~पदम भण्डारी~
मेरो बाल्यकालको साथी धेरै वर्षपछि गाउँ फर्क्यो । एसएलसी पास गरेपछि कलेज पढ्ने, जागीर खाने बहानामा उ शहरबाट गाउँ फर्केको थिएन । धेरै वर्षपछि बाल्यकालमा खेल्ने गरेको भवानी पुज्ने डाँडातिर (केटाकेटी हुँदा हामी त्यसलाई भानपुन्नेको डाँडो भन्थ्यौं) हामीहरू घुम्न निस्कियौं । घुम्न निंस्किंदा दिन घर्किसकेको थियो ।
घर फर्कंदा मैले उसलाई सोधेँ – हामी केटाकेटी हुँदा यहि डाँडामा घुम्न आउँथ्यौं । त्यसबेला हामीहरूलाई भूतले तर्साउँथ्यो । हामी केटाकेटी हुँदा भूत भन्नेवित्तिकै अजङ्गको जीउ भएका, लामो कपाल पालेका, लामा नङ् पालेका, आईमाई, केटाकेटीको अपहरण गर्ने अपराधी स्वभावका हुन्छन् भन्ने सुनेका थियौं । तर आजकल गाऊँका ती डाँडापाखा, खोंच, ओडारतिर भूत कतै भेटिंदैन, किन होला? खै त आज पनि हामीहरूलाई भूतले तर्साएन नी ।
मेरो मनमा जे थियो उसले ठ्याक्कै त्यहि जवाफ दियो – उहिले उहिले डाँडापाखा, खोंच, ओडारतिर हुने भूत मान्छेको रूप लिएर आजकल गाउँ शहरतिर पसेको छ, । आजकलका मान्छेहरू मान्छे जस्ता छैनन्, भूत जस्ता छन् । समयको परिवर्तनसंगै भूतको रूप र बासस्थान पनि परिवर्तन भएको छ । आजकल भूतले मान्छेको रूप लिएर आफ्नो व्यवहार देखाईरहेछ ।
समयले हामीहरूलाई पनि कहाँ बाट कहाँ पुय्राईसकेछ । बाल्यकालका हामी घनिष्ट मित्रहरू एकले अर्कालाई गाउँमा बसेको भूत एवं शहरबाट गाउँ फर्केको भूतको रूपमा शंका गरिरहेका थियौं । मलाई लाग्दै थियो मान्छेहरू राजनीतिक दलको रूपमा, वाई सी एल, यूथ फोर्स र तरुण दलको रूपमा, विभिन्न भातृ संगठनको रूपमा भूतको चरित्र देखाईरहेछन् । कता कता मलाई यस्तो पनि लाग्दैछ की जन्मंदैमा अब मान्छे भूत भएर जन्मन्छ । मान्छे अब बुद्ध र गान्धि भएर जन्मन्छ भन्नेमा मलाई कत्तिपनि आश छैन ।
(श्रोत:- अन्तर्जाल)