~अनुपम रोशी~
‘एप्पलको नयाँ मोडल आइसक्यो, के यो पुरानो मोवाइल चलाइरा’को ! मैले त हिजैदेखि घरमा फ्यालीदिए पुरानो आइफोन ।’
‘४५ हजार रे ! हिजै नेटमा हेरेको । क्या खतरा मोडल छ । डाइरेक्ट यूटुब, गुगल । इन्टरनेटको मात्रै ९ वटा अप्सन ।’
‘मैले त लिने जिद गरेको छु घरमा, तैले पनि लिइ यार ।’
‘आफ्नो त ममले पैसै दिँदैनन् यार ।’
‘सजिलै त कसको बाउआमाले दिन्छन् र ? घर छोड्ने धम्की दिनु पर्छ के ।’
‘वे मुला ! जावो आइफोनको लागि कसले घर छोड्ने धम्की दिन्छ ? दिनै परे पल्सरको लागि नै दिने नि ।’
‘त्यो पनि हो यार । पल्सर भयो भने मजाले घुम्न पाइन्छ छप्की लिएर ।’
‘नयाँ धमका थाह पाइस् ? एन्जेलिना जोलीको पनि थ्रि याक्स यार । हेरिस् तैले ? क्या खतरा ब्लु फिल्म । उसको त फिचर मात्रै पनि करोडौंमा बिक्री भाथ्यो रे ।’
‘ए साँच्चि अनितासँग कहिलेदेखि ब्याकअप तेरो ? अचेल हिँडेको देख्दिन त !’
‘भ्या मुला ! प्याचअप नै कहिले थियो र ?’
‘गफ नदे । मैले नदेख्या हो र ? अस्ति ठमेलको गेस्ट हाउसबाट के गरेर निस्केको नि ?’
‘त्यो त इन्जोए मात्र यार । कसले लब गर्छ त्यस्तीलाई ? मोज गर्नु पर्छ केटा, जिन्दगी भन्या यही हो ।’
१४ वर्षकी कलिली केटीको बिहे गर्ने जिदको खबरले रन्थनिँदै फर्किएको मेरो मन झनै डल्लो पर्छ कलेजको ड्रेसमा टाइसुट लगाएका, भर्खरै जुगाको रेखी बस्दै गरेका दुई किशोरहरूको वार्तालापले ।
कस्तो सजिलो ब्याख्या जिन्दगीको, यी किशोर आँखामा !
कति सहज बुझाइ चढ्नै नसकिने पहाडजस्तो अप्ठ्यारो बर्तमानको !
साँच्चै बद्लिइसकेछ समय । अनि बद्लिइसकेछन् आजका युवाको सोचाइको श्रृखला । प्रविधिको विकासमा भएको सभ्यताको आमुल परिवर्तन, जसले समेटेको मान्छेको विकृत संस्कृति, जसलाई अपनाएर मख्ख पर्दै गएको आधुनिक समाज थाह छैन कुन तहको भौतिक मनोविज्ञानले समेट्न सक्छ ? तर भर्खर कलेज पढ्ने आजका कलिला किशोरहरूको यथार्थ चित्रण हो यो ।
‘मम्मी ऊ मेरो व्वाइफ्रेन्ड हो । म बिहे गर्न चाहन्छु ऊसंग । होइन भने मेरो लास पाउनु हुने छ ।’ बल्ल चौध बर्ष पुगेकी किशोरीको डाइलग हो यो ।
हिजैजस्तो लाग्छ उसको न्वारन भएको । आजै हो जस्तो लाग्छ समातेर उसलाई नांगै नुहाइदिएको । तर ऊ त ठूली भइसकिछ । उमेरको तातोले उसलाई छोइसकेछ । केटाकेटी ठानेर उसलाई जिस्काउनुको मतलव त मैले नै बुझिन छु ।
‘यूरोप अमेरिकामा बाह्र वर्ष पुगेका केटीको ब्वाइफ्रेण्ड भएन भने त डक्टरकोमा जानु पर्छ रे बुझिस् ।’ लाजै पचाएर फोनमा कसैसंग यस्तै कुरा गरी उसले ।
उसले बिर्से पनि मलाई सम्झना छ, सुनकेसरा रानीको कथा सुनाएको त्यो रात । तोतेबोलीमा उसले ‘म पनि राजकुमारी बन्नु पर्छ है दिदी’ भनेकी थिई त्यतिबेला ।
‘धेरै पढ्नु पर्छ राजकुमारी बन्नलाई’ भनेकी थिएँ मैले ।
‘अब धेरै पढ्छु’ भनेकी थिई उसले पनि ।
छ वर्षको अन्तरमा धेरै परिवर्तन भइछे ऊ । लभको कुरा गर्छे । अफिएरको परिभाषा छाँट्छे । यी सवै कुराजस्तै सम्बन्धलाई पनि बुझेकी होली त उसले ? प्रेमको मतलब थाह पाउने भइसकेकै हो त उसको वौद्धिक तथा शारीरिक संरचना ? होइन भने भर्खर चौध पुगेकी केटीमा यस्तो उत्सुकता किन ? आखिर के हो सम्बन्ध ? के हो उसले बुझेको प्रेम ? मेरो मनमा प्रश्न माथि प्रश्न उठ्छ बिह बारेको उसको कुराले ।
उसको यो आकर्षण र उत्सुकता यौन प्राप्तिवाहेक अरु केही लाग्दैन मलाई ।
वास्तवमा प्रेम भनेकै शरीरले खोजेको यौन तृप्ति हो । र, यौन प्रेमको नाटकीय स्वरुप ।
र, सम्बन्ध त्यो बन्धन हो जसले अपेक्षा र आदेश जन्माउँछ । जसमा बाँधिएर सन्तान जन्माउनुवाहेक अरु केही देख्दिन म । चाहे त्यो प्रेम भनैा या प्रमाणरुपि सम्बन्ध यी दुवैको अन्तिम सत्य यौन हो । र, यौनको प्रतिफल सन्तान । तैपनि किन अबुझ हुन्छ मान्छे प्रेमको नाममा ?
जतिसुकै भावुक भए पनि भावनामा मात्रै सीमित भएको कहाँ छ र प्रेमले ? अन्ततः उसले शरीर खोज्छ, यौन तृप्तिको लागि ।
यो समाज, सभ्यता, धर्म परम्पराजस्ता कुरा त पछिका कुरा हुन् जसलाई मान्छेले नै मान्दै आएको छ । तर एउटा सीमा हुनुपर्ने होइन र सम्वेग उत्पतिको ?
यदि सम्भोग नहुँदो हो त कसरी आर्कषित हुन्थ्यो होला मान्छे एक अर्कामा ? यसरी तानिनु आइज्याक न्यूटनले पत्ता लगाएको गुरुत्वआकर्शण शक्ति कै प्रभाव मान्दै आएको भौतिक विज्ञानले मान्छे भित्रको सम्वेगलाई कसरी ब्याख्या गर्न सक्छ यहाँ नेर ?
यस्ती कलिली केटीले के उठाउन सक्ली एक आमाको दायित्व ? यो विकास र प्रविधिले निम्त्याएको विनासको परिणाम हो । मान्छेको नाटक मञ्चन नदेख्ने हो भने सायद उत्पन्न हुने थिएन यो अस्वाभाविक चाहना ।
निकै तर्क वितर्क चल्छ मनमा ।
त्यो सम्भोग नै हो जसले विचलित पारिरहेको छ आजको कलिलो संसारलाई ।
होइन भने सम्बन्ध त चुइंगमजस्तै भएको छ अचेल । मीठो लागुन्जेल चपाउने, मीठोलाग्न छाडेपछि थुकी दिने ।
कुनै भविष्य नभएको हाम्रो समाज हरेक सपनाहरु तुहिँदै बाँच्नुपर्ने समयका दासी हौँ भन्ने बिर्सेर सिनेमा, पप गीत, डान्सवार, इन्टरनेट र मान्छेले भन्ने गरेको ‘फ्रि लाइफले’ प्रभाव पारिसकेको छ, उसको कलिलो मनलाई । ऊ यति धेरै विचलित भइसकेछ कि चौध वर्षको उमेरमा उसले पेट बोकी सकिछे ।
एकछिन सोचेपछि म फेरि उसलाई सम्झाउँछु ।
‘सपना !’
‘हजुर….।’
‘तिम्रो उमेर कति भो ?’
‘पन्ध्रमा लागे दिदी ।’
‘अनि तिमीले बच्चा पाउन सक्छेऊ ? निकै गारो पो हुन्छ त बच्चा पाउन ।’
‘सिजर गर्ने नि ।’ एकछिन पनि नअलमलिएर सजिलै भनी उसले ।
‘सिजर भनेको के हो थाह छ तिमीलाई ?’
‘अपरेसन त हो नि ।’
उफ्…..! निकै असन्तुलित हुन्छ मेरो मन, प्रजनन् बारेको उसको सहज जवाफले । र पनि फेरि सम्हालिएर भन्छु ।
‘अपरेसन सामान्य कुरा होइन सपना, पेट चिर्ने कुरा हो । त्यसमाथि तिम्रो पाठेघरको विकास राम्रोसंग भएको पनि छैन । यस्तो वेलामा बच्चा जन्माउनु राम्रो हुँदैन । तिम्रो मम्मीले अर्भोसनको कुरा गरेकी छन् । पछि उमेर पुगेपछि त्यही केटासंग तिम्रो विवाह गरे हुँदैन र ?’
‘तपार्इ डक्टर हो ? तपाईंले बच्चा जन्माउनु भएको छ ?’ एक्कासि उसले प्रतिप्रश्न गरी मलाई । उसले फेरि थपी, ‘के त्यसो भए अर्भोसन राम्रो कुरा हो ? पछि बच्चा भएन भने मलाई हेलाँ गर्दैन उसले ? त्यही कारणले अर्की बिहे गरेको हेर्नु म ?’
‘यति धेरै कुरा थाह रहेछ । फेरि किन चौध वर्षमा पेट बोकेकी त ?’ म पनि थर्काएर भन्छु ।
‘प्रेम के हो तपाईलाई के थाह दिदी ? मलाइ तपाईंजस्तो बुढीकन्ये बस्नु छैन ।’ उसले आफूभन्दा ठूलालाई गर्नुपर्ने आदर सम्मानको सबै सीमा नाघेर बोली ।
यस्तो लाग्यो, मैले माया गरेर आफ्नो हत्केलामा खेलाइरहेको फूल एकाएक विषालु कालो सर्प भएर छातीको बीच भागमा डस्यो । र, म अचेतजस्तै भएँ ।
केही बोलिन म । उसलाई एकपटक हेरेर सरासर हिँडे ।
थाह छैन कुन तहमा ओर्लेर सोची उसले । के बुझेर बिहे र बच्चाको चाहना तीब्र भयो उसमा ? जसले उसलाई आफ्ना लोग्नेहरुप्रति पनि बितृष्णा जगाइदियो ।
मेरो मन निकै रन्थनियो ।
एउटी चौध वर्षकी केटीले च्यालेन्ज गरी मेरो वर्तमानलाई ।
‘प्रेम केहो के थाह छ तपाईंलाई ? मलाई तपाईंजस्तो बुढीकन्ये बस्नु छैन ।…..’
बारम्बार गुन्जिरह्यो मनमा । आँखा चिम्म गरेँ, कान थुनेँ तैपनि त्यही वाक्य आइरह्यो । मानौं कि मैले केटै पाइन बिहे गर्न । या उमेर नै आएन प्रेम गर्ने ! के म उसले भनेजस्तै बुढी भएकी हुँ त ?
घर पुगेर मैले आफूलाई ऐना अगाडि उभ्याएर हेरेँ । लाग्यो, अझै पनि तुलना गर्ने हो भने ऊभन्दा रुपमा आफू नै राम्री छु । उमेर कै हिसाव गर्दा पनि छब्बीस पुगेको न हो भर्खर । फर्केर हेर्ने हो भने अझै पनि मसँग प्रेम गर्छु, बिहे गर्छु भन्नेहरुको लामै लाइन छ । तैपनि उसले मलाई बूढीकन्ये भनी ।
निकै पिरोल्यो सपनाका कुराले मेरो मनलाई । म आफ्नो अप्ठ्यारो बर्तमानसंग नराम्ररी ठोक्किन पुगेँ ।
‘हो त्यति सजिलै बिहे गर्न सक्दिन म । मलाई विश्वास छैन अहिलेका मान्छेको सम्बन्धप्रति । सन्तान उत्पादन कारखाना बन्दैमा जिन्दगी कसरी पूर्ण हुन्छ ?’ थाम्न नसकेर एक्लै बरबराइरहेँ म ।
केही दिनमै सपनाको बिहे पक्का भयो । उसको जिद्दीको अगाडि उसकी आमाले लाचार भएर घुडा टेकिन् ।
ऊ बेहुली भई ।
प्रष्ट छैन आफ्नै निर्णय । स्पष्ट छैन भविष्यको वाटो । कलिलो अन्योलजस्ताको तस्तै थियो दुवैको अनुहारमा । सम्बन्धको बोझ कसरी उठाउली ? स्वयम् बच्चा छ, बच्चाकी आमा कसरी होली ? कसरी सम्हाल्ला जुघाको रेखी नबसेको केटोले स्वास्नी र जन्मिने बच्चाको जिम्मेवारी ? मनले तर्क गरिरह्यो आफूसँग ।
प्रेमको मुखुण्डो बोकेको मन भित्रको अप्ठ्यारो, पहिल्याउन सकेनन् उनीहरुले । यौवनको उन्माद थाम्न नसकेर छोरीलाई जिउँदै निल्ने परम्परागत सम्बन्धको समुद्रमा आफैँ हामफाली उसले । ऊ डुब्दै गई म मौन भएर हेरिरहेँ ।
कस्ताकस्ता पौडीवाज त डुवेर मर्छन् समुद्रमा ! ऊ त हिजोकी नानी । कसरी तर्ली सम्बन्धको त्यति ठूलो महासगर ? जव अल्झिएर सम्बन्ध, फोक्सोमा पानी पस्दै गर्दा त पक्कै सम्झेली उसले । त्यो वेला न उसको प्रेमीले उसलाई साथदिने छ, न त यो सानीकेटीको भोजमा रमाइरहेको समाजले !
उसले आफ्नो मर्जी गरी तर पीडा मेरो मनलाई भो । हिजोसम्म लागेको थियो, सपना एक राम्री केटी हुने छे । उसको कलिलो बालशुलभताले मनको भित्री तहलाई छोएको थियो मलाई । तर हिजोको आजै ऊ क्षतविक्षत हुन पुगी । उत्तेजना र आवेशले उसलाई निली छाड्यो । म हेरेको हेर्यै भएँ ।
(श्रोत:- अन्तर्जाल)