~शुभचन्द्र राई ‘सुवास’~
माथिल्लोघरे चतुरेको शर्मदेउको नाममा भाकलेर राखेको मनग्गे गतिलो रातो भाले हराएको तीन दिन भइसकेको थियो । आउँदो सङ्क्रान्तिमा देउतालाई मन्साउँला रत्यही रातो भालेले चाडलाई पनि पन्साउँला भन्ने चतुरेको योजना थियो । तर, एकाएक भाले बेपत्ता भो । स्याल वा मलसाँप्रोले लग्यो भनौं भने भुत्लासुत्ला वा गोह त हुनै पर्ने हो, त्यो पनि छैन । चिलले लग्यो भनौं भने त्यति ठूलो भालेलाई चिलले आँट्ने कुरै भएन । भाले कता गयो, अचम्मै भयो । चतुरेले दुई दिनसम्म निमेक मारेर भालेको खोजी गर्यो । खोला-खोल्छी, झाडी, वन-सबै चहार्यो, छरछिमेकीको घरमा सोधीखोजी गर्यो । तर, भाले फेला परेन । चतुरेले हार खायो । आफ्नो त्यस्तो गतिलो भाले हराएकोमा उसलाई हुनसम्मको विरह चलेर आयो ।
सङ्क्रान्तिमा मजाले तीनतलेसँग भुटुन बनाउँला, छोराछोरीहरूलाई पनि टन्न घिचाउँला भन्ने उसको सपना चकनाचुर भयो । सङ्क्रान्तिमा रातो भाले खान पाइने भो भनेर रमाएका छोराछोरी पनि भाले हराएकाले हिस्रिकै भए । हेर्दाहेर्दै सङ्क्रान्ति पनि आयो । हाटदेखि एक बिसौली भैंसीको मासु ल्याएर चतुरेले चाड टार्यो ।
चतुरेको भाले हराएको महिना दिन जति हुन लागेको थियो । उसले अब आफ्नो भालेलाई भुली पनि सकेको थियो । एकदिन तल्लाघरे चङ्खे ठाइँलोका छोराछोरी माथिल्लाघरे चतुरेका छोराछोरीहरूसँग खेलिरहेका थिए । चङ्खेको सानो छोरा च्यान्टेले चतुरेको छोरा भ्यान्टेलाई भन्यो- ‘भ्यान्टे…. हामीले तिमीहरूको रातो भाले खाएनौं त….!! त्यसको भुत्ला पनि पर बारीमा हाम्रो बा’ले गाडेनन् ….’, नजिकै हलो ताछिरहेको चतुरे च्यान्टेक कुरा सुनेर झसङ्गै भयो । उनले च्यान्टेलाई फकाउँदै भन्यो, च्यान्टे…..त्यो भालेको भुत्ला तेरो बाउले कहाँ गाडेन ? बिचरा नाबालक च्यान्टेले आफ्नो बा’ले भालेको भुत्ला गाडेको ठाउँ तुरुन्तै देखाई दियो ।
चतुरेले त्यो ठाउँ खोतल्दा उसको महिना दिनअघि हराएको भालेको भुत्ला प्रष्टै देखियो । चतुरेले रिसले आँखा देखेन । कान्लामाथिदेखि पाखुरा सुर्केर ऊ कराउन थाल्यो, ‘ए चङ्खे चोर…..! थुइक्क……भाले चोर……!! ए, चङ्खे बाहिर निस्की । मेरो भाले जस्ताको तस्तै छेर, नत्र तँलाई जान्या छु ।’ चतुरे रन्केर कराएको सुनेर छरछिमेकीहरू र गाउँलेहरू त्यहाँ भेला भए । हेर्दाहेर्दै बजार लाग्यो ।
सबैले वास्तविक खबर बुझेपछि चङ्खेलाई थुइक्क भनेर धारे हात लगाए । चङ्खे र उसको परिवार शरमले घरबाहिर निस्केनन् ।
गाउँका भद्र भलादमीहरूले चतुरेलाई सम्झाउन थाले, ‘हेर चतुरे….. मानिसबाट नै भूल हुन्छ । तेरो भाले चङ्खेले चोरेरै खाएको भएपनि तैले यत्रो रडाको मच्चाएर जात्रा देखाउनु हुँदैनथ्यो । सुटुक्कै भनेर अर्मल तिराए त भैहाल्थ्यो नि…..! त्यसलाई पनि गाउँमा बस्नु पर्छ, भोली कुन मुख देखाएर गाउँमा हिडोस् ? त्यो मान्छे त्यस्तो नराम्रो चोरै जस्तो त थिएन त हौ…खै अहिलेसम्म कसैको चोरेको थाहा छैन…त्यसलाई अर्काको भाले चोरेर खान पर्ने के असत्ती दिमाग आयो हँ .. अब नकरा, हामी कुरा मिलाइदिन्छौं।’ गाउँमा पञ्च-भलादमीहरूले यति भनेपछि चतुरे पनि ओझियो ।
त्यहाँ भेला भएका गाउँलेहरू पनि लाखापाखा लागे । रमिता हेर्न भीड लागेका केटाकेटीहरूलाई मसाने माइलाले घोचो टिपेर लघारे । केटाकेटीहरू पनि टुपी ठाडो पारेर कुलेलाम ठोके । जम्मा भएका कुकुरहरू पनि पुच्छर लुकाएर भागे ।
चतुरेको घरमा भद्र-भलादमी र पञ्चको कचहरी बस्यो । चङ्खे ठाइँलालाई मसाने माइलोले बोलाएर ल्याए । चङखे लाजले मर्नु भएको थियो । ऊ निन्याउरो मुन्टो लगाएर एक कुनामा टुक्रुक्कै बस्यो । पञ्चहरूले उसलाई केर्न थाले, ‘क्या हो ठाइँलो ….. तिमीले चतुरेको भाले खाएकै हो…?’
चङ्खेले कुरा स्वीकार्यो, ‘हो हजुर….. त्यो बेलुका अलि मातेको थिएँ, चतुरेको भाले मेरो घरमा अस्तिदेखि आउँथ्यो र पोथीलाई फकाउँदै मेरो चारो खान्थ्यो । त्यो दिन पनि आँगनमा पोथीलाई जिस्काउँदै मेरो कुखुरालाई छरिदिएको चारो टिप्दै थियो मैले पनि दाउराको एक झट्टि हानेको, त्यो त खुत्रुक्कै भयो । ताकेर हान्दा कहाँ त्यसरी लाग्छ र……..? दशाको बेला मरि’गो । अब मलाई फसाद पर्यो, पैसा तिरौं, कहाँबाट ल्याउने त्यत्रो भालेको पैसा ? आ, कसले चाल पाउँछ र ? खाइदिन्छु भनेर विचार गरें । पोल्दा चाल पाउँछ भनेर तातो पानीमा हालेर भुत्ल्याएँ र त्यसको भुत्ला बारीमा गाडें । केटाकेटीहरूले देखिहाले, मैले पनि माथिल्लो घरेलाई तिमीहरूको भाले खायौं भनेर नभन्नू है भनेर सम्झाएँ । बूढीले त पटक्कै मानेकी थिइन । यी यसरी बेइज्जत हुनलाई रहेछ, मेरो मति बिग्रेको ..बुद्धि सडेको ..अब मैले कसरी गाउँमा मुख देखाउनु ।’ चङ्खे ठाइँला क्वाँक्वाँ रोयो । पञ्चहरूले उसलाई सम्झाए, ‘अब रोएर केही फाइदा छैन ।
आखिर तिमीले भाले खाएकै रहछौ । पहिले नै आफ्नो गल्ती बताएको भए यसरी बेज्जत हुन पर्दैनथ्यो ।’
चतुरे….. तिमीले पनि चङ्खेलाई मुखमा जे-जे आयो, त्यै-त्यै भन्न नहुने थियो । चङ्खेको तिम्रो भाले चोरेर खाने नियतै त होइन रहेछ नि, भवितव्यमा पो परेछ । अब एउटै गाउँ-ठाउँमा छिमेकमा बसेपछि मिलेर बस्नुपर्छ, अब दुवै मिल पहिलेको सबै तितो बिर्स ।’ पञ्चहरूले झगडालाई टुङ्ग्याए । चङ्खे ठाइँलोले भाले नै भए पनि पैसा नै भए पनि चतुरेलाई क्षतिपूर्ति दिनुपर्ने भयो । मुद्दा सुल्झाएकोमा पञ्चहरूलाई ३/३ बोतल रक्सी किनेर खुवाउनु पर्ने भयो दुवैले । अर्काको भाले खाएकोले अतिरिक्त दण्डस्वरुप चङ्खेले पञ्चहरूलाई एउटा भाले काटेर रक्सीको लागि सितनको व्यवस्था समेत मिलाउन पर्ने निर्णय पनि सुनाइयो । यसरी छिनियो रातो भालेको मुद्दा ।
यो मुलुकमा पनि राजनैतिक पार्टीका नेताहरूले चङ्खे र चतुरेकै नाटक मञ्चन गरिरहेका छन् । ढाँट्न नजान्ने नाबालकहरूले चङ्खेहरूले देशको भाले खाएको पोल खोल्दै पनि छन् । अब हेर्न बाँकी छ, मुद्दा छिन्ने पञ्च-भलादमीहरूले कस्तो न्याय गर्ने हुन् ?
(स्रोत: Purbelitimes)