सहर, स्वास्नी र सुलसुले

~मानसी~

घाँटी हेरेर हाड निल्नुपर्छ । अरू घोडा चढे भनेर आफू धुरी चढेर हुन्छ ?” कराइरहन्छे स्वास्नी । ऊ स्वास्नी हो, त्यसैले पनि कराइरहन्छे । अर्थात्, कराउँछे त्यसैले ऊ स्वास्नी हो ।
“होइन, किन यसरी कानमा तेल हालेर बसेको होला ? कत्ति पनि चिन्ता छैन है तपाईंलाई ! जिम्मेवारी र कर्तव्यबोधचाहिँ कहिले हुन्छ हँ तपाईंलाई !” लाग्छ कि उसले नै कर्तव्य र जिम्मेवारी बहनको ठेक्का लिएकी छ । “अर्काको विश्वास नगर्नु भन्यो मान्ने भए पो ?” भुतभताउँदै आई । चिया टेबलमा राखिदिई अनि किचनतिर लागी ।

“विश्वासमै त संसार चलेको छ । विश्वास नगरेको भए त्रि्रो र मेरो बिहे पनि हुँदैनथ्यो । अनि, यो फुच्चे पनि ! विश्वास नगरेर कसरी चल्छ यार जीवन ? त्यसो नभन न प्रिय ! बिहान बिहान अलि मीठो र नरम बोल न ! जसले दिनभरको टेन्सनलाई त्यसले छायामा पार्न सकोस् ।” ऊ वातावरणलाई रोमाञ्चक मोड दिने प्रयासमा स्वास्नीलाई फकाउँदैछ । यो उसको दिनचर्याको इकोसिस्टम नै हो । अर्थात्, स्वास्नी बिहान-बेलुका आरती बाल्छे यसरी नै । अनि, आरतीको धूवाँ मुस्लोमा परिणत नहोस् भनी शीतल हावा हम्किरहन्छ ऊ ।
ऊ स्वास्नीसँगै किचन जान्छ । भात पाकिसकेको छ । दालमा सिठी लाग्दैछ । स्वास्नी कर्राई बसाल्छे । भुटुन हाल्छे । फ्रिज खोल्छे । भित्ताको र्‍याक उघार्छे । अनि, लोग्नेतिर हेर्छे । दुवैका आँखा जुध्छन् । निकैबेर हेराहेर गर्छन् । त्यतिबेलासम्म तेल आगोमा पतपति डढेर एक प्रकारको गन्ध आइसकेको हुन्छ । गन्ध पछ्याउँदै छोरो आयो पल्लो कोठाबाट ।
“मम्मी के पकाएको ? कस्तो बास्ना आएको ? चिची हो ? मलाई टिफिन राखिदिनु ल ? उमेशले हिजो मलाई देखाइदेखाई चिची एक्लै खाएको थियो । आज म पनि त्यसै गर्छु । ” ऊ एउटा खुट्टो उचाल्दै नाच्दै फर्कियो आफ्नै कोठामा । छोरोको डाँकोसँगै झस्किएर ग्यास बन्द गर्छे ऊ। तेल डढेर उडिरहेको धूवाँको मुस्लो दुवैका बीचबाट ढोकाबाहिर निस्कँदै गर्छ । दुवैले अब ढोकातिर हेर्छन् ।
भात र दाल पाकिसक्यो । तर, पकाउन तरकारी केही छैन । पुरानो अचार सकिएको पनि धेरै भइसक्यो । फेरि छोरो आइपुग्यो डे्रस लगाएर । भन्छ, “मामु भन्नु न खै ? नराखिदिएको ? नाई म अहिले खान्न, बरु टिफिन लान्छु ।” ऊ ड्रेसमै भुइँमा मडारिन थाल्यो । स्वास्नीले उर्ठाई उसलाई । तर, भन्ने के ? उसलाई दिने उत्तर दुवैसँग छैन ।
“बाबु भोलि खाने ल चिची ! हामीकहाँ चिची पाकेको होइन नि बाबा ! ऊ पल्लो कोठामा अनिताको ममीले पकाउनुभएको चिचीको बास्ना आएको नि !”
“मागेर ल्याइदिनु न त ? हिजो मलाई उमेशले कस्तोसँग देखाइदेखाई खाएको ! आज पनि मैले उसलाई देखाइदेखाई खानु छ ।” ऊ आफ्नो घोषणामा अडिग देखिन्छ ।
अब के गर्ने ! दुवै जना आपसमा हेराहेर गर्छन् । पल्लो कोठामा पनि मासु पाकेको होइन । पाकेको भए पनि लाज पचाएर माग्नुहुन्थ्यो । छोराछोरीका लागि आमाबाबुको शिर निहुरिन्छ भन्नुहुन्थ्यो आमाले, सम्झना आयो उसलाई । निरीह अनि लाचार नयनले लोग्नेलाई हेरिराखी । लोग्ने आँखाभरि आँसु पारेर कोठाबाट बाहिरियो ।
“छोराछोरी भुलाउने, फकाउने, मनाउने काम स्वास्नीको मात्रै हो जस्तो । छोरोलाई केही त भन्नु नि !” मौनताको पर्खाल तोडी उसले । दुनियाँ तिगडम गरेर छोरो फुलाई र खाना खुवाएर स्कुल पठाउन राजी बनाई । लोग्ने भात नखाई अफिस गयो । खान त उसलाई पनि मन थिएन । तर, कति दिन नखाने ? घरको कामधन्दा, व्यावहारकि टेन्सन, लोग्ने अनि छोराको फर्माइस । कम झन्झट छैन । अविवाहित छँदाको सुखशयलका दिनहरूले उसलाई गिज्याइरहे आँखावरपिरि नाचेर । यस्ता समस्याले परेड नै खेल्छन् उसको मन मस्तिष्कमा सधैँ । नयाँ र नौलो अर्थात् विशेष परिस्थिति हुनु नै पर्दैन । मन अमिलो गुन्दु्रकजस्तो बन्यो उसको । बाध्यता, बेस्वादिलो नझानेको दाल र भात खाई उसले बाँच्नका लागि । भरे के पकाउने ! फेरि अर्को चिन्ता उसको मस्तिष्कमा सलबलाइरहेको थियो ।

“किन छिटो आएको ? के गरेर बसेको ? छिटोछिटो आएर निजी काम गर्ने होइन । ठीक समयमा आउने, काम गर्ने अनि ठीक समयमा जाने ।” हाकिम चेतावनी दिँदै थियो । यो हाकिम पनि साह्रै कचकच गर्छ । स्वास्नीले जस्तै । अझ यसले त स्वास्नीले भन्दा थप चेतावनी पनि दिन्छ । ढिलो आए पनि किन ढिलो ? अनि, छिटो आए पनि किन छिटो आइस् ? न उठी सुख, न बसी सुख भनेजस्तो । ढिलो हुन्छ कि भनी छिटो कार्यालय पुग्यो, व्यक्तिगत काम गर्न छिटो आएको भनी शङ्का गर्छ । यो हाकिम हो कि स्वास्नी – स्वास्नी छिटो घर गए किन नि छिटो भन्छे, केही ढिलो भए कसलाई भेट्न गइथिस् – खुसी मुद्रामा भए कुन नखरमौलीलाई भेटी आयौ, खुसी छौ नि ! दुःखी र चिन्तित मुद्रामा भए घर आउँदा पनि रिसाउँदै आउँछन्, कुन उखरमौलीसँग झगडा पर्‍यो, त्यसको रसि मलाई देखाउँछन् भन्छे ।
अफिसमा एउटा छ सुलसुले अर्धज्ञान प्राप्त उसको विभागमा । त्यसैको करामत हो यो । थाहा छ उसलाई पनि । तर, सुलसुले न पर्‍यो । न पक्डन सकिन्छ, न त बाँधिराख्न नै । भएको-नभएको सबै कुरा सुलसुलेले हाकिमकहाँ पुर्‍याइहाल्छ । अनि, हाकिम पनि एकदमै परजीवी सुलसुलेको भर पर्छ र जे भन्यो त्यहीलाई आधार बनाएर हप्कीदब्कीलगायतका कारबाही गर्न थाल्छ । सुनुवाइ र स्पष्टीकरणबिना नै ‘एक्सन’मा आइहाल्छ । कार्य मूल्याङ्कनको कुरा त कता हो कता ? “मेरा पुस्ता कसैलाई पनि सरकारी जागिर खान नपरोस् !” ऊ आफैँभित्र भुतभताउँदै थियो । सुलसुलेले यो कार्यालयको सम्पूर्ण संरचना नै बिगारसिक्यो । यो प्रवेश नगर्दाको कार्यालयको सुगन्ध र अहिलेको दुर्गन्ध तुलना गर्नै सकिन्न । दोब्बर होइन, चौब्बर गन्हाएको छ । सबैतिर असरल्ल । न कसैलाई जाँगर छ, न त कसैले मन लगाएरै काम गर्छन् । बिछट्टै मन फुकाएर काम गरे पनि पैतालाको धूलोबराबर भएपछि किन मन नखुम्च्याउने ? कर्म गर, फलको आशा नगर, सही र राम्रो काम गरे दिन फिर्छन् भन्थे । सुलसुलेले त यो भनाइ नै मित्थ्या सावित गरिदिएको छ । उसले नूनको सोझो त गरेन, गरेन, अरूलाई पनि त्यो मार्गबाट बञ्चित गराएको छ । सहायक स्तरको भईकन पनि अधिकृतस्तरका कर्मचारीलाई थर्काउँछ । केही भन्यो, लुसुक्क हाकिमकहाँ पुगिहाल्छ । हात मोल्न सिपालु । मोल्दामोल्दा नाडीका सारा रौँ झरसिके उसका । उसकै कर्तुतले एक महिलाले त स्थायी जागिर पनि छोडिन् । जाने बेलामा ती महिलाले भनेकी थिइन्, “आत्मसम्मान गुमाएर लाचार भई अधिकृतको जागिर खानुभन्दा अर्काको भाँडा माझेर खानु बेस । यहाँ त आफ्नै फरिया पनि कताबाट उधारिन्छ भन्ने चिन्ता । फरिया नै सम्हाल्न गाह्रो भएको ठाउँमा बसेर व्यक्तित्व र कृतित्वको विकास कसरी गर्ने ?” ऊ तिनै महिलाले छोडेपछि तिनकै स्थानमा बहाली भएको छ । उस्तै हीनताबोध र उही ह्याङ्ओभर । फरक यत्ति हो कि ऊ महिला होइन । त्यसैले महिलाजन्य हिंसाबाट बचेको छ ।

“घरपति आएकी थिई, भाडा चाहियो रे भोलिसम्ममा । भाडा नदिए पर्सिसम्म कोठा खाली गर भनेकी छ । बिजुली र केबुलको पैसा पनि तुरुन्तै चाहियो रे, भोलि बिहान नदिए जरिवाना लाग्छ भन्दै थिई ।” मैले भनेकी थिएँ नि यो कोठा छोडौँ, अर्को खोजौँ । कानमा तेल राखेर बसेपछि के गर्न मिल्छ र ? घाँटी हेरेर हाड निल्नुपर्छ भन्यो, मान्ने होइन । जाबो अधिकृतको जागिर छ । यतिका महँगा कोठा । ए बाबा ! सक्दै नसक्ने भएपछि सामान्यमा बसे हुँदैछ ? यो एउटा पिउसो त छ । कोठाभित्र छिर्दै थियो, स्वास्नीले फेरि आरती बाल्न सुरु गरी ।
लोग्नेको धैर्यताको बाँध फुट्यो । “रातदिन कचकच, कचकच । मैले कमाएर पालेको छु । सधैँ किन कराउँछ्यौ तिमी ? एकछिन शान्ति पाइयोस् न !” एकैचोटि विस्फोट भयो लोग्नेको सहनशीलता ।
“अरू भ्रष्टाचार गरेर, घूस खाएर महलमा बस्छन् । पजेरो चढ्छन् । के के गर्छन् गर्छन् नि…। जाबो एउटा अधिकृतको चोखो तलब थापेर त्यत्रो फुर्ति ! कमाई न धमाई फुर्ति मात्रै ठूलो ! तिम्रो त्यो जागिरले तीन पेट खान र लाउन पुग्छ ? जेनतेन पालिनु र पाल्नुमा फरक छ अधिकृतज्यू ।” स्वास्नी किन पछि हट्थी ।
साँझ छोरो आइपुग्यो । बालसुलभ गार्म्भीय थियो उसको अनुहारमा । चुपचाप झोलाबाट एउटा कागज झिक्यो र बाबुलाई दियो । “महिनावारी शुल्क तिर्नलाई पटक-पटक ताकेता गर्दा पनि अटेर गरिएकाले अन्तिमपटकलाई एक साताको समय दिइएको छ । सो अवधिभर पनि शुल्क तिर्न नआए तपाईंको बच्चाको नाम स्कुलबाट काट्न हामी बाध्य हुनेछौँ ।” पत्र चेतावनीपूर्ण थियो ।
स्वास्नी लोग्नेको अनुहारतिर हेररिहेकी थिई । पत्रका सम्बन्धमा केही बोलोस् भन्ने ध्येयले । तर, कोही बोल्ने मनस्थितिमा थिएनन् । छोरो अलिकति बुझ्ने थियो । स्कुल जान पाउँदिनँ भन्ने पीरले नीलो भयो । लोग्ने जिम्मेवारीबाट चुकिन्छ कि भन्ने डरले भयभीत र स्वास्नी समस्याबाट छुटकारा कहिले पाइएला भन्दै गम्दै थिई । पढिसकेपछि ऊ अर्कोपट्टि फर्किएर टीभी खोल्यो र हेर्न थाल्यो । छोरो ड्रेस फुकाल्न थाल्यो । स्वास्नी किचनमा पसी ।

एक सातापछि ।
“तपाईंले समयमा रिपोर्ट बुझाउनुभएन । कार्यालयको काममा बाहिर जाँदा ढिला फर्किनुभयो । धेरैबेरसम्म कम्प्युटरमा बस्नुभयो । आफू मातहतका कर्मचारीलाई राम्रो व्यवहार गर्नुभएन । पटक-पटक दिएको चेतावनीलाई लापरबाही गर्नुभयो …।” कार्यालय पुग्नेबित्तिकै त्यही सुलसुलेले पत्र थमायो उसलाई । नीलो भयो ऊ । सुलसुले युद्ध जितेको मुडमा देखिन्थ्यो । बर्खास्तीको चट्याङ् बज्रियो थाप्लोमा । नराम्रोसँग घाइते भयो ऊ । यस्तो अनिर्णयको बन्दी कहिल्यै बनेको थिएन ऊ । आफ्नै कार्यकक्षमा बसी निकैबेर घोत्लियो, स्पष्टीकरण दिनुपर्ने विषयहरूमा । त्यत्तिकैमा हाकिमको बोलावट आयो ।
“पत्र हात पर्‍यो होला । सरकारी काम कहिले जाला घाम गरेर जागिर खाने शैली नयाँ नेपाल निर्माणमा सहायक बन्न सक्दैन । पुनःसंरचना गर्नुपर्ने बेला आएको छ । पुरातन मान्यताबाट पर नयाँ संरचनामा अटाउन सक्नुभएन । नयाँ नेपाल निर्माणमा त यस्तो (नजिकैको सुलसुलेलाई देखाउँदै) नयाँ विचार, उत्साह, जोस र उमङ्गको मान्छे चाहिन्छ । त्यसैले तपाईंले राजीनामा दिनोस् । अपराह्न पत्रकार सम्मेलन हुँदैछ । मैले तपाईंका तर्फाट सञ्चारकर्मीलाई निमन्त्रणा गरेको छु । आफ्नै घरायसी कारण देखाउँदै तपाईंले सो सम्मेलनमा राजीनामा गर्नुपर्नेछ । वैकल्पिक बाटो खोज्न थाल्नुभयो भने नतिजा राम्रो हुँदैन । यसअघिका घटनाक्रम तपाईंमा दोहोर्‍याउन हामीलाई बाध्य नपार्नुहोला ।” हाकिमले चेतावनीपूर्ण भाषण सकायो । सुलसुले नजिकै बसेर मुस्कुरायो ।
उसको वाक्य बस्यो । बोली फुटेन । प्रतिक्रिया जनाउनुको अर्थ थिएन । उसले तुरुन्तै छोरो र स्वास्नीलाई सम्‍झियो । गुमाउन चाहँदैनथ्यो । चुपचाप हाकिमले भनेजस्तै गर्‍यो । अपराह्न पत्रकार सम्मेलन भयो । बाध्यताको हाँसो हाँसी उसले राजीनामा गर्‍यो ।

हाकिमले भनेका शब्दहरू एकपछि अर्को स्क्यानिङ् हुँदै थिए उसको मानसपटलमा । कोठा पुग्यो । परिस्थिति त्यहाँ पनि अनुकूल थिएन । कोठाका सामानहरू सबै बाहिर असरल्ल थिए । प्रेसरकुकर घोप्टिएको थियो । पलङ उत्तानो परेर र्सकस देखाइरहेको थियो । यत्रतत्र छरिएका थिए ओच्छ्यानहरू । स्वास्नी टाउकोमा हात राखेर बसेकी थिई । छोरो आमाको काखमा मुन्टो लुकाउँदै रुँदै थियो । आज त्यही दृश्य उसको सामु छ, जुन महिनौँअघिदेखि स्वास्नीको कर्कसमा थियो । दिनहुँ स्वास्नी यही दिन आउन नपरोस् भन्दै कराउने गर्थी ।
शान्त, निःशब्द र करुण नजरले स्वास्नीले लोग्नेलाई हेरी । आज ऊ उग्रचण्डी भएकी थिइन । आक्रोश, आवेग, रसि, द्वेष केही थिएन । आशाका धर्सासहित शान्त र शालीन थियो उसको अनुहार । लोग्ने पनि स्वास्नीलाई हेररिहन्छ । उसले आज स्वास्नीलाई कचकचे नभई लक्ष्मी, सरस्वती, देवी, महाकाली देख्छ । निकै समयको मौनता चिर्दै स्वास्नीले भनी, “केही दिनका लागि अफिसको क्वार्टर माग्नु न ? पछि डेरा खोजेर सरौँला !”
लोग्नेले मुटुमा परेको गाँठो फुकाउन सकेन, जुन पीडाले थिलोथिलो परेको थियो । दोब्रिएको थियो । चेप्टिएको थियो । कुरा अन्तै मोड्दै भन्यो, “बरु आज एक दिनलाई घरपतिसँगै अनुरोध गरौँ न ! भोलि कुनै व्यवस्था गरौँला ।” कुम थपथपाउँदै भन्यो ।
“यो हाम्रो गाउँ हो र ? यो त सहर पो त ! साँझसम्म सामान नउठाए बाटोमा मिल्काइदिन्छु भन्दै थिई । त्यसले बास दिन्छे र ? बरु केही हुँदैन, एक साता अफिसकै क्वार्टरमा बसौँ न ! आज त मैले भनेको मानिदिनोस्, यसका लागि (अलपत्र परेका सामानमाथि निदाएको छोरोलाई देखाउँदै) ।” स्वास्नीले निरीह भएर हात जोडी । किंकर्तव्यविमूढ भई लोग्ने अवाक् स्वास्नीलाई हेररिह्यो, सँगै अलपत्र निदाएको छोरोलाई ।

(श्रोत:- नेपाल साप्ताहिक ३०३)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.