व्यङ्ग्य निबन्ध : मोराले सजिलै झुक्यायो

~लक्ष्मण गाम्नागे~Laxman Gamnage

एक 

सिस्नुपानी नेपालका हामीहरू हरेक पटक देउसी तयारी गर्ने क्रममा ‘आउँदो वर्ष चाहिँ बेलैमा देउसी तयार गर्ने है’ भन्ने गर्छौ । प्रत्येक आउँदो दसैंमा भने उही पारा दोहोर्‍याइरहन्छौँ । तिहारको मुखमुख आए पछि अत्तालिँदै जुट्न थाल्छौं । जुट्न पनि भ्यागुताको धार्नी जस्तै । पहिला पहिलाका वर्षहरूमा अर्जुन पराजुलीसक्रिय हुनुहुन्थ्यो । अलि सजिलो थियो । असाध्यै बटारिएका शब्द र वाक्यहरू फुराएर देउसीलाई साह्रै चोटिलो बनाउनमा मुख्य भूमिका उहाँको रहन्थ्यो । उहाँलाई पलेँटी कसाउन मात्रै मुस्किल । अचेल उहाँ आफ्नै उद्योग व्यवसायमा बढी व्यस्त हुनुहुन्छ । धीरेन्द्र प्रेमषिर्जीलाई पनि अचेल सिस्नुपानीप्रति खासै रुचि छैन । चट्याङ् मास्टर अन्तै लाग्नुभएको निकै वर्ष भइसक्यो ।

पुराना टोलीका हामी बाँकी रह्यौँ मनोज गजुरेल, टंक आचार्य र म । माणिकरत्न, देवी घिमिरे, थरेन्द्र बराल, हरिकला उप्रेतीको सहयोगी भूमिका हुन्थ्यो, यसपालि उहाँहरूले पनि भ्याउनुभएन । पछि थपिएकामा सरोज घिमिरे र कृष्ण अविरलहरूले देउसी माझ्न निकै सघाएका छन् । राजा राजेन्द्र यसैपालि थपिएका हुन् तर उनी पनि निकै व्यस्त कलाकार भइसके । मनोजलाई पछ्याउँदैछन्, व्यस्ततामा र स्तरीयतामा पनि । यसपालिको देउसी तयारीमा सरोज, राजा राजेन्द्र र हामी तीन भाइ लागेका थियौँ । तिहारको अगाडि घटेको एक रमाइलो घटना सुनाउन खोज्दैछु ।

निकै मुस्किलले भ्यागुताको धार्नी पुर्‍याएर हामी एक बसाइ बसेका थियौं । पहिलो बसाइमा हामीले वर्ष भरि घटेका मुख्य मुख्य घटनाको टिपोट मात्रै गरेका थियौं । अब तिनीहरूमा प्राण भर्नु थियो । भाका हाल्नु थियो । दोश्रो बसाईका लागि बानेश्वरको कोलम्वस कलेजमा बिहान ८ बजे जम्मा हुने निर्णय भएको थियो । सबैभन्दा सजिलो र बिकामे म छु, लक्ष्मण गाम्नागे, जहिले जहाँ भन्यो त्यहीँ पुग्छु । साथीहरूको नानीदेखिको बानीबाट चिरपरिचित हुँदाहुँदै पनि म लण्ठु आठै बजे पुगिसकेको थिएँ । मनोज गजुरेल र टंक आचार्य आधा घण्टा वा एक घण्टै ढिलो आउन सक्छन् अथवा मनोज त आउँदै नआउन पनि सक्छन् भन्ने मलाई थाहा थियो । समयको पालनाका विषयमा सिस्नुपानी नेपालमा संस्थापक अध्यक्ष चट्याङ मास्टरले जतिसुकै प्रयत्न गरे पनि व्यक्तिगत रुपमा भने हाम्रा साथीहरूमा त्यसको कुनै प्रभाव परेन । संस्थाले भने ठिक समयमा कार्यक्रम शुरु गर्ने परम्पराको पालना गरिरहेको छ ।

सदाबहार व्यस्त यी दुई भाइहरूलाई यस्ता मिटिङ् बैठकमा तोकिएको समयमा प्राप्त गर्नु भनेको कुनै मन्त्री वा नेतालाई प्रमुख अतिथि बनाएर समयमा कार्यक्रम थाल्छु भन्ने आशा गर्नुभन्दा पनि दुर्लभ आशा हुनसक्छ । म वाध्य थिएँ उनीहरूलाई पर्खिन र पर्खिएर बसिरहेको थिएँ कलेज बाहिर गेट छेऊमा । आठ बजेको मिटिङ् भनेको साढे आठ भइसकेको थियो । मनोजलाई ढिलो हुँदा जाममा परेको उत्तर आउँथ्यो । टंकलाई फोन गर्दा पाँच मिनेटमा आइपुग्छु भन्ने रेडिमेड जवाफ आउँथ्यो । आज पनि त्यही भयो । म रिसले मुर्मुरिँदै सडकको पेटीमा यता र उता गर्दैथिएँ । एकजना मानिस आएर मोटरसाइकल रोक्यो र सोध्यो ‘भाइ कोलम्बस कलेज यही हो ?’

मैले मन नलागी नलागी भनेँ ‘हो’ । मलाई मन नलाग्नुका कारण दुइटा थिए । एक, म आधा घण्टादेखि सडक पेटीमा उभिएर कसैलाई पर्खिरहेको थिएँ । दुई, उसले चिन्नु न जान्नु मलाई भाइ सम्वोधन गरेको थियो । यो मेरो पुरानो खराव बानी हो । अलि बूढै लाग्ने बाहेककाहरूले हेप्ने टाइपले भाइ भने भने झनक्क रिस उठ्छ ।

‘गुल्मेलीहरूको मिटिङ् भनेर आएको, श्रीकृष्ण ज्ञवालीले बोलाउनुभएको मिटिङ् । तपाईं पनि त्यही मिटिङ्मा हो ?’ उसले सोध्यो ।

मैले भनेँ ‘होइन । म अर्कै कामको लागि आएको हो ।’

‘अर्को के काम ?’ ओहो ! कस्तो काम नपाको मान्छे रैछ । मलाई झनै रिस उठ्यो ।

‘मिटिङ् छ ।’ मैले ऊतिर नहेरी अलि झर्किएर भनेँ ।

‘अनि किन बाहिर बस्नुभएको त ?’

‘तँ सालेलाई के मतलव !’ मैले मनमनै भनेँ ।

‘मेरा साथीहरू आइपुगेका छैनन्, यसैले ।’ प्रकटमा भनेँ ।

उसले त्यहीँबाट कसैलाई फोन गरेर हप्कायो । ‘खोई त अहिलेसम्म मिटिङ् शुरु भएको छैन । म आएको आधा घण्टा भइसक्यो । टाइम दिएपछि त आउनुपर्छ नि ! कति महत्वपूर्ण काम छाडेर आएँ ।’

‘…………….।’

‘खोई, यहाँ गेट बाहिर एकजना भाइ बसेको छ, अरु कोही छैन ।’ मतिर छड्के हेर्दै उसले भन्योे र गेटमा गएर ढक्ढक्याउन थाल्यो । गार्डले गेटको प्वालबाट चियाए । गुल्मेली भित्र पस्ने प्रयासमा लाग्यो । बैठक छ भन्यो । पालेले टङ्क सरलाई सोध्छु अनि मात्रै भित्र पसाउँछु भनेछन् । त्यतिकैमा टङ्क आइपुगे । गुल्मेलीले मोटरसाइकल गेटै अगाडि रोकेको थियो । टङ्कको हर्न सुनेर गार्डले ढोका खोले । गुल्मेलीले त्यही मौकामा मोटरसाइकल भित्र हुल्यो । उसले मोटरसाइकल लगेर कार पार्क गर्ने ठाउँमा राख्नै लाग्दा टंकले भने ‘भाइ मोटरसाइकल उता राख्नुस् ल !’

उसले मोटरसाइकल हटाएर मेरो सँगै ल्यायो र राख्यो । मोटरसाइकलबाट ओर्लेर परतिर हेर्दै भन्यो ‘यहाँ त होइन कि क्या हो !’ म बोलिन । ऊ फेरि मोबाइलमा कसैसँग कुरा गर्न थाल्यो । ऊ अर्कैतिर लाग्यो, म टंकजीको अफिसतिर लागेँ । ढिलो गरेकोमा टंकसँग रिसाउँदै हामी देउसीका विषयमा छलफल गर्न थाल्यौं । मनोजको कुनै अत्तोपत्तो थिएन । मनोज कतिपटक आउँछु, भनेर आउँदै नआउने पनि गर्ने भएकोले हामीले उसलाई पर्खिन थालेनौँ । यतिकैमा त्यो गुल्मेली भर्‍याङ्को भित्तातिर झुण्ड्याएका तस्वीरहरू हेर्दै हेर्दै बिस्तारै माथि आयो र आएर टंकसँग गुल्मेली बैठकबारे सोधपुछ गर्न थाल्यो ।

‘यो गुल्मेली समाजको बैठक हो ?’

टंकले भने ‘होइन । सिस्नुपानीको हो ।’

‘सिस्नुपानी ?’ ऊ हाँस्यो । ‘के हो सिस्नुपानी भनेको ? सिस्नुपानीको पनि वैठक हुन्छ ?’

‘संस्थाको नाम हो । हास्यव्यंग्य सम्वन्धी काम गर्ने संस्था ?’ टंकले प्रष्ट पारे ।

‘ ए…तिहारमा देउसी खेल्ने संस्था हो कि क्या हो ? ओहो कस्तो व्यंग्य हान्छ नि ! त्यही हो ?’ ऊ निकै उत्साहित देखियो ।

‘हो, त्यही हो । अब हामी काममा लाग्छौं ल ! तपाईंको मिटिङ् यहाँ होइन जस्तो छ ।’ टंकले त्यसलाई पन्छाउन खोजे ।

उसले सोध्यो ‘नेपाली नाम नै नभए जस्तो के नाम राखेको हो, कोलम्बस !’ गुल्मेलीको व्यवहार र कुरा मलाई शंकास्पद पनि लाग्न थाल्यो । कतै चन्दा सन्दा उठाउन आएको पो हो कि Û उसले फेरि सोध्यो ‘कोलम्बस भन्ने अर्को पनि कलेज छ र ?’

टंकले भने ‘कलेज त छैन, स्कूल हो भने अलि उता छ ।’

‘स्कूल पो भनेको हो कि क्या हो ! लोकेशन त ठ्याक्कै यही भनेका थिए ।’ भन्दै उसले पुनः कतै फोन गर्‍यो । फोनबाट कुरा बुझेर उसले ‘कोलम्बस इन्स्टिच्यूट भन्ने छ यतातिर ?’ भनेर टंकलाई सोध्यो ।

टंकले पारिपट्टछि भनेर बताएपछि बल्ल गुल्मेली बाटो लाग्यो ।

टंकजीले मनोजलाई फोन गरेर आउने कि नआउन सोधे । मनोजले आइपुग्नै लागेको बताएपछि हामीले चिया मगायौं र देउसीकाा बारेमा छलफल थाल्यौं । छलफल शुरु मात्रै गरेका थियौं, गुल्मेली फेरि फर्किएर आयो र सरासर भित्र पसेर सोफामा बस्यो । हामी आश्चर्यचकित र भयभित पनि भयौंँ । टंक रिसाएर केही भन्न मुख तिखार्दै कुर्सीबाट उठ्न खोज्दैथिए, गुल्मेलीले ‘ तपाईंहरूले मलाई किन झुक्याएको ?’ भनेर रिसाउँदै हेल्मेट खोलेर टेबुलमा राख्यो । त्यसपछि मुख छोपेको रुमाल पनि हटायो । हामी अवाक् भयौं । हामी हेर्‍याहेर्‍यै भयौं । निकैबेर जिल्लिएपछि एकैसाथ हाम्रो हाँसोको फोहोरा छुट्यो, हामी हाँसेको हाँसेकै भयौं । हुरुक्कै भयौं । त्यो बज्जे गुल्मेली अरु कोही थिएन, मनोज गजुरेल नै थियो ।

मैले मनोजलाई चिनेको ऊ कक्षा सात वा आठमा पढ्दादेखि हो । ऊ मेरो एकै परिवारको भाइ जस्तै हो । टंकसँग पनि उसको दोस्तीको २० औँ वर्ष चलिरहेको छ । हामी दुवैलाई दिनदहाडै यसरी चक्मा दिन सक्ने यो मनोज गजुरेलको कलालाई मैले मानेँ । टेलिफोनबाट त उसले बेलाबेला झुक्याउँथ्यो । कुनै कार्यक्रममा ज्ञानेन्द्रको नक्कल गर्दा प्रहरीले साँच्चिकै ठानेर स्यालुट हानेको कुरा गथ्र्यो मनोजले । मलाई पत्यार लागेको थिएन । आज मैले पत्याएँ ।

दुई

कहिलेकाँही घटनाहरू अचम्मैसँग दोहोरिँदा रहेछन् । माथिको घटना भएको ठीक भोलिपल्ट अर्को एउटा अनौठो घटना मसँग भयो । म आफ्नो घर सिनामंगलबाट निस्किएर अफिस जान लाग्दै थिए । घर छेऊको पहेंलो पुलमा पुग्दा एकजना मानिस बिग्रेको बाइक घँचेटेर अगाडि लाग्यो । पुलमाथि चढाउन उकालो बाटो थियो । त्यसले मोटरसाइकल घँचेटेको देखेपछि ऊ पुलमाथि पुगोस् भन्ने ठानेर म पर्खिन थालेँ । त्यो मानिसले बाइक माथि चढाउन सकेन, हेर्दा हेर्दै पछि सर्न थाल्यो । ल्यायो-ल्यायो-ल्यायो, झ्याप्पै पारेर मेरो मोटरसाइकललाई हिर्काइहाल्यो । मेरो बाइकको अगाडिको साइड लाइट भाँचिदियो । उसको व्याक लाइट चकनाचुर भयो । अब शुरु भयो लफडा । गल्ती उसको थियो । त्यतिकै छाड्न पनि मिलेन । मेरो लाईट भाँचिएको छ । नछाडौं भने ऊ बग्गीखाना जाउँ भन्दै किचकिच गर्न थाल्यो । अफिस पुग्न ढिलो हुन लागि सक्यो ।

‘मेरो गल्ती छैन, उकालोमा बाइक पछि सर्‍यो त मेरो के दोष’ भनेर ऊ उम्किन प्रयास गर्न थाल्यो । त्यतिकैमा एकजना मानिसले हाम्रा छेऊमा बाइक रोकेर के भयो भनेर सोध्यो । मैले बेलिबिस्तार लगाएँ । त्यो मानिसले मेरो पक्षमा वहस गर्न थाल्यो । वहस झन् झन् चर्किन थाल्यो । अफिस जान ढिलो हुन लागेकोले म त मरोस् छाडिदिनुपर्‍यो भन्दै थिए । तेस्रो व्यक्ति जमेरै मेरो पक्षमा लागेर त्यो मानिसलाई थर्काउन थालेपछि म झनै अप्ठ्यारोमा फँसेँ । त्यो नवागन्तुक बाइकबाट ओर्लिएर मेरो पक्षमा कस्सिएरै बाझ्न थाल्यो । उसैले हामी दुवैलाई नजिकको मोटरसाइकल बनाउने ठाउँमा लग्यो । सोधपुछ गर्दा जम्मा डेड सय रुपैयाँमा क्षतिपूर्ति हुने रहेछ । तर त्यो मानिस बग्गीखाना जाउँ उहीँ कुरा गरौँला भनेर ढिप्पी कसेको कसेकै । रमितेहरूको भिड लागिसक्यो । सबैले त्यो मानिसको सरासर गल्ती भएको थाहा पाइसके । सबैले पैसा तिर्न भनिसके । तर ऊ डेग चलेन । मेरो पक्षमा लागेको मानिस रिसायो र मोटरसाइकलको चाबी खोस्यो ।

त्यो मानिसले ‘हामी दुईजना बिचको झगडामा पस्ने तपाईं को हो ?’ भनेर नवप्रवेशीलाई सोध्यो । वास्तवमा म पनि आश्चर्यचकित भएको थिएँ । सोच्दैथिएँ, कहाँ जान लागेको मान्छे चिन्नु न जान्नु मेरो पक्षमा लागेर यसरी किन झगडामा फसेको होला । नदुखेको टाउको किन दुखाएको होला ! नवप्रवेशीले हेल्मेट खोलेर पाखुरा सुर्कँदै त्यो मानिसलाई कुट्ने तरखर गर्न थाल्यो । रमितेहरूले उसलाई छेके । त्यो बेला पो थाहा भयो, मेरो पक्षमा लागेर यत्रोबेर लफडा गर्ने त मेरो आफ्नै सालो रामु पो रहेछन् । एउटै घरबाट निस्किएर उनी मेरा पछि पछि आउँदै रहेछन् । त्यो मासिनसँग झगडा भएको सुरमा मैले हेल्मेटले मुख छोपिएको आफ्नै सालोलाई पनि नचिनेर चकित भइरहेको रहेछु । म सोच्दैथिएँ, यो कुनै मलाई चिन्ने छिमेकी होला वा लक्ष्मण गाम्नागेको कुने प्रशंसक वा पाठक होला । रामुले कुट्न झम्टिएपछि त्यो मान्छेले खुरुक्क पैसा तिर्‍यो, हामी हिँड्यौँ ।

(श्रोत:- अन्तर्जाल)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in हास्य - व्यङ्ग्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.