~रोहित खतिवडा~
उसँग मेरो परिचय कहिले भयो, सम्झना छैन । अक्सर गरेर बाटोमा जम्काभेट मात्रै हुने हो दुइको– झण्डै दुइ बर्ष देखि चलेको प्रक्रिया । “दाइ नमस्ते !” भन्छ खै केको आदरले हो । “नमस्ते भाइ ! के छ खबर ?” सोध्छु, खै केको मायाले हो । “ठिकै छ” भन्छ र संवाद टुङ्गिन्छ ।
कहिलेकाहीँ यसो नियालेर हेर्छु । उसको जुत्ता, पाइन्टको स्टायल र लागाउने बिन्दु विल्कुल फरक छ । कालो ‘बडीभेष्ट’ उसको ‘फेवरेट’ हो, प्राय त्यही भेष्ट र रातो हाफ ज्याकेट लगाउने गर्छ । ज्याकेटको पछाडी बोब मार्लिको गाँजा तान्दै गरेको बिरुप पेन्टीङ छ । कपाल सधैं टाउकाको दवैतिरको आधा–आधा मात्रै काट्छ, मेसिन लाएरै । बिचमा अगाडी देखि पछाडिसम्मै छोडेको जति भालेको सिउर जस्तै देखिन्छ । भाले–यो त ‘सिम्बोलिक’ छ क्यार ! उसको सिउर पनि ‘सिम्बोलिक’ र रङ्गीन छ ।
अस्तिका दिन बाबुचाहिँले घोषणा ग¥यो रे, “यो सकियो ! मेरो छोरो बिग्रीयो !” भनेर । त्यसो होइन, बाबुले पनि छोरालाई संधै आफ्नो जवानीमा जस्तो देख्न चाहनुभएन । उसको समय पनि बुझ्नु प¥यो नि ! रहरहरु मारेर बोक्रे भलाद्मी बन्न कहाँ सक्छ त आजको ठिटो ? सम्झाउन पर्ला एकचोटी उसको बाबुलाई, सोच्दै थिएँ ।
–––––––––––––––––––––––––––––––––
आज होली !
इलाममा होली अरु तिर जस्तो अनियन्त्रित हुँदैन । पहाडतिर होली अहिलेसम्म यस्तै नै हुन्छ । यहाँ आफूआफू जम्मा भएर रमाइलो गर्ने र होली मनाउने सभ्य तरिका छ । कसैले पनि नचिनेका मान्छेलाई लोला हान्दैनन्, जबरजस्ती रङ्ग दल्दैनन् । उमेरमा÷जवानीमा गर्नु पनि पर्छ नि हौ रमाइलो । होलीका थुपै्र राम्रा पक्ष पनि छन् । यो निक्कै रमाइलो पर्व हो । तर, मैले चाहिँ आजसम्म होली खेलेका छैन, सानै देखि खेल्न मन नलाग्ने । साँच्चै ! मलाई रङ्गसँग खेल्न मनै लाग्दैन ।
आज पनि बजारमा होलीको रौनक राम्रै होला– मलाई लागेको थियो । मलाई बाहिर निस्कन त्यस्तो जाँगर चलेकै थिएन । जे होस् एकचोटी बाहिर निस्किएर होलीको रमाइलो त हेरौँ जस्तो पनि लाग्यो । दिउँसो १२ बजे तिर अल्छि मान्दै बाहिर निस्किँए । बजार रङ्गिन थियो, मान्छेहरु रङ्गीन थिए, मनहरु रङ्गिन थिए । होलीको उमङ्ग बजारमा नाचिरहेको थियो । त्यही रमाइलो हेर्दै म पनि चोकसम्म निस्किँए ।
एक हुल केटाहरुसँगै ऊ पनि यतै आउँदै रहेछ । हेरेँ; केटाहरु कति स्वतन्त्र छन् । आफ्नै मनले डोहोरिन पाएका । न बौद्धिकताले थिचेको छ, न विवेकले, न व्यवहारले । स्वतन्त्र पक्षी जस्ता छन् यी ठिटाहरु । आह्रिस लागेर आउँछ उनीहरुको स्वतन्त्रताको । आफूले उमेरमा कहिल्यै पनि त्यस्तो रमाइलो गर्न सकिएन– अहिले सम्झिएँ । ती दिनहरु विरक्त मान्दामान्दैै बिते ।
केटाहरुको हुलमा अरु दुइटी केटीहरु पनि थिए । त्यहाँ केटीहरु पनि हुन सक्छन्, पाउँछन् । परिवर्तन देखिन थालेको छ । मैले यही महशुस गर्दैगर्दा केटो मेरो छेउमा आइसकेको रहेछ । “दाइ नमस्ते !” भन्यो । “नमस्ते ! होली खेलिँदै छ ! खुब रमाइलो छ है ?” वास्तवमा यो मेरो इष्र्या बोलेको थियो । सायद उसले बुझेन । भन्यो, “बर्षदिनमा एक दिन आउने चाड, अनि रमाइलो नगरेर कहाँ भो’ र दाइ ? अरु दिन त उही हो; घरमा बाउको गाली र आमाको किचकिच, कलेजमा सरले उस्तै टेन्सन दिन्छ । होमवर्क, प्राक्टीस, प्राक्टिकल, इक्जाम गर्दा सधैं टेन्सनै–टेन्सन हुन्छ । आज ‘टेन्सन फ्रि’ हुने दिन हो ।”
मैले सोचेँ, “मेरोचाहीँ ‘टेन्सन फ्रि’ दिन कहिल्यै पनि आउँदैन !” भनेँ, “गर्लफ्रेण्डको पनि टेन्सन हुन्छ होला नि हैन ?”
“हल्का !” उ हल्का लजाएर मुस्कुरायो ।
“अनि पकेट मनिको नि ?”
“मेन भनेको त त्यै त हो नि ।” उसको सबैभन्दा ठूलो समस्या होलाको अनुमान गरेँ ।
उसको कपाल आज अलिकति हरियो, अलिकति सेतो, बाँकी कालो र रातो थियो । अनुहारमा आँखा बाहेक सबैतिर रङ्ग पेन्टिङ्ग गरेको थियो । निदारको बिचमा सेतो, दुवैतिर रातो, गाला हरियो रङ्ग्याएर बिचमा रातो रङ्गले प्रेमको सङ्केत, मुटुको सङ्केत–पानको पातको आकृति पोतेको थियो । त्यही बडिभेष्ट र रातोहाफ ज्याकेट लगाएको थियो । जिन्सको हाफ पाइन्ट, चारपाँचवटा साङ्ली पाइन्टको गोजी र बेल्टमा झुण्डाएको ।
उसलाई हेर्दाहेर्दै अर्को केटो अगाडी आइसकेको थियो, “अनि दाइको निदार त आज पनि सादा छ नि हौ । यस्तो त भएन नि दाइ !” अर्की केटीले थपी, “ यस्तो स्याड हुनुभएन नि दा ।” यो केटी दार्जिलिङ तिर पढेकी हुनपर्छ, मैले अड्कल काटेँ । “सरी ! म कहिले पनि रङ्ग युज गदिँन । मलाई रङ्गसँग खेल्न मन पर्दैन ।”
“दाइ म पनि रिक्वेस्ट गर्छु, यस्तो ‘स्याड’ हुनुभएन क्या । दाइ टिका मात्रै भए पनि लगाउनु पर्छ है ।” उसले पनि अनपेक्षित मधुर भाषामा अनुरोध गरेपछि के गर्ने म अलमलमा परेँ । मैले निर्णय लिइ नसक्दै उसले मेरो निदारमा रातो अविरको टिका लगाइसकेको थियो । एकै छिनमा सबै भएर मलाई रङ्गीन बनाइदिए । टाटे–पाङ्ग्रे भएर डेरा फर्किएँ ।
आज होली खेलेँ । उनीहरुको उत्साही जीवनसँग मेरो कुण्ठाको पराजय भयो । मेरो ठूलो घमण्डले, आत्मगौरवले पराजय बेहोरेको थियो । म पराजित भएको थिएँ । आफ्नो प्यारो घमण्डको मृत्यु–उत्सव मनाउँदै म डेरा फर्किएँ ।
–––––––––––––––––––––––––––––––––
त्यो दिन केही कवि साथीहरुको निम्ता मान्न फिदिम जानु थियो । होलीको दिन त्यसै गाडीको अभाव हुन्छ । गाडी भिडभाड हुन्छ । गाडीमा सिट पाइएन । झुण्डेर नेपालटारसम्म जाने आग्रह आयो । ‘हुन्छ’ नभनेर अर्को उपाय पनि थिएन, चढँे । उनीहरु पनि त्यही गाडीमा बिब्ल्याँटे जान चढेका रहेछन् । सबै छतमा चढे, म पनि मिसिएँ । आज जीवनलाई नयाँ ढङ्गले महशुस गरिरहेको जस्तोभइरहेका थियो । महशुस गर्दै थिएँ कि यस्तो उल्लासमय जीवन पनि सम्भव रहेछ । शरीरमा बगेको रगत नयाँ लागिरहेको थियोे । स्पर्श गरिरहेको हावा नयाँ थियो । महशुस गरिरहेको उत्साह नयाँ थियो ।
उनीहरु बाटामा देखिएका सबैलाई “ह्याप्पी होली” कराउँदै जान्थे । केटाहरु केटीहरुलाई ‘विस’ गर्न आतुर देखिन्थे, केटीहरु केटाहरुलाई । ‘फ्रायडिस्टहरु !’ भनेँ मनमा । अरुहरु उनीहरुको ‘विस’लाई स्वीकार्थे र “ह्याप्पी होली” फर्काइरहेका हुन्थे । बाटामा एउटा केटोले सिकुवामा बसेर चामल केलाइरहेकी बुढी हजुरआमालाई “हजुरआमा ! ह्याप्पी होली है !” करायो ।
“ह्याप्पी होली…!” गाडी छेलिनै लाग्दा बुढीआमै चिच्याइन । अलिकति चामल पोखियो । गााडीको छतमा हाँसोको बर्षा भयो । हाँसेरै लडिएला जस्तो भयो । केटोले थप्यो, “बाफ रे ! सुड्डीले दाम्मी दियो त यार ।” म पनि नहाँसी कहाँ रहन सकेँ र ? दिल खोलेर हाँसेँ ।
म समय भन्दा कयौं माइल पछाडी छोडिएको यात्री हँु त ? जवाफविहिन प्रश्न आफैँलाई गरेको थिएँ ।
“ला……..! मेरो घर आयो । सुड्डोले देख्यो भने त लास्टै गीदी गर्छ । म लुक्छु है त ।” एउटी छलिएर बसी । एकछिनलाई छत शान्त भयो । यो सुनसान असुहाउँदो लागीरहेको थियो, एकछिन नबोल्दा गुम्सिरहेका होलान् जस्तो । उसको घर काटिएछ क्यारे अर्को एउटा बोल्यो, “आफ्नो त घरमा सुड्डीले काम छ छिट्टै आउनु भन्या थियो । बेलुका पनि नपुगिने भो । लास्ट गाली खाइने भो यार ।”
उसले पनि आफ्नो कुरा राख्यो, “आफ्नो त घरमा नै बसे पनि त्यही किचकिच सुन्नु पर्ने हो, हिँडे पनि घर गए पछि उस्तै । बरु साथीहरुसँग हुँदा एकछिन भए पनि ‘रिल्याक्स’ हुन्छ ।”
“ओ घरको कुरा, टेन्सनको कुरा छोडन यार ! आज त लास्ट रिल्याक्स गनुपर्छ । फूलनाइट सेलिब्रेसन विद रोयल स्ट्याग ।” अर्काेले थप्यो ।
“या……………..स ।” सबैको एकै स्वर थियो ।
युवाहरु किन यसरी घरबाट बिरक्तिन्छन्, किन रमाउन सक्दैनन् घरमा ? घर बाहिर–बाहिर कस्तो भविष्य खोजिरहेका छन् यिनीहरु ? घरलाई जेल ठान्ने र घरबाट निस्कनुलाई मुक्ति ठान्ने सोच कसरी पलाउँदो हो ? अनुत्तरित प्रश्नहरुले म थिचिइरहेको बेला उनीहरु गाडीबाट ओर्लिए ।
मैले दिनभरी सोचिरहेँ, घरबाट छलिएर, भागेर, लुकेर हिडिरहेका युवाहरुले हाम्रो समाजको कस्तो भविष्य बनाउँदैछन् । मेरो उत्साह पनि उनीहरुसँगै गाडीबाट ओर्लियो ।
–––––––––––––––––––––––––––––
फिदिममा गाडीबाट ओर्लिने बित्तिकै माइकको आवाज सुनेँ । के रहेछ ? पत्ता लगाउन उकालो चढेँ । अलि मास्तिर चोक जस्तो परेको ठाउँ रहेछ । त्यहाँ मान्छेहरु भेला भएको पनि देखेँ । म पनि त्यही भिडमा घुस्रिएँ, ‘ह्याप्पी होली लाइभ कसन्र्ट’ रहेछ । स्थानिय एक ब्याण्डले आयोजना गरेको । एकछिन हेर्ने विचार गरेँ ।
घर भत्काएको ठाउँमा केही खाटहरु राखेर स्टेज बनाइएको । स्टेजमा एउटा केटो कार्यक्रम सञ्चालन गर्न उभिएकोे । दर्शकहरु धरै किशोरकिशोरी र अरु युवाहरु । प्रौढहरु अपवादको रुपमा मात्रै दुइ सय जना जतिको भीडमा ।
“गुड इभिनिङ्ग गाइज एण्…………..ड ह्या……………..प्पी होली………..” कार्यक्रम सञ्चालक चिच्यायो । “ह्याप्पी होली !!!” दर्शकदिर्घबाट प्रत्युत्तर आइरहेको थियो । कार्यक्रम सञ्चालनको शैली मलाई नयाँ र रोचक लाग्दै थियो । यस्ता कार्यक्रमहरु अनुभव नै नगरी, स्वादै नचाखीकन बहिष्कार मात्र गरिएछ । समयको माग बुझ्न सकिएनछ । जे होस् रमाइलो छ ।
“एण्ड लभ यु अल सो मच !” उ चिच्याइरहेकै थियो । सोध्यो दर्शकलाई, “ओ गाइज ! सुन्ने हो जोक्स ?” “सुन्ने !” मेरो सम्मुखमा रहेका तन्नेरी दर्शक चिच्याए । उद्घोषकले म तिर र्फिर्कएर औंलो तेस्र्याउँदै प्रश्न दोहो¥यायो । एक पटक मेरो वरीपरी रहेका दर्शक तात्तिए, “सुन्ने हो !” सबै उफ्रिँदै गर्दा मेरो देब्रे तिर उभिएको केटाको हात अगाडी उभिएकी केटीको छातीमा थियो । नचाहँदा नचाहँदै उसँग मेरा आँखा जुधिहाले । हत्त न पत्त भुईंतिर अनुहार घोप्ट्यायो । “ठिकै छ !” म मुसुक्क हाँसिदिएँ । धन्न केटीको अनुहार देखिँन ।
जोक्स सुनाउन एउटा हाँस्यकलाकार स्टेजमा चढीसकेको रहेछ । म ध्यानमग्न भएर उसको जोक्स सुन्नथालेँ, “असलामाछा एकएक पिस, ओ माइ डार्लिङ्ग गिभ मी किस !” उसको उद्घाटन थियो । ‘वाउ–वाउ’को आवाजसँगै लरबरीएको बोलीमा थियो । छेउमा कसैले टिप्पणी गरेको सुनेँ, “ए हेर त सुयोग त अघि नै मातिसकेछ ।” अलि पर उसको जोक्स सुृनेर एकजना अधबैंशे मानिस मुख रातो बनाउँदै शिर निहुराएर फर्किरहेका थिए । सायद उनलाई आफ्ना छोराछोरीको समय पचिरहेको थिएन । यता तन्नेरी दर्शकहरु भने चिच्याइचिच्याइ उसलाई साथ दिइरहेका थिए ।
हाँस्यकलाकार स्टेजबाट बिदा भएपछि कार्यक्रम सञ्चालकले प्रश्न ग¥यो, “कस्तो लाग्यो ?” सबै दामी भन्दै चिच्याइरहँदा मेरो छेउको तन्नेरी दर्शक कराइरहेको रहेछ, “लास्टै झुर !” ती ननभेज जोक्सहरु उसलाई पनि पचेनछ ।
कार्यक्रम सञ्चालकको प्रश्न फेरी तेर्सियो, “मिलनलाई बोलाउँ !” चारपटक जति चारैतिर फर्कँदै उसले प्रश्न गरिरह्यो । स्वीकारको चिच्याहट चारैतिरबाट गुञ्जिरहेको थियो । त्यसपछि नृत्य देखाउन मिलन र उसको साथी स्टेजमा चढे । कालो अङ्गे्रजी ह्याट, कालो अस्कोट, सेतो सर्ट र सुरुवाल जस्तै लाग्ने कालो पाइन्ट, साथमा एकएकवटा लौरो । उनीहरुको ‘गेटअप’ जादुगरको जस्तै थियो । पाँचवटा हिन्दी रिमिक्स गितहरु मिलाएको एउटै हिन्दी गितमा उनीहरुको नृत्य हेर्दा आफूलाई समयले निक्कै तल छोडेको महशुस भइरहेको थियो । एकपटक नाचिसके पछि दर्शकहरु चिच्याए, “वन्स मोर ! वन्स मोर !!” नृत्य दोहोरियो ।
यत्तिकैमा नाच्दानाच्दै एउटा नर्तकले आफूलाई सम्हाल्न सकेन । उसका खुट्टा लरबराए, जिउ थामिएन र स्टेजमा घोप्टो प¥यो । कसैले एकमुठी रङ्ग हावामा उडायो । रङ्ग हानाहान शुरु भयो । अरु आठदश भाइ स्टेजमा चढे । कसैले लोला हाने, कसैले रङ्ग हाने । रङ्ग दलादल, घसाघस प्रतियोगिता जस्तै शुरु भयो । रङ्ग दल्दादल्दै एउटा केटो स्टेजबाट लड्यो, पछाडीबाट कसैले ठेलेछ । अर्कोले पनि आफू सामुन्नेकोलाई एक लात्ति दियो– ‘किन लडाइस उल्लाई ?’
जवाफ दिनुपर्ने केटो पनि स्टेजबाट झरिसकेको थियो । उसले जवाफ पाएन, बद्लामा टाउकामा रड बज्रियो । रन्थनिँदै त्यहीँ ढल्यो । त्यसपछि कसले कसलाई हान्यो, कसले कसलाई कुट्यो केही थाहा हुन छोड्यो । फेरी अर्को कसैले केही नदेखिने गरी रङ्ग उडायो । कसैले कसैको अनुहार देखेन, खालि रङ्ग र लोला मात्र हानिरह्यो । मुक्का र लात मात्र हनिरह्यो । मसँग भाग्नुको विकल्प थिएन । हत्तारहत्तार त्यहाँबाट भाग्न खोज्दै थिएँ, छातीमा एउटा रङ्गको लोला आएर फुट्यो । सर्ट जम्मै रात्तै भयो ।
त्यहाँबाट निस्किएर सोचेँ, “परिवर्तन हुनु राम्रै कुरा हो तर यो परिवर्तनको दिशा ठीक छैन ।”
होली ‘ह्याप्पी’ भएन, रङ्गबाट शुरुभयो र रगतमा टुङ्गियो ।
२०६८ चैत्र २४
किर्तिपुर, काठमाडौं ।
(स्रोत : Rohit’s Blog )