कथा : निरन्तरता

~डा. लेखनाथ काफ्ले~Lekhnath Kafle

ठाउँ: स्याङजाको कुनै टाढाको गाँउ, समय: २०४० सालतिर

ऊ पनि, ऊ भन्नाले उपल्लाघरे बुल्के माइलो, त्यही चौतारेको चिया पसलमा सदा झैँ पुषको जाडोमा उपरखुट्टी लगाएर ५-७ जना टोलका घरमुली लोग्नेमान्छेहरू संगै समय कटाउन बेतुकका गफमा चियाको तातो र घामको रापमा मस्त छ। घरको माइलो छोरो, लामो नाक, माथिल्लो ओठको दाहिने पट्टि एउटा गहिरो दाग, तालुमा एउटा सानो मासुको डल्लो उम्रेको उसलाई सबैले सानै देखि नै बुल्के माइलो भन्दछन र त्यसमा उसलाई कुनै गुनासो पनि छैन।

बुल्के माइलो जो आफु साक्षर मात्र छ, भारतमा एउटा उसकै भाषामा एक “साहेब” को “मकान” मा घरधन्दा गरेर दुई चार पैसा जम्मा पार्न सक्यो। पढेलेखेको साहेब र उ जस्तै धेरैकोमा काम गरेर जिन्दगी बितायो तर उसलाई आफ्ना छोराछोरीहरुलाई पनि पढाउनु पर्छ भन्ने चेत कहिल्लै पसेन। उसले आफ्ना सन्तानहरुलाई साहेब बनाउने सोचाई नै राखेन। घर नजिकैको प्रा. बि. भन्दा अलि परको नि. मा. बि. का ढोकामा तिनिहरुको पैतालाले टेक्न पाएनन्।

यो साहेबकोमा पनि कहाँ भारत पस्नासाथ नोकरी पाएको हो र? होटेल, रेष्टुरेण्ट, ढावा, फलामका औजार बनाउने कारखाना, पाउरोटी कारखाना, कपडाको फ्याक्ट्री कहाँ कहाँ काम गरेन उसले। सबै तिर चाहार्दा चाहर्दै ६ बर्ष पहिले यो साहेबको घरमा आइपुगेको हो उ।

खान पुग्ने आयस्था, पाखोबारी, खर खर्‍यान छदै थियो, दुई चार जोर काँसका थाल/कचौरा, तामाका खड्कुला, गाग्री/ताउला छदै थिए। त्यती हुँदाहुदै पनि खै किन हो कुन्नि उसले साहेबको घर छोड्न सकेको थिएन। के ले टिकाइराखेको थियो, उसलाई? दिल्लीको रमझम, साहेबको घरको सुख सुविधाले?

उसको मुग्लानको जीविका ! बिहानै उठे देखि साँझ सुत्नु अघि उसले गर्नु पर्ने कामको सुची हुदैनथ्यो, जे पर्छ त्यही, जतीखेर पर्छ त्यतिखेर काम गर्नु वा गर्ने तयारी अवस्थामा रहनु उसको डिउटी हो। हरेक दिन बिहानको काम सकेर साहेबको भएको एउटा मात्र छोरोलाई स्कुलको बस सम्म पुर्‍याउनु र भरे फेरी लिन जानु उसको दैनिकी हो।

त्यसबाहेक घरमा साहेबनीलाई घरका बिबिध कामहरुमा सहयोग गर्नु, तरकारी, खाद्द्य बस्तुको किनमेल गर्नु उसले गर्नै पर्ने काम हुन।

“म साहेब होइन अनि कसरी मेरा छोरा साहेब हुन सक्चन” उसलाई त्यही लाग्दथ्यो। “मेरा छोराहरु कहिल्लै साहेब हुनै सक्दैन। साहेब बन्न त साहेबकै घरमा जन्मिनु पर्दछ। त्यो त भाग्यको खेल हो” उसले त्यही बुझेको थियो।

उ अहिले चौतारेको चिया पसलमा होइन, नयाँ दिल्लीको करोलबागको चिल्लो सडकको एकापट्टीको छेउमा, त्यो कालो ठुलो छाता काँधमा राखेर लुरुलुरु उसको उही मकान तर्फ फर्कदै छ। उसको त्यो मकान, उसको लागी कार्यालय, डेरा, जे भने नी हुने ठाउँ हो, जहाँ उ बस्छ, खान्छ, सुत्छ, अनेकन सपना देख्छ (कहिले दिउसै, कहिले राती), कहिले गाँउघर सम्झेर निरस हुन्छ, कहिले हिन्दी फिलिमको हिरोको हामफाल्ने र उडने, नाँच्ने र गाउँने, रुने र हाँस्ने चालचलन देखेर दङ्ग हुन्छ। त्यो मकान जुँगे साहेब र मोटी साहेबनी अनि लुरे बाबुसाहेबको बंगला हो।

“मलाई पनि के को सारै दुख थियो र घरमा, गाँउका सबै लाहुरे भएसी म पनि लाहुर हेर्न हिडेको त हुम, थोरै ऋण लागेर घर न बास बनेर मुग्लानिएको हुम” उसले मनमनै गुन्गुनाउथ्यो। “साहेब नै नभए पनि आफ्नो गाउँको सानो तिनो साहेबको उम्मेदवार त हु नी” भन्ने पनि सोच्दथ्यो धेरै जस्तो, तर जब साहेबका घोप्टो परेका काला जुँगा सम्झन्थ्यो, उसको कल्पनामा हिउँ पर्दथ्यो बाक्लै, तिनै काला जुँगा जस्तै।

गाँउका सबै उसका दौतरी एक पछि अर्को गर्दै, पन्जाब, बम्बई, हरियाणा र दिल्ली तिर हानीए पछि, उसलाई पनि देश पस्ने हुटहुटी लागेकै थियो। “एक चोटी देश त देख्नै पर्छ बाबै यो दुई दिनको चोलामा” उसका दौतरीहरु त्यही भन्थे। त्यसमाथि दशैमा लाहुरेहरु देशबाट गाउँ पसे पछि त ओहो ! तिनको रवाफ, चालढाल, हिडाई, बोलाई, लवाइ, खुवाई, ३० तल्ले बिल्डिङका कुरा, अमिताभ बच्चनको गर्जाई, गुण्डाहरुको रामधुलाई, फिलिमका कुरा, शहरका छोटो कपडामा नखरा देखाउने उर्बशीहरुका कुरा, ती सबै कुरा सुने पछि उसलाई आजै देश तिर हाम्फालौ की भोलि हुन्थ्यो। त्यसमाथि आफ्नै स्वास्नीले “अरुका बुडाहरुले देश पसेर के के न गरे, आफ्नो भने कुवाको भ्यागुतो” भने पछि त उसलाई देश नपसी धरै भएन।

त्यसपछि त उ पनि तिहारपछि उसकै लागौटेयार संग लागेर लाग्यो, बटौली, सुनौली, गोरखपुर हुदै दिल्ली। जानु भन्दा दुई दिन अगाडी आफ्नी “लालु”, उसकी स्वास्नीको नाम “लालुमाया” माया गरेर “लालु”, होइन भने “लाले” लाई भन्यो “दुई चार कम्पनि रुप्पे नी कमाउन परो, घराँ टिनको छानो हाल्नु परो, तल्लाई यसो ढुंग्री, सिख्री नी जोर्न परो, म देश हानिने मन गरे, के भन्चेस त नी?” “म यता घर बेबार थाम्छु, त्यो नारानेको सेखी झार्न पनि जानुस। ‘मर्दले देश खानु, सिपाईले लडाईं’ त बुडापाकाले नै भंचन नी।” उसले एकै सासमा सबै भनी। कम्तिमा उसले त्यसो भनीनै त हाल्दिन की भन्ने झिनो आस पनि हरायो, ओमानको मरुभूमिको मिराजको पानी जस्तै।

उ हिड्ने बेलामा पनि लालु न रोइ, न दुख मानी। दुईवटा छोराहरु ३-४ बर्षका थिए, उनीहरुलाई के को पत्तो।

उसको छिमेकी नारायण प्रसादले उतै देशतिर कमाएर घरको छानोमा टिन टल्काए पछि, सबैले उसको घरको नामै टिनाघरे राखेदिए। त्यस पछि लालुलाई चोट परेको थियो। हुँदाहुदै, गाँऊ घरमा खसी काटे पनि, बरु उनीहरुलाई सोद्धैन्थिए गाँउलेहरुले तर नारायणको घरको लागी एक भाग छुट्टिएकै हुन्थ्यो। यी सब कुराले माइलोलाई भन्दा लालुलाई चोट पर्‍थ्यो, मुटुमै बज्र पर्‍थ्यो। अझै कहिलेकाही गाँउले आइमाइहरुले “तेरो लोग्ने त कस्तो जोइटिंग्रे हो, के गरेर राखेकिछ्स घरमै? हाम्रो जस्तो इलमी पो हुनु, दाम कमाउनु” भने पछी त “आफ्ना लोग्ने परदेशीएपछि मेरो डाहा गरचन मोरीहरु” भन्ने उसको उत्तरले लालु आफैको पनि चित्त बुझ्दैनथ्यो। उसलाई लाग्थ्यो, उसको लोग्ने पनि भारत पसोस, केहि इलम गरोस, गाउँमा नाम होस, दुई चार पैसा दाम होस। त्यसैले उ खुशी खुशी लोग्नेलाई बिदा गरी।

त्यसरी माइलो परदेसियो।

छोराहरु हुर्के, खर्च बढ्यो, दुई बर्षमा घर आयो, एउटा गतिलो लैनो भैसी किन्यो। त्यसको दुई बर्षमा घरमा टिनको छाना हाल्यो। अर्को बर्ष स्वास्नीले एउटी छोरी पाई। उसले एकनाले नयाँ गोठ बनायो।

एवं रितले ९ बर्ष बित्दा भए। ९ औं बर्षमा घर आउदा गाउँमा बिजुली पुगेछ, जताततै झिलिमिली। उसले टिभी किन्यो। घर पल्तिर चर्पी बनायो।

अरु त सबै ठिकै थियो, यो चर्पी भने गाँउमा एउटा मजाकको बिषय नै भै दियो। चिया पसल देखि किराना पसल सम्म, पुजेरी बाजे देखि ढोले दमाईं सम्म। के के न बिधि गरे झैँ भयो त्यो गाँउमा। कोही गाँउले “माइलो बौलायो, कंपनी रुप्पे खर्चेर हग्ने खाल्टो खन्यो” भने। कसैले “देश पसेर राम्रो कुरा गर्ला भनेको त के को तमासा हो त्यो” भन्दै उछितो काडे। “पैसा बढी भएको भए त २ रुप्पे मैनामारी ब्यजाँ ला’ भा हुने। धिक्कार हो, त्यसको बुद्दी” गाँउलेले बेस्मारी उडाए उसलाई।

उसको गाँऊघरमा अझै पनि बाँसको झ्याङ वा असुरोको झाडी, चिफ्ले, कुट्मेरो, दग्दाईको रुखको आड लगायो, काम सक्कायो, टन्टै साफ। तर पनि बर र पिपलका अजंगका रुखहरुले भने त्यो सौभाग्य पाएनन है। एउटा गजबको रमाईलो त त्यतिबेला हुन्थ्यो, जब ति तत तत ठाँउमा कहिलेकाही छिमेकका छोरीबुहारी, बाउबाजे, दाजुभाइ, दिदीबहिनी, नन्दअमाजू, सासुजेठानी को जम्का भेट हुन्थ्यो र त्यतिखेर देखेको नदेखी गरी टाउको बंग्याएर अर्को ठाँउको खोजीमा ढिलो पुग्ने प्राणी लाग्नुपर्ने हुन्थ्यो। त्यो पुर्खादेखि चलेको चलन थियो, सबैले आफ्नै तरिकाले त्यो चलनलाई अगाडी बढाएका थिए। माइलाले त्यो चलन माथि धावा बोलेको थियो।

माइलाको देश जाने आउने क्रम चलिरह्यो।

बिजुली आउनु र टिभी किन्नुले घरका जहान केटाकेटीको दिनचर्या नै बदलिदियो। त्यसमा पनि अझै गाँउसम्म नै बाटो पुगे पछि त मदेसका सरसमान गाँउमै पुगे। सहर अब गाँउमै पुग्यो। गाँउमा उब्जेको मकै, कोदो, फापर बेचेर मदेसका चामल र चाउचाउमा गाँउले मस्त बने। गुन्द्रुक, मस्युरा, अचार बनाउनु, साग, तरकारी सुकाएर राख्नु, खुर्सानीका बोट जोगाँउनुको साटो मदेसका बडेबडे काउली, बन्दागोपीमा पहाड दङ्ग भयो। नासपातीले स्याहारसुसार नपाएर मर्न थाले, किनभने दोकानमा रंगीन स्याउ पाउन थालियो। टिभीमा जादुमय मस्तमस्त सिरियल र फिलिम आउथे, गाँउका मान्छेहरु पनि खाना बरु ढिलो वा छिटो खान्थे, पकाउन न भ्याए चाउचाउ उमाल्थे तर टिभी चाही समयमै हेर्थे।

“१८ बरस पुगेछ साहेबको मे नोकरी करेको” अब त उसको बोलीमा पनि हिन्दी लबज मिसिन थालेको थियो। उस्को दायाँ हातको उही कालो छाता ओल्टाईपल्टाई हेर्‍यो। बाबुसाहेबलाई घामबाट जोगाउन बोक्ने त्यो छाता अहिले बन्द छ। त्यो छाता बाबुसाहेबको लागी मात्रै हो। “घाम उनलाई पो हुन्छ, हामी पहाडीलाई के को घाम” उ सुर्तायो।

“साहेब एक साताको लागी बाहिर गएका छन” त्यो उसलाई आज बिहानै साहेबनीले भनेकी हुन। आज साहेबको कोठा सफा गर्नु पर्ने दिन। कोठा सफा गर्दा उसले जहिले नी साहेबका कपडा निकै हेर्थ्यो, “सातामा सात जोर लुगा! त्यसै साहेब भइन्छ र?” त्यही सोच्दथ्यो।

उ भित्र पस्दा साहेबनी वैठक कोठाको पलंगमा पल्टेकी थिइ। “बहादुर, लौ साहेबको कोठा छिटो मिलाउनु” उसले एकटकले माइलालाई हेरी। उसको त्यो घरमा बोंलाउने नाँउ पहाडी बहादुर हो। उसले पनि साहेबनीको आँखामा पुल्लुक हेर्‍यो। साहेबनीको आँखामा आजकल तेज छैन, नीरस छन उनका आँखाहरु। उसको त एउटा जुग बितेको छ यो घरमा तर आजकल घर अलि बेग्लै जस्तो लाग्दछ। “ओहो, साहेबनी संग आँखा जुधाउनु हुन्न, अदबका साथ रहनु पर्छ” उसको मनको बाहिरी तहले भन्यो।

साहेबको कोठा, सफा गर्‍यो, कपडा जम्मा पार्‍यो, ओछ्यान मिलायो। यसो ऐना हेर्‍यो। घर जाँदा एक जोर यस्तै लुगा अवश्य किन्छु। उ हरेक पल्ट त्यही सोच्दथ्यो। आज फेरी, त्यो कोठाको चुकुल लगायो, साहेबको सेतो सर्ट र कालो पाइन्ट लगायो, कालो चस्मा राख्यो टाउकोमा, कपाल मिलायो। अनि ऐना फेरि हेर्‍यो, फर्की फर्की हेर्‍यो। “म पनि साहेब भन्दा कम्ती त छैन”, ऐना अगाडि आयो, सर्टका बाहुला लामा थिए, पाइन्ट लामो थियो, कम्मर ठुलो थियो। तै पनि एक छिनलाई ऊ साहेब बन्यो। “साहेबनी” उसको मनको भित्री तहले भन्यो। “छ्या फेरी कस्तो गन्दा विचार आउँछ कुन्नि मनमा। यो पापी मन पनि” ऊ सम्हालियो। लुगासंगै उसका बिचारहरुलाई पनि उतार्‍यो मन र तनबाट। यसरी उसका दिन, मैना र बर्ष बिते। टाउकोमा रौं घट्दै गए, बाँकी भएका पनि सेता हुदै गए, घरमा छोराछोरीका काला रौं भने थपिदै गए।

साहेब फर्केको दिन साँझको खाना खाने बेला साहेबले आफु संगैको एउटा १२-१३ बर्षको ठिटोलाई देखाउदै “बहादुर, यो कान्छालाई काम सिकाइदेउ, अब तिमीले पनि आफ्नो घर बेबहार सम्हाल, बुढो भयौ” भने। “अझै एक दुई बर्ष काम गर्ने मन थियो हजुर” साहेबनीलाई हेर्दै उसले भन्यो। “लौ लौ तीन महिना जति बस, पुरानो मान्छे हौ, यसलाई काम सिकाऊ, हुदैन?” साहेबको निर्णय आयो। साहेबको आज सम्मको कुन पो कुरा उसले काटेको छ र?

जब उ यो घरमा पसेको थियो, त्यो बेला देखिनै उसलाई लाग्थ्यो, उ पनि त्यो घरको सदस्य हो, परिवारको हिस्सा हो। तर आज उसले आफ्नो धरातल थाहा पायो, हबिगत थाहा पायो। त्यसपछि त उसलाई तीन महिना होइन तीन दिन पनि बस्न मन लागेन त्यो मकानमा। १ सातामै साहेब संग हिसाब किताब गर्‍यो।

अपर्झट नै सहि घर जाने दिन आयो। ऊ बजार गयो, केहि मरमसला, लुगाफाटा किन्यो, चियापत्ती र ल्वाङ सुकमेल किन्यो।

जाने दिन आयो। साहेबनीले केहि थप नगद र केहि थान लुगा थपिदीईन। बाबुसाहेबलाई यो कुराले केहि फरक पारेन।

यसरी ऊ अहिले चौतारेको चिया पसलमा आइपुग्यो।

उसले चुरोट सल्कायो र फुङ्ग धुँवा फाल्यो, आकासतिर। “छोराहरुलाई के को बोका पाले जस्तो पालेर राख्छस ए माइला, पठाईदेन अरब तिर, दामको दाम, कामको काम। हैन भने बिहे गरिदिन गार्‍हो होला है पछि” भडारेको धोद्रो स्वरले उस्को एकाग्रता तोडियो। उ बाँकि रहेको चिया सिनित्तै परेर नबोली निस्क्यो।

“सबका छोरा कतार, मलेसिया, दुबई कताकता पुगे। दाम कमाए। तिम्रा चाही के हुन? पीर सुर्ता लाग्दैन?” मदेशको काउली किन्ने पसलमा लालीलाई उसकै छिमेकी नारानेकी स्वास्नीले भनी।

त्यसको पर्सिपल्ट, टोलमा बाँकी रहेका माइलाका दुई छोराहरु लिएर गाँउ कै दलाल शहर पस्यो।

(श्रोत्:-Mysansar)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.