संस्मरण : मेरो डेराबास

~डा. ध्रुवचन्द्र गौतम~

परिर्वतन र अनुभवमध्ये एक छान्नुपर्‍यो भने म अलमलमा पर्छु । किनभने, मसँग दुवै छन् । अनेकौँ घटना र धेरैखाले उतार-चढावको साक्षी हो- मेरो जिन्दगी । जीवनमा परिवर्तन पनि भए र अनुभव पनि धेरै । जन्मेदेखि नै वर्षौंसम्म डेरा जीवनले छाडेन मलाई । डेरा जीवनका दुःखदायी र रोमाञ्चक अनुभव सबै बटुलेको छु मैले । नेपाली साहित्यमा डेरा जीवनबारे सबभन्दा बढी लेख्ने लेखक भन्छन् मलाई । खासमा डेरा जीवनका आफ्नै अनुभव लेखेको हुँ मैले । डेरा जीवन सम्भिmयो भने मात्रै पनि म अनेक यथार्थ र बाध्यताका पुराना कथाले घेरिन पुग्छु । वास्तवमै दुःखी थियो त्यो जीवन । सुखले चियाउने खटप्वाल नै बन्द थियो सायद ।

एउटा रोचक कुरा के छ भने, मेरो जन्म नै डेरामा भएको हो- रक्सौलमा, ठीक २००० सालमा । पहिले त्यो हाम्रो डेरा नै थियो । म जन्मेको केही वर्षपछि बुबाले त्यही घर किन्नुभयो, जुन घरमा डेरा लिएर हामी वर्षौं बसेका थियौँ । पछि, बुबाले वीरगन्जको एउटा घरसँग रक्सौलको घर साट्नुभयो र म एक वर्षको हुँदा हाम्रो परिवार वीरगन्ज सर्‍यो ।

पिताजी बिजुली कारखानामा काम गर्नुहुन्थ्यो । बुबालाई बिजुली कारखानाको क्वार्टरमा बस्नुपर्ने भयो । हामी परिवारै वीरगन्जको घरबाट क्वार्टरमा सर्‍यौँ । मेरो बाल्यकालको महत्त्वपूर्ण भाग त्यस क्वार्टरले ओगट्छ । खासमा त त्यो क्वार्टर पनि एकप्रकारको डेरा नै हो । मेरो पढ्ने, लेख्ने उमेर बिजुली कारखानाको क्वार्टरमै बित्यो । हामी कहिलेकाहीँ मात्र घर जान्थ्यौँ । बढी त त्यही क्वार्टरमा सुत्थ्यौँ । त्यही नै मेरो सिंगो संसार थियो । त्यस बिजुली कारखानाको क्वार्टरको जिन्दगी पनि रमाइलै थियो । जाडोमा डिजेल बालेर तापिन्थ्यो । गर्मीमा हामी भुराहरू घरनजिकको पोखरी जान्थ्यौँ र गर्मीको ताप छल्न घन्टौँ नुहाउँथ्यौँ । बिस्तारै बुबाको क्वार्टर नै हाम्रो घरजस्तो लाग्न थाल्यो । यसरी समय बित्दै गयो ।

वीरगन्जमा भर्खरै फिल्म हल खुलेको थियो । कहिलेकाहीँ स्कुल नगई हामी त्यो हलमा फिल्म हेर्न पुग्थ्यौँ । राजेश खन्नाका फिल्म चलेका हुन्थे । फुसको हल थियो त्यो । त्यस हलका रोमाञ्चक दिनहरू पनि अहिले मेरो मानसमा अटाइनअटाई भएर बसेका छन् । हाम्रो घर वीरगन्जको कुमालटोलमा थियो । हामी वेला-वेला क्वार्टर-घर गरिरहन्थ्यौँ । हाम्रो पुख्र्यौली घर गाउँको बेतौनामा पथ्र्यो । बुबाको जागिर सकिएपछि बुबाहरू गाउँका घर जान थाल्नुभयो । बुबासँग १० वर्षजति हामी परिवारै क्वार्टरमा बस्यौँ । अहिले सोच्छु, त्यो हाम्रो अर्धडेरा थियो ।

त्यो डेरा जीवन रमाइलो त थियो नै । तर, मेरो बाल्यकाल भने त्यति सुखमय थिएन । म सात कक्षा पढ्दै गर्दा मेरी आमा बित्नुभो । बुबाले अर्को बिहे गर्नुभो । कान्छी आमासँग मेरी आमाजस्तै भावनात्मक गाढा माया बस्न सकेन । तर, हामी एउटै घरमा बस्थ्यौँ । एउटै भान्सामा खाना खान्थ्यौँ । हाम्रो परिवार कहिले निकै गरिब भयो र कहिले धनी पनि बन्यो । एउटा परिवारको धेरैखाले उतार-चढाव देखेको छु मैले । त्यसैले म भन्छु- हामी किसान, जमिनदार, अभावग्रस्त सबैथोक हौँ । हामी कष्टपूर्वक डेरामा पनि बस्यौँ र ऐसआराम गरी घरमा पनि । मैले भनिहालेँ नि मेरोे जीवनको धेरै हिस्सा डेरा जीवनले ओगट्छ ।

०००

०१० मा म काठमाडौँ आएँ । केही समयका लागि, डुल्न मात्र । त्यसवेला धनुषचन्द्र दाइ बागबजारमा डेरा गरी बस्नुहुन्थ्यो । काठमाडौँ साह्रै फोहोर थियो त्यसवेला । गल्लीहरूमा ओस जमेको जस्तो लाग्थ्यो । डेरासम्म पुग्न ढुसी गन्हाउने गल्ली नाघ्दै हिँड्नुपथ्र्यो । सानो कोठा हुन्थ्यो । त्यो पनि अँध्यारो । केही गन्हाएजस्तो, नमिठो बास्ना आइरहन्थ्यो । सायद हामीजस्ता दुःखी जीव बस्ने अँध्यारो कोठामा केही थान मुसाले पनि गुँड बनाएका हुन्थे । त्यो डेरा जीवनको सम्झनाले म अहिले पनि बागबजारभित्रका ती अनौठा र ओसलाग्दा चिसा गल्लीहरू मेरा दिमागमा आउँछन् । म त्यसवेला महिना दिनजति मात्रै काठमाडौँ बसेँ र फेरि वीरगन्ज फर्कें । मेरो कठिन डेरा जीवनको सुरुवात हुन्छ- ०१६ सालबाट । त्यसबवला म एसएलसी दिएर काठमाडौँ आएको थिएँ, भाग्य आजमाउन । त्यसवेला म काठमाडौँ आउँदा धनुषदाइले बागबजारको डेरा छाडेर न्युरोड (डुगमबहिल)मा सरिसक्नुभएको रहेछ । काठमाडौँ मेरा लागि स्वप्नलोक थियो । काठमाडौँमा मेरो खुसीको सीमा थिएन । रानीपोखरी, टुँडिखेल, धरहरा, सिंहदरबार सब मेरा लागि दर्शनीय थिए ।

न्युरोडमा दाइको दुइटा कोठा (जहाँ म पनि बस्न थालेको थिएँ) थियो । एउटा कोरिडोरजस्तो सानो, झ्याल केही नभएका अँध्यारो, उज्यालो आउने कुनै मार्ग थिएन । सानो ओसिलो गल्लीबाट भित्र छिरेपछि एउटा ठूलो चोक आउँथ्यो । र, त्यो चोक नाघेपछि मात्रै हाम्रो कोठा आउँथ्यो । त्यो चोकमा खाल्डोजस्तो रछ्यान हुन्थ्यो, जहाँ चारैतिरका घरका स-साना झ्यालबाट फोहोर मिल्काइन्थ्यो । त्यो चोक यति गन्हाउँथ्यो कि वेला-वेला त्यो चोक नाघ्नै मुस्किल पथ्र्यो । त्यो रछ्याने चोकको गन्ध कहिलेकाहीँ कोेठाभित्र पनि पस्थ्यो । जेहोस् त्यो कोठा मान्छे बस्नेखालको थिएन, एउटा बाध्यताविरुद्ध अर्को बाध्यता टिपेर मुक्त हुन खोज्नु मात्र थियो । त्यसवेलै लागेको थियो- यो काठमाडौँको जिन्दगी साह्रै गाह्रो छ, डेरामा बस्न झनै गाह्रो । मलाई यी सबै सम्भिmँदा पनि कहाली लागेर आउँछ । म त पढ्न भनेर काठमाडौँ गएको थिएँ । हातमा एउटा जागिर नभए काठमाडौँमा टिक्न असाध्यै गाह्रो थियो । त्यसैले धनुष दाइले मलाई न्युरोडछेवैको एजुकेसन इन्टरप्राइजेजमा ‘बुक सेलरको’ काम खोजिदिनुभयो । म त्यहाँ काम गर्न थालेँ । दरबार स्कुलमा रात्रि कक्षा थियो- नेसनल कलेज । त्यसका संस्थापक शंकरदेव थिए । म त्यही रात्रि कलेजमा आइए पढ्न थालेँ । दिनभरि काम गर्थें, साँझ पर्न लागेपछि कलेज जान्थेँ र रात छिप्पिसकेपछि दाजुको अँध्यारो डेरामा आएर पल्टिन्थेँ । म एकप्रकारले बिमारीजस्तो भएको थिएँ । ‘होमसिक’ जस्तो भएको थियो । म जुनैवेला पनि वीरगन्ज आउन चाहन्थेँ ।

म कहिलेकाहीँ फुर्सद भएको वेला न्युरोडचोक गएर उभिन्थेँ । त्यो न्युरोडे जीवन अनौठो लाग्थ्यो । अनेकौँ घटना र राजनीतिक उतार-चढावको साक्षी त्यो न्युरोडमा पहिले पुराना झिंगटीका लोभलाग्दा छाना थिए, समयक्रममा ती बिलाइसके । फराकिलो भूगोलपार्क खुम्चियो । त्यहाँका सडकमा टहलिने, लम्किने र दौडिनेहरू पनि फेरिइसके । ती सबैको फेसन पनि फेरिएको छ । तन्नेरीहरू दौरा-सुरुवाल लगाएर गमक्क परेर हिँड्थे । अहिले त्यो दौरा-सुरुवाललाई जिन्स, जम्पर र त्यस्तै अन्य पश्चिमा उत्पादनले विस्थापित गरेका छन् ।

त्यो न्युरोडछेउको पीपलबोट धेरै परिर्वतनको साक्षी हो । मैले पनि काठमाडौँमा आएको परिर्वतन नजिकबाट हेर्न पाएँ । पीपलबोट हिजोआज संगठित जमघटको साटो नाक थुनेर या हात हल्लाउँदै कुदिरहेका मानिसलाई टुलुटुलु हेर्छ ।

म त डेरा जीवनबारे पो कुरा गरिरहेको छु । आइए पढ्दा-पढ्दै मलाई टिबी लाग्यो । र, म वीरगन्ज गएँ । त्यहीँ रोग पनि निको पारेँ र आइएको आदि कक्षा त्यहीँ पढँे । म त्यस न्युरोड -डुगमबहिल)मा केही वर्ष बसेँ दाइसँग । त्यहीँको डेरामा बसेर मैले त्रि-चन्द्र कलेजबाट बिए -स्नातक) पनि पास गरेँ । डेरामा बस्दा दाजु-भाउजुको सामान्य झगडा, वादविवाद सबै देख्न पाउँथेँ । चामल, जिरा, बेसार, खोर्सानी किन्ने खर्च नभएर कहिलेकाहीँ हुने झोक्काझोक्की सबै देख्न सक्थेँ । कहिलेकाहीँ अन्य डेरामा बस्ने मान्छेको अनुहारभरि अत्यास व्याप्त भएको पनि देख्थेँ । लाग्थ्यो- डेरा जीवन साह्रै दुःखी छ ।

०००

०२१ मा दाजु-भाउजुसँगै म पनि बागबजार डेरा सर्‍यौँ । बागबजारको त्यो कोठा भने ठूलो थियो । झ्याल पनि राम्रै थियो । भित्रपट्ट िभान्सा थियो । एउटै कोठालाई बाक्लो पर्दाले घेरेर दुइटा कोठा बनाइएको थियो, म एकापट्टकिो पर्दाले घेरेको कोठामा बस्थेँ । दाइ-भाउजु वीरगन्ज गएको वेला म कोठामा एक्लै बस्थेँ, त्यसबवला खाना पकाउन अल्छी लाग्थ्यो, र भोकै पनि सुत्थँे । त्यसवेला म एमए पढ्न थालिसकेको थिएँ । दाइको संरक्षणमा थिएँ, त्यसैले घरबेटीको किचकिच सहनु पर्दैनथ्यो मलाई । डेरामा आइपर्ने अन्य झन्झटको पनि मलाई चिन्ता थिएन । खासमा त्यसवेलासम्म डेरा जीवनको झन्झटिला पक्षबारे मलाई खासै अनुभव थिएन । मलाई डेरामा बस्न यति दिक्क लाग्थ्यो कि सामान्य दुई दिन मात्रै पनि फुर्सद भयो भने म वीरगन्ज कुदिहाल्थेँ ।

०२२ मा फेरि दाइ मैतिदेवीको डेरामा सर्नुभयो । म पनि दाइको पछि लागेर त्यही डेरामा सरेँ । त्यहाँ भने मलाई छुट्टै डेरा थियो । त्यसपछि म रत्नराज्य क्याम्पस पढाउन थालेँ । ०२४ मा दाइले घर किन्नुभयो बत्तीसपुतलीमा । दुई वर्ष दाइको सानो घरमा राम्रैसँग बसियो ।

०००

०२६ मा मेरो बिहे भयो र म दाइसँग छुट्टएिँ । त्यसवेला म त्रि-चन्द्र क्याम्पस पढाउँथेँ । म दाइको घरबाट निस्किएँ र धोबीधारामा श्रीमती लिएर डेरा सरेँ । अब मेरा दुःखका दिन सुरु भए । डेरा जीवनका कठिनभन्दा कठिन अनुभव भएको त्यसपछि हो । ५० रुपैयाँमा कोठा पाइयो । कोठा लामो थियो । एक कुनामा भान्सा थियो । अँध्यारो थियो । कस्तो विडम्बना थियो भने त्यही एउटा कोठाको एक कुनालाई बैठक मान्नुपर्ने, एक कुनालाई बेडरुम मान्नुपर्ने, अनि एक कुनालाई पाहुना रुम । साथीभाइको जमघट पनि त्यहीँ हुन्थ्यो । पाहुना आएर सुत्नु त परको कुरा । लाग्छ- आजको दुःखी सहरिया जीवन नै मेरो डेरा जीवन हो । डेरामा हामी बूढाबूढीको खासै झगडा पर्दैनथ्यो । बरु अर्को सँगैको डेरावालका बूढाबूढी खुब झगडा गर्थे । एक दिन श्रीमान् जाँड खाएर आएको रहेछ, बूढीसँग झगडा परेको निहुँमा कोठामा बजिरहेको ट्रान्जिस्टर नै फुटायो । त्यसवेला ट्रान्जिस्टर राख्ने मान्छे धनी मानिन्थ्यो ।

डेरा बस्दाको समस्या के हुन्छ भने घरबेटीले अर्को डेरावालाको गुनासो अर्को डेरावालाई सुनाउँछ र उनीहरूबीच झगडा गराउन खोज्छ ।

त्यसवेला मलाई अल्सर भयो । बिहे गर्दा मेरो खर्च पनि सकिइसकेको थियो । कलेजबाट मेरो सबै ऋण काटेर जम्मा १० रुपैयाँ मात्र तलब आयो । रिंगटा लागेर मर्छुजस्तो पनि लाग्यो । डाक्टरकहाँ जाने पैसा थिएन । डाक्टरले डेरामा आएर उपचार गरेको ५० रुपैयाँ फिस लिन्थ्यो । द्वारिका श्रेष्ठसँग सय रुपैयाँ सापट मागेर ५० रुपैयाँ डाक्टरलाई दिएँ ।

डेरामा बस्दा ट्वाइलेट जान साह्रै गाह्रो हुन्छ । फेरि ट्वाइलेट यति फोहोर हुन्छ कि जानै सकिन्न । तर, मिलाएर जानैपथ्र्यो । लामो समय लाइन लाग्नुपथ्र्यो कहिलेकाहीँ ।

त्यसवेला बिहान खाए बेलुका के खाऊँ भन्ने अवस्था थियो । म झोलाभरि किताब बोकेर हिँड्थेँ । त्यसवेला मेरो ‘निमित्त नायक’ उपन्यास निस्केको थियो । बिहान कलेजमा पढायो र दिनभरि हिँडेर किताब बेचेर पनि बिहान-बेलुकाको छाक टारेका थियौँ । मैले ट्युसन पढाउन थालेँ र थोरै पैसा आउन थाल्यो । एक दिन मेरी श्रीमतीले मेरो सबै लुगा धोइछिन् । मेरो अर्को लुगा थिएन । म भित्री लुगा नलगाई सिरक ओढेर सुतिरहेँ । त्यही वेला ट्युसन पढ्ने तीन-चारवटी केटी आए । ल पर्‍यो आपत, के गर्ने ? कुनै बहाना पनि थिएन । सिरकबाट बाहिर निस्कन सम्भव पनि थिएन । फेरि अर्को कोठा पनि थिएन । मैले उनीहरूलाई ‘आज मलाई ज्वरो आएको छ, तिमीहरू जाओ भोलि पढाउँला’ भनेर सिरकभित्र टाउको लुकाएँ र उनीहरू गए ।

कहिलेकाहीँ सिनेमा हेर्न मन लाग्थ्यो र केटीहरूलाई ‘मेरो अर्को काम छ, भोलि पढाउँला’ भन्थेँ र सिनेमा हलमा तिनै विद्यार्थीसँग जम्काभेट हुन्थ्यो ।

कहिलेकाहीँ डेराबाट हट्नुपर्ने स्थिति पनि आउँछ । घरबेटीले ‘जाऊ’ भनेपछि जानै पर्‍यो । धोबिधाराको डेरामा वर्ष दिन बसेपछि त्यहीँको अर्को डेरामा सर्‍यौँ । त्यहाँ सय रुपैयाँ थियो डेराभाडा र तीनवटा कोठा थियो । त्यहाँ भने पाहुना आएपछि राख्न सकिने भयो । केही समयपछि घरबेटी विनाकारण किचकिच गर्न आउन थाल्यो । र, मीरा भन्ने मेरी ट्युसन विद्यार्थीको घर मरुगणेशको प्याफलमा डेरा सर्‍यौँ ।

डेरा जीवनको सबैभन्दा रमाइलो थियो त्यो डेरा । उनले किराया लिन्न भनिन् । तर, म महिनाको ५० रुपैयाँ दिन्थेँ । दुइटा कोठा थियो । एउटा कोठामा भर्‍याङ उक्लेर कोठामा गएपछि त्यस कोठाको अर्को भागको गाह्रो गल्र्यामगुर्लुम ढलेको थियो । त्यस कोठाको आधा भागै थिएन । छर्लंगै थियो । त्यसैले सित्तैंमा बस भनेका होलान् । हामी बूढाबूढी त्यो गाह्रो ढलेकोपट्ट िजान डराउँथ्यौँ । तर, बिस्तारै बानी पर्दै गयो त्यस डेरामा बस्ने ।

घरबेटी साह्रै रमाइला थिए । दुई वर्ष बसेपछि आफैँ बहाना बनाएर बत्तीसपुतलीको अर्को डेरामा सर्‍यौँ ।

बत्तीसपुतलीको मेरो डेरा दाइको घरनजिकै थियो । त्यो माटोको घर थियो । तर, सधैँ ओसिलो हुन्थ्यो त्यस डेरामा । डेरा पनि साह्रै सानो थियो । कोठा जहिल्यै गन्हाएजस्तो हुन्थ्यो । घरबेटी यति किचकिचे थिए कि सधैँ पानी धेरै खर्च गर्‍यौ भनेर किचकिच गरिरहन्थे । बूढी सधैँ दिक्क मान्थिन् । तनाबमा रहन्थिन् । मलाई पनि तनाब हुन्थ्यो । डेरामा बसेपछि घरबेटीको मनोविज्ञान ‘डेरावालालाई कसरी हटाऊँ’ भन्नेखाले हुन्छ ।

बत्तीसपुतलीको डेरामा बस्दा म पुना पढ्न जाने भएँ । क्वार्टरमा बस्नेगरी पढ्न । म पुना पिएचडी गर्न जान लागेको थिएँ । वीरगन्ज कुमालटोलको घरमा मेरो एउटा कोठा सुरक्षित थियो । छोरा र श्रीमतीलाई त्यहीँ लगेर छाडेँ र म पिएचडी गर्न पुना गएँ ।

पुनामा मैले क्वार्टर पाएँ बस्न । डेरा जीवनमध्ये सबैभन्दा सानदार जिन्दगी पुनामा बिताएँ । पछि, परिवार पनि लगेँ पुना । क्वार्टरमा पाँचवटा कोठा थियो । क्वार्टरमा बसेबापत मैले पाएको स्कलरसिपको १० प्रतिशत पैसा कटाउँथ्यो । डाइनिङ टेबल पनि भाडामा पाइन्थ्यो । घरको काम गरिदिने मान्छे पनि पाइन्थे । त्यहाँ बस्दा मोजसँग बसियो । त्रि-चन्द्र कलेजबाट मेरो तलब पनि मगाउँथेँ र पुनामा खर्च गर्थें ।

०००

पछि, मैले पिएचडीको थेसिस बुझाएर श्रीमती र छोरासँग वीरगन्ज आएँ र यतै बसेँ केही समय । मैले वीरगन्जको क्याम्पसमै आफ्नो सरुवा मिलाउन खोजेको थिएँ, तर त्यो सम्भव भएन ।

०३५ साल । वीरगन्जबाट काठमाडाँै आएपछि त्रि-चन्द्र कलेजबाट विश्वविद्यालय सरेँ अध्यापनका लागि । डेरा जीवनबाट वाक्क लागिसकेको थियो । त्यसवेला मेरो केही पैसा बाँकी थियो । कलेजको उपदान, बिरामी बिदाको पैसा बटुलेर, भएको स्कुटर पनि बेचेर र ६५ हजारमा चाबेलमा तीन कोठाको एउटा सानो घर किनेँ । त्यो घर यति सानो थियो कि त्यो पनि एउटा डेराजस्तै प्रतीत हुन्थ्यो । यति मात्र हो, त्यहाँ कुनै घरबेटीलाई भाडा तिर्नु पर्दैनथ्यो । तर, धेरै राहत भयो । श्रीमतीलाई झन् रमाइलो । घरमा बस्न पाएर उनी गमक्क थिइन् । यसपछि मेरो डेरा जीवनको अन्त्य भयो । बिहेपछि मात्रै म १० वर्ष डेरामा बसेछु । तर, ती दस वर्षभित्र डेरा जीवनका अनेकौँ कथा भरिए दिमागमा । डेराको दुःख मैले अनुभव गरेर होला मेरा लेखनमा पनि ती दुःख आउँछन् । मेरा उपन्यासका अधिकांश पात्र डेरामै बस्छन् र संघर्ष गर्छन् ।

०४० मा मैले मदन पुरस्कार पाएँ ३० हजार राशिको । त्यो ३० हजार रुपैयाँले घरको नयाँ तला थपेँ । पछि, त्यो घर बेचेेर महाराजगन्जमा घर किनेँ । यहाँको घरको बाटो बिर्सिएर धेरैपटक रातैभरि बाटैभरि घुमेको छु ।

डेरा जीवनका अनेक समस्या हुन्छन् । घरबेटीले निकाल्न खोज्छन् अनायासै । पानी, ट्वाइलेटको समस्या हुन्छ । बत्ती धेरै नबाल भन्छन् । फेरि बढेकी छोरी भएको ठाउँमा एक्लो मान्छेलाई डेरा दिँदैनथे । मेरो घरबेटीसँग कहिल्यै पनि प्रेम र आत्मीयता गाँसिएन । मेरो आँखामा उनीहरू मात्रै घरबेटी हुन्थे ।

मेरो डेरा जीवन सबै उतारेको मेरो ‘कट्टेल सरको चोटपटक’ उपन्यासमा हो । त्यो कट्टेल सर मै हुँ, मेरै जीवनको प्रतिविम्ब हो । त्यसको सुरुमै श्रीमतीसँगका रोमान्सका कुरा, सामान्य झैझगडा सबै मेरो कहानी हो । मेरो डेरा जीवन सबै उपन्यासमा आउँछ । डापी, एक सहरमा एक कोठा, उपसंहार अर्थात् चौथो अन्त्य, अपि्रय उपन्यासहरूमा डेरा जीवन प्रमुखता साथ आएका छन् । यो उमेरसम्म पनि डेरा जीवनको झझल्को आउँछ । डेरा जीवनबाटै हो मैले रक्सी खान सिकेको । तर, रक्सी खाएर मैले कहिल्यै उपन्यास लेखिनँ । बरु पत्रिकाको कोलम लेखेको छु रक्सी खाएर । यस्तो समय, जहाँ मसँग गरिबी थियो, दुःख थियो र सास अड्याउने जीर्ण बाटो थियो । म जीवनको क्रसरोडमा उभिएको थिएँ । यही हो मेरो डेरा जीवन ।

त्यो त्यही समय थियो- जब मेरो जीवनमा अभाव लडाइँ गर्थे । जुनवेला म बिहान कलेजका विद्यार्थीलाई पढाउन जाँदा बासी भात र आलु खाइरहेको हुन्थँ, त्यो त्यही समय थियो- जतिवेला बेलुकाको छाक टार्न म आफ्ना किताब झोलामा बोकेर गल्ली, पसल र स्कुलमा बेच्दै हिँड्थँे- त्यो थियो मेरो डेरा जीवन, मेरो जीवनको आधा हिस्सा ।

(स्रोत :- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.