~डा. ध्रुवचन्द्र गौतम~
परिर्वतन र अनुभवमध्ये एक छान्नुपर्यो भने म अलमलमा पर्छु । किनभने, मसँग दुवै छन् । अनेकौँ घटना र धेरैखाले उतार-चढावको साक्षी हो- मेरो जिन्दगी । जीवनमा परिवर्तन पनि भए र अनुभव पनि धेरै । जन्मेदेखि नै वर्षौंसम्म डेरा जीवनले छाडेन मलाई । डेरा जीवनका दुःखदायी र रोमाञ्चक अनुभव सबै बटुलेको छु मैले । नेपाली साहित्यमा डेरा जीवनबारे सबभन्दा बढी लेख्ने लेखक भन्छन् मलाई । खासमा डेरा जीवनका आफ्नै अनुभव लेखेको हुँ मैले । डेरा जीवन सम्भिmयो भने मात्रै पनि म अनेक यथार्थ र बाध्यताका पुराना कथाले घेरिन पुग्छु । वास्तवमै दुःखी थियो त्यो जीवन । सुखले चियाउने खटप्वाल नै बन्द थियो सायद ।
एउटा रोचक कुरा के छ भने, मेरो जन्म नै डेरामा भएको हो- रक्सौलमा, ठीक २००० सालमा । पहिले त्यो हाम्रो डेरा नै थियो । म जन्मेको केही वर्षपछि बुबाले त्यही घर किन्नुभयो, जुन घरमा डेरा लिएर हामी वर्षौं बसेका थियौँ । पछि, बुबाले वीरगन्जको एउटा घरसँग रक्सौलको घर साट्नुभयो र म एक वर्षको हुँदा हाम्रो परिवार वीरगन्ज सर्यो ।
पिताजी बिजुली कारखानामा काम गर्नुहुन्थ्यो । बुबालाई बिजुली कारखानाको क्वार्टरमा बस्नुपर्ने भयो । हामी परिवारै वीरगन्जको घरबाट क्वार्टरमा सर्यौँ । मेरो बाल्यकालको महत्त्वपूर्ण भाग त्यस क्वार्टरले ओगट्छ । खासमा त त्यो क्वार्टर पनि एकप्रकारको डेरा नै हो । मेरो पढ्ने, लेख्ने उमेर बिजुली कारखानाको क्वार्टरमै बित्यो । हामी कहिलेकाहीँ मात्र घर जान्थ्यौँ । बढी त त्यही क्वार्टरमा सुत्थ्यौँ । त्यही नै मेरो सिंगो संसार थियो । त्यस बिजुली कारखानाको क्वार्टरको जिन्दगी पनि रमाइलै थियो । जाडोमा डिजेल बालेर तापिन्थ्यो । गर्मीमा हामी भुराहरू घरनजिकको पोखरी जान्थ्यौँ र गर्मीको ताप छल्न घन्टौँ नुहाउँथ्यौँ । बिस्तारै बुबाको क्वार्टर नै हाम्रो घरजस्तो लाग्न थाल्यो । यसरी समय बित्दै गयो ।
वीरगन्जमा भर्खरै फिल्म हल खुलेको थियो । कहिलेकाहीँ स्कुल नगई हामी त्यो हलमा फिल्म हेर्न पुग्थ्यौँ । राजेश खन्नाका फिल्म चलेका हुन्थे । फुसको हल थियो त्यो । त्यस हलका रोमाञ्चक दिनहरू पनि अहिले मेरो मानसमा अटाइनअटाई भएर बसेका छन् । हाम्रो घर वीरगन्जको कुमालटोलमा थियो । हामी वेला-वेला क्वार्टर-घर गरिरहन्थ्यौँ । हाम्रो पुख्र्यौली घर गाउँको बेतौनामा पथ्र्यो । बुबाको जागिर सकिएपछि बुबाहरू गाउँका घर जान थाल्नुभयो । बुबासँग १० वर्षजति हामी परिवारै क्वार्टरमा बस्यौँ । अहिले सोच्छु, त्यो हाम्रो अर्धडेरा थियो ।
त्यो डेरा जीवन रमाइलो त थियो नै । तर, मेरो बाल्यकाल भने त्यति सुखमय थिएन । म सात कक्षा पढ्दै गर्दा मेरी आमा बित्नुभो । बुबाले अर्को बिहे गर्नुभो । कान्छी आमासँग मेरी आमाजस्तै भावनात्मक गाढा माया बस्न सकेन । तर, हामी एउटै घरमा बस्थ्यौँ । एउटै भान्सामा खाना खान्थ्यौँ । हाम्रो परिवार कहिले निकै गरिब भयो र कहिले धनी पनि बन्यो । एउटा परिवारको धेरैखाले उतार-चढाव देखेको छु मैले । त्यसैले म भन्छु- हामी किसान, जमिनदार, अभावग्रस्त सबैथोक हौँ । हामी कष्टपूर्वक डेरामा पनि बस्यौँ र ऐसआराम गरी घरमा पनि । मैले भनिहालेँ नि मेरोे जीवनको धेरै हिस्सा डेरा जीवनले ओगट्छ ।
०००
०१० मा म काठमाडौँ आएँ । केही समयका लागि, डुल्न मात्र । त्यसवेला धनुषचन्द्र दाइ बागबजारमा डेरा गरी बस्नुहुन्थ्यो । काठमाडौँ साह्रै फोहोर थियो त्यसवेला । गल्लीहरूमा ओस जमेको जस्तो लाग्थ्यो । डेरासम्म पुग्न ढुसी गन्हाउने गल्ली नाघ्दै हिँड्नुपथ्र्यो । सानो कोठा हुन्थ्यो । त्यो पनि अँध्यारो । केही गन्हाएजस्तो, नमिठो बास्ना आइरहन्थ्यो । सायद हामीजस्ता दुःखी जीव बस्ने अँध्यारो कोठामा केही थान मुसाले पनि गुँड बनाएका हुन्थे । त्यो डेरा जीवनको सम्झनाले म अहिले पनि बागबजारभित्रका ती अनौठा र ओसलाग्दा चिसा गल्लीहरू मेरा दिमागमा आउँछन् । म त्यसवेला महिना दिनजति मात्रै काठमाडौँ बसेँ र फेरि वीरगन्ज फर्कें । मेरो कठिन डेरा जीवनको सुरुवात हुन्छ- ०१६ सालबाट । त्यसबवला म एसएलसी दिएर काठमाडौँ आएको थिएँ, भाग्य आजमाउन । त्यसवेला म काठमाडौँ आउँदा धनुषदाइले बागबजारको डेरा छाडेर न्युरोड (डुगमबहिल)मा सरिसक्नुभएको रहेछ । काठमाडौँ मेरा लागि स्वप्नलोक थियो । काठमाडौँमा मेरो खुसीको सीमा थिएन । रानीपोखरी, टुँडिखेल, धरहरा, सिंहदरबार सब मेरा लागि दर्शनीय थिए ।
न्युरोडमा दाइको दुइटा कोठा (जहाँ म पनि बस्न थालेको थिएँ) थियो । एउटा कोरिडोरजस्तो सानो, झ्याल केही नभएका अँध्यारो, उज्यालो आउने कुनै मार्ग थिएन । सानो ओसिलो गल्लीबाट भित्र छिरेपछि एउटा ठूलो चोक आउँथ्यो । र, त्यो चोक नाघेपछि मात्रै हाम्रो कोठा आउँथ्यो । त्यो चोकमा खाल्डोजस्तो रछ्यान हुन्थ्यो, जहाँ चारैतिरका घरका स-साना झ्यालबाट फोहोर मिल्काइन्थ्यो । त्यो चोक यति गन्हाउँथ्यो कि वेला-वेला त्यो चोक नाघ्नै मुस्किल पथ्र्यो । त्यो रछ्याने चोकको गन्ध कहिलेकाहीँ कोेठाभित्र पनि पस्थ्यो । जेहोस् त्यो कोठा मान्छे बस्नेखालको थिएन, एउटा बाध्यताविरुद्ध अर्को बाध्यता टिपेर मुक्त हुन खोज्नु मात्र थियो । त्यसवेलै लागेको थियो- यो काठमाडौँको जिन्दगी साह्रै गाह्रो छ, डेरामा बस्न झनै गाह्रो । मलाई यी सबै सम्भिmँदा पनि कहाली लागेर आउँछ । म त पढ्न भनेर काठमाडौँ गएको थिएँ । हातमा एउटा जागिर नभए काठमाडौँमा टिक्न असाध्यै गाह्रो थियो । त्यसैले धनुष दाइले मलाई न्युरोडछेवैको एजुकेसन इन्टरप्राइजेजमा ‘बुक सेलरको’ काम खोजिदिनुभयो । म त्यहाँ काम गर्न थालेँ । दरबार स्कुलमा रात्रि कक्षा थियो- नेसनल कलेज । त्यसका संस्थापक शंकरदेव थिए । म त्यही रात्रि कलेजमा आइए पढ्न थालेँ । दिनभरि काम गर्थें, साँझ पर्न लागेपछि कलेज जान्थेँ र रात छिप्पिसकेपछि दाजुको अँध्यारो डेरामा आएर पल्टिन्थेँ । म एकप्रकारले बिमारीजस्तो भएको थिएँ । ‘होमसिक’ जस्तो भएको थियो । म जुनैवेला पनि वीरगन्ज आउन चाहन्थेँ ।
म कहिलेकाहीँ फुर्सद भएको वेला न्युरोडचोक गएर उभिन्थेँ । त्यो न्युरोडे जीवन अनौठो लाग्थ्यो । अनेकौँ घटना र राजनीतिक उतार-चढावको साक्षी त्यो न्युरोडमा पहिले पुराना झिंगटीका लोभलाग्दा छाना थिए, समयक्रममा ती बिलाइसके । फराकिलो भूगोलपार्क खुम्चियो । त्यहाँका सडकमा टहलिने, लम्किने र दौडिनेहरू पनि फेरिइसके । ती सबैको फेसन पनि फेरिएको छ । तन्नेरीहरू दौरा-सुरुवाल लगाएर गमक्क परेर हिँड्थे । अहिले त्यो दौरा-सुरुवाललाई जिन्स, जम्पर र त्यस्तै अन्य पश्चिमा उत्पादनले विस्थापित गरेका छन् ।
त्यो न्युरोडछेउको पीपलबोट धेरै परिर्वतनको साक्षी हो । मैले पनि काठमाडौँमा आएको परिर्वतन नजिकबाट हेर्न पाएँ । पीपलबोट हिजोआज संगठित जमघटको साटो नाक थुनेर या हात हल्लाउँदै कुदिरहेका मानिसलाई टुलुटुलु हेर्छ ।
म त डेरा जीवनबारे पो कुरा गरिरहेको छु । आइए पढ्दा-पढ्दै मलाई टिबी लाग्यो । र, म वीरगन्ज गएँ । त्यहीँ रोग पनि निको पारेँ र आइएको आदि कक्षा त्यहीँ पढँे । म त्यस न्युरोड -डुगमबहिल)मा केही वर्ष बसेँ दाइसँग । त्यहीँको डेरामा बसेर मैले त्रि-चन्द्र कलेजबाट बिए -स्नातक) पनि पास गरेँ । डेरामा बस्दा दाजु-भाउजुको सामान्य झगडा, वादविवाद सबै देख्न पाउँथेँ । चामल, जिरा, बेसार, खोर्सानी किन्ने खर्च नभएर कहिलेकाहीँ हुने झोक्काझोक्की सबै देख्न सक्थेँ । कहिलेकाहीँ अन्य डेरामा बस्ने मान्छेको अनुहारभरि अत्यास व्याप्त भएको पनि देख्थेँ । लाग्थ्यो- डेरा जीवन साह्रै दुःखी छ ।
०००
०२१ मा दाजु-भाउजुसँगै म पनि बागबजार डेरा सर्यौँ । बागबजारको त्यो कोठा भने ठूलो थियो । झ्याल पनि राम्रै थियो । भित्रपट्ट िभान्सा थियो । एउटै कोठालाई बाक्लो पर्दाले घेरेर दुइटा कोठा बनाइएको थियो, म एकापट्टकिो पर्दाले घेरेको कोठामा बस्थेँ । दाइ-भाउजु वीरगन्ज गएको वेला म कोठामा एक्लै बस्थेँ, त्यसबवला खाना पकाउन अल्छी लाग्थ्यो, र भोकै पनि सुत्थँे । त्यसवेला म एमए पढ्न थालिसकेको थिएँ । दाइको संरक्षणमा थिएँ, त्यसैले घरबेटीको किचकिच सहनु पर्दैनथ्यो मलाई । डेरामा आइपर्ने अन्य झन्झटको पनि मलाई चिन्ता थिएन । खासमा त्यसवेलासम्म डेरा जीवनको झन्झटिला पक्षबारे मलाई खासै अनुभव थिएन । मलाई डेरामा बस्न यति दिक्क लाग्थ्यो कि सामान्य दुई दिन मात्रै पनि फुर्सद भयो भने म वीरगन्ज कुदिहाल्थेँ ।
०२२ मा फेरि दाइ मैतिदेवीको डेरामा सर्नुभयो । म पनि दाइको पछि लागेर त्यही डेरामा सरेँ । त्यहाँ भने मलाई छुट्टै डेरा थियो । त्यसपछि म रत्नराज्य क्याम्पस पढाउन थालेँ । ०२४ मा दाइले घर किन्नुभयो बत्तीसपुतलीमा । दुई वर्ष दाइको सानो घरमा राम्रैसँग बसियो ।
०००
०२६ मा मेरो बिहे भयो र म दाइसँग छुट्टएिँ । त्यसवेला म त्रि-चन्द्र क्याम्पस पढाउँथेँ । म दाइको घरबाट निस्किएँ र धोबीधारामा श्रीमती लिएर डेरा सरेँ । अब मेरा दुःखका दिन सुरु भए । डेरा जीवनका कठिनभन्दा कठिन अनुभव भएको त्यसपछि हो । ५० रुपैयाँमा कोठा पाइयो । कोठा लामो थियो । एक कुनामा भान्सा थियो । अँध्यारो थियो । कस्तो विडम्बना थियो भने त्यही एउटा कोठाको एक कुनालाई बैठक मान्नुपर्ने, एक कुनालाई बेडरुम मान्नुपर्ने, अनि एक कुनालाई पाहुना रुम । साथीभाइको जमघट पनि त्यहीँ हुन्थ्यो । पाहुना आएर सुत्नु त परको कुरा । लाग्छ- आजको दुःखी सहरिया जीवन नै मेरो डेरा जीवन हो । डेरामा हामी बूढाबूढीको खासै झगडा पर्दैनथ्यो । बरु अर्को सँगैको डेरावालका बूढाबूढी खुब झगडा गर्थे । एक दिन श्रीमान् जाँड खाएर आएको रहेछ, बूढीसँग झगडा परेको निहुँमा कोठामा बजिरहेको ट्रान्जिस्टर नै फुटायो । त्यसवेला ट्रान्जिस्टर राख्ने मान्छे धनी मानिन्थ्यो ।
डेरा बस्दाको समस्या के हुन्छ भने घरबेटीले अर्को डेरावालाको गुनासो अर्को डेरावालाई सुनाउँछ र उनीहरूबीच झगडा गराउन खोज्छ ।
त्यसवेला मलाई अल्सर भयो । बिहे गर्दा मेरो खर्च पनि सकिइसकेको थियो । कलेजबाट मेरो सबै ऋण काटेर जम्मा १० रुपैयाँ मात्र तलब आयो । रिंगटा लागेर मर्छुजस्तो पनि लाग्यो । डाक्टरकहाँ जाने पैसा थिएन । डाक्टरले डेरामा आएर उपचार गरेको ५० रुपैयाँ फिस लिन्थ्यो । द्वारिका श्रेष्ठसँग सय रुपैयाँ सापट मागेर ५० रुपैयाँ डाक्टरलाई दिएँ ।
डेरामा बस्दा ट्वाइलेट जान साह्रै गाह्रो हुन्छ । फेरि ट्वाइलेट यति फोहोर हुन्छ कि जानै सकिन्न । तर, मिलाएर जानैपथ्र्यो । लामो समय लाइन लाग्नुपथ्र्यो कहिलेकाहीँ ।
त्यसवेला बिहान खाए बेलुका के खाऊँ भन्ने अवस्था थियो । म झोलाभरि किताब बोकेर हिँड्थेँ । त्यसवेला मेरो ‘निमित्त नायक’ उपन्यास निस्केको थियो । बिहान कलेजमा पढायो र दिनभरि हिँडेर किताब बेचेर पनि बिहान-बेलुकाको छाक टारेका थियौँ । मैले ट्युसन पढाउन थालेँ र थोरै पैसा आउन थाल्यो । एक दिन मेरी श्रीमतीले मेरो सबै लुगा धोइछिन् । मेरो अर्को लुगा थिएन । म भित्री लुगा नलगाई सिरक ओढेर सुतिरहेँ । त्यही वेला ट्युसन पढ्ने तीन-चारवटी केटी आए । ल पर्यो आपत, के गर्ने ? कुनै बहाना पनि थिएन । सिरकबाट बाहिर निस्कन सम्भव पनि थिएन । फेरि अर्को कोठा पनि थिएन । मैले उनीहरूलाई ‘आज मलाई ज्वरो आएको छ, तिमीहरू जाओ भोलि पढाउँला’ भनेर सिरकभित्र टाउको लुकाएँ र उनीहरू गए ।
कहिलेकाहीँ सिनेमा हेर्न मन लाग्थ्यो र केटीहरूलाई ‘मेरो अर्को काम छ, भोलि पढाउँला’ भन्थेँ र सिनेमा हलमा तिनै विद्यार्थीसँग जम्काभेट हुन्थ्यो ।
कहिलेकाहीँ डेराबाट हट्नुपर्ने स्थिति पनि आउँछ । घरबेटीले ‘जाऊ’ भनेपछि जानै पर्यो । धोबिधाराको डेरामा वर्ष दिन बसेपछि त्यहीँको अर्को डेरामा सर्यौँ । त्यहाँ सय रुपैयाँ थियो डेराभाडा र तीनवटा कोठा थियो । त्यहाँ भने पाहुना आएपछि राख्न सकिने भयो । केही समयपछि घरबेटी विनाकारण किचकिच गर्न आउन थाल्यो । र, मीरा भन्ने मेरी ट्युसन विद्यार्थीको घर मरुगणेशको प्याफलमा डेरा सर्यौँ ।
डेरा जीवनको सबैभन्दा रमाइलो थियो त्यो डेरा । उनले किराया लिन्न भनिन् । तर, म महिनाको ५० रुपैयाँ दिन्थेँ । दुइटा कोठा थियो । एउटा कोठामा भर्याङ उक्लेर कोठामा गएपछि त्यस कोठाको अर्को भागको गाह्रो गल्र्यामगुर्लुम ढलेको थियो । त्यस कोठाको आधा भागै थिएन । छर्लंगै थियो । त्यसैले सित्तैंमा बस भनेका होलान् । हामी बूढाबूढी त्यो गाह्रो ढलेकोपट्ट िजान डराउँथ्यौँ । तर, बिस्तारै बानी पर्दै गयो त्यस डेरामा बस्ने ।
घरबेटी साह्रै रमाइला थिए । दुई वर्ष बसेपछि आफैँ बहाना बनाएर बत्तीसपुतलीको अर्को डेरामा सर्यौँ ।
बत्तीसपुतलीको मेरो डेरा दाइको घरनजिकै थियो । त्यो माटोको घर थियो । तर, सधैँ ओसिलो हुन्थ्यो त्यस डेरामा । डेरा पनि साह्रै सानो थियो । कोठा जहिल्यै गन्हाएजस्तो हुन्थ्यो । घरबेटी यति किचकिचे थिए कि सधैँ पानी धेरै खर्च गर्यौ भनेर किचकिच गरिरहन्थे । बूढी सधैँ दिक्क मान्थिन् । तनाबमा रहन्थिन् । मलाई पनि तनाब हुन्थ्यो । डेरामा बसेपछि घरबेटीको मनोविज्ञान ‘डेरावालालाई कसरी हटाऊँ’ भन्नेखाले हुन्छ ।
बत्तीसपुतलीको डेरामा बस्दा म पुना पढ्न जाने भएँ । क्वार्टरमा बस्नेगरी पढ्न । म पुना पिएचडी गर्न जान लागेको थिएँ । वीरगन्ज कुमालटोलको घरमा मेरो एउटा कोठा सुरक्षित थियो । छोरा र श्रीमतीलाई त्यहीँ लगेर छाडेँ र म पिएचडी गर्न पुना गएँ ।
पुनामा मैले क्वार्टर पाएँ बस्न । डेरा जीवनमध्ये सबैभन्दा सानदार जिन्दगी पुनामा बिताएँ । पछि, परिवार पनि लगेँ पुना । क्वार्टरमा पाँचवटा कोठा थियो । क्वार्टरमा बसेबापत मैले पाएको स्कलरसिपको १० प्रतिशत पैसा कटाउँथ्यो । डाइनिङ टेबल पनि भाडामा पाइन्थ्यो । घरको काम गरिदिने मान्छे पनि पाइन्थे । त्यहाँ बस्दा मोजसँग बसियो । त्रि-चन्द्र कलेजबाट मेरो तलब पनि मगाउँथेँ र पुनामा खर्च गर्थें ।
०००
पछि, मैले पिएचडीको थेसिस बुझाएर श्रीमती र छोरासँग वीरगन्ज आएँ र यतै बसेँ केही समय । मैले वीरगन्जको क्याम्पसमै आफ्नो सरुवा मिलाउन खोजेको थिएँ, तर त्यो सम्भव भएन ।
०३५ साल । वीरगन्जबाट काठमाडाँै आएपछि त्रि-चन्द्र कलेजबाट विश्वविद्यालय सरेँ अध्यापनका लागि । डेरा जीवनबाट वाक्क लागिसकेको थियो । त्यसवेला मेरो केही पैसा बाँकी थियो । कलेजको उपदान, बिरामी बिदाको पैसा बटुलेर, भएको स्कुटर पनि बेचेर र ६५ हजारमा चाबेलमा तीन कोठाको एउटा सानो घर किनेँ । त्यो घर यति सानो थियो कि त्यो पनि एउटा डेराजस्तै प्रतीत हुन्थ्यो । यति मात्र हो, त्यहाँ कुनै घरबेटीलाई भाडा तिर्नु पर्दैनथ्यो । तर, धेरै राहत भयो । श्रीमतीलाई झन् रमाइलो । घरमा बस्न पाएर उनी गमक्क थिइन् । यसपछि मेरो डेरा जीवनको अन्त्य भयो । बिहेपछि मात्रै म १० वर्ष डेरामा बसेछु । तर, ती दस वर्षभित्र डेरा जीवनका अनेकौँ कथा भरिए दिमागमा । डेराको दुःख मैले अनुभव गरेर होला मेरा लेखनमा पनि ती दुःख आउँछन् । मेरा उपन्यासका अधिकांश पात्र डेरामै बस्छन् र संघर्ष गर्छन् ।
०४० मा मैले मदन पुरस्कार पाएँ ३० हजार राशिको । त्यो ३० हजार रुपैयाँले घरको नयाँ तला थपेँ । पछि, त्यो घर बेचेेर महाराजगन्जमा घर किनेँ । यहाँको घरको बाटो बिर्सिएर धेरैपटक रातैभरि बाटैभरि घुमेको छु ।
डेरा जीवनका अनेक समस्या हुन्छन् । घरबेटीले निकाल्न खोज्छन् अनायासै । पानी, ट्वाइलेटको समस्या हुन्छ । बत्ती धेरै नबाल भन्छन् । फेरि बढेकी छोरी भएको ठाउँमा एक्लो मान्छेलाई डेरा दिँदैनथे । मेरो घरबेटीसँग कहिल्यै पनि प्रेम र आत्मीयता गाँसिएन । मेरो आँखामा उनीहरू मात्रै घरबेटी हुन्थे ।
मेरो डेरा जीवन सबै उतारेको मेरो ‘कट्टेल सरको चोटपटक’ उपन्यासमा हो । त्यो कट्टेल सर मै हुँ, मेरै जीवनको प्रतिविम्ब हो । त्यसको सुरुमै श्रीमतीसँगका रोमान्सका कुरा, सामान्य झैझगडा सबै मेरो कहानी हो । मेरो डेरा जीवन सबै उपन्यासमा आउँछ । डापी, एक सहरमा एक कोठा, उपसंहार अर्थात् चौथो अन्त्य, अपि्रय उपन्यासहरूमा डेरा जीवन प्रमुखता साथ आएका छन् । यो उमेरसम्म पनि डेरा जीवनको झझल्को आउँछ । डेरा जीवनबाटै हो मैले रक्सी खान सिकेको । तर, रक्सी खाएर मैले कहिल्यै उपन्यास लेखिनँ । बरु पत्रिकाको कोलम लेखेको छु रक्सी खाएर । यस्तो समय, जहाँ मसँग गरिबी थियो, दुःख थियो र सास अड्याउने जीर्ण बाटो थियो । म जीवनको क्रसरोडमा उभिएको थिएँ । यही हो मेरो डेरा जीवन ।
त्यो त्यही समय थियो- जब मेरो जीवनमा अभाव लडाइँ गर्थे । जुनवेला म बिहान कलेजका विद्यार्थीलाई पढाउन जाँदा बासी भात र आलु खाइरहेको हुन्थँ, त्यो त्यही समय थियो- जतिवेला बेलुकाको छाक टार्न म आफ्ना किताब झोलामा बोकेर गल्ली, पसल र स्कुलमा बेच्दै हिँड्थँे- त्यो थियो मेरो डेरा जीवन, मेरो जीवनको आधा हिस्सा ।
(स्रोत :- अन्तर्जाल)
