~जगदीश घिमिरे~
कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो पर मात्र । तर त्यहाँ एक थोक नहोस् के भने ‘पुँजी’ को गन्ध । र, त्यहाँ त्यस ठाउँदेखि वाक्क नभएसम्म बस्न पाइयोस् ।
कसरी सम्भव हुन्छ त्यो ? -हामी विवाद गर्थ्यौं ।
मास्टर हुन सक्छौं, त्यस्तै ठाउँ रहेछ भने । नत्र नोकर त हुन सक्छौँ । हामी निष्कर्षमा पुग्थ्यौँ ।
महिनौँ बिते । हाम्रो हिँड्ने दिन आएन । लाग्थ्यो यो पनि त्यस्तै मनको लड्डु हो, जुन प्रत्येक तन्नेरीले उमेरमा घिउसित खान्छ । ठर्रासँग यो कुरा उठ्थ्यो – ठर्रा छुटेपछि यो कुरा पनि छुट्थ्यो ।
ठर्राको गिलास नसमातेको बेला गर्ने हामीसँग अरु धेरै कुरा थिए ।
एक दिन अचम्भ भो । हामी हिँड्ने नै भयौँ । के, कता, टुङ्गो नभैकनै ….. ।
वैद्यले घरमा ढाँटिदियो, जगदीशको घर रामेछाप जान्छु दुई दिनको लागि भनेर ।
मैले रामेछाप (मन्थली, मेरो घर) मा ढाँटिदिएँ जिरी जाँदै छौँ दुई दिनको लागि भनेर । अनि हामी मन्थलीबाट तामाकोसी तीरैतीर जिरीतिर हिँडेका थियौँ ।
जिरीमा डा. प्रयागदत्त तिवारीसँग भेट भयो – जो त्यसबेला त्यहाँको स्विस सरकारको सहयोगमा सञ्चालित कृषिफार्मको म्यानेजर थिए । उनका पिता र मेरा पिता सल्यानको अदालत र अपिलका हाकिम थिए । त्यस परिचयले धेरै काम गर्यो । उनले अति माया गरे र नाम्चेतिर पुगेपछि जाडोबाट जोगिन लाउने मोजा र लुगा समेत दिए, जुन पछि मन्थली पुगेर मैले फर्काइ दिएँ ।
जिरीबाट पनि केही दिन हिँडेपछिको कुरा हो । त्यस दिन हामीलाई बाटामा असिनाले चुटेको थियो । अनि यौटा पौवामा दिउँसै बास बस्नु परेको थियो ।
त्यो बासमा हामीसँग बिँडी सकिएछ – हामीलाई ठूलो मर्का पर्यो । बिँडी कहाँ र कहिले पाइन्छ ? हामी सोध्थ्यौँ । ‘भोलि अनाम ग्राम बाहुनको घरमा सबथोक पाइन्छ’, बाटामा भेटिनेहरु भन्थे ।
यसरी अनाम ग्राम र त्यहाँको बाहुनको पसलसँग हामी परिचित भएका थियौँ ।
‘बाहुनको घर यै हो ?’ अनाम ग्राम पुगेर देखाइएको घरमा मैले सोधेँ ।
‘हो ।’ घरधनीले भन्यो । ऊ माथिदेखि तलसम्म शेर्पा पहिरनमा थियो । ‘किन ? के चाहियो ? आउनुस् बस्नुस् ।’ उसले भन्यो ।
‘चाहिन त धेरै थोक चाहिएको छ । तर बाहुनको पसल भन्थे …’ मैले ऊ बाहुन हो र त्यो घर पसल हुनामा शङ्का गरेँ ।
उसले सफाइ दियो- ‘अघि हाम्रो पुर्खामा एक जना बाहुन थियो रे… । हाम्री बजू शेर्पिनी बाहुनसँग गरेको रे … अब त हामी जम्मै शेर्पा नै हौँ … तर बाहुन पनि भन्छन् ।’
ऊ एकदम साधारण तवरले भन्दै थियो, जस्तो ‘दाल बिलिनु भो’ भनिन्छ ।
मलाई रमाइलो लाग्यो । ऊ बाहुन गाउँमा भएको भए भन्ने थियो होला- ‘हामी खत्री हौँ वा तेस्तै केही … अघि हाम्रा पुर्खाले यौटी शेर्पिनी ल्याएका रहेछन् … ।
वा उसले ढाँट्ने थियो होला ।
तर उसको स्पष्टवादिता रमाइलो थियो ।
हामीले पनि उनीहरुलाई नै भात पकाइदिन अनुरोध गर्यौँ । उनीहरुले स्वीकार गरे । बिँडी पायौँ । कति दिनदेखि नपाएको भोक बिँडी झोस्दै थकाइ मार्न थाल्यौँ … । बिँडी चाँडै खानपाउन हामीले धपेडी गरेका थियौँ ।
हामीले वास बसेका सबै शेर्पाहरुको घरको बाहिरी बनावट, भित्री सजावट, चुल्हो, खाने, सुत्ने ठाउँको स्थिति र ढाँचा, चित्रकारी र पोर्सलिनका भाँडाहरुको प्रचलनहरुमा एकै ढङ्ग वा शैली अनि पाहुनाहरुसँग झर्कोफर्को नगर्ने बानीले हामीलाई निक्कै प्रभावित पारेको थियो । हामी जुन समाजमा हुर्केका थियौँ, त्यहाँ पाहुनालाई सुत्न पेटी, दलान र पकाउन गोठ, आँगनभन्दा बढी उदारता देखाएको थाहा थिएन । शेर्पाकहाँ हामी उनीहरुकै चुल्हो पाउँथ्यौँ । सुत्न उही अगेना वरिपरिको ठाउँ । शेर्पाहरुको यो चलन गजब रहेछ ।
जस्तो कि प्रत्येक बास बसाइ शेर्पाको घरमा हुन्थ्यो, हामी त्यस परिवारसँग खुलिसकेका थियौँ । त्यहाँ भएको एउटा बुढो, एउटी बुढी, दुइटी तरुनी छोरी र कुनामा एकै पोको परिररहने कुँजी छोरीसँग हामीहरु उत्तिनै घनिष्ठ भैसकेका थियौँ । उनीहरुको दृष्टिमा पनि हामी ‘सरकारी मान्छे’ थियौँ र रमाइला (कुरौटे) ठिटाहरु । हामी विदेशी भएको भए ‘टुरिस्ट’ हुने रहेछौँ उनीहरुको आँखामा, उनीहरुको कुराकानीले यसै भन्दथ्यो ।
बिदा हुँदा घर बुढाले आग्रहसाथ फर्किदा पनि त्यहाँ पसिदिने अनुरोध गर्यो ।
‘यो गाउँमा भात खाने अथवा बास बस्ने भइयो भने अवश्य आउँला… ।’ हामीले कबोल गर्यौँ ।
‘हैन । त्यस्तो बेला पर्नै पर्छ र ? जस्तो बेला परे पनि पाल्नु होला है हजुर हो …. ।’
बाटो लाग्यौँ । हामीसँग उसका दुई छोरीहरु आफूभन्दा ठूला डोका बोकेर सोतर लिन बन जान लागे । बाटो परसम्म एउटै थियो । केही परसम्म चुपचाप हिँडेपछि ठूलीले भनी- ‘ऊ हाम्रो नेवारसँग पोइल जाने दिदीको घर …।’
बाटामुनिको एउटा सफा घर उसले देखाएकी थिई ।
‘हामी पनि त बाहुन हौँ ।’ मैले भनेँ ।
‘थाहा छ ।’
(हामीले अघि नै जात ‘बाहुन भनिसकेको सम्झिएँ’)
‘तिमीहरु हामीसँग पोइल जान्छौँ ?’
निकैबेरसम्म उनीहरु हाँसिरहे । अनि सानीले भनी, ‘लान्छौँ र ?’
‘किन नलानु !’
‘काँ लान्छौ …?’
‘ऊ काठमाडौं … नेपाल .. ‘
‘के, के दिन्छौँ …?’
हामीले गहनाको निकै लामो फिरिस्ट सुनाइदियौं ।
‘जान्छौँ ।’ -उनीहरुले ‘फाइनल’ झैँ जवाफ दिए ।
‘तिम्रो फोटो खिचौँ ?’ एकाएक मैले सानीसँग सोधेँ । ऊ शेर्पा पहिरनमा निक्कै आकर्षक थिई ।
हामीले ऊ जति आकर्षक व्यक्तित्व यस यात्रामा पाएका थिएनौँ क्यार । म यात्राको चिनु चाहन्थेँ, मेरो कमजोरी ।
‘कति पैसा दिन्छौ ?’ ऊ ‘पुँजी’ गन्हाइहाली । म झस्किएँ । फोटो खिच्नुमा मेरो स्वार्थ छ । अतः पैसा मैले दिनुपर्दछ । उसले पुँजीवाद बुझेकी रहिछ । ओक्सानीका केटीहरुले पुँजीवाद बुझेका थिएनन्, उनीहरु मूलबाटामा नपरेर कोल्टे पर्छन् …
उसले ठट्टा गरेको भनिठानेको थिएँ, फोटो खिच्न ठिक्क परेँ । उसले मुख लुकाइदिई । मैले स्वाङ पारेको भनिठानेँ र झुक्याएर फोटो खिचिदिएँ । ऊ झस्किई । पछि बुझीः मैले फोटो खिचेको थिएँ । ‘खै पैसा देऊ ।’ उस उसले हत्केदा पसारी दिई ।
मैले त्यो ख्यालख्याल ठानेँ ।
‘कति ?’ तैपनि सोधेँ ।
‘जतिदिए पनि ।’
अनि अरु हामी जिस्किन्यौँ । सँगै फोटाहरु लियौँ पालैपालो । नाम्चे जाउँ भन्यौँ । उनीहरुले हुन्छ भने ।
उनीहरुको स्वतन्त्रता ईष्र्यालाग्दो थियो, आकर्षक थियो ।
हाम्राबाटो छुट्टीयो ।
‘राम्ररी जाऊ है दाजुहरु … खुट्टा भाँचिएला । नत्र … र्फकदा भेट्नु … ।’ परसम्म पुगुन्जेला पनि माथि पाखाबाट उनीहरु एक न एक थोक कराइरहन्थे र हामी पनि जिस्कन्थ्यौँ । दुख्ला भन्न चाहेर भाँचिएला भनेका थिए, सायद ।
नाम्चे पुग्ने सुर थियो तर फेदीमै बास पर्यो । होइन, फेदीमा बास हुने भयो- हिँड्न अल्छी गरेर । एउटा घरमा बास मागेका थियौँ । उनीहरु अन्कनाइरहेका थिए । हामीलाई आश्चर्य लाग्दै थियो, किन ?
कान्लामुनि दुधकोसी थियो । माथि केही सेता चुचुरा । बाटामा दुईपाते मकै थियो । पारिपट्टी भिरभिरै राते कुद्दै थियो, वैद्यले भन्यो – ‘उः राते !’
एकछिन हामी कल्पनामा सिकारी भयौँ । हाम्रा पिठ्यूँमा बन्दुक थिए । हामीले सिकार मारेका थियौँ… इत्यादि ।
एकै छिनपछि नूपुर बनर्जीको स्वर सम्झ्यौँ- “लेख लेख हिँड्ने लेख मिर्ग … ।”
तर, त्यहाँ न राइफल थियो न नूपुर बनर्जीको आवाज ।
बल्लतल्ल हामीले बास पायौँ । घर धनी घरमा रहेनछ । ऊ कुनै साहेबसँग काठमाडौं गएको फर्केको रहेनछ, आठ महिना भैसकेछ । घरमा दुईटी आइमाई मात्र रहेछन् एउटी तरुनी देखिने करिब तीस-पैतिँस वर्षकी आमा र अर्की पनि तरुनी नै देखिने छोरी । त्यसैकारण बास दिन अकमकाएका थिए । तर जे होस् शेर्पिनी आमाले बास दिइन् । नत्र हामीले रुखमुनि रात काट्नु पर्ने थियो । त्यहाँ अर्को बास बस्ने ठाउँ थिएन ।
तर हामीले रुखमुनि रात काट्नु परेन ।
तातो छ्याङदिँदै आमैले भनिन्- ‘तिमीहरु जाती हौला भनेर बास दिएको … ।’ कराहीमा स्याक्पा फत्किरहेको थियो, मलाई चाख्न मन लागेको थियो । आफू भलाद्मी हुन मागिनँ, माग्न सकिनँ ।
… सन्जोगले फर्किंदा बास बस्न हामी अनाम ग्रामको बाहुनकै घरमा पुग्यौँ । त्यहाँ मिठो खान पाएका थियौँ । त्यो लोभ पनि थियो । उनीहरुले बताए – ‘हिजो भर्खर यहाँ जर्साबहरु बास बस्नु भएको थियो ।’
ठूली, सानी दुवैले हामीहरुलाई चिने, स्वागत गरे, फोटो मागे । बुढाले चिनेन । हामीलाई त्यो आशा थिएन, उसले व्यावसायिक निम्तो मात्रै गरेको थियो । तैपनि ऊ फेरि घनिष्ठ भयो अघिजस्तै । सानीले आधा कोस पर उसको नेवारकहाँ पोइल गएकी दिदीकहाँबाट कुखुरा किनेर ल्याइदिई । ठूलीले आगो बाली । हामीलाई भात पकाइदिई ।
हामीले उनीहरुकी आमासँग ठट्टा गरेका थियौँ- ‘अब एक वर्षसम्म यीँ बस्छौँ, तिम्रो खेती गरिदिन्छौँ, पाल्छ्यौ आमै ?’
‘बस न । किन नपाल्नु … ?’ ऊ उन्मुक्त हाँसेकी थिई । के अनाम ग्राम हामीले चिताएजस्तो ठाउँ थियो ?
कुन्नि !
भोलि बिहान हामी हिँड्यौँ जसरी प्रत्येक बासबाट हिँड्नु पर्दथ्यो, चाहे रमाइलो लागेको होस् चाहे विरक्त । दूधकोसीको छेउको टार परेको लेख अनाम ग्राम कतै हामीले भूचक्रपुरको अँध्यारो तीनकुने मतानमा ठर्राको गिलास समातेर चिताएको गाउँ जस्तो त थिएन ? हाम्रो यात्रा के एउटा ‘सर्भे’ थियो जसमा हामीलाई यस्तो ठाउँ खोज्नु थियो जहाँ केही समय सजिलै बिताउन सकियोस् । हामी जहाँ बस्दथ्यौँ वा जहाँ बस्नु पर्दथ्यो के त्यस्तो ठाउँ थियो जहाँ निस्सासेर उमेर बित्दथ्यो ? यस्तै थियो सबै भने ‘अनाम ग्राम हुने’ थियो हाम्रो लागि …।’
त्यसको दुई दिनपछि ।
त्यस दिन ओखलढुङ्गा पुग्न हामी हतारिएका थियौँ । दिनको दुई छाक आफैंले दाउरा फुकेर भात पकाउनु, तिहुन नभएर नुनसँग चाबेर निल्नु वा खिचडी खानु अनि दिनको बाह्र घण्टा उकालो ओरालो हिँड्नु हामी सहरिया बाबुको लागि कष्टप्रद नै थियो । अतः ओखलढुङ्गा पुग्न हतार थियो, किनभने त्यहाँ ‘होटेल’ छ भन्ने सुनेको थियौँ । हामीलाई भात, दाल, तरकारी, अचार, खान रहर भइसकेको थियो, जुन हामी होटलमा पाउन सक्थ्यौँ । हामी दम्स्याइलो ओरालो ओर्लदै थियौँ फटाफट र हामीसँगै जर्साब बथानका सिपाहीहरु पनि थिए ।
उनीहरु भारी बोकेर उकालो लागेका, दुईटी अलि पाका उमेरका र मोटा शेर्पिनीहरुसँग छिल्लिइरहेका थिए । हामीले पूरा कुरा सुनेनौँ । केही सुनेका कुराका बान्की यस्ता थिए- एउटाले तिनीहरुलाई सुनाएर खोक्यो र थुक्यो भन्यो- ‘थुक्क थासे राँडहरु ! मलाई त तँ सित्थै पाए पनि चाहिएन … अनाम ग्रामकी जस्ती भए पो … !’
यौटीले जवाफ दिई – ‘नपाएर थुक्क भन्छौ । पाए चाट्ने थियौ ।’
दोस्रोले भन्यो- ‘खुचिङ ! खाइस् मोरा, केको अनाम ग्रामको धाक लाएको ?’
तेस्रो भन्यो- ‘के अब ? पाँच-पाँच रुपियाँ कबोलेर सुते यी मोराहरु । पैसा दिने बेलामा उल्ले उउल्लाई …।’
चौथोले सोध्यो- ‘कुनचाहिँलाई नि ?’
पाँचौँले भन्यो- ‘कुनचाहिँ अब ? दुईटी थिए बाहुन भनाउँदाकी छोरीहरु । दुइटीलाई पालैसँग भ्याए मोराहरुले … ।’
‘हाम्ले त सुइँको पनि पाएनैां, थुक्न !’ एउटाले दुःख मनायो ।
‘पाँच रुपियाँ पनि त चाहिन्थ्यो नि !’ छैटौँले भन्यो ।
‘के चाहिन्थ्यो पाँच रुपियाँ ! जिउको यति र उति भनेर कबोल्नु मात्रै त हो नि ! दिने बेलामा यी हामी भागेर हिँड्यौँ र भइगयो …।’
‘एक पैसा पनि पाएनन् न तिनीहरुले !
‘अहँ ! कसले दिन्छ त्यस्ता बतासे राँडहरुलाई !’
(दिवांगत स्रष्टा घिमिरेको ‘स्थान, काल, पात्र’ कृतिबाट)