~रोहित खतिवडा~
उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । अहिलेजस्तै–
प्रत्येक साँझ चराहरु गुँड फर्किन्थे । घामको पारिलो हटाएर अँध्यारोले बिस्तारै लुकाउँथ्यो काठमाडौँ उपत्यकालाई । बिहान पूर्वबाट आएको घाम चन्द्रागिरीको डाँडा हुदैँ पश्चिमी जगत्सम्म पुगिसक्थ्यो । कीर्तिपुरको डाँडामा चन्द्रागिरीको छायाँ हुन्थ्यो ।
सूर्यास्त हुने बेलाको काठमाडौँ शहरको दृश्य आज पनि लोभलाग्दो लाग्छ। त्यतिबेला हरेकसाँझ नयाँ दृश्य झैँ लाग्थ्यो । नयाँ क्यानभास झैँ लाग्थ्यो कुनै चित्रकारले भर्खरै रङहरु पोतेर बनाएको । स्वयम्भूको स्तुपमा पोखिएको हुन्थ्यो साँझिलो घाम । धरहरा साँझको घाममा नुहाइरहेको हुन्थ्यो । सबै काठमाडौँ सहर नुहाइरहेको हुन्थ्यो । अगाडि कीर्तिपुरको आँगन झैं फैलिएको थियो देशकै जेठो त्रिभुवन विश्वविद्यालयको क्षेत्र । बाघभैरव पछाडि भत्केपाटी वरीपरि हरियो खेत अर्को क्यानभास जस्तो थियो । प्रत्येक असोज–कात्तिकमा त्यो क्यानभासले रङ बदल्थ्यो र सुनौलो हुन्थ्यो । झुलेको धानबालाको महक हाम्रो नाकमा आइपुग्थ्यो । साँझिलो घाममा चन्द्रमाको झैं देखिन्थ्यो त्यो फाँटको रङ ।
आज पनि त उस्तै देखिँदो हो त्यो दृश्य । फरक– बाघभैरब मन्दिरको आँगनमा रहेको कीर्तिपुर भ्यू क्याफेको छतबाट कफीमा त्यो दृश्य मिसाएर पिउनेहरु फेरिएका होलान् ।
कीर्तिपुर भ्यू क्याफेबाट दृश्यपान हेर्नु मेरो लत थियो, दृश्यको अम्मली थिएँ।
म मात्रै होइन, उ पनि अम्मली नै हो यो दृश्यको । यही बहानामा त्यहाँ दुई अम्मली नियमित भेटिन्थ्यौँ ।
त्यस क्याफेको छतमा बसेर उसलाई चिढ्याउने गर्थेँ । उ थिई साहित्यकी पारखी । खुब पुस्तकहरु पढ्थी । मलाई उसले पढेका पुस्तक र विश्वविख्यात साहित्यकारहरुको बारेमा सुनाउँथी । उडाउँथे म उसका कुरालाई ‘जोक’ बनाएर । म उसलाई चिढ्याउँथे । अर्को लत थियो मेरो, उसलाई चिढ्याउनु ।
उसलाई सताउँदा मलाई आनन्द आउँथ्यो । उसलाई सताएरै नजिकको साथी भएको थिएँ । मिल्ने कुरा एउटै थियो उसँग– साँझको काठमाडौँ हेर्ने रहर । बाँकी सबैमा बाझिरहेका हुन्थ्यौँ हामी । मिल्दैन थियो केही पनि । केही नमिलेर मिलेका थियौँ हामी दुई ।
काठमाडौ छोडेर म इलाम फर्किएँ । मलाई थाहा थियो उ मेरो सम्पर्कमै छे । यो उसलाई थाहा छैन । सोच्दी हो– उसलाई हरसाँझ कुरा गरेर चिढ्याउने एउटा प्रिय मित्र अकस्मात हरायो । उसँग अर्कै सम्बन्धमा सम्पर्कमा रहेको कहाँ थाहा हुनु र उसलाई !
आज उसले एउटा इमेल पठाएकी रहिछ । पढ्छु–
सर नमस्कार !
पहिले नै इमेलमा भनेको थिएँ, म एउटा धृष्ट केटी हुँ भनेर । त्यही धृष्टता दोहो¥याउन इमेल लेख्दैछु । सके मलाई माफ गरिदिनु होला ।
लाग्छ कहिलेकाहीँ म मनका लहरहरुमा बगेर लहडी बन्दै छु, कहिले छालहरुमा बगेर कवाडी बन्दैछु । जे होस् म बगिरहेकी छु र तपाईं मेरो बहावको अघिअघि हुनुहुन्छ ।
धृष्ट नै हुन्छ कि के हो धृष्ट मान्छेको सपना पनि ? एउटा धृष्ट सपना पटकपटक देख्ने गर्छु । अझ कहिले त ननिदाएरै देख्छु त्यो सपना ।
सपनामा म यात्री हुन्छु नाउँमा बसेर खोलामा बगिरहेकी, एउटा माझी हुन्छ मलाई डोहो¥याइरहेको । त्यो माझिको ठाउँमा तपाईँबाहेका अरु कसैलाई देख्दिँन, देख्न चाहन्न । भनेकी छु मैले, यो सपना ननिदाएरै देख्छु ।
लहडी मान्छेहरु विवेकले सम्झाउँदा सम्झिँदैनन् । कृपया ! मलाई नसम्झाउनुहोला ।
तपाईंको उपन्यास पढेर गल्ती गरेँ कि ठीक गरेँ थाहा छैन । मैले हिड्ने जीवनको बाटो बदलेको छ यसले, मैले देख्ने सपना बदलेको छ, मैले भोग्ने विपना बदलेको छ, मैले सोच्ने विचार बदलेको छ ।
खुला भएर भनौँ ? म आजभोलि तपाईंकै सपना देख्छु । म तपार्इंलाई प्रेम गर्छु ।
मैले तपाईंलाई यी आँखाहरुले देखेकी छैन तर कल्पिएर क्यानभासहरुमा कोरेकी छु । तपाईंका पोट्रेट कल्पिएरै बनाएकी छु । लाग्छ यी चित्रहरुले कुनैदिन मोनालिसाको कहावतलाई विस्थापित गर्नेछन् र त्यहाँ तपाईंलाई स्थापित गर्नेछन् ।
उपन्यास पढ्ने बित्तिकै भनेकी हुँ, मलाई तपाईंले जति अरु कसले बुझ्न सक्छ र !
एउटा निश्चय गरेकी छु– मलाई यति बुझ्ने लेखक बाहेक अर्को कसलाई सुम्पिन सक्छु र म आफूलाई !
सोच्छु– यो मेरो धृष्टताको पराकाष्ठा पो हो की ! ठूलै गल्ति पो गरिरहेकी छु की !
सर ! एउटा धृष्ट पाठकलाई माफ गरिदिनुहोला । लेखकहरु विद्वान हुन र विद्वानले नै क्षमा गर्न सक्छन् । म एउटी धृष्ट र अज्ञानी पाठक हुँ जसलाई तपाईंको शक्तिशाली लेखनले पागल बनाएको छ ।
विदा
अर्पना ।
इमेल बन्द गर्छु र चार बर्ष अघिको काठमाडौँ आफ्नो मानसपटलमा ल्याउँछु । त्यहाँ उ सँगसँगै डुल्छु ।
पहिलोपल्ट उसलाई भृकुटीमण्डपको पुस्तक प्रदर्शनीमा हो मैले देखेको । केही पाठकहरुसँग भर्खर प्रकाशित भएको आफ्नो पहिलो उपन्यासको फिडब्याक लिने उद्देश्यले त्यहाँ पुगेको थिएँ । न लेखक भनेर पहिचान थियो, न मिडियमा पहुँच । विज्ञापन पनि भएन । त्यसैले मेरो उपन्यासका पाठक कमै थिए । मैले वा कुनै हितैषीले पढ्न आग्रह गरेपछि मात्र पाठकले उपन्यास खोज्थे । त्यही सिमित पाठक भए पनि भेट्ने अभिलाषा लिएर गएको थिएँ म ।
म उभिएको थिएँ एउटा स्टलको छेवैमा ।
यस्तो घटना हुन्छ –
एउटी युवती आएर मेरो किताबको नाउँ लिएर सोध्छे । म छक्क परेर हेर्छु । भित्रैबाट खुशी लागेर आउँछ । हेर्छु उसलाई र धारणा बनाउँछु– राम्री छे । डिग्री पढ्दी हो यहाँ ।
उसले सोधेपछि पसलेले टाउको हल्लाउँछ, ‘छ’ को अर्थमा । उसका अनुहारमा खुशीका रेखाहरु सल्बलाएको ननियालेरै थाहा पाउँछु । निक्कै खोजेकी रहिछ–को अनुमान लगाउँछु । किताब लिन्छे हत्तपत्त र अनौठो खुशी खेलाएर चुम्छे किताबलाई । केही बोल्दिन । हिडिहाल्छे ।
पसले हेरिरहन्छ, केही उ पनि बोल्दैन । फर्केर आउँछे, खुशीमा पैसा तिर्न भुलेकोमा ग्लानी मान्छे । सोध्छे कति पैसा हो भनेर । पसले छुट घटाइवरी दाम भन्छ । १५० दिन्छे र बचेको बिस फिर्ता नलिएरै दौडिन्छे ।
गज्जब लाग्छ मलाई । म पनि उसको पछिपछि गएर भेट्छु । सोध्छु, ‘कुन पुस्तक लिनुभयो ?’ पुस्तकको नाम बताउँछे । फेरी सोध्छु, कसको हो भनेर। लेखकको नाम भन्छे । ‘मैले त कहिल्यै सुनेको थिइन ।’
प्रतिक्रिया मेरो ।
‘त्यस्तो नाम चलेको लेखक पनि होइन । फेरी पहिलो पुस्तक हो, तपाईंले नाम नसुन्नु अस्वभाविक होइन ।’ सम्झाउँछे मलाई ।
सोध्छु– के ! उपन्यास हो ?
भन्छे– हो त । निक्कै राम्रो छ ।
भन्छु– बजारमा केही राम्रा उपन्यास आएका हुन् । तिनीहरुको बिक्री पनि राम्रो भयो । त्यही बजार देखेर अहिले जस्ता पनि उपन्यास आएका छन् । सबै उपन्यास पढ्न लायकका चाहिँ छैनन् तै पनि राम्रो बिकिरहेका छन् ।
उ मलाई सम्झाउने गरी बोल्छे– होइन होइन । यो तपाईंले राम्रा भनेका भन्दा पनि राम्रो उपन्यास हुनुपर्छ । दश बर्षमा छापिएका राम्रा उपन्यासहरुमा यो आउँछ । अझ म त भन्छु एक नम्बरमा आउँछ ।
नपत्याएर भन्छु– नयाँ लेखकको के भर पर्न सकिन्छ र !
उ पनि तर्क गर्छे– यो उपन्यास धेरै राम्रो छ । सायद राम्रो गर्ने नयाँले नै हो ।
फेरि सोध्छु –के छ र त्यस्तो ? के विषयमा लेखिएको छ ?
‘ग्रामिण परिवेश, गरिबी र प्रेम ।’
‘सबैले यस्तै त लेख्छन् नि आजकल ।’ म चिढ्याउन खोज्छु ।
उ मलाई उपन्यास पढ्न प्रेरित गर्न खोज्छे, ‘हो तर भित्र पुगेर त्यसको गहिराइ त कसैले छामेका थिएनन् । वास्तवमा घटनाहरु सतह हुन र मनोविज्ञान गहिराई हो लेखनको । यो गहिराई छाम्ने उपन्यास हो, बाँकी तपाईंले भनेका चैँ सतही हुन् । तपाईंले पनि पढ्नुभए हुन्छ, १३० रुपँैया तिरेकोमा पछुताउनु हुनेछैन ।’
मलाई मेरै किताब पढ्ने सुझाव दिएर मिसिएकी थिइ उसका अरु दुइ सहेलीहरुको बथानमा । त्यसबेला मैले मेरो लेखनको एउटा सच्चा पाठकलाई निक्कैबेर एकोहोरिएर हेरेको थिएँ ।
बेलुकी कफीमा डुब्दो सुर्यको प्रकाशमा नुहाइरहेको काठमाडौँको दृश्य मिसाएर पिउन पुग्छु कीर्तिपुर भ्यू क्याफेमा । एक कप कफी मगाउँछु र छतमा उक्लिन्छु ।
कस्तो गज्जबको संयोग ! ऊ त्यहीँ मेरो उपन्यास पढिरहेकी भेटिन्छे ।
‘फेरी भेट भयो । कस्तो संयोग ! सक्न लाग्नुभएछ है पुस्तक ।’ उसलाई बोलाउने बहाना खोज्छु ।
‘अँ ! पढ्दै छु ।’ मलाई नहेरेरै उ जवाफ दिन्छे ।
कफी आइपुग्छ । म टेबलमा बसेर कफी सुरुप्प पार्छु । काठमाडौँ शहर मैले खोजेजस्तै रङ्गमा देखिइरहेको थियो । त्यो दृश्यले मन चञ्चल भइरहेको थियो । फेरी उसलाई चलाउन मन लागिहाल्छ । बोलाउँछु, ‘साह्रै डुबेर पढ्नुहुँदो रहेछ, उपन्यास भएर हो कि !’
‘डुब्नु नडुब्नु पुस्तकमा पनि त भर पर्छ । यो चाहिँ निक्कै डुबाउन सक्ने उपन्यास हो ।’ बल्ल हेरी मेरो अनुहारमा ।
अप्ठ्यारो नमानी आग्रह गर्छु कफीको । उ मेरै शैलीमा स्वीकार गर्छे । अनि परिचय साट्छौँ । अर्पना ठकुरी, इलाम– उसको परिचय । एउटा नक्कली नाम दिन्छु विशाल, घर धनकुटा भन्दिन्छु । मुखमा त्यही आएकाले । म आफ्नो सही परिचय दिन सक्दिन । उसले विश्वास गर्छे जस्तै लाग्दैन ।
एकैछिनमा वेटर एक कप कफी बोकेर आउँछ ।
पुस्तककै चर्चा शुरु हुन्छ । उ बयान गर्छे, ‘यो एउटा सिमान्तकृत र गरीब युवतीको असफल प्रेमकथा हो । लेखक त्यो समुदायको मान्छे होइन, मेरी साथी भन्छे उ धेरै धनी नभए पनि अभावहरु बिच बाँच्नु परेको मान्छे होइन । तर, उसले त्यो गरिब र सिमान्तकृत युवतीको मनोविज्ञानलाई सफल रुपमा चित्रण गरेको छ ।’
म थोरै सहमति जनाउँछु, ‘यो लेखनको सफलताको लागि निक्कै आवश्यक कुरा हो । घटनाको वर्णन तपाईंले बिहान भनेजस्तै सतही कुरा हो । त्यो समाचारलाई सुहाउँछ । मनोविज्ञान साहित्यको खास सरोकारको
विषय हो ।’
ऊ निक्कै उत्साहित हुन्छे, कफी पिएर भन्छे, ‘मलाई पनि त्यस्तै लाग्छ । यहाँ म आफूलाई त्यही युवती भएको पाउँछु । पात्रसँग एकाकार गराउन सक्नु भाषाको सफलता हो । आख्यानको सफलता यसैमा हुन्छ ।’
उसका बौद्धिक तर्कदेखि पन्छिन खोज्छु, ‘पहिलोपटक पुस्तकको बारेमा कसरी थाहा पाउनु भयो ?’
‘साथीले दिएकी पहिले त । पढ्नु र सुझाव पनि दिनु भनेर । मेरो साथी हो लेखक भन्थी । पढेपछि अत्यन्तै मन छोयो । त्यो साथीलाई फर्काउनुपरेकाले आज अर्को प्रति किनेकी हुँ । कति पटक पढेँ भन्ने आफैँलाई
सम्झना छैन ।’
एउटै प्रश्नमा सातवटा जवाफ दिई ।
उसको पुस्तकमा हस्ताक्षर गरिदिन मन लागेको थियो तर आफैँले ढाँटेको थिए । एउटा महान गर्व गर्ने अवसर गुमाउँदै थिएँ । पछुतो लाग्यो तर पनि सही कुरा बताउन सकिँन । म आफैलाई थाहा भएन किन म आफैँ आफ्नो परिचय देखि डराइरहेको थिएँ । आफ्नो परिचय भारी भइरहेको थियो र म आफुदेखि भागिरहेको थिएँ । उसले विश्वास गर्छे भन्ने नै लागेन ।
उसलाई त्यहीँ छोडेर कोठा तिर लागेँ ।
बेलुकीको खाना पछि इमेल चेक गर्छु, एउटा नयाँ इमेल देखा पर्छ । उसैले पठाएकी रहिछ –
सर नमस्ते !
धेरै संकोच मानेर लेख्दै छे यो इमेल, तपाईंकी एउटी पाठक । एउटी सामान्य पाठकले के लेख्ली र भन्ने छ आफैँलाई ।
तर, यो उपन्यासले हल्लाइएकी छु म जरैदेखि । मेरा मान्यता, दृष्टिकोण र चिन्तन मात्रै होइन दैनिक जीवन पनि हल्लाएको छ तपाईंको उपन्यासले ।
वास्तवमा नै मैले यति शक्तिशाली उपन्यास पहिलोपटक पढेकी हुँ र फेरि पढ्न सक्नेछैन् । शायद तपाईले नै यो भन्दा शक्तिशाली उपन्यास लेख्नुभयो भने पनि मेरोलागि त्यसले यत्तिको अर्थ राख्ने छैन् ।
यी कुरा म तपाईंको प्रशंसाको लागि भनिरहेकी छैन् ।
वास्तवमा तपाईंले थाहा नपाएर नै मेरो कथा लेख्नुभएको छ । यो किताबमा म एउटी सिमान्तकृत युवती भएर पोखिएकी छु । मेरो असफल प्रेमकथा पोतिएको छ यहाँ । यसको आवरण मेरै आँखाको आंशुले बनेको छ । लाग्छ, त्यहाँ मेरो यौनाङ्गबााट बगेको रगत मिसिएको छ र यी शब्दहरु मेरो किशोरवयका चित्कारहरु हुन् । यो कथा समाज र समयले मलाई गरेको बलात्कारको कथा हो ।
त्यसैले, मेरो जीवनकथा मानेकी छु मैले । म भ्रममा पनि हुनसक्छु । म भ्रममा छैन भन्ने विश्वास पनि छैन ।
यस्तो सशक्त सिर्जनाको लागि तपाईंलाई बधाइ ।
अन्त्यमा,
मलाई भ्रममा नै रहनदिनु होला ।
अर्पना ।
यो उसको पहिलो इमेल थियो ।
यही इमेलबाट उसँग अर्को सम्बन्ध अघि बढ्यो । एकै दिन देखि उसँग दुइवटा सम्बन्ध बन्यो । फोनमा र इमेलमा एउटी पाठकसँग लेखकको सम्बन्ध र भेटमा एउटा साधारण साथीको सम्बन्ध । काठमाडौं बसुन्जेल उसले आफ्नो प्रिय लेखकलाई कहिल्यै भेट्न सकिन् । तर, उसले त्यही व्यक्तिलाई प्रायः साँझहरुमा कीर्तिपुर भ्यु क्याफेको छतमा भेटिरही एउटा साथीको रुपमा भेटिरही । लेखक भन्ने नचिनेर नै ।
त्यही छतमा बसेर म उसलाई चिढ्याउने गर्थेँ ।
लेखक ‘म’लाई भने उ औधी विश्वास गर्थी । आफ्नो हरेक कुरा सुनाउँथी । फोन र इमेल बरोबर गरिरहन्थी ।
करिब डेढ बर्षको काठमाडौं बसाइपछि म इलाम फर्किएँ ।
पछि उ पनि इलाम आइ । एउटा एनजीओमा काम गर्छे । एक बर्ष भइसक्यो । उसलाई भेट्न जान सकिरहेकै थिइन । कुन परिचय लिएर जाउँ भन्ने द्विविधामा थिएँ । उसलाई संधै चिढ्याइरहने चार बर्षदेखि हराएको साथी भएर जाउँ वा उसको प्रिय लेखक भएर जाउँ वा दुवै भएर जाउँ ! मैले कुनै निर्णय लिन सकेकै थिइन ।
यस्तैमा उसको यो इमेल आयो । यो इमेल–पत्र एउटा सुन्दर कविता जस्तो लाग्छ । सोच्ने पनि कुनै बाटो नपाएर म यही इमेल दोहो¥याएर कविता झैं वाचन गर्छु, धेरैपटक ।
भोलिपल्ट उसलाई भेट्ने निर्णय गरेर म उसको कोठातिर लम्कन्छु ।
कोठाको ढोकामा पुगेर हेर्छु–
उ निहुरीएर पढिरहेकै छ, कुनै मोटो अंगे्रजी उपन्यास हुनुपर्छ । भर्खरै नुहाएको चिसो तर खुल्ला कपालले उसको सुन्दरतालाई मादक बनाएको छ । हलुका कालो र पहेँलो, साथमा अलिअलि हरियो मिसिएको कुर्ता लाएकी छ । नाकमा सानो फूली छ । गलामा गोल्डेन सिक्रीमा सानो लकेट छ ।
पछाडी भित्तामा एउटा अमूर्त क्यानभास छ । अनुहार नदेखिएको एउटा मानवीय आकृति कलम समाएर निहुरिरहेको हुनुपर्छ । उसको आफ्नै सिर्जना होला । त्यो क्यानभासमा आफ्नै प्रतिबिम्ब देखेर रन्थनिन्छु ।
म उसलाई बोलाउन सक्दिनँ, मात्र हेरिरहन्छु । धेरैबेरसम्म हेरिरहन्छु…
म हेरिरहन्छु…
‘माफ गर अर्पना ! मैले तिमीलाई बोलाउन सकिँन ।’