लेख : बिसन्चो जदौ

~रामजी दाहाल~

रेडियो नेपालको साहित्य संसारमा ‘जदौ’ बाट शुरू हुने एउटा विनीत तर, प्रभावशाली स्वर सम्झ्ने नेपालीको एउटा ठूलो पुस्ता छ । काठमाडौंको अनामनगरस्थित ‘दाहालको दैलो’ मा दाहाल यज्ञनिधिको आउजाउ पातलिएकोमा चिन्तित हुने पनि निकै छन् । दुवै मिर्गौला प्रत्यारोपण गरेर एक दशकदेखि मध्यशहरको कोलाहलबाट केही पर मन्डिखाटारमा बस्न थालेका उनी अहिले अनामनगरस्थित घर आउन चाहँदा पनि नसक्ने अवस्थामा छन् । २०५७ फागुनमा भारतमा मिर्गौला प्रत्यारोपण गरेपछिका दिनहरू यी ‘जदौ दाहाल’ का लागि सहज भएनन् । हरेक साता सोमबार र बिहीबार राष्ट्रिय मिर्गौला केन्द्रमा डायलसिस गराउनु उनको रुटिङ हो । “डायलसिस सफल भएको दिन फुरुङ्ग हुन्छु, नभएको दिन केही निराश”, दाहाल भन्छन्, “यस्तै छ, अहिलेको हाल ।” धन्न उनको हेरचाहमा सुधा जस्ती समर्पित श्रीमती छिन् ।

जदौको जादू र जोडबल

२०१० मा खोटाङको खाल्लेमा जन्मिएका दाहाल धरानको वेद विद्यालयमा अध्ययन गरी २०३१ सालमा काठमाडौं पसेका थिए । कमजोर आर्थिक अवस्थाका कारण सकसपूर्ण बाल्य र युवाकाल बिताएका उनी २०३४ मा रेडियो नेपालको साहित्य संसार कार्यक्रममा छिरेका थिए । त्यसयता रातारात भने झै गरी दाहाल र उनको कार्यक्रम लोकप्रिय भयो । यसमा उनले खोजेका सामग्री र ओजिलो स्वरले जादूको काम गरेको थियो ।
दाहालले मूलतः पूर्वी पहाडी लयको प्रतिनिधित्व गर्थे, तर उनको साहित्य संसार पश्चिम पहाडमा पनि लोकप्रिय भयो । कारण थियो, उनले गर्ने ‘जदौ’, आफूलाई भन्ने दाहाल यज्ञनिधि र पहाडी जीवनको सामीप्य । रेडियो नेपालमा दाहाललाई पछ्याएका नवराज लम्साल दाहालको समयमा साहित्य संसार कार्यक्रम रेडियो नेपालको मूल भँगालो भएको थियो, जुन अहिले सुकेको छ । लम्साल भन्छन्, “उनी साहित्यलाई आम मानिसका रुचिको विषय बनाउँथे ।”
प्रस्तुति, भाषा र स्वरका हिसाबले दाहाल अरूभन्दा धेरै पृथक् छन् । उनको कार्यक्रमले कतिसम्म प्रभाव पारेको थियो भने, पाल्पाका एक जना श्रोताले साहित्य संसार सुन्न दशैंका लागि पालेको खसी बेचेर रेडियो किनेका थिए ।

अडानमा अडिग

पूर्वी पहाडको दुःखबाट उठेका दाहाल यज्ञनिधि होश सम्हाल्न सक्ने भएदेखि नै स्वतन्त्रता र प्रजातन्त्रका आग्रही बनेका थिए । उनले रेडियोमा जागीर पाएको वेला उत्कर्षमा रहेको पंचायती व्यवस्थाले बीपी कोइरालालाई अराष्ट्रिय तत्व (अत) भन्दै खेदो खनेको थियो । दाहालले ध्रु्रवचन्द्र गौतमको उपन्यास डापी माथि अच्युतरमण अधिकारीले गरेको समालोचनामा बीपीको नाम उल्लेख भएको निहुँ पारेर रेडियोमा चार पटक फुकिदिए । “सरकारी रेडियोबाट ‘अत’ को नाम प्रसारण गरेकोमा जागीरै चट् पार्ने गरिको ३८ बुँदे स्पष्टीकरण सोधियो”, दाहाल सम्झ्न्छन्, “भोलिपल्ट संचारमन्त्री हरिबहादुर बस्नेतलाई मन्त्रीक्वाटरमै भेटेर थमौती गराएँ ।”
२०४६ सालको परिवर्तनपछि पनि दाहालले राजनीतिक कोपभाजन सहनु प¥यो । २०४८ सालमा उनले २०१७ सालको शाही ‘कु’ पछि थुनिएका मन्त्री दिवानसिं राईले सुन्दरीजल जेलमा बस्दा लेखेको उपन्यास निर्दोष हत्या लाई साहित्य संसारको प्रसारण सामग्री बनाए । राई २०२८ सालमा मोरङको बेलबारीमा पंचायती षडयन्त्रबाट मारिएका थिए । त्यसवेला मोरङका प्रमुख जिल्ला अधिकारी रहेका भक्तबहादुर कोइराला गृहसचिव भएको समयमा दाहालले निर्दोष हत्या उपन्यासको प्रसंग प्रसारण गरेका थिए । “त्यसवेला गृहसचिवको दबाबमा परेका रेडियो नेपालका निर्देशक जैनेन्द्र जीवनले मलाई काँचै खाउँला झ्ैं गरे”, दाहाल भन्छन्, “उनीहरूले साहित्य संसारमाथि ६ महीना प्रतिबन्ध लगाए ।”

दाहालको साहित्य संसारमाथि प्रतिबन्ध लगाउनेमा नेकपा एमालेका नेता प्रदीप नेपाल पहिलो र अन्तिम संचारमन्त्री भए । २०५१ मा नेविसंघले प्रधानमन्त्री मनमोहन अधिकारीको पुत्ला रत्नपार्कमा जलाउने जुलूसमा दरबार हाईस्कूलबाट पढाएर फर्कंदै गरेका दाहाल पनि मिसिए । प्रहरीको लाठीबाट घाइते भएका दाहाल वीर अस्पतालबाट फर्कने बित्तिकै जागीरे भएर सरकार विरोधी जुलूसमा गएको आरोपमा निलम्बनमा परे । १२ भदौ २०५२ को सर्वोच्च अदालतको फैसलापछि दाहाल रेडियोमा फर्के ।

मिर्गौला प्रत्यारोपण गरेर फर्केपछि राजाको शासनकालमा रेडियोमा कार्यक्रम चलाउन खोजेका दाहाललाई तत्कालीन कार्यकारी निर्देशक शैलेन्द्रराज शर्माले दिएनन् । त्यसपछि उनले रेडियो एचबीसीमा केही वर्ष कार्यक्रम चलाए । २०६२÷६३ को परिवर्तनपछि संचारमन्त्री दिलेन्द्र बडूले कार्यक्रम संचालन गर्न बोलाएपछि भने दाहालले फेरि लोकलय समाते । आफ्नो प्रस्तुतिमा ग्रामीण भाषा बोल्न मन पराउँछन् उनी । राष्ट्रिय प्रसारणको सशक्त माध्यम रेडियो नेपालमा झ्र्रो नेपालीलाई उनैले प्रयोग गरेका हुन् । गाउँको बोलीलाई साहित्यिक पारामा पस्कने काम उनले गरे ।
कार्यक्रमको बिट मार्ने वेलामा उनले बोल्ने ‘मैजारो’, ‘कुटो कोदालो थन्क्याऔं’ शब्दावली सुन्दा ग्रामीण नेपालीहरूले रेडियोमा आफू बोलेको अनुभव गर्थे । भाषालाई कसरी छचल्काउनुपर्छ भन्नेमा आफ्नो जोड रहने गरेको उनी बताउँछन् । उखानटुक्काको प्रयोगमा मजा मान्ने दाहाल भन्छन्, “नेपालमा आवाद गर्ने आदिवासीका बोली र खस जातिको मातृभाषा नेपालीलाई समदूरीमा राखेर व्यवहार गर्नुपर्छ, कसैले हेप्न पाइँदैन ।”
लगातार दुई दशकसम्म रेडियो नेपाल मार्फत श्रोतामाझ् भिजेका दाहाल बिग्रदो स्वास्थ्यबीच पुर्खाले सुम्पेको भाषिक–सांस्कृतिक इतिहास जतन गर्नुपर्ने बताउँछन् । स्वास्थ्यका कारण कार्यक्रम चलाउन सक्ने अवस्थामा छैनन् । “घिस्रिएर कार्यक्रम चलाउनु श्रोतामाथि अन्याय गर्नु हो” दाहाल भन्छन्, “त्यसैले म श्रोतामाथि अन्याय गर्न चाहन्न ।”

June 19th, 2013

(स्रोत : Himalkhabar.com )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in लेख and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.