कथा : अनाम ग्राम

~जगदीश घिमिरे~

कहीँ त जानै पर्छ, अँध्यारो कुनामा हामी निर्णय गथ्र्यौं । कहाँ जानु ? थाहा थिएन । वैद्य भन्थ्यो, कि मुस्ताङ कि नाम्चे । म भन्थेँ, त्यो कहीँ होस् पर्याप्त टाढा । चाहे जुम्ला होस् चाहे एक दिनको बाटो पर मात्र । तर त्यहाँ एक थोक नहोस् के भने ‘पुँजी’ को गन्ध । र, त्यहाँ त्यस ठाउँदेखि वाक्क नभएसम्म बस्न पाइयोस् ।

कसरी सम्भव हुन्छ त्यो ? -हामी विवाद गर्थ्यौं ।

मास्टर हुन सक्छौं, त्यस्तै ठाउँ रहेछ भने । नत्र नोकर त हुन सक्छौँ । हामी निष्कर्षमा पुग्थ्यौँ ।

महिनौँ बिते । हाम्रो हिँड्ने दिन आएन । लाग्थ्यो यो पनि त्यस्तै मनको लड्डु हो, जुन प्रत्येक तन्नेरीले उमेरमा घिउसित खान्छ । ठर्रासँग यो कुरा उठ्थ्यो – ठर्रा छुटेपछि यो कुरा पनि छुट्थ्यो ।

ठर्राको गिलास नसमातेको बेला गर्ने हामीसँग अरु धेरै कुरा थिए ।

एक दिन अचम्भ भो । हामी हिँड्ने नै भयौँ । के, कता, टुङ्गो नभैकनै ….. ।

वैद्यले घरमा ढाँटिदियो, जगदीशको घर रामेछाप जान्छु दुई दिनको लागि भनेर ।

मैले रामेछाप (मन्थली, मेरो घर) मा ढाँटिदिएँ जिरी जाँदै छौँ दुई दिनको लागि भनेर । अनि हामी मन्थलीबाट तामाकोसी तीरैतीर जिरीतिर हिँडेका थियौँ ।

जिरीमा डा. प्रयागदत्त तिवारीसँग भेट भयो – जो त्यसबेला त्यहाँको स्विस सरकारको सहयोगमा सञ्चालित कृषिफार्मको म्यानेजर थिए । उनका पिता र मेरा पिता सल्यानको अदालत र अपिलका हाकिम थिए । त्यस परिचयले धेरै काम गर्‍यो । उनले अति माया गरे र नाम्चेतिर पुगेपछि जाडोबाट जोगिन लाउने मोजा र लुगा समेत दिए, जुन पछि मन्थली पुगेर मैले फर्काइ दिएँ ।

जिरीबाट पनि केही दिन हिँडेपछिको कुरा हो । त्यस दिन हामीलाई बाटामा असिनाले चुटेको थियो । अनि यौटा पौवामा दिउँसै बास बस्नु परेको थियो ।

त्यो बासमा हामीसँग बिँडी सकिएछ – हामीलाई ठूलो मर्का पर्‍यो । बिँडी कहाँ र कहिले पाइन्छ ? हामी सोध्थ्यौँ । ‘भोलि अनाम ग्राम बाहुनको घरमा सबथोक पाइन्छ’, बाटामा भेटिनेहरु भन्थे ।

यसरी अनाम ग्राम र त्यहाँको बाहुनको पसलसँग हामी परिचित भएका थियौँ ।

‘बाहुनको घर यै हो ?’ अनाम ग्राम पुगेर देखाइएको घरमा मैले सोधेँ ।

‘हो ।’ घरधनीले भन्यो । ऊ माथिदेखि तलसम्म शेर्पा पहिरनमा थियो । ‘किन ? के चाहियो ? आउनुस् बस्नुस् ।’ उसले भन्यो ।

‘चाहिन त धेरै थोक चाहिएको छ । तर बाहुनको पसल भन्थे …’ मैले ऊ बाहुन हो र त्यो घर पसल हुनामा शङ्का गरेँ ।

उसले सफाइ दियो- ‘अघि हाम्रो पुर्खामा एक जना बाहुन थियो रे… । हाम्री बजू शेर्पिनी बाहुनसँग गरेको रे … अब त हामी जम्मै शेर्पा नै हौँ … तर बाहुन पनि भन्छन् ।’

ऊ एकदम साधारण तवरले भन्दै थियो, जस्तो ‘दाल बिलिनु भो’ भनिन्छ ।

मलाई रमाइलो लाग्यो । ऊ बाहुन गाउँमा भएको भए भन्ने थियो होला- ‘हामी खत्री हौँ वा तेस्तै केही … अघि हाम्रा पुर्खाले यौटी शेर्पिनी ल्याएका रहेछन् … ।

वा उसले ढाँट्ने थियो होला ।

तर उसको स्पष्टवादिता रमाइलो थियो ।

हामीले पनि उनीहरुलाई नै भात पकाइदिन अनुरोध गर्‍यौँ । उनीहरुले स्वीकार गरे । बिँडी पायौँ । कति दिनदेखि नपाएको भोक बिँडी झोस्दै थकाइ मार्न थाल्यौँ … । बिँडी चाँडै खानपाउन हामीले धपेडी गरेका थियौँ ।

हामीले वास बसेका सबै शेर्पाहरुको घरको बाहिरी बनावट, भित्री सजावट, चुल्हो, खाने, सुत्ने ठाउँको स्थिति र ढाँचा, चित्रकारी र पोर्सलिनका भाँडाहरुको प्रचलनहरुमा एकै ढङ्ग वा शैली अनि पाहुनाहरुसँग झर्कोफर्को नगर्ने बानीले हामीलाई निक्कै प्रभावित पारेको थियो । हामी जुन समाजमा हुर्केका थियौँ, त्यहाँ पाहुनालाई सुत्न पेटी, दलान र पकाउन गोठ, आँगनभन्दा बढी उदारता देखाएको थाहा थिएन । शेर्पाकहाँ हामी उनीहरुकै चुल्हो पाउँथ्यौँ । सुत्न उही अगेना वरिपरिको ठाउँ । शेर्पाहरुको यो चलन गजब रहेछ ।

जस्तो कि प्रत्येक बास बसाइ शेर्पाको घरमा हुन्थ्यो, हामी त्यस परिवारसँग खुलिसकेका थियौँ । त्यहाँ भएको एउटा बुढो, एउटी बुढी, दुइटी तरुनी छोरी र कुनामा एकै पोको परिररहने कुँजी छोरीसँग हामीहरु उत्तिनै घनिष्ठ भैसकेका थियौँ । उनीहरुको दृष्टिमा पनि हामी ‘सरकारी मान्छे’ थियौँ र रमाइला (कुरौटे) ठिटाहरु । हामी विदेशी भएको भए ‘टुरिस्ट’ हुने रहेछौँ उनीहरुको आँखामा, उनीहरुको कुराकानीले यसै भन्दथ्यो ।

बिदा हुँदा घर बुढाले आग्रहसाथ फर्किदा पनि त्यहाँ पसिदिने अनुरोध गर्‍यो ।

‘यो गाउँमा भात खाने अथवा बास बस्ने भइयो भने अवश्य आउँला… ।’ हामीले कबोल गर्‍यौँ ।

‘हैन । त्यस्तो बेला पर्नै पर्छ र ? जस्तो बेला परे पनि पाल्नु होला है हजुर हो …. ।’

बाटो लाग्यौँ । हामीसँग उसका दुई छोरीहरु आफूभन्दा ठूला डोका बोकेर सोतर लिन बन जान लागे । बाटो परसम्म एउटै थियो । केही परसम्म चुपचाप हिँडेपछि ठूलीले भनी- ‘ऊ हाम्रो नेवारसँग पोइल जाने दिदीको घर …।’

बाटामुनिको एउटा सफा घर उसले देखाएकी थिई ।

‘हामी पनि त बाहुन हौँ ।’ मैले भनेँ ।

‘थाहा छ ।’

(हामीले अघि नै जात ‘बाहुन भनिसकेको सम्झिएँ’)

‘तिमीहरु हामीसँग पोइल जान्छौँ ?’

निकैबेरसम्म उनीहरु हाँसिरहे । अनि सानीले भनी, ‘लान्छौँ र ?’

‘किन नलानु !’

‘काँ लान्छौ …?’

‘ऊ काठमाडौं … नेपाल .. ‘

‘के, के दिन्छौँ …?’

हामीले गहनाको निकै लामो फिरिस्ट सुनाइदियौं ।

‘जान्छौँ ।’ -उनीहरुले ‘फाइनल’ झैँ जवाफ दिए ।

‘तिम्रो फोटो खिचौँ ?’ एकाएक मैले सानीसँग सोधेँ । ऊ शेर्पा पहिरनमा निक्कै आकर्षक थिई ।

हामीले ऊ जति आकर्षक व्यक्तित्व यस यात्रामा पाएका थिएनौँ क्यार । म यात्राको चिनु चाहन्थेँ, मेरो कमजोरी ।

‘कति पैसा दिन्छौ ?’ ऊ ‘पुँजी’ गन्हाइहाली । म झस्किएँ । फोटो खिच्नुमा मेरो स्वार्थ छ । अतः पैसा मैले दिनुपर्दछ । उसले पुँजीवाद बुझेकी रहिछ । ओक्सानीका केटीहरुले पुँजीवाद बुझेका थिएनन्, उनीहरु मूलबाटामा नपरेर कोल्टे पर्छन् …

उसले ठट्टा गरेको भनिठानेको थिएँ, फोटो खिच्न ठिक्क परेँ । उसले मुख लुकाइदिई । मैले स्वाङ पारेको भनिठानेँ र झुक्याएर फोटो खिचिदिएँ । ऊ झस्किई । पछि बुझीः मैले फोटो खिचेको थिएँ । ‘खै पैसा देऊ ।’ उस उसले हत्केदा पसारी दिई ।

मैले त्यो ख्यालख्याल ठानेँ ।

‘कति ?’ तैपनि सोधेँ ।

‘जतिदिए पनि ।’

अनि अरु हामी जिस्किन्यौँ । सँगै फोटाहरु लियौँ पालैपालो । नाम्चे जाउँ भन्यौँ । उनीहरुले हुन्छ भने ।

उनीहरुको स्वतन्त्रता ईष्र्यालाग्दो थियो, आकर्षक थियो ।

हाम्राबाटो छुट्टीयो ।

‘राम्ररी जाऊ है दाजुहरु … खुट्टा भाँचिएला । नत्र … र्फकदा भेट्नु … ।’ परसम्म पुगुन्जेला पनि माथि पाखाबाट उनीहरु एक न एक थोक कराइरहन्थे र हामी पनि जिस्कन्थ्यौँ । दुख्ला भन्न चाहेर भाँचिएला भनेका थिए, सायद ।

नाम्चे पुग्ने सुर थियो तर फेदीमै बास पर्‍यो । होइन, फेदीमा बास हुने भयो- हिँड्न अल्छी गरेर । एउटा घरमा बास मागेका थियौँ । उनीहरु अन्कनाइरहेका थिए । हामीलाई आश्चर्य लाग्दै थियो, किन ?

कान्लामुनि दुधकोसी थियो । माथि केही सेता चुचुरा । बाटामा दुईपाते मकै थियो । पारिपट्टी भिरभिरै राते कुद्दै थियो, वैद्यले भन्यो – ‘उः राते !’

एकछिन हामी कल्पनामा सिकारी भयौँ । हाम्रा पिठ्यूँमा बन्दुक थिए । हामीले सिकार मारेका थियौँ… इत्यादि ।

एकै छिनपछि नूपुर बनर्जीको स्वर सम्झ्यौँ- “लेख लेख हिँड्ने लेख मिर्ग … ।”

तर, त्यहाँ न राइफल थियो न नूपुर बनर्जीको आवाज ।

बल्लतल्ल हामीले बास पायौँ । घर धनी घरमा रहेनछ । ऊ कुनै साहेबसँग काठमाडौं गएको फर्केको रहेनछ, आठ महिना भैसकेछ । घरमा दुईटी आइमाई मात्र रहेछन् एउटी तरुनी देखिने करिब तीस-पैतिँस वर्षकी आमा र अर्की पनि तरुनी नै देखिने छोरी । त्यसैकारण बास दिन अकमकाएका थिए । तर जे होस् शेर्पिनी आमाले बास दिइन् । नत्र हामीले रुखमुनि रात काट्नु पर्ने थियो । त्यहाँ अर्को बास बस्ने ठाउँ थिएन ।

तर हामीले रुखमुनि रात काट्नु परेन ।

तातो छ्याङदिँदै आमैले भनिन्- ‘तिमीहरु जाती हौला भनेर बास दिएको … ।’ कराहीमा स्याक्पा फत्किरहेको थियो, मलाई चाख्न मन लागेको थियो । आफू भलाद्मी हुन मागिनँ, माग्न सकिनँ ।

… सन्जोगले फर्किंदा बास बस्न हामी अनाम ग्रामको बाहुनकै घरमा पुग्यौँ । त्यहाँ मिठो खान पाएका थियौँ । त्यो लोभ पनि थियो । उनीहरुले बताए – ‘हिजो भर्खर यहाँ जर्साबहरु बास बस्नु भएको थियो ।’

ठूली, सानी दुवैले हामीहरुलाई चिने, स्वागत गरे, फोटो मागे । बुढाले चिनेन । हामीलाई त्यो आशा थिएन, उसले व्यावसायिक निम्तो मात्रै गरेको थियो । तैपनि ऊ फेरि घनिष्ठ भयो अघिजस्तै । सानीले आधा कोस पर उसको नेवारकहाँ पोइल गएकी दिदीकहाँबाट कुखुरा किनेर ल्याइदिई । ठूलीले आगो बाली । हामीलाई भात पकाइदिई ।

हामीले उनीहरुकी आमासँग ठट्टा गरेका थियौँ- ‘अब एक वर्षसम्म यीँ बस्छौँ, तिम्रो खेती गरिदिन्छौँ, पाल्छ्यौ आमै ?’

‘बस न । किन नपाल्नु … ?’ ऊ उन्मुक्त हाँसेकी थिई । के अनाम ग्राम हामीले चिताएजस्तो ठाउँ थियो ?

कुन्नि !

भोलि बिहान हामी हिँड्यौँ जसरी प्रत्येक बासबाट हिँड्नु पर्दथ्यो, चाहे रमाइलो लागेको होस् चाहे विरक्त । दूधकोसीको छेउको टार परेको लेख अनाम ग्राम कतै हामीले भूचक्रपुरको अँध्यारो तीनकुने मतानमा ठर्राको गिलास समातेर चिताएको गाउँ जस्तो त थिएन ? हाम्रो यात्रा के एउटा ‘सर्भे’ थियो जसमा हामीलाई यस्तो ठाउँ खोज्नु थियो जहाँ केही समय सजिलै बिताउन सकियोस् । हामी जहाँ बस्दथ्यौँ वा जहाँ बस्नु पर्दथ्यो के त्यस्तो ठाउँ थियो जहाँ निस्सासेर उमेर बित्दथ्यो ? यस्तै थियो सबै भने ‘अनाम ग्राम हुने’ थियो हाम्रो लागि …।’

त्यसको दुई दिनपछि ।

त्यस दिन ओखलढुङ्गा पुग्न हामी हतारिएका थियौँ । दिनको दुई छाक आफैंले दाउरा फुकेर भात पकाउनु, तिहुन नभएर नुनसँग चाबेर निल्नु वा खिचडी खानु अनि दिनको बाह्र घण्टा उकालो ओरालो हिँड्नु हामी सहरिया बाबुको लागि कष्टप्रद नै थियो । अतः ओखलढुङ्गा पुग्न हतार थियो, किनभने त्यहाँ ‘होटेल’ छ भन्ने सुनेको थियौँ । हामीलाई भात, दाल, तरकारी, अचार, खान रहर भइसकेको थियो, जुन हामी होटलमा पाउन सक्थ्यौँ । हामी दम्स्याइलो ओरालो ओर्लदै थियौँ फटाफट र हामीसँगै जर्साब बथानका सिपाहीहरु पनि थिए ।

उनीहरु भारी बोकेर उकालो लागेका, दुईटी अलि पाका उमेरका र मोटा शेर्पिनीहरुसँग छिल्लिइरहेका थिए । हामीले पूरा कुरा सुनेनौँ । केही सुनेका कुराका बान्की यस्ता थिए- एउटाले तिनीहरुलाई सुनाएर खोक्यो र थुक्यो भन्यो- ‘थुक्क थासे राँडहरु ! मलाई त तँ सित्थै पाए पनि चाहिएन … अनाम ग्रामकी जस्ती भए पो … !’

यौटीले जवाफ दिई – ‘नपाएर थुक्क भन्छौ । पाए चाट्ने थियौ ।’

दोस्रोले भन्यो- ‘खुचिङ !  खाइस् मोरा, केको अनाम ग्रामको धाक लाएको ?’

तेस्रो भन्यो- ‘के अब ? पाँच-पाँच रुपियाँ कबोलेर सुते यी मोराहरु । पैसा दिने बेलामा उल्ले उउल्लाई …।’

चौथोले सोध्यो- ‘कुनचाहिँलाई नि ?’

पाँचौँले भन्यो- ‘कुनचाहिँ अब ? दुईटी थिए बाहुन भनाउँदाकी छोरीहरु । दुइटीलाई पालैसँग भ्याए मोराहरुले … ।’

‘हाम्ले त सुइँको पनि पाएनैां, थुक्न !’ एउटाले दुःख मनायो ।

‘पाँच रुपियाँ पनि त चाहिन्थ्यो नि !’ छैटौँले भन्यो ।

‘के चाहिन्थ्यो पाँच रुपियाँ ! जिउको यति र उति भनेर कबोल्नु मात्रै त हो नि ! दिने बेलामा यी हामी भागेर हिँड्यौँ र भइगयो …।’

‘एक पैसा पनि पाएनन् न तिनीहरुले !

‘अहँ ! कसले दिन्छ त्यस्ता बतासे राँडहरुलाई !’

(दिवांगत स्रष्टा घिमिरेको ‘स्थान, काल, पात्र’ कृतिबाट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.