ह्याप्पी होली !

~रोहित खतिवडा~

उसँग मेरो परिचय कहिले भयो, सम्झना छैन । अक्सर गरेर बाटोमा जम्काभेट मात्रै हुने हो दुइको– झण्डै दुइ बर्ष देखि चलेको प्रक्रिया । “दाइ नमस्ते !” भन्छ खै केको आदरले हो । “नमस्ते भाइ ! के छ खबर ?” सोध्छु, खै केको मायाले हो । “ठिकै छ” भन्छ र संवाद टुङ्गिन्छ । 
कहिलेकाहीँ यसो नियालेर हेर्छु । उसको जुत्ता, पाइन्टको स्टायल र लागाउने बिन्दु विल्कुल फरक छ । कालो ‘बडीभेष्ट’ उसको ‘फेवरेट’ हो, प्राय त्यही भेष्ट र रातो हाफ ज्याकेट लगाउने गर्छ । ज्याकेटको पछाडी बोब मार्लिको गाँजा तान्दै गरेको बिरुप पेन्टीङ छ । कपाल सधैं टाउकाको दवैतिरको आधा–आधा मात्रै काट्छ, मेसिन लाएरै  । बिचमा अगाडी देखि पछाडिसम्मै छोडेको जति भालेको सिउर जस्तै देखिन्छ । भाले–यो त ‘सिम्बोलिक’ छ क्यार !  उसको सिउर पनि ‘सिम्बोलिक’ र रङ्गीन छ ।
अस्तिका दिन बाबुचाहिँले घोषणा ग¥यो रे, “यो सकियो ! मेरो छोरो बिग्रीयो !” भनेर । त्यसो होइन, बाबुले पनि छोरालाई संधै आफ्नो जवानीमा जस्तो देख्न चाहनुभएन । उसको समय पनि बुझ्नु प¥यो नि ! रहरहरु मारेर बोक्रे भलाद्मी बन्न कहाँ सक्छ त आजको ठिटो ? सम्झाउन पर्ला एकचोटी उसको बाबुलाई, सोच्दै थिएँ ।
–––––––––––––––––––––––––––––––––
आज होली !
इलाममा होली अरु तिर जस्तो अनियन्त्रित हुँदैन । पहाडतिर होली अहिलेसम्म यस्तै नै हुन्छ । यहाँ आफूआफू जम्मा भएर रमाइलो गर्ने र होली मनाउने सभ्य तरिका छ । कसैले पनि नचिनेका मान्छेलाई लोला हान्दैनन्, जबरजस्ती रङ्ग दल्दैनन् । उमेरमा÷जवानीमा गर्नु पनि पर्छ नि हौ रमाइलो । होलीका थुपै्र राम्रा पक्ष पनि छन् । यो निक्कै रमाइलो पर्व हो ।  तर, मैले चाहिँ आजसम्म होली खेलेका छैन, सानै देखि खेल्न मन नलाग्ने । साँच्चै ! मलाई रङ्गसँग खेल्न मनै लाग्दैन ।
आज पनि बजारमा होलीको रौनक राम्रै होला– मलाई लागेको थियो । मलाई बाहिर निस्कन त्यस्तो जाँगर चलेकै थिएन । जे होस् एकचोटी बाहिर निस्किएर होलीको रमाइलो त हेरौँ जस्तो पनि लाग्यो । दिउँसो १२ बजे तिर अल्छि मान्दै बाहिर निस्किँए । बजार रङ्गिन थियो, मान्छेहरु रङ्गीन थिए, मनहरु रङ्गिन थिए । होलीको उमङ्ग बजारमा नाचिरहेको थियो । त्यही रमाइलो हेर्दै म पनि चोकसम्म निस्किँए ।
एक हुल केटाहरुसँगै ऊ पनि यतै आउँदै रहेछ । हेरेँ; केटाहरु कति स्वतन्त्र छन् । आफ्नै मनले डोहोरिन पाएका । न बौद्धिकताले थिचेको छ, न विवेकले, न व्यवहारले । स्वतन्त्र पक्षी जस्ता छन् यी ठिटाहरु । आह्रिस लागेर आउँछ उनीहरुको स्वतन्त्रताको । आफूले उमेरमा कहिल्यै पनि त्यस्तो रमाइलो गर्न सकिएन– अहिले सम्झिएँ । ती दिनहरु विरक्त मान्दामान्दैै बिते ।
केटाहरुको हुलमा अरु दुइटी केटीहरु पनि थिए । त्यहाँ केटीहरु पनि हुन सक्छन्, पाउँछन् । परिवर्तन देखिन थालेको छ । मैले यही महशुस गर्दैगर्दा केटो मेरो छेउमा आइसकेको रहेछ । “दाइ नमस्ते !” भन्यो । “नमस्ते ! होली खेलिँदै छ ! खुब रमाइलो छ है ?” वास्तवमा यो मेरो इष्र्या बोलेको थियो ।  सायद उसले बुझेन । भन्यो, “बर्षदिनमा एक दिन आउने चाड, अनि रमाइलो नगरेर कहाँ भो’ र दाइ ? अरु दिन त उही हो; घरमा बाउको गाली र आमाको किचकिच, कलेजमा सरले उस्तै टेन्सन दिन्छ । होमवर्क, प्राक्टीस, प्राक्टिकल, इक्जाम गर्दा सधैं टेन्सनै–टेन्सन हुन्छ । आज ‘टेन्सन फ्रि’ हुने दिन हो ।”
मैले सोचेँ, “मेरोचाहीँ ‘टेन्सन फ्रि’ दिन कहिल्यै पनि आउँदैन !” भनेँ, “गर्लफ्रेण्डको पनि टेन्सन हुन्छ होला नि हैन ?”
“हल्का !” उ हल्का लजाएर मुस्कुरायो ।
“अनि पकेट मनिको नि ?”
“मेन भनेको त त्यै त हो नि ।” उसको सबैभन्दा ठूलो समस्या होलाको अनुमान गरेँ ।
उसको कपाल आज अलिकति हरियो, अलिकति सेतो, बाँकी कालो र रातो थियो । अनुहारमा आँखा बाहेक सबैतिर रङ्ग पेन्टिङ्ग गरेको थियो । निदारको बिचमा सेतो, दुवैतिर रातो, गाला हरियो रङ्ग्याएर बिचमा रातो रङ्गले प्रेमको सङ्केत, मुटुको सङ्केत–पानको पातको आकृति पोतेको थियो । त्यही बडिभेष्ट र रातोहाफ ज्याकेट लगाएको थियो । जिन्सको हाफ पाइन्ट, चारपाँचवटा साङ्ली पाइन्टको गोजी र बेल्टमा झुण्डाएको ।
उसलाई हेर्दाहेर्दै अर्को केटो अगाडी आइसकेको थियो, “अनि दाइको निदार त आज पनि सादा छ नि हौ । यस्तो त भएन नि दाइ !” अर्की केटीले थपी, “ यस्तो स्याड हुनुभएन नि दा ।” यो केटी दार्जिलिङ तिर पढेकी हुनपर्छ, मैले अड्कल काटेँ । “सरी ! म कहिले पनि रङ्ग युज गदिँन । मलाई रङ्गसँग खेल्न मन पर्दैन ।”
“दाइ म पनि रिक्वेस्ट गर्छु, यस्तो ‘स्याड’ हुनुभएन क्या । दाइ टिका मात्रै भए पनि लगाउनु पर्छ है ।” उसले पनि अनपेक्षित मधुर भाषामा अनुरोध गरेपछि के गर्ने म अलमलमा परेँ । मैले निर्णय लिइ नसक्दै उसले मेरो निदारमा रातो अविरको टिका लगाइसकेको थियो । एकै छिनमा सबै भएर मलाई रङ्गीन बनाइदिए । टाटे–पाङ्ग्रे भएर डेरा फर्किएँ ।
आज होली खेलेँ । उनीहरुको उत्साही जीवनसँग मेरो कुण्ठाको पराजय भयो । मेरो ठूलो घमण्डले, आत्मगौरवले पराजय बेहोरेको थियो । म पराजित भएको थिएँ । आफ्नो प्यारो घमण्डको मृत्यु–उत्सव मनाउँदै म डेरा फर्किएँ ।
–––––––––––––––––––––––––––––––––
त्यो दिन केही कवि साथीहरुको निम्ता मान्न फिदिम जानु थियो । होलीको दिन त्यसै गाडीको अभाव हुन्छ । गाडी भिडभाड हुन्छ । गाडीमा सिट पाइएन । झुण्डेर नेपालटारसम्म जाने आग्रह आयो । ‘हुन्छ’ नभनेर अर्को उपाय पनि थिएन, चढँे । उनीहरु पनि त्यही गाडीमा बिब्ल्याँटे जान चढेका रहेछन् । सबै छतमा चढे, म पनि मिसिएँ । आज जीवनलाई नयाँ ढङ्गले महशुस गरिरहेको जस्तोभइरहेका थियो । महशुस गर्दै थिएँ कि यस्तो उल्लासमय जीवन पनि सम्भव रहेछ । शरीरमा बगेको रगत नयाँ लागिरहेको थियोे । स्पर्श गरिरहेको हावा नयाँ थियो । महशुस गरिरहेको उत्साह नयाँ थियो ।
उनीहरु बाटामा देखिएका सबैलाई “ह्याप्पी होली” कराउँदै जान्थे । केटाहरु केटीहरुलाई ‘विस’ गर्न आतुर देखिन्थे, केटीहरु केटाहरुलाई । ‘फ्रायडिस्टहरु !’ भनेँ मनमा । अरुहरु उनीहरुको ‘विस’लाई स्वीकार्थे र “ह्याप्पी होली” फर्काइरहेका हुन्थे । बाटामा एउटा केटोले सिकुवामा बसेर चामल केलाइरहेकी बुढी हजुरआमालाई “हजुरआमा ! ह्याप्पी होली है !” करायो ।
“ह्याप्पी होली…!” गाडी छेलिनै लाग्दा बुढीआमै चिच्याइन । अलिकति चामल पोखियो । गााडीको छतमा हाँसोको बर्षा भयो । हाँसेरै लडिएला जस्तो भयो । केटोले थप्यो, “बाफ रे ! सुड्डीले दाम्मी दियो त यार ।” म पनि नहाँसी कहाँ रहन सकेँ र ? दिल खोलेर हाँसेँ ।
म समय भन्दा कयौं माइल पछाडी छोडिएको यात्री हँु त ? जवाफविहिन प्रश्न आफैँलाई गरेको थिएँ  ।
“ला……..! मेरो घर आयो । सुड्डोले देख्यो भने त लास्टै गीदी गर्छ । म लुक्छु है त ।” एउटी छलिएर बसी । एकछिनलाई छत शान्त भयो । यो सुनसान असुहाउँदो लागीरहेको थियो, एकछिन नबोल्दा गुम्सिरहेका होलान् जस्तो । उसको घर काटिएछ क्यारे अर्को एउटा बोल्यो, “आफ्नो त घरमा सुड्डीले काम छ छिट्टै आउनु भन्या थियो । बेलुका पनि नपुगिने भो । लास्ट गाली खाइने भो यार ।”
उसले पनि आफ्नो कुरा राख्यो, “आफ्नो त घरमा नै बसे पनि त्यही किचकिच सुन्नु पर्ने हो, हिँडे पनि घर गए पछि उस्तै । बरु साथीहरुसँग हुँदा एकछिन भए पनि ‘रिल्याक्स’ हुन्छ ।”
“ओ घरको कुरा, टेन्सनको कुरा छोडन यार ! आज त लास्ट रिल्याक्स गनुपर्छ । फूलनाइट सेलिब्रेसन विद रोयल स्ट्याग ।” अर्काेले थप्यो ।
“या……………..स ।” सबैको एकै स्वर थियो ।
युवाहरु किन यसरी घरबाट बिरक्तिन्छन्, किन रमाउन सक्दैनन् घरमा ? घर बाहिर–बाहिर  कस्तो भविष्य खोजिरहेका छन् यिनीहरु ? घरलाई जेल ठान्ने र घरबाट निस्कनुलाई मुक्ति ठान्ने सोच कसरी पलाउँदो हो ? अनुत्तरित प्रश्नहरुले म थिचिइरहेको बेला उनीहरु गाडीबाट ओर्लिए ।
मैले दिनभरी सोचिरहेँ, घरबाट छलिएर, भागेर, लुकेर हिडिरहेका युवाहरुले हाम्रो समाजको कस्तो भविष्य बनाउँदैछन् । मेरो उत्साह पनि उनीहरुसँगै गाडीबाट ओर्लियो ।
–––––––––––––––––––––––––––––
फिदिममा गाडीबाट ओर्लिने बित्तिकै माइकको आवाज सुनेँ । के रहेछ ? पत्ता लगाउन उकालो चढेँ । अलि मास्तिर चोक जस्तो परेको ठाउँ रहेछ । त्यहाँ मान्छेहरु भेला भएको पनि देखेँ । म पनि त्यही भिडमा घुस्रिएँ, ‘ह्याप्पी होली लाइभ कसन्र्ट’ रहेछ । स्थानिय एक ब्याण्डले आयोजना गरेको । एकछिन हेर्ने विचार गरेँ ।
घर भत्काएको ठाउँमा केही खाटहरु राखेर स्टेज बनाइएको । स्टेजमा एउटा केटो कार्यक्रम सञ्चालन गर्न उभिएकोे । दर्शकहरु धरै किशोरकिशोरी र अरु युवाहरु । प्रौढहरु अपवादको रुपमा मात्रै दुइ सय जना जतिको भीडमा ।
“गुड इभिनिङ्ग गाइज एण्…………..ड ह्या……………..प्पी होली………..” कार्यक्रम सञ्चालक चिच्यायो । “ह्याप्पी होली !!!” दर्शकदिर्घबाट प्रत्युत्तर आइरहेको थियो । कार्यक्रम सञ्चालनको शैली मलाई नयाँ र रोचक लाग्दै थियो । यस्ता कार्यक्रमहरु अनुभव नै नगरी, स्वादै नचाखीकन बहिष्कार मात्र गरिएछ । समयको माग बुझ्न सकिएनछ । जे होस् रमाइलो छ ।
“एण्ड लभ यु अल सो मच !” उ चिच्याइरहेकै थियो । सोध्यो दर्शकलाई, “ओ गाइज ! सुन्ने हो जोक्स ?” “सुन्ने !” मेरो सम्मुखमा रहेका तन्नेरी दर्शक चिच्याए । उद्घोषकले म तिर र्फिर्कएर औंलो तेस्र्याउँदै प्रश्न दोहो¥यायो । एक पटक मेरो वरीपरी रहेका दर्शक तात्तिए, “सुन्ने हो !” सबै उफ्रिँदै गर्दा मेरो देब्रे तिर उभिएको केटाको हात अगाडी उभिएकी केटीको छातीमा थियो । नचाहँदा नचाहँदै उसँग मेरा आँखा जुधिहाले  । हत्त न पत्त भुईंतिर अनुहार घोप्ट्यायो । “ठिकै छ !” म मुसुक्क हाँसिदिएँ । धन्न केटीको अनुहार देखिँन ।
जोक्स सुनाउन एउटा हाँस्यकलाकार स्टेजमा चढीसकेको रहेछ । म ध्यानमग्न भएर उसको जोक्स सुन्नथालेँ, “असलामाछा एकएक पिस, ओ माइ डार्लिङ्ग गिभ मी किस !” उसको उद्घाटन थियो । ‘वाउ–वाउ’को आवाजसँगै लरबरीएको बोलीमा थियो । छेउमा कसैले टिप्पणी गरेको सुनेँ, “ए हेर त सुयोग त अघि नै मातिसकेछ ।”  अलि पर उसको जोक्स सुृनेर एकजना अधबैंशे मानिस मुख रातो बनाउँदै शिर निहुराएर फर्किरहेका थिए । सायद उनलाई आफ्ना छोराछोरीको समय पचिरहेको थिएन । यता तन्नेरी दर्शकहरु भने चिच्याइचिच्याइ उसलाई साथ दिइरहेका थिए ।
हाँस्यकलाकार स्टेजबाट बिदा भएपछि कार्यक्रम सञ्चालकले प्रश्न ग¥यो, “कस्तो लाग्यो ?”  सबै दामी भन्दै चिच्याइरहँदा मेरो छेउको तन्नेरी दर्शक कराइरहेको रहेछ, “लास्टै झुर !” ती ननभेज जोक्सहरु उसलाई पनि पचेनछ ।
कार्यक्रम सञ्चालकको प्रश्न फेरी तेर्सियो, “मिलनलाई बोलाउँ !” चारपटक जति चारैतिर फर्कँदै उसले प्रश्न गरिरह्यो । स्वीकारको चिच्याहट चारैतिरबाट गुञ्जिरहेको थियो । त्यसपछि नृत्य देखाउन मिलन र उसको साथी स्टेजमा चढे । कालो अङ्गे्रजी ह्याट, कालो अस्कोट, सेतो सर्ट र सुरुवाल जस्तै लाग्ने कालो पाइन्ट, साथमा एकएकवटा लौरो । उनीहरुको ‘गेटअप’ जादुगरको जस्तै थियो । पाँचवटा हिन्दी रिमिक्स गितहरु मिलाएको एउटै हिन्दी गितमा उनीहरुको नृत्य हेर्दा आफूलाई समयले निक्कै तल छोडेको महशुस भइरहेको थियो । एकपटक नाचिसके पछि दर्शकहरु चिच्याए, “वन्स मोर ! वन्स मोर !!” नृत्य दोहोरियो ।
यत्तिकैमा नाच्दानाच्दै एउटा नर्तकले आफूलाई सम्हाल्न सकेन । उसका खुट्टा लरबराए, जिउ थामिएन र स्टेजमा घोप्टो प¥यो । कसैले एकमुठी रङ्ग हावामा उडायो । रङ्ग हानाहान शुरु भयो । अरु आठदश भाइ स्टेजमा चढे । कसैले लोला हाने, कसैले रङ्ग हाने । रङ्ग दलादल, घसाघस प्रतियोगिता जस्तै शुरु भयो । रङ्ग दल्दादल्दै एउटा केटो स्टेजबाट लड्यो, पछाडीबाट कसैले ठेलेछ । अर्कोले पनि आफू सामुन्नेकोलाई एक लात्ति दियो– ‘किन लडाइस उल्लाई ?’
जवाफ दिनुपर्ने केटो पनि स्टेजबाट झरिसकेको थियो । उसले जवाफ पाएन, बद्लामा टाउकामा रड बज्रियो । रन्थनिँदै त्यहीँ ढल्यो । त्यसपछि कसले कसलाई हान्यो, कसले कसलाई कुट्यो केही थाहा हुन छोड्यो । फेरी अर्को कसैले केही नदेखिने गरी रङ्ग उडायो ।  कसैले कसैको अनुहार देखेन, खालि रङ्ग र लोला मात्र हानिरह्यो । मुक्का र लात मात्र हनिरह्यो । मसँग भाग्नुको विकल्प थिएन । हत्तारहत्तार त्यहाँबाट भाग्न खोज्दै थिएँ, छातीमा एउटा रङ्गको लोला आएर फुट्यो । सर्ट जम्मै रात्तै भयो ।
त्यहाँबाट निस्किएर सोचेँ, “परिवर्तन हुनु राम्रै कुरा हो तर यो परिवर्तनको दिशा ठीक छैन ।”
होली ‘ह्याप्पी’ भएन, रङ्गबाट शुरुभयो र रगतमा टुङ्गियो ।
२०६८ चैत्र २४
किर्तिपुर, काठमाडौं ।

(स्रोत : Rohit’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.