो बस्तु नपाउँदा नैराश्य हुन्छ तर पनि जीवन त चल्छ नै र चल्नु पनि पर्छ । विस्तारै सबै यथास्थितीमा फर्किन्छन् । म पनि फर्किएं । तिमी पनि फर्किनुपर्छ। यो नै सत्य हो । विश्वास छ तिमी फर्किनेछौ ।” अब जान्छु घर । फेरि फेरि हाम्रो भेट हुने नै छ । मात्र हाम्रो सम्बन्ध निश्चल र निर्मल अनि क्ञ्चन हुनेछ । मात्र हामी एक असल मित्रको रुपमा चिनिने छौ त्यसो भयो भने हामी स्वतन्त्र हुनेछौ ।हामीलाई कुनै बन्धनले रोक्ने छैन । विगतका तिक्तताहरु मेटाईदेउ । आफूलाई एउटा मेटिएको पन्ना बनाउ जहाँ जो कसैले जे पनि लेख्न सक्ने प्रयाप्त ठाउं होस् । जीवन रित्तो हुनुहुन्न भरिनुपर्छ। ” यति भनेर हामी दुई छुट्टियौ ।अध्याँरोले उज्यालो खप्लक्कै निल्यो । हेड लाईट झल्लल बालेर मैले स्कुटी स्टार्ट गरें मन भने अधेरो थियो । सागरले बिदाईको हात हल्लायो ।म बेपत्ता कुदें उसै गरि मन पनि कुद्न शुरु गर्‍यो। वास्तवमा आज म बिजयी भएकी थिएं ।कहिल्यै प्रेम अनुभूत नगर्ने सागरले आफूलाई प्रेममै समर्पित गरेको देखेर हर्षित थिएं यद्यपी उसको असफल प्रेमले दुखाएको छ र पनि आज एउटा सिद्दान्त प्रतिपादन भएको छ। हरेक प्राणीले प्रेम अनुभूत गर्दो रहेछ । मात्र कसैले अलि छिटो अनुभूत गर्छन् कसैले ढिला।आत्मा साक्षी राखेर भन्नु पर्छ । जीवनको कुनै न कुनै बिन्दुमा पुगेर प्राणीले प्रेम अनुभूत गरेकै हुन्छ ।

(स्रोत: A1Nepal )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.