लेख : यज्ञनिधि र पुरस्कार

~डा. लेखनाथ काफ्ले~Lekhnath Kafle

‘जदौ’ भन्दै बिहान बिहानै ‘साहित्य संसार’ रेडियो साहित्यिक कार्यक्रम मार्फत आउने ‘यज्ञनिधि दाहाल’ ले आफ्नो मौलिक स्वर र रचनाहरु बाचन गर्ने जादुमय कला मार्फत सरल भाषामा नेपाली साहित्यलाई जनता समक्ष पुर्‍याए । साहित्य जस्तो गम्भीर र अफ्ठ्यारो विधालाई जन-जिब्रोमा पुर्‍याउने उनको कार्य निकै महत्वपूर्ण छ । यज्ञनिधि दाहाल असली नाम भए पनि उनी दाहाल यज्ञनिधि भनेर आफुलाई चिनाउछन, ‘यज्ञनिधि त पछि आएको हो, दाहाल त जन्मिनासाथ जोडिएको हो । पहिले आएको पहिले पछि आएको पछि’उनको सजिलो ब्याख्या । खोटाङ खाल्ले ८ धारापानीमा बि. सं. २०१० साउन ४ गते जन्मेका उनी माता कृष्णा कुमारी पिता तारानाथ दाहालका जेठ छोरा हुन् ।

उनले रेडियो नेपाल मार्फत नेपाली साहित्यको २०३४ साल देखि २०६१/६२ सम्म निरन्तर सेवा गरी नेपाली साहित्यिक ज्ञानको घेरालाइ नेपालीहरु माझ फैलाईरहे । उनका दुईओटै मृर्गौलाले काम गर्न छाडेपछी २०५७ साल फागुन १० गते मृर्गौला प्रत्यारोपण गरीएकोमा प्रत्यारोपण गरीखिएका दुईओटै मृर्गौलाले पनि राम्ररी काम नगर्नाले २०६८ साल साउन २२ गतेदेखि उनी ओछ्यान परेकाछन् । ‘बिराम आइलाग्यो रुन्चे मुख लाएर भएन । कहिलेकाही बोल्नै नसक्ने बनाएर झयाप्पै छोप्छ । मर्ने बेला त मान्छे बोल्छ नि, बोल्ने तागत रहेसम्म मान्छे बोल्छ म बोल्दै छु’ उनि यसै भन्छन।

मैले दाहाल यज्ञनिधिको बारेमा लेख्न बस्दा खगेन्द्र संग्रौलाको एउटा प्रसंग मेरो सम्झना कुदिरह्यो। संग्रौला भन्छन् “यदि कसैले मैले साहित्यमा लागेर नेपाली भाषा साहित्यलाई गरेको योगदानलाई राज्यले हेरेंन, मान-सम्मान केही गरेन भन्छ भने त्यो सच्चा सर्जक हुदै होइन। हामि आफ्नो रुची र इच्छाले साहित्यमा लाग्ने हो कसैको करकापले होइन। नेपालमा साहित्य पेसा होइन रुची हो। साहित्यमा लागेर केही पाउँछु भन्ने छ भने त्यस्ताले साहित्यमा नलागेकै बेश”। मलाई त्यो लेख पढ्दा यी गनगने कुन्सांग काका खगेन्द्र जहिले पनि बांगा कुरा मात्रै लेख्छन भन्ने लागेको थियो। तर पछी हाम्रो परिबेश र अबस्थामाबारे मथिंगल तताएपछी र केही घोत्याईंपछि लाग्यो उनको भनाइ त एकदम सहि पो रहेछ।

दाहाल यज्ञनिधि खगेन्द्र संग्रौलाले देखेका र लेखेका तिनै पात्र हुन् जो आफ्नो मनैबाट साहित्यमा लागे, त्यो पनि केही पाउँला र हुँला भन्ने आशा नगरिकनै। उनि लागे र लागिरहे। उनलाई दुख दिने कति भए, प्रताडना गर्ने कति भए, अझै कसैले त व्यक्तिगत गाली गरेर लेख्न पनि भ्याए तर पनि उनि लागिहे। साहित्य उनको फेर्ने स्वास र सोच्ने बिचार हो। स्वास फेर्न र सोच्नको लागि कोहि कसैसंग आशा र माग गरिन्छ र ?

आफ्नो आदर्शलाई अगाडी राखेर त्यसैलाई पछ्याउने निकैकम नेपालीहरुमा यज्ञनिधि पनि पर्दछन। उनि बीपीको प्रजातन्त्र र समाजबादमा निरन्तर आस्थावान भए बितेका गणेशमान र बाँचेका प्रदिप गिरी जसरी। तर उनले आश गरेको र भरपरेको पार्टी भने उनको आदर्श भन्दा धेरै टाढा भर्खरै बितेकी बेलायती भुपु प्रम मार्गरेट थ्याचरको नवउदारबाद र निजीकरणको स्विमिंग पुलमा बाकटे खेलेको धेरै भैसकेको छ। त्यसैले त उनका राजनीतिकर्मी बढी र नेताकमका भएका र राजनीतिलाई सेवा भन्दा पेसा बढी बनाउने सहकर्मी बुख्याँचाहरु सडकपतिबाट अरबपति हुँदा समेत दाहाल भने जस्ताको त्यस्तै रहे।

नेपालमा हुने प्रत्येक आन्दोलन र परिवर्तनमा उनलाई अगाडी सारेर रगत तताउने कुरा बर्षाउन लगाए नेतागणले। उनि पनि हौसिए र भने “जदौं”। आन्दोलन सकियो र सकियो उनको उपादेयता पनि। रेडियोमा “जदौ” भनेर देशभरि साहित्यलाइ जनजन सम्म पुर्‍याउने उनलाई नेपालका अरु पार्टीका नेताहरुको त के कुरा आफुले मनमा राखेको पार्टीका कुनै समय संगै सडक तताएकाहरुले पनि अछुत कै ब्यबहार गरे। यस्तो लाग्दथ्यो उनि समाजमा हेपिएका दलितहरुले संरक्षण गरेको शब्द “जदौ” बारंबार रेडियोबाट ओकल्दै थिए। अनि उनलाई पनि केही मानिसहरु दलितको दायरा भित्रै राखेर ब्यबहार गर्दथे। उनको नेपाली भाषालाई गाउँगाउँ सम्म पुर्‍याउने काम पनि नेपाली साहित्य हाम्रो मात्रै पेवा हो भन्ने केही सम्भ्रान्त र साँघुरो सोचाई राख्ने बर्गले पचाउन सकेन, सकिराखेको छैन। त्यसले त उनलाई झनै बिद्रोही बनायो जो आफ्नै सहकर्मीहरुको पनि स्वार्थ बिपरित थियो। तर पनि उनि बदलिएनन् बिद्रोही नै बने, स्वरमार्फत साहित्य र जनजागरणको लामो, अफ्ठ्यारो र घुमाउरो बाटोमा हिंडीरहे निरन्तर, जीवन नपहेलिंजेल, जीवन नगलुंजेल, स्वरमा कम्पन रहुन्जेल।

उनी आन्दोलनमा अगाडी अगाडी हिड्दा पछीपछि लाग्नेहरु आन्दोलन पछि राज्य र समाजबाट लिन सकिने र पाउन मिल्ने सबै सुखसुबिधा प्राप्त गर्ने ठाँउमा पुगे। उनलाई भने खोला तर्दा प्रयोग गरिएको लौरो वा डुंगा जस्तो खोलाको अर्को किनारा तीरमै छाडियो। त्यो डुंगा जुन धन र मान प्राप्तिको गन्तव्यमा पुग्न हतारिएको मनुवालाई व्यवधानहरूको गहिरो नदी सुरक्षित तारिदिन्छ र पर्खेर बस्छ तिनै यात्रुहरुको जुन एकदिन फेरी फर्केर आउने छ भन्ने आशामा। तर उनलाइ थाहा थिएन सहकर्मीहरु कहिल्लै फेरी फर्केर आउने छैनन् किनकि उनीहरुको गन्तव्य, बाटो र साधन बदलिसकेको छ। तै पनि खोला तारिदिने माझी उनि कसैलाई गुनासो गर्दैनन।

सायद एउटा आदर्शवान मान्छेहरुको लाममा उनि सधै अगाडी बसेरै होला, उनकै सहकर्मी मन्त्रि बने, डाइरेक्टर बने, जीएम बने पनि उनि भने ध्रुवतारा जस्तै सधै चिसो उत्तर दिशा मै टिलपिल, जहाँको त्यही रहे । उनले त्यही जीवन रोजे, त्यही जीवन भोगे जुन उनको विचार सुहाउँदो थियो, आफ्नो मनको तरंग अनुरूप थियो। उनले आदर्शलाई मोलमोलाइ गरेनन, बिक्रीमा राखेनन्, निधार वा छातीमा टाँसेर देखाउदै हिडेनन। उनको आदर्श उनको जीवन पद्दति बन्यो।

नेपाली साहित्यमा दिइने पुरस्कारहरु पनि एनजीओ वा पसल जस्ता भएका छन्। निश्चित स्वार्थ र उदेश्य प्राप्त गर्नको लागि बाँडिने बक्शिस जस्ता छन् पुरस्कारहरु । महाकबी लक्ष्मीप्रसाद देवकोटा समेत मदन पुरस्कार पाउनलाएक भएनन् भने यज्ञनिधिले नेपालका कुन पुरस्कार पाउलान र ? फेरी मलाइ पुरस्कार र सम्मान चाहियो भन्दै जुम्लाहात र लम्पसार गर्ने मनुवा उनि परेनन्। “लोकले चिने र आफुले कर्म गरे, भैहाल्यो नि। पुरस्कारले के नै लछारपाटो लगाउछ र ?” भन्ने उनको बिचारले आदर्शको बदलामा पुरस्कार साट्न र बाँड्न बसेका खुद्रा र होलसेल पसलेहरुलाई बिझाउने नै भयो। उनि तिनीहरुको आँखामा बिझ्ने, मनमा घृणा पैदा गर्ने र मुटुमा डर उत्पन्न गर्ने अर्कै लोकका जीवात्मा बनेर निस्के। त्यसैले उनि न यताका बने न उताका। खासमा कसैका पनि होइन र पनि सबैका हुन, उनि आफ्नै हुन्, आफूजस्तै हुन चाहन्छन न की अरुको फर्मामा पसेर अरुले भने जस्तो रुपमा ढालिने पग्लेको ढलौट।

दुखी, पछाडी पारिएका र दबाइएका नेपाली जनजनको माया, उनि प्रतिको भरोसा र बिश्वास अहिले पनि उस्तै छ जुन पहिले थियो। उनि जनताको लागि प्रत्येक शासकको बिरोधी खेमामा रहे भलै त्यो आफैले कुनै दिन मनले खाएको नेता र पार्टीको सरकार किन नहोस। त्यही शाहस र विद्रोहका कारणले पनि उनि गाँउमा, सहर, गल्लि चोकमा चर्चित छन्। मलाई डर र शंका लाग्छ, उनको मृत्युपछि केही मानिसहरुले उनको नाउँमा पुरस्कार स्थापना गर्नेछन्, फोटाहरुमा माला लगाएर आँशू झारेको नाटक गर्नेछन् नारायण गोपाललाई जस्तै वा कुनै पार्टीले आफ्नो झण्डा समेत ओढाउने छ, स्व. गणेशमानकोलाई जस्तै।

यज्ञनिधिले फेरी अर्को बिद्रोही स्वर निकालेर मृत्यु शैयाबाट बौरिएर भन्नु पर्ने छ “मेरो मृत्युपछि मेरो जीवन भरिको कमाइ, मेरो बिश्वास र आदर्शलाइ बिक्रिमा राख्ने काम नगर। मेरो नामको ब्यानर बनाएर मेरो आदर्श बिपरितको पसल नखोल। बाँचुन्चेल दानव देख्नेहरु हो ! मरेपछि देउता बनाउने प्रयास नगर। यो लोकमा मैले जे गरे, जे पाए त्यसमा पुरै खुशी छु। बाँचुन्चेल मेरो खुशीमा खुशी हुन नसके पनि, दुख्खमा सहभागी नबने पनि, सक्छौ भने मृत्युपछी मलाई नपछ्याउ। बरु आफैले एउटा राम्रो काम गर। आफ्नो लागि होइन समाज र पछाडी पारिएका र हेपिएका, दबाइएकाहरुको लागि केही गर। मलाई कुनै झण्डा र पार्टीमा सीमित नगर म बाँचुन्जेल जनताकै भए र मरे पछी पनि जनताकै हुन चाहन्छु। म त्यसैलाई मेरो सच्चा सम्मान ठान्नेछु”।

जदौ !

उनको चर्चित एउटा कबिता ढिकुरोको गीत

टालेको टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया ? मजेत्री सिउने स्यो छैन यो देशमा
होलाकी भन्दा बुलाकि गयो के लाउनु गहना
बेसहा खोज्ने माझीलाई मार्दा भाँचियो बहाना ।

भिरालो बाटो गलेनी फाटो धराली भासियो
जुनदिन यँहा स्वतन्त्रताको प्रणाली मासियो
बिरालो पाली सिंह हो भन्ने शासनको सोख भो
भाइ-भाइको रगत पिउने यँहा एउटै कोख भो ।

सन्तान तिम्रा सन्तान मेरा यो देशका हैनन रे
समुच्चा देश एउटाको बिर्ता हत्यारा कैरन रे
कम्मरु कस्ने पटुकी फुकाइ कात्रोमा हालियो
फाटेको चोली च्यातेर खोलि चितामा बालियो ।

बलिन्द्र धारा त्यो आँशु पुछ्ने पोइ पनि रहेन
एकसरो गुन्यू किन्दिने कोहि माइती भएन
कठाले टालो टाउकोमा हाल्यो बुल्बुले यी केसमा
मगेर्नी मैया मोहतो तुन्ने स्यो छैन यो देशमा ।

***

June 19th, 2013

(स्रोत : Mysansar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.