~भैरव अर्याल~
मेरो गाउँले विज्ञानअनुसार डालाको ‘डा’ र ढोक्सेको ‘ढो’ मिलेर डाढो शब्द बन्छ । डालो र ढोक्से दुवैको रचनातत्व बेतबाँस नै हो र कार्यतत्व अन्नपात राखिने भाँडा हुनु नै हो तापनि आकार–प्रकार र प्रचार प्रसारमा यी दुई समानधर्मीका बीच बडेमानको विषमता छ । देख्नेले देखेकै हुनुपर्छ– ढोक्से सानो मुख र ठूलो पेटको एउटाविशेष किसिमको हुन्छ भने डालो फराक मुख र सानो पेटको एउटा सर्वसाधारण । त्यसैले डालो ढिकुराको सर्दामदेखि लगनको सर्दामसम्मको ओसार–पसारमा कर्मठतासाथ प्रयोग हुन्छ भने ढोक्से फोक्से रोग लागेको झम्पाट बूढोझैं भूइँ र भित्ताको अडेस बाँधेको बाँध्यै बस्छ । डालो कुनै–न–कुनै रूपमा प्रायः सबै नेपालीले प्रयोग गर्न पाउने भाँडो हो तर ढोक्से कुनै–कुनै पोटवाल खेतीवालका घरमा मात्र पाइन्छ, जसलाई धेरैले चिनेकै पनि नहुन सक्छ । यी वैषम्यले गर्दा मलाई के लाग्छ भने डाला र ढोक्सेका बीच पनि चेतना हुँदो हो त सधैं एक अर्काको रूप–भाव र प्रचार–प्रभाव देखेर परस्परमा ङारङार र ङुरङुर अवश्य चल्दो हो । तर गजब यही छ– यी बिचरा बेतबाँस मार्का डाला र ढोक्सेको समानता र असमानताको सम्पूर्ण आदर्श यिनकै निर्माता मान्छे जातिले स्वयं जिम्मा लिएको पाइन्छ । यही महान् आदर्शको नौरङ्गी छटामध्ये एउटा डाढो पनि हो ।
मान्छेलाई भगवान्कै अंश मान्ने हाम्रो दर्शनअनुसार डाढोको आदिम स्रोत पनि शायद उही भगवान् नै होला । उसले कससँगको डाढोले यो विषम–विश्वको सृष्टि ग¥यो त्यो उही नै जानोस् तर मैले जानेअनुसार मान्छे सबभन्दा बढी सृष्टिकर्ताकै डाढो गर्छ । उचाहिँ कहाँ–कहाँ लुकेर तमासा हेर्ने, हामीलाई चाहिँ यो दुःख ? मान्छे बनाउनु नै थियो भने गिदी र गुदी, लिदी र लाघ्रामा डाला र ढोक्सेको फरक किन ? त्यसैले महाभारत पढ्नेहरू भीमसेन र दुर्योधनका डाढाको चर्चा गर्लान् तर मचाहिँ त्यसबेलाको सबभन्दा ठूलो डाढे कृष्ण थियो भन्छु । शायद नित्सेले ‘ईश्वर म¥यो’ भनेको पनि आफैं ईश्वर बन्ने डाढोले होला । अनि प्रथम र द्वितीय महायुद्धका सूत्रधार डाढेहरू आज शायद कोही बाँचेका नहोलान् तर एटम् र स्पुटनिकको पारस्परिक डाढोले मुर्मुरिएर करोडौं केटाकेटीका नाना– चाचा र लाखौं बूढाबूढीका लौरी चश्मा मान्दै आफूलाई विश्वका ढाडे कहलाउन खोज्ने डाढेहरू आज पनि कति छन् कति ?
तर यी ढोक्से डाढाको कुरा धेरै तन्काउन आफ्नो खोपडी पनि ढोक्से नै हुनुुपर्छ । खोपडीदेखि लिएर झोपडीसम्म सबै डाले हुने मान्छेले ढोक्से कुरा गर्न थाल्यो भने अर्को डाढे यसरी कुर्लला– ए लाटीको छोरो पनि घण्ट बजाउने ? आखिर डाढो डाढै त हो नि, लाटीको छोराले बजाएको घण्ट सुन्दा कान टन्कनेहरूले दुनियाँभरका बाठाका छोराहरू बटुलेर शङ्खनाद गर्न लगाईं हाम्रा घण्टको टङ्¥याङ टुङ्रुङ् सुन्नै नपर्ने गर्न लगाए झन् बेश ! तर अधिकांश बाठीका छोराहरू कोही कौडा बजाउन, कोही भ्याट् बजाउन, कोही मूर्ति बजाउन, कोही डलर बजाउन र कोही विदेशी गहना गुरिया बजाउनमा व्यस्त र अलमस्त हुन्छन् भने मूर्ति चोरिएका र ढुकुटी फोरिएका हरिकङ्गाल मन्दिरहरूमा पलेंटी कसेर घण्ट बजाउन लाटीका छोरा नकस्सिए अरु को कसिएलान् ? अब यहीँनेर यसपाली दशैंमा नबिकेर सिक्एिका दामी भेडालाई किस्ताबन्दीमै भए पनि घिसारेर छ्याक्क पारेझैं गरी मेरा कुरालाई छ्याक्क काटेर तपाईं भनिहाल्नुहुन्छ– डाढोको गफ हाँक्दाहाँक्दै डाढेले त आफैं ¥याल चुहाउन थालेछ वा ! होइन भनी जतिसुकै किरिया खाए पनि तपाईं पत्याउनु हुन्न । किनभने तपाईंभित्रको डाढोले त्यो पत्याउन दिंदैन ।
मैले यहाँनेर भन्न खोजेको त एउटै कुरा हो– डाले मान्छेले ढोक्से डाढोको चर्चातिर लाग्दा कुरा ढोक्सेकै मुख झैं बटारिन र घुमर्किन सक्तछ, डाले भाग्य मर्कन र ढोक्से डाढ सर्कन सक्तछ । त्यसैले औगात अनुसारकै कुरा गरौं न ! हाम्री बूढीआमै भन्थिन्– अरु जे गरे पनि अर्काको डाढो चाहिँ नगर्नु नै है बाबु !
मैले सोधेथें– डाढो भन्या के आमै ?
उनले भनिथिन्– आफूले नपाएको रीसमा अर्काको भागमा पर्न लागेको दूधको डाडू नघोप्टयाइदिनु भन्या क्या ! तर उनी स्वयंले चाहिँ बैंसमा आफ्ना बूढासित आँखा घोप्ट्याएका अभियोगमा एउटी नक्कलीको टाउकोमा सिङ्गै कुँडेको दूध घोप्टयाइदिएकी थिइन् रे भन्ने गाइँगुइँ अझै सुनिंदै छ । यसबारे सोद्धा उनी भन्थिन्– मैले त्यसो गरेको त होइन तर उही राँडी मेरो असाध्यै डाढो गर्थी । उनको यस भनाइले लक्ष्मी सरस्वतीका ढोक्से डाढोदेखि लिएर सौता–सौता, सासू बुहारी र प्रेमिका–प्रेमिकाका थुप्रै डाले डाढका उदाहरण सम्झिन पुगिन्छ । लेडी म्याक्वेथ र किङ लियरका छोरीहरूको डाढोको घनत्वदेखि लिएर शेक्सपियरले ठाडै सङ्केत गरिदिएका छन्– कतिपय पारिवारिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्कट–विकटमा आइमाईका डाढाले कम खतरनाक भूमिका खेलेको हुँदैन । तर शेक्सपियरकी लेडी म्याक्वेथको भन्दा बाल्मीकिकी कैकेयीको डाढो कम ढोक्से थिएन ।
आइमाई त आइमाई नै भए– डाढोको जीवन्त मूर्ति ! तर कतिपय प्रसङ्गमा लोग्ने मान्छेले मै हुँ भन्ने छत्तीसाका डाढलाई दोब्र्याएर बहत्तर हाते डाढको सूँड नपसारेका पनि हैनन् । स्वास्नी न पास्नीसँग कैलासका डाँडामा उपर्खुट्टी लगाएर गाँजा तानिरहेका महादेवले देउताहरूको डाढो गर्दै दक्ष प्रजापतिकी जेठी छोरी हातपार्ने षड्यन्त्र गरेर लोग्नमान्छे मात्रको नाम उहिल्यै बिकाइदिइसकेका छन् । रामचन्द्रलाई योगवाशिष्ठ पढाउने महादार्शनिक वशिष्ठले निमीका घरका टपरीको डाढोको कारण उनलाई देहपतनको सराप दिएर ढोक्से डाढेको सूचीमा आफ्नो नाम उहिल्यै दत्र्याइसकेका छन् । विश्वामित्रलाई बाहुन हुने डाढोले सताएको सन्दर्भले पनि यस कुरामा अझ बल दिन्छ । त्यसैले डाढो यसमा हुन्छ र उसमा हुँदैन भन्ने कुनै आधार छैन, न त डाढोको धार मान्छेको आहार, विहार र संहारसम्बन्धी प्रवृत्तिबाट मात्र निस्कन्छ भनी तोक्न सकिन्छ ।
तैपनि मेरो मनगढन्त विज्ञानअनुसार तेरीज खिचेर हेर्दा डाढो उम्रेर र झाङ्गिने प्रमुख कारण तीनओटा हुन्छन्– सम्पत्ति, सत्ता र सहवास । अर्को शब्दमा यिनलाई पूँजी, प्रतिष्ठा र प्रेमको नाम पनि दिन सकिन्छ या यो पनि मनपर्दैन भने भन्न सक्नुहुन्छ– माम्, माया र मान अथवा भनूँ सामान्यतम व्यक्तिगत जीवनदेखि लिएर व्यापकतम् अन्तर्राष्ट्रिय जीवनसम्म यो सकारत्रय वा मकारत्रयको डाढाले मान्छेलाई उराल्नु बराल्नु, ओराल्नु, उकाल्नु सबै गरिरहेको हुन्छ । सम्पत्तिका डाढाले सत्तोसराप गरी जिन्दगीभर मुद्दा मामिला र युद्ध–झमेलाहरू गर्दै आ–आफ्ना सर्वश्व नासेर विनास बेसाउने सहोदर वा सहवंशहरू कौरव पाण्डवकालदेखि अहिलेसम्म उत्तिकै छन् भने सत्ताको डाढोले पात्तिए–मात्तिएका हिटलर नेपोलियनको कथा सुन्न पुराण पल्टाउनु पर्दैन । आफ्नै गुरुबाकी स्वास्नीको डाढो गर्ने चन्द्रमादेखि आफ्नै बाउको स्वास्नीको डाढो गर्ने विरूपाक्षका कथा पनि यही दुनियाँकै कुरा हुन् । यी सबैको प्रमुख कारण त फेरि उही डालो र ढोक्सेको समानता र असमानतामै पुग्छ । प्रत्येकको जन्मनु, बाँच्नु र मर्नुको गति उही भएपछि प्रत्येकको शक्ति सौन्दर्य, बुद्धि र विवेकको गति पनि उही भइदिएको भए न डाढोबारे विवेचना गर्नुपथ्र्यो न डाढेका कुरा काटिरहनै पथ्र्यो । तर तपाईं भन्नुहोला सम्पत्ति, सत्ता र सेक्सको परिधिभन्दा धेरै बाहिर पुगेर तामस, साधक वा यौगिक जीवन बिताउने निवृत्तिमार्गीहरूलाई डाढोले कसरी छुनसक्छ ? तर गहिरिएको खण्डमा हामीले लगाएका थोत्रा थाम्रा र हामीले खाएका खोले–फाँडोको डाढो गर्दै यता आउने करोडपति पश्चिमाहरू शायद शान्ति–सन्तोषकै डाढोले त आएका होलान् । त्यसैले डाढोविहीन हिमालको परिकल्पना र वैज्ञानिकहरूले यान्त्रिक मानवको एउटा बेग्लै विश्व बनाइदिन सके तिनमा डाढो हुँदैनथ्यो कि भन्ने पनि तपाईंको तर्क होला, तर ती वैज्ञानिकले डाढो विहीन मान्छे बनाए भने हामीले डाढो सज्जित मान्छेको पुनर्निर्माण गरेर तिनको तेजोवध किन नगर्ने भन्ने अर्कोथरि वैज्ञानिक निस्कन के बेर !
शास्त्रीहरू डाढोलाई आसुरी शक्ति भन्छन्, तर देवताहरू पनि कम डाढे नभएकोले यसलाई सूरी शक्ति पनि भन्नुपर्छ । त्यसैले सूर्यासुरी समन्वय च्यापेर डाढोले मान्छेका टाउकामा जुन रगरगाहट ल्याइदिइरहेको हुन्छ त्यसलाई हामी तीन खण्डमा वर्गीकरण गर्न सक्छौं ।
नम्वर एकमा पुङमाङे डाढोलाई नै लिऊँ, एक पटक एउटा गधा र एउटा गोरुका बीच भनाभन परेछ– गधाले गोरुलाई भन्यो रे– तँ जस्तो भाग्यमानी हुन पाए पो ! दिनभर बारी जोतिदियो, रातभर गोठमा पलेंटी मारेर खान पाइन्छ, मेरो जस्तो भारी बोकेर यता र उति खेपिइरहनुपरेको भए देख्थिस् ! गोरुले भनेछ– मेरो जस्तो जोडा र जुवाको अधिनमा दिनभर जोतिनु र रातभर बाँधिनु परेको भए देख्थिस् । तेरो त के छ र ! पिठ्यूँमा एउटा भारी बोकिदिएपछि घुमी–घुमी खान पाइन्छ । विकासोन्मुख मुलुकका अधिकांश मान्छे–मान्छेमा व्यापक रूपमा चल्ने डाढो यही पुङमाङे डाढो हो जस्तो मलाई लाग्छ । हामीमध्ये पनि धेरैजसो यही डाढोले पीडित हुन्छौं क्या र । ‘क’ ले ‘ख’ लाई आफूभन्दा सुख पाएको देख्छ ‘ख’ ले ‘क’ लाई आफूभन्दा सन्तोष पाएको देख्छ । डाढ डाढमा दुबै मुटु मडार्छन्, तर निश्पक्ष जाँचकीले जाँचिदिने हो भने ‘क’ टाट् ‘ख’ टट्टू ।
दोस्रो खण्डको डाढोलाई पानी डाढा भन्ने नाम दिन सकिन्छ । किनभने पानीले आफ्नो तह आफै बनाउन खोज्छ भन्ने वैज्ञानिक सिद्धान्तअनुसार मान्छे आफ्नो सतह समान गराउन खोज्छ । यो डाढोले आकास्सिने र भास्सिने दुबै परिणाम निकालेका उदाहरणहरू पाइन्छन् । आकास्सिनु र भास्सिनु पानी डाढेका सोच र साहसमा भरपर्ने कुरा हो ।
तेस्रो नम्वरको डाढोलाई भष्मासुर डाढो भन्न सकिन्छ । महादेवका बरदान पाएर शक्तिशाली भएको भष्मासुरको महान् आदर्शलाई शिरोपर गर्दै जसबाट हुक्र्यो, बढ्यो, पढ्यो त्यसकै स्वास्नी छोरी वा पद प्रतिष्ठा र पूँजीको डाढो गर्ने महामानवहरू पुराणका अन्तर–कुन्तर, इतिहासका कुनाकानीदेखि लिएर खोजी पस्ने हो भने हाम्रा अघिल्तिर पछिल्तिरै कति पाइएलान् कति । त्यसैले भष्मासुरे डाढाबारे त कुरै गर्न मलाई डर लाग्छ– किनभने त्यस्तो डाढोले छोएको मान्छे पशुपतिनाथलाई पनि अनाथ पार्ने सपनामा विचरण गर्न पुगेको हुन्छ ।
(‘डाढो’ सङ्कलन, १०/१०, २०३१ मा प्रकाशित)
Pingback: डाढो : भैरव अर्याल | SBO Collection