~हरिमाया भेटवाल~
महिला स्वतन्त्रताको कुरा गरिरहँदा या भनौं भर्खरै धुमधामले मनाइएको नारी दिवसमा आमालाई सम्झिरहें ।
आमा …! थुप्रै कुरा छातीभित्र लुकाएर पनि सहजै मुस्कुराउन सक्ने, आफ्ना महत्त्वपूर्ण दिन, जवानी र रहरहरूलाई मारेर सन्तान सुखका लागि जलेर पनि बलिरहने कति स्नेहले भरिपूर्ण लाग्छ आमा ।
नदीको मुहानबाट विष पैदा भइदिए फैलिनु र बग्नुसँग त्यसको कुनै अर्थ हुँदैनथ्यो । तर पानी भइदिनाले प्यास मेट्छ प्यासीले, जमिनले फलाउँछ अन्न, लहलहाउँछन् वृक्षहरू, अँध्यारोलाई हटाइदिन्छ पानीले नै । त्यसैले त न पानी छुन डर लाग्छ न पिउन, न त लाज लाग्छ ऊसँग खेल्न नै । यस्तै हुुन्छिन् आमा पनि… हारेर वा जितेर दुवै हिसाबले आमाको अगि जान डर वा लाज लाग्दैन छोराछोरीलाई । हारेर गए पनि स्नेहले सुमसुम्याउँदै नआत्तिन सान्त्वना दिन्छिन् आमा, जितेर गए पनि खुसीले नमात्तिन सुझाव दिन्छिन् आमा । त्यसैले त होला प्रकृतिलाई, धर्तीलाई आमा भनिएको रहेछ । न प्रकृतिले पक्षपात गर्छ मान्छेलाई न धर्तीले नै । आफूलाई जन्माउने आमाबाबुप्रति जिम्मेवार नहुने सन्तानहरू रित्तै हिँडिरहेका हुन्छन् । उनीहरूसँग शरिर मात्र रित्तो
हुँदैन मन पनि रित्तै हुन्छ । चाहे
उनीहरूसँग रुपैयाँको पहाड भए पनि, मनको पहाड हुनेहरूसँग उनीहरूलाई कहाँ दाँज्न सकिन्छ र ?
हामीबीचमा नयाँ र पुरानोको, हुने र नहुनेको गहिरो खाडल छ । त्यही खाडलले गर्दा नै होला आमाबाबुले छोराछोरीप्रति र छोराछोरीले आमाबाबुप्रति बढी नै आशा र भरोसा गरेको पाइन्छ, सो पूरा हुन नसक्दा त्यहाँ जन्मन्छ रिस, आवेग, कटुता र त्यसले पनि बनाउँछ फेरि अर्का एउटा खाडल । अमेरिकामा सबै विकसित छन् तर उनीहरूसँग एउटा कुरा छैन ‘विश्वसनीयता’ त्यसैले उनीहरू पारिवारिक क्रमभंगतामा सबैभन्दा अगाडि छन् । हामीमाझ बाबुआमाले छोराछोरीप्रति र छोराछोरीले बाबुआमाप्रति विश्वास गर्ने हो भने त्यो परिवार असल परिवार हुन सक्छ । यसरी असल-असल परिवार मिलेर समाज र देश बन्ने न हो ।
हिजोआज दिनानुदिन मान्छेले मान्छेबाट पाउने खुसी घट्दै गहिरहेको छ र प्रकृतिसँग मान्छेको खुसी बढ्दै गइरहेको छ । मान्छेसँग मान्छे प्रत्येक पल त्रसित छ । संसारमा भौतिक वस्तुले धनी भनिएकाहरू खुसी छैनन् अथवा पैसाले खुसी किन्ने अवस्था छैन संसारमा । उसो त नेपालको सन्दर्भमा हामी त सम्झौता गर्दै बाँच्छौं जीवन स्वतन्त्र हुनुपर्छ त भन्छौं हामी । तर, सम्झौतै सम्झौतामा जीवन बिताइरहेका छौं । सम्बन्धमा सम्झौता, बढाइमा सम्झौता, विवाहमा सम्झौता, व्यापार व्यवसायमा सम्झौता, राजनीतिमा सम्झौता । जीवनका अनेकौं मोडमा हामी सम्झौता गर्दै जान्छौं । हुन त सम्झौता खुसीको न्यूनीकरण नै हो । तर पनि सामाजिक प्राणी भएर आफूमात्र खुसी हुन खोज्नु कुन प्रकारको
सामाजिकता हुन्छ ? सम्झौताले एक व्यक्तिको खुसी त पक्कै घटाउला तर सायद दुःखमा रहेका अनेकांैलाई थोरै भए पनि सुख पो दिन्छ कि ?
कसरी उन्नत बनाउने जीवनलाई ? जीवनबाट जे-जे भौतिक वस्तु जान सक्छ त्यो त्यो कुराहरू आउन पनि सक्छ, नगएको चिज नआउन सक्छ । जीवन जिउने प्रक्रियामा जीवनबाट जागिर गएको हुन सक्छ, धनसम्पत्ति गएको हुन सक्छ, जीवनको गुणस्तर घटेको हुन सक्छ त्यसलाई बढाउन सकिन्छ । यी सबैलाई प्राप्त गर्न सकिन्छ केवल हामीलाई धैर्य, आत्मविश्वास, त्याग, लगनशीलता र विश्वसनीयता हुन जरुरी छ । अब हाम्रो समाज आर्थिक गरिबीसँगै मानसिक गरिबीबाट पनि मुक्त हुनु आजको आवश्यकता भएको छ ।
म पनि सम्झन्थें अब त मेरो जीवन सुरु भयो होला स्कुल जाँदा, कलेज जाँदा बिहे गरेर व्यापार गरेर, छोराछोरी जन्माएर यी सबैमा जीवन सुरु नभएर झन्झट वा बोझ सम्झन्थें म तर त्यो नै जीवन रहेछ । त्यो संसार नै सबैभन्दा ठूलो, राम्रो र प्रेमपूर्ण संसार रहेछ । त्यसैले वास्तविक जीवन मैले केमा बिताइरहेको छु त्यसको दिशा स्पष्ट हुनु जरुरी रहेछ र त्यसैमा घनीभूत भएर लाग्नुपर्ने रहेछ । यसो गरिरहँदा आफूसँगै हिँड्ने संगीलाई -साथीभाइ, पतिपत्ती र छोराछोरी) हेर्ने दृष्टिकोणमा परिवर्तन हुनु जरुरी रहेछ । नत्र त कस्तुरी वास्ना खोज्दाखोज्दै मर्छ, आफ्नै नाभिमा वास्ना बोकेर । जीवनभर वास्ना खोज्ने कस्तुरी त भइरहेका छैनौं हामी पनि ?
-कान्तिपुर
(स्रोत : Majheri)