~भैरव अर्याल~
नाट्यशास्त्राचार्य भरतले श्रृङ्गारको अनुकृति भने पनि मनोविज्ञानाचार्य फ्रायडले दमित कामवासनाको अभिव्यक्ति माने पनि हास्य मान्छेका मौलिक प्रवृत्तिहरूमध्ये एक हो । वियोग, विसङ्गीत, विषाद र विरोधाभास जस्ता विभिन्न व्यथाले व्यथित जीवनमा हास्य नै एउटा त्यस्तो टनिक ड्राइङकुलाइजर हो जसले मान्छेको शारीरिक र मानसिक स्वरूप विकसित र संयमित पार्न सहयोग गर्छ । धूलीधुसर जीवनमा एकैछिन भए पनि अट्टहास नगर्ने मान्छे अभागी नै हो भन्ने आशय प्रकट गर्ने देवकोटा हुन् वा जीवनमा एक पटक मात्रै भए पनि फुक्का मनले पेट मिचिमिची हाँस्ने मान्छे कहिल्यै खराब हुन सक्दैन भन्ने कार्याइल हुन्– धेरै विद्वान्, विचारक र चिन्तकको मतमा हास्य जीवनानन्दको पूरक जस्तै मानिन्छ । पानी पेलेर बिजुली निकाले झैं हामी आँसु पेलेर पनि हाँसो निकाल्छौं र जीवनको साँगुरो र धुलीधुसर प्राङ्गणमा सानातिना दीया–टुकी बाल्छौं । त्यसैले रसशास्त्रीहरूले नव रसमा हास्यरसको अस्तित्व स्वीकार नगरी रहन सकेनन् । “…तर श्रृङ्गार र करुणको जस्तो रसराजको पगरी चाहिँ हास्यको अभागी टाउकोमा कसैले लगाइदिएको छैन” भनी यिनै पङ्क्तिका लेखकले एउटा भूमिकामा चित्त दुखाउँदा त्यसै पुस्तकको अर्को भूमिकामा कृष्णचन्द्र सिंहले बताइदिनु भएको थियो– “हास्यलाई रसराज प्रमाणित गर्ने पहिलो कोसिस गरे– भारतका नरसिंह चिन्तामणि केलकरले ।” त्यसैले “एकोरसः करुण एव” भन्ने भवभूति वा श्रृङ्गार नै रसराज हो भन्ने अरु शास्त्रीहरूको पङ्क्तिमा ‘मुरारेः तृतीयः पन्थाः’ भने झैं हास्यलाई रसराज गराउने केलकरज्यूलाई पनि सन्मान्य आसन नदिई सुख छैन ।
जीवनशास्त्र र मनोविज्ञान, काव्यशास्त्र, नृवंशविज्ञान सबैको सापेक्ष अध्ययनबिना कुनै रस वा विधाबारे प्याच्च केही बोल्नु मनासिब पर्दैन, तापनि एउटा कुरो के छ भने हास्यको स्रोत पनि त्यही मानवीय राग हो, जुन श्रृङ्गार वा करुणको पनि जनक हो । शक्तिवल्लभको ‘हास्यकदम्ब’ पढ्दा जुन राग हास्य र श्रृङ्गारमा गिजोलिएको पाइन्छ, त्यही राग पिंडालीको ‘दौरा–सुरुवाल’ पढ्दा हास्य र करुणामा मुछिएको देखिन्छ । तर पाश्चात्य मनोविश्लेषक कतिपयले ‘हास्यको जनक राग होइन द्वेष पो हो त’ पनि भनेका छन् । गिज्याउने, खिज्याउने वा उडाउने क्रियाबाट उत्पन्न हास्यको जनक निश्चय नै द्वेष पनि होला । तर मलाई लाग्छ– राग प्रकृति र द्वेष विकृति । त्यसैले रागोत्पन्न हास्यमा जुन शुद्धता पाइन्ला, त्यो द्वेषोत्पन्न हास्यमा नपाइएला । मेरा विचारमा ध्रुव सत्य के हो भने जोसित राग छैन त्यो रञ्जक पनि हुन सक्दैन र रञ्जित पनि । भावतः राग र रञ्जन अन्यौन्याश्रित छन्– त्यसैले हास्यको उपादेयता मनोरञ्जन हो भने यसको उत्पत्तिको स्रोत र संप्रेषणको लक्ष्य पनि राग नै हो ।
पाश्चात्य मनोवैज्ञानिक हास्योत्पत्तिका कारणहरू धेरै मान्दछन् । डा. रामकुमार वर्माले १. विकृति, २. अतिरञ्जना, ३. परिहास, ४. व्यङ्ग्य, ५. उक्तिवैचित्र्य गरी ५ प्रकारले हास्य उत्पन्न हुने देखाएका छन् । यिनलाई अंग्रेजीमा सटायर, क्यारिकेचर, पैरोडी, आइरनी र विट भन्ने चलन छ । ‘हिन्दी साहित्यकोष’मा श्री बर्माले दिएको परिभाषा यसरी बताएको छः–
(क) विकृति वा सटायर : अरुलाई आक्रमण गर्ने दृष्टिले वस्तुस्थितिलाई बिगारेर हास्य उत्पन्न गर्नु । नेपालीमा लीलाध्वज थापा–लिखित ‘दाह्री’ लाई यसको उदाहरणमा लिन सकिएला ।
(ख) अतिरञ्जना या क्यारिकेचर : कुनै पनि ज्ञात वस्तु या परिस्थितिलाई अनुपातरहित गरी बढाएर या गिराएर हास्य उत्पन्न गर्नु अतिरञ्जना हो । नेपालीमा डी.पी. नेपालीले कतिपय क्यारिकेचरहरू लेखेका छन् । जस्तो ‘के हो के होइन ।’
(ग) परिहास या पैरोडी : उदात्त मनोभावलाई अनुदात्त सन्दर्भमा जोडेर हास्य उत्पन्न गर्नु पैरौडी हो । श्रीधर खनालले कतिपय नेपाली गीतमा पैरोडी लेखेका छन् । उदाहरणका निम्ति लिऊँ–
सक्कली : ए कान्छा, मलाई एउटा तारा खसाई देउन,
तारा मात्रै होइन जूनै झारिदिउँला ।
पैरोडी : ए कान्छा मलाई तिम्रो दारा चिनो देउन,
दारा मात्रै होइन बङ्गारा झारिदिउँला ।
(घ) व्यङ्ग्य वा आइरनी : कुनै वाक्य भनेर त्यसको बेग्लै अर्थ निकाल्नु । जस्तो–कवितामा भीमनिधि प्रायः निकाल्छन्– ‘भेडा, पेडा खान्छन् यहाँ बाच्छो भोकै रुन्छ ।।
(ङ) वचन वैदग्ध्य वा विट : शब्द र विचारहरूको चमत्कारपूर्ण प्रयोग । नेपालीमा भूपि शेरचन र कुलमणि देवकोटाका कवितामा विट निकै पाइने गर्छ । जस्तै :
यहाँ
रात रात भरि उपियाँले टोक्छ
दिन दिन भरि रुपियाँले टोक्छ ।
–भूपि ।
हे लामखुट्टेका शास्त्रीय सङ्गीत मग्न
हे उपियाँका बाल डान्समग्न
हे युग–युगका निशेष रक्त
नमस्कार भानुभक्त
‘हिन्दी साहित्य कोष’ कै अनुसार फ्रायडले वचन वैदग्ध्य अर्थात् विट् (Wit) लाई सहज वैदग्ध्य (Harmles Wit) र प्रवृत्तिसँग वैदग्ध्य (Tendency Wit) गरी दुई प्रकार मानेका छन् रे । सहजमा विनोद र अट्टहास पर्छन्, जसलाई सामान्यतः(Wit र Loughter) ठट्टा र हाँसो भनिन्छ । तर प्रवृत्तिगत वैदग्ध्यमा दृष्टि, भाव, ध्वनि र बुद्धिका विकारहरू पर्दछन् । प्रत्येकका दुई–दुई गरी प्रवृत्तिगत वैदग्ध्यलाई फ्रायडले १० भागमा बाँडे–
ठट्टा र हाँसो जस्ता सहज हास्य बाहेक
१. दृष्टिविकारमा– अतिरञ्जना र विद्रूप ।
२. भावविकार– परिहास र उपहास ।
३. ध्वनिविकार– व्याजोक्ति र वक्रोक्ति ।
४. बुद्धिविकार– व्यङ्ग्य विकृति
यसरी विद्वान् विवेचकका भनाइ केलाइहरूतिर एक फन्को मार्दा हास्यव्यङ्ग्य कति व्यापक र कति सङ्कीर्ण क्षेत्रमा रहेको विधा रहेछ– एक शब्दमा परिभाषित गर्न सकिंदैन । कुरा कुरैमा एक दिन वासुदेव त्रिपाठी भन्नुहुन्थ्योः– व्यङ्ग्यलाई दुई प्रकारमा लिनुपर्छ : वि+अंग=व्यङ्ग्य+अर्थात् विकृति (Satire) अर्को व्यङ्ग्य व्याजोक्ति = (Sarcasm), तर व्यङ्ग्य वा व्यङ्ग्य दुवै हास्यका उत्पादक हुनसक्ने मानिएकाले दुवै रूप मानिदिनुमा के आपत्ति भयो र ? हास्यसित जब व्यङ्ग्य वा व्यङ्ग्य जोडिन आउँछ, यो सिङ्गै एउटा विधा भएर मनोरञ्जनमा मात्र सीमित रहँदैन । यसले मनोभञ्जन वा मनोमञ्जन गरी अनौचित्य र अस्वाभाविकताको विरुद्ध औचित्य र स्वाभाविकताको आग्रह पनि गर्छ । सर व्याटिजको ‘डोन क्यूजेट’ उपन्यास होस्, प्रेमराज शर्माको ‘ससुराली’ नाटक होस् केशवराज पिंडालीको ‘खै–खै’ निबन्ध–संग्रह होस् वा भीमनिधि तिवारीको ‘तितौरा र मस्यौरा’ कविता–सङ्ग्रह सबै हास्यव्यङ्ग्यात्मक कृतिहरूले आफ्ना पालाका पाठकहरूको मनोरञ्जन मात्र गरेका छन् । आफ्ना पालाको समाज, सभ्यता, राजनीति, प्रशासन र साहित्य–संस्कृतिका सबै क्षेत्रमा औचित्यको आग्रह राखेका छन् र मानवीय दुर्वलता वा दुष्प्रवृत्तिको खिसी गरेका छन् ।
कौडा छाडेर मौकामा आफ्नो दाउ चौका भन्न कसले छाड्छ र ? त्यसले नेपाली हास्यव्यङ्ग्य साहित्यको श्रीगणेश आफ्नै जिजु–बाजेका पालादेखि भएको हो भनेर मैले धाक लाइदिए जो कोहीले ‘होइन’ भन्न सक्दैन । कारण भैरव अर्याल शक्तिवल्लभ अर्यालको खनाति जनातिमध्ये केही हुनु कोरा कल्पना नभई थर–गोत्रगत सम्भावना हो । नेपाली साहित्यमा हास्यव्यङ्ग्यको जेठो जिजु शक्तिवल्लभको ‘हास्य कदम्ब’ नै हो । यो पहिले उनले संस्कृतमा लेखेका थिए र पनि नेपालीमा उनैले उल्था गरे । यसबाट अर्को तथ्य के प्रकट हुन्छ भने नेपाली हास्यव्यङ्ग्य नाट्य विधाबाट सुरू भयो, कारण दरवारमा खेलाइने नाटकको लागि खेल्ने, अनुवाद गर्ने काम गर्दागर्दै शायद संस्कृत उर्दू–नाटकका विदुषकहरूले नेपाली लेखकहरूलाई हास्य–व्यङ्ग्यतिर लोभ्याएका हुनसक्छन् । बीचमा भानुभक्त नै एउटा यस्ता लेखक देखिन्छन्, जसले नाटक नलेखी सामाजिक–नैतिक क्षेत्रमा व्यङ्ग्य गरेर हास्य निकाले । नत्र शम्भुप्रसादको रत्नावली वा सोमनाथको दिगम्बर विवाह दुवैले नाटककै माध्यमबाट हँसाउन अघि सरेका छन् । यो परम्परा लेखनाथ पौड्यालको ‘लक्ष्मीपूजा’ नाटक र प्रेमराज शर्माको ‘ससुराली’ नाटकसम्म तन्किएको छ । नेपाली साहित्यको विकास वीर, भक्ति र श्रृङ्गार तीन धाँजाका साथ भएको छ भन्ने शक्तिकालको कृष्णभक्ति धारा र माद्यमिक कालको केन्द्रवर्ती धारा श्रृङ्गारसित मुछिएको छ । त्यसैले हाम्रा प्राथमिक हास्य–व्यङ्ग्यहरू श्रृङ्गारसित मुछिएका छन् भन्ने केही आलोचकको भनाइ ‘हास्यकदम्ब’मा रहेको अश्लीलता, दिगम्बर विवाहका जन्तीसन्ती ‘गफास्टक श्लोक संग्रह’ का अल्लारे गफ, ‘रत्नावली’ का विदूषकका अनुहार र उक्तिहरूले बताउँछन् । धेरैजसो फोहरी ठट्टा गर्ने शिखरनाथ सुवेदीलाई पनि हँसौटाको रूपमा लिन सकिन्छ ।
वास्तवमा सामाजिक प्रशासनिक व्यङ्ग्य, विकृति, वैदग्ध्य र विद्रूपता सबै दृष्टिले हास्यरसको परिपाक गर्ने हाम्रा कवि भानुभक्त नै हुन् । उनका हास्यव्यङ्ग्य कविता धेरै पाइँदैनन् । तर जति छन् शिष्ट–सभ्य नै छन् भन्नुपर्छ । त्यसपछि “जातीय रोगको अचूक औषधि” लेख्ने वेदनिधिमा जातीय सामाजिकताका विकृति र विरोधाभास केलाउने र हास्य खेलाउने सीप पाइन्छ । लेखनाथले जुवाडेको विद्रूपमय चित्रण गरेर मात्र हँसाएनन्, उनले आºनो ‘लक्ष्मीपूजा’ नाटकमा भोजन भट्ट जस्तो एउटा चरित्र पनि उभ्याइदिएका छन्, जसलाई जीवन–जगत्का दुःख–सुखले छुँदैन, चौबीसै घण्टा जुवाडेको सङ्गतमा खालखाल चहारेर पनि तिनप्रति संपृक्तता आउँदैन । भोजन भट्ट सांसारिक गाईजात्रा देखेर हाँस्ने अवधूत हुन् । प्रेमराज शर्माले ‘ससुराली’ नाटकमा आधुनिक नगर–सभ्यता र पहाडी सिधा–साधा सभ्यताको विरोधाभास देखाएर पाठकलाई हँसाउनसम्म हँसाएका छन् र नायकलाई यी सबैबाट विरक्त पारेर सांसारिक सङ्कीर्णताबाट आध्यात्मिक विशालतातिर लैजाने कोशिस गरेका छन् । ‘वेदान्त विवादको मिसिल’ लेख्ने सिल्वाल पण्डितको पनि प्रयास सके यस्तै हो ।
वालकृष्ण समले ‘मुटुको व्यथा’, ‘मुकुन्द इन्दिरा’ इत्यादि नाटकमा र भीमनिधि तिवारीले ‘सहनशीला सुशीला’ र ‘किसान’ जस्ता नाटकमा केही हास्य पात्र, केही हास्य प्रसङ्ग र केही हास्य सम्वाद दिएका छन् भने रुद्रराज पाण्डेले आफ्ना ‘रूपमती’, ‘प्रायश्चित्त’ आदि उपन्यासमा पनि हास्यको रमरमे नभरेका छैनन् । ‘नेपाल आजाद संघ’ रुद्रराज पाण्डेको पूर्णतः हास्य व्यङ्ग्यात्मक एकाङ्की हो जसले ००७ सालपछिको दलगत राजनीतिक–सामाजिक गतिविधिलाई कोर्रा कसेको छ । साथै भीमनिधिको ‘साँढे हजूर’ समको ‘भतेर’ पनि कम हास्यव्यङ्ग्यपूर्ण छैनन् ।
२००७ सालपछिको नेपाल साहित्यिक सिर्जनाको दृष्टिले पहिलेको अपेक्षा निकै उन्मुक्त वातावरण लिएर अघि सर्छ । २००४ सालदेखि ‘युगवाणी’ मार्फत् व्यङ्ग्यात्मक कविता लेख्न थालेका लक्ष्मीप्रसाद देवकोटा हास्यव्यङ्ग्यका एक चतुर्मुखी ब्रम्हा बनेर उभिन्छन् । उनको पहिलो मुख ‘गोली हो यो गोली हो’ जस्ता व्यङ्ग्यात्मक कविता पोख्न थाल्छ भने दोस्रो युग रङ्गी विरङ्गी उपहासका मनोरञ्जन प्रधान कविताको ओइरो लाउन थाल्छ । ‘प्रभुजी भेडो बनाऊ’, ‘दालभात डुकू’ र ‘बाघले बच्चा किन खान्छ ?’ कविताहरू पहिलो श्रेणीमा आउँछन् भने ‘छोइ छिल्लगी’ जस्ता क्यारिकेचरदेखि रूप फिचरसम्मका पद्य सँगालिएको ‘मनोरञ्जन’ दोस्रो श्रेणीका हास्यव्यङ्ग्यात्मक कविताहरूको प्रतिनिधि सङ्ग्रह बन्छ । तेस्रो मुखले देवकोटा ‘कविराजको च्याङ्ग्रे खच्चर’ जस्ता निबन्ध फलाक्छन् भने चौथो मुखले आफैं हास्यरसको व्याख्यान थाल्छन्– “हास्यरस त्यहाँ निक्लन्छ, जहाँ स्वाभाविक तथा आदती रूप र ढङ्गको अभावले हाम्रो विरोधको चैतन्यलाई कुत्कुत्याउँछ ।”
स्वाभाविक र आदती रूपको चैतन्यलाई नयाँ जमानाले कुत्कुत्याउँदा धेरै बूढा–पुराना कविहरू पनि हास्यव्यङ्ग्य लेखूँ–लेखूँ गर्छन् । उदाहरणको लागि लेखनाथको ‘प्रगति’, ‘नयाँ जमाना’ जस्ता पद्यलाई पनि लिन सकिन्छ । बालकृष्ण समले ‘चिसो चुल्हो’मा कतै बहिरीलाई बोलाएर परिहास गरेका छन् भने कतै कवि–सम्मेलन गरेर प्यारोडी ।
यही आदती रूपको चैतन्यलाई नयाँ जमानाले कुत्कुत्याउँदा पत्रपत्रिकामा पनि हास्यव्यङ्ग्यका नयाँ–नयाँ स्तम्भ राखिन थाल्छन् । ‘शारदा’ पत्रिकाको ‘हँस्सी दिल्लगी’ स्तम्भदेखि लिएर ‘जागरण’को ‘हिमालको हिउँसम्म’, गोरखापत्रको ‘जुँगेदाइको चिठी’ देखि लिएर ‘हाल खबर’को ‘हाँस्नुहुन्छ’ भन्नेसम्म समसामयिक हास्यव्यङ्ग्यका धारा–उपधाराहरू वर्षन्छन् । ‘हालखबर’, ‘रचना’, र ‘अर्पण’ले हास्यव्यङ्ग्य विशेषाङ्क नै निकाल्छन् र गाईजात्रामा सबै अखवार हास्यव्यङ्ग्य हुन् थाल्छन् । हास्यव्यङ्ग्यप्रधान पत्रिकाको रूपमा ‘खित्का’, ‘कलियुग’ र ‘शिवलिङ्ग’ निस्कन्छन् । तर यी समसामयिक प्रयासलाई छाडी हास्यव्यङ्ग्य साहित्यकै श्रृङ्खलातिर फर्कंदा देवकोटापछि नेपाली हास्यव्यङ्ग्य साहित्यले चारजना सशक्त हास्यव्यङ्ग्य–कारलाई पाएको अनुभव हुन्छ : १. हृदयचन्द्र सिंह प्रधान, २. केशवराज पिंडाली, ३. कृष्णचन्द्र सिंह प्रधान र ४. अच्छा राई ‘रसिक’ । हृदयचन्द्र सिंहले थोरै निबन्ध लेखे तर आफ्ना पालाका सामाजिक, आर्थिक वैषम्य, मानिसको अवसरवादी दुर्वलतालाई छोएर दिल्लगी गरे । ‘जुँगा’, ‘म अर्को जन्ममा पनि पुड्को बनूँ’, ‘तसबीर’, ‘मूसालाई वेद पढाउँदा’ जस्ता हास्यव्यङ्ग्यात्मक कृतिले मानवीय मर्म छुने कलाकारको उपाधि उनलाई प्रदान गर्न योग्य बनाएका छन् । कृष्णचन्द्रसिंहले व्यङ्ग्यको माध्यम एकातिर ‘लुजफिट’ जस्ता कविताहरूलाई फिट् गराएका छन् भने अर्कातिर ‘शव सालिक विद्रोह’ जस्ता निबन्धलाई र अझ अर्कातिर ‘लिङ्ग–पुराणदेखि लिङ्ग साहित्यसम्म’ जस्ता समालोचनालाई पनि । अच्छा राई ‘रसिक’को ‘सप्तकोशी’ कथा र निबन्धको माध्यम बनाइएका ‘सात प्रवाह’ हुन् । यस अतिरिक्त पनि कतिपय निबन्धको माध्यम रसिकले हास्यव्यङ्ग्यको माध्यम रञ्जकता र वेधकता दुवै दिएका छन् । ‘सङ्गीतको कपाल क्रिया’ गर्दै ‘शारदा’बाट लुस्स पसेका केशवराज पिंडालीले हास्यव्यङ्ग्य निबन्ध र कथामा जम्मैलाई उछिनेर एउटा नयाँ कीर्तिमान स्थापित गर्दै ‘खै–खै’ सङ्ग्रह निकाले । खै–खैको ‘खै–खै’ ‘कथा चिन्नेको ?’, ‘शूरवीरको नर्कयात्रा’, ‘दौरा सुरुवाल’ जस्ता निबन्ध एवं कथाहरूले नेपाली हास्यव्यङ्ग्य साहित्यलाई मानवीय मर्मको तीब्र सम्वेद्यता र कलात्मकता दुवै दृष्टिमा निकै माथि उठाएका छन् ।
कृष्णप्रसाद चापागाईंको ‘रसभरि चमचम’, अनङ्गनाथ पौड्यालको ‘अङ्गद रावण–सम्वाद’, वासुदेव लुइँटेलको ‘भूत छैन’ ले पनि नेपाली हास्यव्यङ्ग्यमा आफ्नो नाम राम्रैसित दरेका हुन् । तर अघिल्ला दुई एकोटामा चूप लागे पनि वासुदेव लुइँटेलले चाहिँ हास्यव्यङ्ग्यात्मक कविताको ‘भीमसेन पाती’ एउटा बीटो थपेर नपुगी ‘चिठी चपेटा’ नाममा हास्यव्यङ्ग्यपूर्ण चिठीको एउटा सँगालो निकालेर अर्कै विधागत अभावको पूर्ति पनि गरेका छन् । वासुदेव लुइँटेल प्याच्चवादी व्यङ्ग्य कवि हुन् भने कुलमणि क्लिष्ट र चित्रणशील व्यङ्ग्य कवि । भीमनिधि तिवारी वैयक्तिक असन्तोष र सामाजिक आर्थिक वैषम्यलाई सरलतासाथ व्यङ्ग्यमा कस्छन् भने लीलाध्वज थापा द्वेष, आक्रोश र यौनलाई हास्यव्यङ्ग्यमा परिणत गर्न खोज्छन् । वाग्वैदग्ध्यद्वारा मानवीय मर्म छुन र निर्वैयक्तिक पारामा प्रवृत्तिगत व्यङ्ग्य कस्न भूपि खप्पिस छन् भने प्रहसनसाथ निर्वैयक्तिक ढङ्गले व्यङ्ग्यको कोर्रा कस्न लक्ष्मण लोहनी बेजोड छन् । प्रकृतिगत व्यङ्ग्य, वाग्वैदग्ध्य र परिहास सबैको सम्मिलनले लोहनीलाई आजका सबभन्दा सफल हास्यव्यङ्ग्य कवि गराएको छ । ‘रोमाण्टिक हिरो आफू काठमाडौं’ जस्ता कवितामा नीरविक्रम ‘प्यासी’ निकै रसिला हँसिला देखिन्छन् भने ‘मडर्न हिरोइन’मा यादव खरेल ।
२÷४ कविता लेख्ने यिनै पङ्क्तिका लेखक जस्ता हास्यव्यङ्ग्य कवि कति छन् कति– ‘छ्याकन’ (कविता सङ्ग्रह) पल्टाउनु पर्ला । कृष्णचन्द्र सिंहको शब्दमा “‘छ्याकन’ छेड, घोचपेच र परिहासको इतिहास हो ।”
अब आजसम्म लेखिरहेका र लेख्दै जाने भर पर्न सकिने केही युवा हास्यव्यङ्ग्यात्मक गद्यकारहरूको निम्ति दश औंला भाँच्न दिनोस्, जसको श्रीगणेश श्रीधर खनालबाटै गरौं । समानान्तर, विश्वामित्र, र दीर्घबाहु आदि कम–से–कम आधा दर्जन नाम भएका खनालज्यूको ‘नमरी संसार देखिन्न’ भन्ने एउटा हास्यव्यङ्ग्य–सङ्ग्रह पनि छ । तर ‘कलियुग’का सम्पादक रामकुमार पाँडेको अठार पुराण पूरा हुन अब चौधैओटा मात्र बाँकी छ । झापाबाट निस्कने ‘युगज्ञान’ को पुछारको पातो समातिरहनु भएका मोहनराज शर्मा उर्फ मोराशको ‘च्याँखे धर्ना’ उहिल्यै पढिएको हो भने ‘सेतो शालिग्राम’ का पूजारी गोपालराज पन्तका कतिपय हास्य एकाङ्की हेरिएको पनि हो । घटोत्कच शर्माको ‘दमाहा’, ओंकुमार झाको ‘जय फेसन, जय मदिरा’ र विष्णु नवीनको ‘श्रीमतीसित एकछिन’, भीमप्रसाद लामिछानेको घुएँत्रो’ थुप्रै सङ्ग्रहहरू बजारमा भेटिन्छन् । वी.डी. ‘त्यागी’, विदुर के.सी., मदनमोहन मिश्र, खै अरु कतिको नाम लिनू ?
प्याच्च प्याच्च बेधक व्यङ्ग्य कस्ने श्याम गोतामेका ‘मपाईं’ र ‘जदौ’ को नाम नलिए भोलि सधैंभरिलाई जदौ भन्न बेर छैन, बरु अरु बिर्सेका र थाहा नपाएका हास्यव्यङ्ग्य लेखकहरूसित माफी मागे कसो नदेलान् त ? तर पुछ्रे फसाद एउटा छ– भैरव अर्याललाई मैले बिर्सेको भन्ने कि थाहा नपाएको भन्ने ? ‘काउकुती’ र ‘जय भुँडी’ ‘गलबन्दी’ र ‘इतिश्री’ आदि आधा दर्जन पुग्न दुइटा बाँकी उसका सङ्ग्रह छापिएकै छन् ।
नेपाली साहित्यमा यति लामो फन्को मार्दा पनि हास्यव्यङ्ग्यात्मक उपन्यास पाइएको छैन । हास्यव्यङ्ग्यमा व्यङ्ग्यको मात्रा जति विकसित छ त्यति हास्यको छैन । वैयक्तिकता, ग्रामीणता, यौन र व्यक्ति, सम्प्रदाय वा समूहगत घोचपेचहरूको सतहबाट उकालेर हास्यव्यङ्ग्यलाई विशुद्ध मानवीय मर्मलाई स्पर्श गर्ने शुद्ध, बहुसम्बेद्य, विचारगहन र शाश्वत रूपमा उचाल्न हामीले अझै कति पर्खनुपर्ने हो भन्न सकिन्न ।
थपुवा