व्यङ्ग्य निबन्ध : केही राष्ट्रिय रोग : एक अनुसन्धान

~भैरब अर्याल~Bhairab Aryal

केही डाक्टरसाहेबहरू स्टेथोस्कोप फ्याँकेर झण्डा भिर्न कुद्नुभयो, कोहीचाहिँ डाक्टरी गर्नुमा भन्दा फ्याक्टरी खोल्नुमा फाइदा देख्न थाल्नुभयो । यस्तै कसैमा प्रशासनको आकर्षण थपियो, कसैमा प्रकाशनको धुन थपियो । डाक्टर लेख्ने लाइसेन्स पाएका तर डाक्टरी गर्ने सेन्सचाहिँ नपुगेका डाक्टरसाहेबहरू भूतपूर्व मन्त्रीहरू बढेझैँ जतिसुकै बढे पनि के लाग्यो र, बिरामीको सङ्ख्या बेकार स्नातकझैँ दिन दोब्बर रात चौबर बढेको छ, छ ।

नपत्याए नि:शुल्क अस्पतालहरूमा हेर्न जानोस् कक्षामा मानौँ एउटा भव्य प्रोसेसन ने चलेको हुन्छ । तै हाम्रा कतिपय डाक्टरसाहेबहरु स्टेथोस्कोप सुघाउनासाथ रोगको गन्ध पाइहाल्नुहुन्छ र मात्रै हो, नत्र गयाका पण्डाले श्राद्ध गराएझैँ आएजति बिरामीलाई लस्करै राखी आफ्नोआफ्नो रोग सम्झेर मम भन्नोस् भनी सामूहिक जाँच गर्नुपर्ला भनेजस्तो भइसकेको छ । यसै त टेलिफोनको कल आयो कि दमकलझैँ कुद्नुपर्ने डाक्टरी पेसा, त्यसमाथि टोलटोलमा क्लिनिकको साइनबोर्ड झुन्डयाएर प्रतीक्षारत औषधिपसल । यो असल कि उ असल ? सबभन्दा राम्रो आफ्नै बिरामी- पसल । अब तपाईं नै भन्नोस्, यस्तो बेफुर्सदीको अवस्थामा डाक्टरसाहेबहरुबाट नयाँनयाँ रोगको रिसर्च कसरी होला ?

त्यसैले त आजदेखि यो महत्त्वपूर्ण कार्यभार मैले लिँदै छु । मैले नै नलिई नहुने कारण अर्को के पर्‍यो भन्नुहुन्छ भने मेडिकल साइन्स हाम्रो विध्या नै होइन । समुन्द्रपारिको साइन्स पढेर टुकुचावारिपारिका रोगहरुको रिसर्च कसरी गर्ने ? मेडिकल साइन्स मात्र पढेको डाक्टरसाहेब कसैलाई एक दिन बिहान विष्णुमतीको भ्रमण गराइदुनोस्, त्यहाँको पोजिसनबद्ध प्रोसेसन देख्ता उहाँ पक्कै सोच्नुहुनेछ काठमाडौँमा कलेरा बढेछ । वास्तवमा त्यो कलेरा होइन, काठमाडौँ सहरको टिपिकल रोग हो भन्ने कुरा उहाँलाई कसले बताइदेओस् । त्यस्तै दिन बैँसैमा कुप्रिएका कतिपए तन्नेरीलाई देख्ता डाक्टरसाहेब आत्तिँदा हुन्… धनुष्टङ्कारले धेरैमाई खतम पार्न लागेछ; वास्तवमा उहाँलाई कसले बताइदेओस्; यो धनुष्टङ्कार होइन, पौने पेटको चमत्कार हो । अधिकांश नेपालीहरु साँझबिहान पौने पेट पाने- रोटी, दिउँसो होटेलमा हाफ प्लेट आलुदम खान्छन् भन्ने रहस्य मेडिकल साइन्सका पुस्तकमा कहाँ लेखेको छ र ? हामी भिँडेखोर्सानीमा भिटामिन ‘ए’ पाउँछौँ, भ्यान्टामा भिटामिन ‘भि’ देखि ‘जेड’ सम्म; टिनका भाँडाकुँडामा परेजति पदार्थ स्वत: प्रोटिन भैहाल्छन्; कालो भाँडामा पाकेजति सबै क्याल्सियम । त्यसैले त म भन्दै छु अब धन्वन्तरिको आयुर्वेद, हिप्पोक्रेटिसको एलोप्याथी र ह्यानिम्यानको होमियोप्याथी कुनैबाट पनि हाम्रो देशका खासखास रोगको पत्ता लाग्न सक्तैन ! तर धन्दा नमान्नुहोस्, शास्त्रै नयाँ आविष्कार गरेको छु- आधुनिक नेपालोप्याथी ।

यो नयाँ अनुसन्धान र आविष्कारमा लागेबापत मैले पनि कमसे-कम हाललाई कायममुकायम डाक्टरको दर्जा त पाउनै पर्ने हो, तर हाम्रो समाजको आधुनिक परम्परा अलि बेग्लै छ, मैले रोगहरुको अनुसन्धान गर्न लागेको सुइँको पाउनासाथ कतिपय डाक्टरहरु हाम्रो अधिकारमा हस्तक्षेप गर्‍यो भनी उजुर गर्न पाल्नुहुनैछ; कोही इष्टमित्रचाहिँ यो छुसीले चाहिँदो- नचाहिँदो आयक्टिभिटी देखाएर हामीभन्दा पुग्ने दाउ ल्यायो भनी खुट्टो तान्न थाल्नुहुनेछ । कोही बान्धव फलानाको मगज त सुइँकेछ नि भन्दै सम्भावित मेन्टल हस्पितलको पेसेन्टलिस्टमा मेरो नाम दर्ता गराउन पुग्नुहुनेछ भने कुनै हितैषि साथीले चाहिँ फलानाको दृष्टिकोण अलि वक्र छ है भन्ने जनाउ ठाउँमा पुर्‍याएर भद्रगोल जेलको वेटिङ लिस्टमा मेरो नाम टिपाउन सहयोग गर्नुहुनेछ । तर जोसुकैले जेसुकै भने पनि मेरो अनुसन्धानलाई भोलिको समाजले ठीक भन्नुपर्नेछ र मरणोपरान्त एउटा ठूलो पुरस्कार मेरो नाममा पन्छाइनेछ भन्ने निश्चित छ ।

दिव्य बाह्र घण्टाको अनुसन्धानपछि नेपालोप्याथीअनुसार मैले केही नयाँ रोगहरु पत्ता लगाएको छु र यिनको भाव-प्रभाव बुझ्दा म के निष्कर्षमा पुगेको छु भने आधुनिक नेपालका यी राष्ट्रिय महारोग हुन् । यी बिसेक नभएसम्म न देश स्वस्थ हुन्छ, न देशवासीकै इच्छा पुग्छ । यो के झर्कोलाग्दो भूमिका भट्टयाइरहन्छ; रोगै बताइदिए त भइहाल्यो नि भन्नुहोला; लौ टिप्तै जानोस्-

नं. १- अहिलेसम्मका डाक्टरसाहेबहरुलाई कोन्डिस मात्र थाहा छ; उहाहरु भन्नुहुन्छ- जोन्डिसमा रोगीहरुको आँखा पहेँलो हुन्छ र उसले सबै पहेँलै देख्न थाल्छ । तर नेपालोप्याथीअनुसार जोन्डिसभन्दा खतरनाक महाजोन्डिस भन्ने रोग हुन्छ । यो लागेपछि रोगीका आँखा साह्रै विचित्र भई बदलिन्छन् र उनीहरुले आफूबाहेक अरु कसैलाई मान्छे नै देख्तैनन् । धाक रबाफ र कटु जबाफ यस रोगका प्रारम्भिक लक्षण हुन्; रोग बढ्ढै गएपछि रोगीको हात लुलो तर जिभ्रो तीखो हुँदै जान्छ । ऊ कसैसित मिलेर काम गर्न सक्तैन; त्यसैले एउटा आरामकुर्सीमा राखेर दिनभर आत्मपुराण फलाकिरहू भनी छाडिदिनुपर्छ । महाजोन्डिस पोज, मोज र भोजबाट फैलने रोग हो । बेलामा उपचार हुन नसके रोगीज्यूहरु सम्झेजतिलाई सराप्तै गल्लीगल्ली भुस्याहा कुकुर घुकाएर रल्लिन थाल्नुहुन्छ । यो रोग प्राय: बुद्धिजीवीवर्गमा लाग्दछ ।

नं. २- गनेरियाजस्तै अर्को नयाँ रोग पत्ता लागेको छ- चमेरिया । तर यो जाँघबाट होइन, जिभ्राबाट पस्ने रोग हो । यसले छुनासाथ मान्छेको जिभ्रो चिरिएर आउँछ र केही दिनपछि नै दुई फ्याक हुन्छ । चमेरियाका रोगीको आँखा चनाखा हुन्छन् । हात लामो हुन्छ । यो रोग लागेको पहिले कत्ति पनि चिनिँदैन, यसैले रोगीले सबैका ढोकामा सम्मानसाथ प्रवेश पाउँछ, तर धोका नदिई निस्कन सक्तैन । चमेरिया अन्तिम स्थितिमा पुगेपछि रोगीको सर्वाङ्ग सिनोझैँ गह्नाउन थाल्छ तर गह्नाउनुभन्दा अघि नै रोगीले धेरैलाई आफ्नो रोगको कुप्रभाव पारिदिइसकेको हुन्छ । चमेरिया भन्ने रोग राजनीतिक रन्डीबाजीबाट उत्पन्न भएको हो भन्ने कुरा उहिल्यै पत्ता लागिसकेको छ ।

नं. ३- खास गरी जागिरदारहरुलाई बराबर दु:ख दिने अर्को नयाँ रोग छ- पद प्रेसर । ब्लड प्रेसरजस्तै यो पनि दुई किसिमको हुन्छ- हाईपद प्रेसर, लोपद प्रेसर । हाईपद प्रसर लागेको छ भने हरहमेसा जाँडको पुङ्गोमा डुब्ने मान्छेको खप्परबाट पनि अपुङ्गोको बास्ना आउँछ, आफ्नो नाम लेख्न जानेपछि जुनसुकै काम गर्न सकिन्छ । लो प्रेसरले सताएको छ भने कानमा झ्याउँझ्याउँ गरेर हिँड्न-सुत्न दिँदैन । जति माथि पुग्यो उति लो प्रेसरले सताउँछ । यसलाई करकर पनि भन्छन् । तर हाई वा लो जुनसुकै प्रेसर लागे पनि नियमकानुन भनी मुख बारिरहनु पर्दैन ।

नं. ४- नेपालोप्याथीअनुसार अर्को एउटा चर्को रोग पत्ता लागेको छ- कन्सुत्ले । कहाँकहाँ कसकसले केके कुरा गरे, ती सबै पहिले शान्त भएर आफ्नो कानभित्र पर्नु र जोजोसँग सम्बन्धित छ, उसउसका कानमा सुलुत्त पसालिदिनु कन्सुत्ले रोगको प्रमुख लक्षण हो । कन्सुत्ले लागेका रोगीहरु जाँचताकाका टयुसन मास्टरझैँ अथवा सोह्रसरादका पुरेतबाजेझैँ अथवा भनूँ दसैँका फौबन्जारझैँ चौबीसै घण्टामा पच्चीसतिर पुगेर कुराको लेनदेन गर्दछन् । कतै केही पाइएन भने ‘बुझ्नुभो फलानाज्यू, तपाईंलाई फलानाले फलान्थोक भन्थ्यो है’ भनी मनगढन्त कुरा सुनाएर पनि कन्सुत्लाहरु एकअर्काका बीच फाटो पारेर आफ्नो जिभ्रो कन्याउँछन् । ‘फलानाले फलानो दिन ठीक यति बजे यतिपल्ट डकार्‍यो; त्यसैले त्यो दिन राति उसले कतैबाट एउटा बासी पेडा खाएको हुनुपर्छ’ भन्ने जस्ता अनुमान गरि त्यो पेडा ख्वाउने को होला र किन ख्वायो होला भनी गम्दागम्दै रातभर ननिदाउने कन्सुत्ले रोगीहरु पनि मैले धेरै पत्ता लगाएको छु ।

नं. ५- बिफरजस्तै अर्को सङ्क्रामक रोग पत्ता लागेको छ- ‘रे’ मेनिया । तिलजत्रो कारणबाट पहाडजत्रो सम्भावना सोची हल्ला गर्दै हल्लिनु ‘रे’ मेनियाको पहिलो लक्षण हो । टाइमचोर र कामचोरलाई यस रोगले बढी आक्रमण गर्छ । नेपालोप्याथीअनुसार ‘रे’ मेनियाका रोगीहरुमा सोच्ने शक्ति र तर्क गर्ने क्षमता केही हुँदैन; त्यसैले उनीहरु फुटपाथमा उभिएर मन्त्रिमण्डलको सूची बनाउँछन्; साइकलमा गडेर नवग्रहको निर्णय सुनाउँछन् । अझ ‘रे’ मेनियाका रोगीलाई यसपालि तिम्रो पनि भाग्य खुल्ने सम्भावना छ रे भनिदिनू; उसले स्वास्नीको सारी बन्धकी राखेर एउटा आडभान्स पार्टी बोलाउन बेर छैन ।

नं. ६- नेपालोप्याथीले अर्को एउटा नयाँ रोग पत्ता लगाएको छ, जसको नाम हो नामाञ्ची । हुन त दुनियाँमा जति मान्छे जन्मन्छन् सबैलाई आफ्नो नाम राख्ने धोको हुन्छ । तर जब यो सामान्यबाट असामान्यमा परिणत हुन्छ, नामाञ्चीको रोगले छोएको बुझ्नुपर्छ । आलुबारीको उत्खननदेखि शौचालयको शिलान्याससम्म के गरेमा ठूलो अक्षरमा नाम छापिएला भन्ने नामाञ्चीको ध्याउन्न हुन्छ । रेडियोमा दिनको पन्ध्रोटा फर्माइसी पठाएर हुन्छ कि, सागपात केलाउने समितिको अध्यक्ष भएर हुन्छ कि, दिनको चारोटा भाषण गरेर हुन्छ कि, साताको एउटा वक्तव्य प्रकाशित गरेर हुन्छ, नामाञ्चीका रोगीहरुलाई नामै चाहिन्छ । नेपालोप्याथीमा उल्लेख भएअनुसार दुनियाँको बजारमा नामको भाउ साह्रै महँगो छ; बिनाकाम नाम आउँदैन, तर नेपालका नामाञ्चीहरुलाई कामकुराको होइन, नामसुराको तिर्खाचाहिँ यस्तरी लाग्दछ कि कोठाको भित्ताभरि आफ्नो शुभकामना आफ्नै हस्ताक्षरमा लेखेर पनि उनीहरु तिर्खा मेट्न सर्माउँदैनन् ।

नं. ७- नेपालोप्याथीले अन्त्यमा एउटा व्यापक रोगको चर्चा गरेको छ । अधिकाशं जनातालाई बराबर दु:ख दिने यस महारोगको नाम हो- पकेटोक्य्रासिस । झ्याउरे अनुहार, दाउरे जीउ र चाउरे गाला पकेटोक्य्रासिसका लक्षण हुन् । यो बढ्दै गएपछि फेमेलियोसाइटिस पनि हुन सक्छ भनी एक अनुभवीले बताएका छन् । खास गरेर यो रोग शिक्षित बेकार र न्यूनवैतनिक कामदारहरुमा बराबर लागेको देखिन्छ ।

अहिले पत्ता लगाएका मुख्यमुख्य रोग यिनै हुन् । अनुसन्धान गर्दै जाँदा फेरिफेरि पत्ता लागेका जति फेरिफेरि बताउँदै जाउँला भन्ने उम्मेद छ; अब मलाई डाक्टरको दर्जा दिने कि नदिने त्यसबारे तपाईंहरु छलफल गर्दै गर्नुहोला ।

(श्रोत: इतिश्री)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.