~गीता थापा ‘दोषी’~
छोरो दगुर्दै आयो । आमाले पुलुक्क हेरी । उसले सुनायो ‘आमा ! त्यो पल्लो घरको विर्खेले तपाईलाई बोक्सी भन्छ ।’ आमा भान्सामा व्यस्त थिई । छोराका शब्दलाई गम्भिरता पूर्वक लिइन । बरु सहजै जवाफ दिई ‘भन्न दे नत । त्यो आफ्नो नाकको सिँगान पुछ्न नसक्ने फुच्चेले बोक्सी भन्दैमा म बोक्सी हुने होइन क्यारे । भोलि देखि तँ त्यो विर्खेसँ’ग खेल्न नजानु बरु ।’
‘हुन्छ जान्न ।’ बुकुनेले पनि सहजै आफ्नी आमाका शब्दमा सहमती जनायो । सही र गलत फरक छुट्याउन सक्ने परिपक्क सक्षम मन त बुझे पछि अवोध त्यो बालक बुकुनेको तरल मन नबुझ्ने कुरै आएन ।
‘जा बाहिर बाल्टिनको पानीले हातखुट्टा राम्ररी धोएर आइज ।’
ऊ गयो लुरुलुरु । आँगनामा बाल्टिनभरि पानी राखिएको थियो । आमाले भने जसरी मुख हातखुट्टा पखालेर आयो । र आमाको अगाडि सतर्क मुद्रामा उभियो ।
आमाले नजर उठाएर छोरालाई हेरी । दुबै नाकको प्वालमा सिँगानका प्राप्रा जताजतै कट्कटिएकै अवस्थामा थिए । आमाले बुकुनेको सातो खाइ ‘तँ मोरोले त्यो नाकको सिँगान भातसँ’ग मुछेर खान साँचेको ? जा सीँ सीँ गरेर मिल्का । नाक सिनित्त पारेर आइज ।’
‘ल’ ! ऊ नाइनाँस्ती नगरि पुन बाल्टिन भएकै ठाउँमा पुग्यो । अञ्जुलीमा पानी उठाएर नाक बेस्सरी धोयो । फेरि आमातिर आयो । आमाले तात्तातो दूधसँग भात दिई । मुछेर ठूलठूला गाँस हाल्दै सपासप खायो । थालमै हात चुठेर चोटामा उक्लियो ।
‘आमाले थालैमा पो चुठेर गएछ’ भनेर चिच्याई । बुकुने भने त्यो सुनेर थाङ्नाको सिरकमा गुटुमुटु परेर गुन्द्रीमा लम्पसार भईसकेको थियो ।
भोलिपल्ट बिहान ओछ्यानबाट उठ्ने वित्तिकै बुकुने विर्खेको आँगनमा पुग्यो । विर्खेपनि गोजीका गुच्चा हातमा झिकेर ‘खेल्छस् बुकुने ?’ भन्दै बुकुनेको नजिक आयो । आँगनको बीच भागमा खोपी खेल्ने एउटा प्वाल बनाएका थिए । विर्खे र बुकुने मिलेर ।
ती दुईले त्यहीँ गएर खोपी खेल्न शुरु गरे । विर्खेको भएजति सबै गुच्चा बुकुनेले जित्यो । हारेको रिसमा विर्खेले फेरि बुकुनेलाई ‘बोक्सीको छोरा’ भन्दै गाली गर्यो ।
बगलीका गुच्चा छिन्द्रिङ छिन्द्रिङ बजाउँदै घर पुग्यो बुकुने । आमालाई विर्खेले भनेका कुरा सुनायो ‘आमा आजपनि तपाईलाई विर्खेले बोक्सी भन्यो ।’ आमा गोठमा भैंसी दुहुँदै थिई । झिँगाले टोकेर भैंसी आफ्नो पुच्छर हल्लाउँथ्यो । घरि घरि पुच्छर बुकुनेकी आमाको मुखसम्म ल्याइपुर्याउँथ्यो । भैंसीको फाँचोको दूध निखार्न मुश्किल परेको थियो बुकुनेकी आमालाईपनि ।
रिसको पारो तताउँदै पहिला आफ्नै छोरालाई बेस्कन हपारी ‘तँ काँडलाई हिजो मैले त्योसँग खेल्न नजानु भनेको होइन ? मुखै नधोइ एकाविहानै उसैसँग खेल्न पुगेपछि भन्दैन त ? जसलाई जे जे भन्न मनलाग्छ भनुन् । तँ साखुल्ले पल्टिएर मलाई नसुना । भनेर मान्छे मर्दैन । तातो पानीले घर जल्दैन । बरु त्यो भैंसीको पुच्छर समात समात ! हल्लाएको हल्लाई गरेर यहाँ राम्रोसँग दूधै निखार्न दिएन ।’
‘हुन्छ’ आज्ञाकारी टाउको हल्लाउँदै भैंसीको पुच्छर समात्यो बुकुनेले । केटाकेटी मोरो नजा भनेर के अडिन्थ्यो ? आमाले भनुनजेल ‘हुन्छ, जान्न’ भन्थ्यो । एकैछिन् पछाडि त त्यहीँ पुग्थ्यो । दैनिक खेल्दा केही न केही कुरामा झगडा परिरहन्थ्यो विर्खे र बुकुने बीचमा । बातै पिच्छे बोक्सीको छोरा भनेर गाली गर्थ्यो विर्खे बुकुनेलाई । बुकुने दिनुहुँ आमालाई लगेर विर्खेले भनेका कुरा सुनाउँथ्यो । आमाले वास्तै नगरि नगरि जीवनको बुढ्यौलीमा प्रवेश गरि । बुकुनेको विवाह भयो । वुहारी आई ।
विर्खेकी आमाले एकदिन कोदो रोप्दै गरेको बेला बुकुनेकी स्वास्नीको कानमा फुस्फुसाइ ‘कत्तीको माया गर्छिन् दुलही सासूले ?’
बुहारीले सत्य जवाफ दिई ‘आफ्नी आमाले जत्तिकै माया गर्नुहुन्छ । चुलोमा पाकेको खानेकुरा छुट्याउनुहुन्न ।’
‘तर अलि सतर्क हुनु नी सासूदेखि । तिम्रो सासूको व्योहोरा प्रशंसा गर्न लायकको छैन ।’
‘ख्वै मलाई त त्यस्तो लाग्दैन ।’
नयाँ हुञ्जेल सासूले थोरै माया गर्दापनि अमृत लाग्छ । त्यो तिमीलाई मात्र होइन, सबै महिला जातिलाई हुने महसुस हो ।
ठूलाबडाले भन्छन् ‘कि अरुले भनेको मान्नु, कि आफैँ जान्नु । तिमी नयाँनौली छेऊ अहिले । सत्यतथ्य जान्ने कुरै भएन । तिम्री सासू बोक्सी छन् नि ! होस् गर ।’
बुकुनेकी स्वास्नी विर्खेकी आमाको मुखमा हेरेर एकछिन् जिल्ल परि । के भन्नु के नभन्नु । जवाफै आएन उसलाई । नमज्जा लाग्यो । केही नबोली कोदो रोपिरही ।
साँझ मेलाबाट छुटेर घर पुगी ऊ । सासू भान्सामा थिई । बुहारीलाई देखेर भनी ‘थाकेर हत्तुहैरान परिस् होला । आइज यतै चुलोमा बस । म नुन पानी तताइदिन्छु गोडा धुन । सञ्चो हुन्छ ।’
बुहारीलाई भित्रभित्रै खट्पटी चलेको थियो । उसको अनुहार पनि निन्याउँरो थियो । सासूले बत्तिको प्रकाश बुहारीको अनुहारमा पार्दै फेरि सोधी ‘तँलाई सञ्चो भएन कि क्या हो ? खाजा राम्रो दिएनन मेलामा ? अनुहार मलिनो देख्छु ‘।
‘आमा, तपाईलाई एउटा कुरा सोधुँ ?’
‘सोध्न के कुरा ?’
‘मलाई त्यो विर्खेकी आमाले तेरि सासू बोक्सि छन् होसियार हुनु भनिन् । मलाई उनिहरुको हेपाहा प्रव्रित्ती मन परेन ।’
सासूले भनी ‘आ ! छोड्दे ती विर्खेका सन्तानका कुरा । तिनीहरूको स्वभावै अर्कालाई नानाभाँति आरोप लगाउने हो । तिनीहरूले बोक्सी भन्ने वित्तिकै म बोक्सी हुन्छु र थोडै ? मलाई त केही जस्तो लाग्दैन । तिनीहरुका पानीमा फूल पारे जस्ता उडन्ते कुरा । बुकुने सानो छँदा पनि विर्खेले ‘तेरि आमा बोक्सी’ भन्थ्यो रे । मलाई त वास्तै लागेन । आफू बोक्सी भए पो रिस उठ्नु । भन्नेको मुख गल्दैन भने मलाई पो केको पीर चिन्ता बिथ्थैमा ?’
बुहारीलाई चित्त बुझेन सासूको जवाफ । भनी ‘त्यसो भनेर अर्कालाई जथाभावी भनेर हेपेको सहनुहुन्न । आफूले पनि अरुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ । आफूले सम्मान गर्दागर्दै अरुले आफूलाई अपमानजनक व्यवहार गर्छन् भने चुप लागेर बस्नुहुन्न । सही सत्य बुझ्नुपर्छ ।’
‘आ ! कुकुरले खुट्टा टोक्यो भनेर आफू पनि त्यो सँगसँगै खुट्टा टोक्न गयो भने मान्छेले के भन्छन् ?’
‘हो, तपाईहरूको यही सोचाइकै कारण त आज फटाहको मनोबल बढेर जसलाई जे भन्दा पनि हुन्छ भनेर मनपरी बोल्छन् । उस्तै परे कपाल खौरिदिएर मलमुत्र खुवाउँछन् । सहँदै जानुभयो भने । तपाईहरूले बेलैमा सचेत बनाउन अल्छी मानेर आ ! भनेरै हो । आज हाम्रो समाजमा एउटालाई दु:ख दिएर रमाउने संस्कार मौलाएको । पाखुरा सुर्किएर मार्न र मर्न तयार हुनुपर्ने त होइन नी ।सम्झ्दारीपूर्वक सोधेर सत्यतथ्य बुझ्दा के बिग्रिन्छ ?’
‘हन तँ त शिक्षिका जस्तै पो ठूलठूला ज्ञानका कुरा गर्छेस् । कसले सिकाएका तँलाई यत्तिका कुरा ? मान्छे हेर्दा सानी । कुरा सुन्दा हजुरआमाका जस्ता ।’
मेरा बुवाले सिकाउनुभएको । उहाँ भन्नुहुन्थ्यो ‘पुन्यु चोर्नेले खड्कुलो चोर्छ । आ ! पुन्यु त होनी, कुनै बहुमूल्य हिरामोती चोरेको होइन भनेर बेवास्ता गर्योभने त्यसले बिकाराल रुप लिन्छ भनेर । तपाई पनि सोच्नुस् त, तपाईको छोराले उबेला भेनेको कुरालाई गम्भीर भएर सोचेर एकपटक कुरा के रछ भनेर यथार्थ बुझेको भए ? आज यो कुरा मेरो कानसम्म आइपुग्न पाउने थिएन । आज मपनि तपाई जस्तै चुप लागें भने भोली यिनै कुरा मेरा छोरा छोरीहरुका कानमा पुग्छन् । हेर्नुस् आमा आ ! यो जावो सानो पिउसो त होनी भनेर बेवास्ता गर्दा पछि त्यही पिउसो बढेर क्यान्सर हुन्छ ।’
बुकुने आइपुग्यो । भन्नथाल्यो ‘म त यिनै कुरा आमालाई भन्दा भन्दै थाकेको । अब तिमी आयौं आमालाई तह लगाउने । तिम्रा कुराले म गदगद भएँ । त्यो विर्खेकि स्वास्नी पनि तिमी जस्तै असल परोस् । आफ्ना छरछिमेकसँग राम्रो व्यवहार गर्नुपर्छ । कसैलाई पनि कसैले तथानाम गालीगलौज गर्नु हुन्न भनेर सिकाउने ।’
बुकुनेकी स्वास्नीले भनी ‘म भोलि विर्खेकी आमा काकीलाई राम्रो वचनले सम्झाउँछु । आइन्दा मेरी सासूको बारेमा यस्ता नचाहिँदा कुरा नगर्नु होला काकी भनेर भन्छु । एक पटकलाई बुढाबुढी मान्छे, छिमेकी भनेर माफ गरिदिएँ । फेरि फेरि सुनेंभने राम्रो मान्दिन भनेर सम्झाउँछु । म सासू हुइन । तपाईहरूले जे भन्नु हुन्छ हाँसी हाँसी पचाउने । म बुहारी हुँ । तपाई पनि एउटी महिला भएर अर्की महिला माथि बोक्सीको आरोप लगाउन लाज मान्नुपर्छ ।’
साना बेलामा नैतिकताको पाठ कसैले नसिकाएपछि कहाँ के बोल्ने भन्ने कुरा थाहा हुन्न मान्छेलाई । अनि तथानाम बोली हिँड्छन् । हेपाह प्रव्रित्तिका विर्खेकी आमाहरू जस्ता आइमाईहरु ।
(स्रोत: Nepalplus)