~अनमोल मणी~
नीलो अन्धकार पूरै टक्टकिएर छेवैको रूखको कापबाट आएको घामको किरण मेरो अनुहारमा परेकै बेला उसले बोलायो, “जमुना !” जतिबेला म उही पुरानो छाता बोकेर बूढो घण्टाघरमुनि उभिएकी थिएँ । रातभरि यो कुमारी मैदानसँग सुतेर, खेलेर र नङ्ग्याएर यो धुलौटे सडकबाट अँध्यारो भागेजस्तै उसको आवाजसँगै मेरा धेरै तन्द्रा एकैचोटि भागे । सोचेँ, “म को हुँ ? को हो जमुना ? को हो यो पुरुष ? उसले खोजेकी जमुना मै हुँ ?”
सायद मसँग स्वास्नीमानिस हुनुको प्राचीन गन्ध अझै छ, मलाई यस्तै विश्वास भयो । स्वास्नीमान्छेसँग हुने आध्यात्मिक जादु पनि मसँग छ, जुन मैले कहिल्यै हटाउन सकिनँ र त आज म जमुना भएँ कि ? निर्जन भत्किसकेको पाटीपौवाजस्तो म आफूलाई एक्लो उभ्याइदिन्छु । यतिखेर मैले कसैलाई आकषिर्त नगर्नुपर्ने हो वा गर्दिनँ । यस अर्थमा भन्ने हो भने म स्वास्नीमान्छे रहिनँ । सोच्छु, त्यसो भए म को हुँ ? मात्रै यही पुरुषकी जमुना ?
कुनै ईश्वर जसलाई देउता भनेर पुकारिन्छ -त्यो श्रीमान् पनि हुन सक्छ) सँग मेरो घरेलु सम्बन्ध भएन । त्यसैले म थालीमा अक्षतापाती बोकेर कहिल्यै मन्दिर छिरिनँ पनि । लोग्नेको अँगालोमा रात बिताउनु, प्रत्येक बिहान थिलथिलो र आलस्य जीउ लिएर उठ्नु, अस्वाभाविक रूपमा अर्काका लागि मेरो भुँडी बढाएर गर्भवती भइदिनु घरेलु पीडाका यी कुनै अनुभव मैले लिन सकिनँ । यसो भनौँ, लिइनँ पनि । मलाई सबै मान्छेहरू सधैँ पराया लागे । यी सबै मान्छेका आकृति मजस्ता होइनन् भन्ने लाग्यो । मेरो विचार, स्वभाव, अनुभव र सोच वा मसँग भएको भनिने विवेक यी कुनै पनि मलाई आपmना लाग्दैनन् । कोही यसलाई निजत्व दिन सक्लान् तर मेरो जन्म निजत्व मात्रै होइन । तर पनि मलाई लाग्छ, त्यसो भए म को हुँ ?
स्मृतिका धुमिल चिन्हहरूमा मेरो विगत वा मेरो जन्मकथा, बाल्यकाल, यौवन अवस्था सबै नाच्छ । जतिबेला म जन्मिएँ एउटा उमङ्ग छायो । दीपावली भयो । तर, मेरो जन्म आइमाईको रूपमा भएको थियो । जतिबेला म नाङ्गै जन्मिएँ, नाङ्गै हिँड्थेँ, त्यतिबेला पनि म आइमाई नै थिएँ । जतिबेला मेरो जीउ कसिलो, भरिलो र पुष्ट थियो, त्यतिबेला पनि म मात्रै आइमाई भएँ । जतिबेला प्रेमी बनेँ, पाउजु बजाएर छमछम नाच्थेँ, ती दिनहरूमा अझै बढी आइआई भएँ । विस्तारै चाउरिँदै गएको गालाको डोब, झोल्लिँदै गएका हात पाखुराका मांसपेसी, आकर्षण घट्दो सुक्दै गएको मेरो नितम्ब, यी सबै हिजो मेरै थिए । सोच्छु, त्यसो भए हिजो म को थिएँ ? आज म को हुँ ? अनुत्तरित छ । के हिजो म कसिलो स्तन वा भर्भराउँदो यौवन मात्रै थिएँ ? के हिजो विज्ञानको परीक्ष्ाण मात्रै थिएँ ?
थाहा छैन, उसले बोलाएको जमुना म हुँ या होइन । तर, उसले भनेका सबै कुरा सुनिदिन्छु । घण्टाघरमुनि उभिएर ऊ भन्छ, “जमुना तिमीलाई थाहा छैन, घण्टाघर उल्टो घुमिरहेछ । यस समयलाई यही घण्टाघरले कैद गरेको छ । हामी यसको मुनि छौँ र सेकेन्ड, मिनेट, घण्टा सुईसँगै हाम्रो आयु घुमाइरहेछौँ ।” लाग्छ, उसले भनेका कुराहरू असत्य होइनन् । “यो घडी बनाउने मान्छे निकै बुद्धिमान हुनुपर्छ । हामीलाई उसले विज्ञानको पछिपछि लगाइदियो, दिन र रातको भ्रम सिर्जना गराइदियो र हामी मध्यदिनमै घाम हराए पनि या जून उदाए पनि दिनलाई दिन नै भन्छौँ,” उसले आफ्नो भनाइ जारी राख्यो ।
मैले उसलाई भनिनँ, “महासय हाम्रा युगभरिका प्रख्यात/अप्रख्यात दार्शनिक चिन्तक वा धर्मगुरु सबै यही घण्टाघरकै सुईसँग घुमे । चाहे त्यो सुई सुल्टो घुमोस् या उल्टो ।” इतिहासका आकर्षक हल्लावाजहरू नित्से, गान्धी, प|mायड, सार्त्र, माक्र्स, डे कार्ते, स्पिनोजा, ब्रेख्त, प्लेटो, सिजी युङ् यी सबै सायद उल्टो घुम्ने घडीको सुईसँगै घुमे । त्यसैले डे कार्तेले भन्यो, म सोच्छु त्यसैले म छु । मैले सोचे पनि नसोचे पनि म त छु नै । त्यसो त घडी सुल्टो घुम्दा पनि म नहुन सक्छु वा उल्टो घुम्दा पनि हुन सक्छु । विज्ञान रहेसम्म म रहन्छु । तिम्रो चेतना रहेसम्म विज्ञान रहन्छ, त्यो घडीको सुई ! तिम्रो चेतना नरहे पनि घुमिरहनेछ ।”
“जमुना ! डे कार्तेले घोषणा गरेरै आफूलाई बिर्सिसक्यो । ऊ विज्ञान रहेसम्म बाँचिरहनेछ । सायद तिमीले त अब मलाई बिर्सिसक्यौ । तिम्रो यात्रा गहिराइतिर गयो,” प्रतिक्रियाविहीन उभिएपछि मेरो प्रतिक्रियाको अपेक्षा नगरी उसले व्यङ्ग्य गर्यो, “समाजसँग मोहभङ्ग भएर तिमीले रोजेको सतहको मृगतृष्णा त्यागेर गहिराइतिरको यात्रा निरर्थक छ । तिमी गहिराइमा पुगेपछि तिम्रो बूढो सौन्दर्यले तिमीलाई घोच्नेछ । तिमी आपmनो जन्मलाई धिक्कार्नेछौ । यस समाजलाई धिक्कार्नेछौ । त्यसपछि तिमी यही असामाजिकजस्तो लाग्ने सामाजिक भीडमा मिसिन आउनेछौ ।” सायद उसले मलाई उसकी पूर्वप्रेमिका जमुना भन्ठान्यो भन्ने अनुमान लगाउन अब मलाई गाह्रो भएन । त्यो जमुना सायद उसकी स्वास्नी हुन नसकेकी आइमाई हुनुपर्छ । उसले सम्भावित स्वास्नी बनाएको थियो होला सायद, म यस्तै कल्पना गर्छु जमुनाबारे ।
जन्डिस लागेजस्तो सूर्य पहेँलिएको छ । घण्टाघर छेउका रूखहरूमा मान्छेका करङजस्ता हाँगा मात्र छन् । फोटोजेनिक पोज र गालाको चार्मिङ् गुमाइसकेकी नायिकाजस्ती म घण्टाघरमुनि उभिइरहेकी छु । यो सहर- एड्सग्रस्त पुरुषको सम्भोगले शिथिल वृद्ध वेश्याजस्तो लाग्छ । र पनि, झर्कोलाग्दो गरी आउने गाडीका आवाज र हर्नलाई पचाएर हामी उभिएका छौँ घण्टाघरमुनि ।
“तिमीले यो घण्टाघरमुनि छाडेर गएपछि पनि म बाँचिरहेछु,” उसले बिनाकुनै सङ्कोच स्वाभाविक भएर भन्यो, “बाँच्नका लागि यहाँ सबैले सङ्घर्ष गरे । तर, मैले षड्यन्त्र रचेँ । हो, म अहिलेसम्म षड्यन्त्र रचेर बाँचिरहेछु ।” कुरो टुङ्ग्याएर ऊ गजबले हाँस्यो । “के फरक पर्यो त ?” मैले मन नलगाएरै जवाफ फर्काएँ । “ल तिमीले छाडेपछि म गाँजा तानेर लट्ठ भइनँ, विछोडको पीडाले मलाई पटक्कै छोएन, पि्रम्याचर प|mस्टेसनको ओभरडोजले ग्रस्त भइनँ । मैले निद्रालाई मात्र आपmनो ठानिनँ, जुन औसत प्रेमीहरू विछोडपछि ठान्छन् । तिम्रा चिठीहरू जलाएँ र खरानीमा बाँकी राखेँ सम्झनाहरू । अक्षरहरू टुक्राटुक्रा पारेर जोड्नै नसक्ने गरी भत्काइदिएँ ।” ऊ गम्भीर र दृढ वा कठोर भएजस्तो पनि गर्यो, “म आज यहाँ भेटिएँ, यो पनि मेरो गम्भीर षड्यन्त्र हो । वास्तवमा म तिमीसँग भेट्दै थिइनँ, अन्त जाँदै थिएँ ।”
ऊ एकनास बोलिरह्यो, “तिमीले छाडेपछि यहाँ धेरै भयो । घण्टाघर उल्टो घुम्यो । श्रीमतीद्वारा पालिएका पुरुषहरू प्रदर्शनीमा राखिए । डिस्कभरी अन्तरिक्ष पुगेर फर्कियो । पृथ्वीमा मङ्गलग्रहको जग्गा किनबेच थालनी भयो । ह्याचरी उद्योगमा कुखुराका चल्ला जन्माएजसरी टेस्टट्युबमा मान्छेका आकृतिका केटाकेटी जन्मन थाले र सबै आइमाई कुमारी रहन थाले । भ्रूण प्रत्यारोपण सफल भयो र साइनोको समस्या जन्मियो । कन्डमको जन्म भयो र वीर्यहरू आपmनो स्वतन्त्रता खोसिएको विरोधमा उत्रिए । तिमीले छाडेपछि यहाँ विज्ञानले धेरै थोक गरिदियो ।”
मलाई खित्का छाडेर हाँस्न मन हुँदाहुँदै पनि हाँसिनँ । सोच्छु, मान्छेहरू मात्रै एक-एकवटा विम्ब हुन् । उनीहरूको अस्तित्व देखिएको सग्लो आभास मात्रै हो । मान्छेहरू आफैँले सिर्जना गरेका विम्ब बोकेर हिँडेका छन् । स-साना कम्पोनेन्टहरूलाई जोडेर बनाइएका स्ट्रेसिङ् अनुभूति लिएर बाँचेका छन् । घण्टाघरछेउमा अपरिचित दृश्यहरू चल्मलाउँछन् । मूर्दा बोकेका अपरिचित मान्छेका हूलहरू हिँड्छन् । नचाहेरै पनि म उसलाई सोध्छु, “कहाँ लगिँदैछन् यी लासहरू ?” “बिक्रीका लागि,” ऊ सजिलै जवाफ दिन्छ, “तिमीले मलाई छाडेपछि यी सबै भए । लासहरू थाना लगिन्छन् । लासहरू अदालत लगिन्छन् । लासहरू मन्त्रालय लगिन्छन् । लासहरू झन्डावाल गाडीमा पनि हिँड्छन् । अख्तियार, आयोग, अनुसन्धान केन्द्र, गुम्बा, दरबार सबैतिर लासहरू जान्छन् किनभने अचेल लासहरू बिक्री गरिन्छन् ।”
उसका अभ्यस्त कुरा सुनेर म दङ्ग हुन्छु । अनौठा कुरा गर्ने यो मानिस अर्थात् जमुनाको प्रेमी अनौठो छ । सोध्छु, “महासय ! गलत मान्छेसँग तपाईं आपmनो व्यस्त समय बर्बाद गरिरहनुभएको छ । माफ गर्नुहोला, म यहाँलाई चिन्दिनँ ।” “तिमी जमुना होइनौ ? सायद तिमी सतहबाट गहिराइमा गयौ र मलाई भुल्यौ । सबै मान्छेहरू गलत छन् । कोही सही होइनन् । आफूलाई सही भन्नेहरू सबैभन्दा बढी गलत हुन् । जमुना ! तिमीसँग भेट गर्न पाएकोमा म खुसी छु । थाहा छैन किन हो तिमीलाई म गलतहरूबीच पनि सही देख्छु,” यति भनेर ऊ मोडपट्ट िलाग्यो । फेरि केही सम्झेझैँ गरेर फर्कियो र भन्यो, “तिमीले मलाई बिर्सियौ ? ठीक गर्यौ । सबैलाई सम्भिmनुहुन्न । तर, सम्झने कोसिस गर्नु । म तिम्रो उही पुरानो प्रेमी, पदम ।”
“महासय माफ गर्नुस् । म जमुना होइन । तपाइर्ं उस्तै अनुहार देखेर झुक्किनुभयो । म जमुनाको क्लोन हुँ । उस्तै, दुरुस्तै उस्तै । यो सब विज्ञानले गरेको प्रगति हो । अघि तिमीले भनेजस्तै जसरी टेस्टट्युबमा वीर्य र डिम्ब घोलेर भ्रुण बने, जसरी एउटाको गर्भबाट अर्कोको गर्भमा भ्रूण प्रत्यारोपण गर्न वैज्ञानिकहरू सफल भए । त्यसैगरी विज्ञानको अर्को सफलता हुँ म, क्लोन । म ठ्याक्कै अर्कोको प्रतिरूपमा जन्मिएको हुन्छु । र, धेरैलाई भ्रम दिन सफल हुन्छु । जस्तो अहिले म तपाईंकी जमुना भइदिएँ ।”
उसको निधारका धर्साहरूको खुम्च्याइले ऊ अलमलमा परेर अस्पष्ट भएको प्रस्ट हुन्थ्यो । उसले एकटकले मलाई हेरिरह्यो, शिरदेखि पाउसम्म । नितम्ब, स्तन, ओइलाउँदो अनुहारको चमक सबै-सबै उसले गाढा तरिकाले हेर्यो । त्यसपछि घण्टाघरमुनि उसले आपmनो हातको पुरानो घडी हेर्यो, घण्टाघर र उसको घडीमा समय बराबर थियो । उसले सायद यस्तै सोच्यो, घडी घुम्यो र फेरि उल्टो घुम्यो । त्यसपछि उसले न प्रतिक्रिया दियो, न त मेरो कुनै प्रतिक्रियाको प्रतीक्षा गर्यो । घण्टाघरमुनिबाट ऊ फटाफट जन्डिस लागेका सूर्य अस्ताएपट्टीलाग्यो । जहाँबाट सबेरै बेपत्ता भएको नीलो अँध्यारो फेरि घण्टाघरपट्ट िआउँदै थियो ।
(श्रोत:- नेपाल साप्ताहिक १६९ )