~चरिचुच्चे च~
“खाली दिमाग सैतानको घर” भनेको पनि ठीकै रहेछ । जब मान्छे काम धामबाट अलग्गिन्छ, तब उसलाई समय बिताउन बहुत गाह्रो पर्छ, अनि त मानिसको दिमागमा ज्ञानगुनको चासो प्रियसीको नासो, अतीतको डायरीबाट भावनाको सायरीबाट, कागजको पानामा बोरा च्यातिएझैँ गानामा ओकल्न थाल्छन् । त्यसमाथि पनि टिन यज बैंशको रेज, काँडामा फूल देख्नु कुकुरलाई बाटो छेक्नु, क्यातुकेको पातमा प्रेमपत्र चाहना अलपत्र, आफ्नो पराई, पराईको पछि धाई दिन बेथित गर्छन् । प्रकृतिको रीत हुन्छ, त्यसकै जीत, आखिर म पनि टिन यजर नै थिए, त्यस्ता रोगबाट अछुत रहने कुरै आएन ।
पढ्ने बेला सल्लाघारीमा काइयोले कोर्दै दाह्रीमा पात बजाएर ठिटी हँसाएर गुरूलाई ढुङ्गाले केटीलाई कागजको डुङ्गाले पछाडिबाट कसले हिर्काओस् । एसएलसी दियो न केही गरेको थियो, रिजल्टमा जिरो आफू मान्छे हिरो । अब के गर्ने त ? बाबुआमा कराउँथ– सकेसम्म काममा दलाउँथे, काम गर्न परे उही हो आफूलाई ज्वरो आउँथ्यो । थुइक्क अभागी खप्पर, जहाँ गए नि ठक्कर ! पहाडी बस्ती गाईगोरूको गस्ती, गोठालो पेसा मेरो कस्तो दशा । त्यस पछि शहरमा प्रवेश, समय कटाउने मेसो, फेसबुक च्याटका बारेमा जानियो । सुरूसुरमा त मेरो दिमाग नै टट्यायो । दिन बित्दै गयो, बानी पनि भयो । फेसबुकबाटै एउटी स्वास्नी बनाउने चाहना, केटीसँग नजिक हुने बहाना, मलाई पनि चाहियो नभन्दै सौभाग्य फेसबुक संसारमा केटीहरु रोजे जस्ता पाइयो । एउटा फेसबुकबाटै पठाउन टाइप गरेँ । दोहो¥याई, तेहे¥याई हेरेँ । म्यासेज बक्समा लगी खसाली दिएँ । खुसीले झण्डै होस् हवास गयो ।
पिँढीमा बसेर अम्ला भाँचेर, क्यालेन्डर हेर्दै, बिँडी बेर्दै समय बिताउन थालेँ । जब दुई हप्ता बित्यो, फेसबुकमा म्यासेजको रिप्ले आयो । सबै म्यासेज तरुनी केटीहरुको । तीनवटी मध्ये दुईटी जेठीको एउटै रै’छ धरानकी, अर्की पोखराकी, बाँकी रहेकी एउटी मोरी मोरङकै परिछ । मेरिबास्सै, म्यासेज हेर्दा सुन्दर फोटोको प्रोफाइल देख्दा मन बसमै भएन । अन्त ध्यानै गएन । फेसनमा छाडाकी अति नै आधुनिक पाराकी, अहिल्यै बोल्लीजस्ती, उत्ताउली कस्ती मिनिस्कट लाइछ, आधा शरीर देखाइछ, नेपाङ्ग्रेजी छाँटेकी शिक्षा आईए भनेर ढाँटेकी । अन्त्यमा आइ लव यु लेखिछ । नाम सुन्दैमा हेनसम पो देखिछ । सुकुलमा बसेर पलेटी कसेर म्यासेजको रिप्ले चाइनिज थोत्रो मोबाइलबाट फेसबुक खोलेर दिन थालेँ, सुरू कसरी गर्ने के शब्दले भर्ने मलाई थाहै थिएन । सुक्यो शब्द सबै लुक्यो । के सम्बोधन लेखौँ, म त दुविधामा परँे जे पर्ला, जसो गर्ला भावनाले फूललबुट्टा भरी, शब्दको चैन गरी म्यासेज तयार पारेँ मनको आँखाले । दिमागी भाकाले नियाल्दा राम्रो लाग्ने पशुपति भाकी त्यो केटी समक्ष पुन म्यासेज फेसबुक मार्फत पठाएँ । चिबे बास्यो, कुकुर हाँस्यो, मुखै नधोई, कामै नछोई बाटो तताएँ । छिटो म्यासेज आओस् भन्दै दिन गन्दै बस्न थाले । तीनवटी मध्येकी एउटीको जवाफ आयो, मनमा खुसी छायो । बिस्तारै रिक्वयस्ट लिस्टमा केटीहरु ओइरिने क्रम जारी भयो । ‘जुन गोरूको सिङ छैन, उसको नाम तिखे’ भनेझैँ जसलाई सामाजिक सञ्जाल फेसबुकको अर्थ नै थाहा थिएन, ऊ फेसबुकको सागरमा डुबेर गहिराईमा पुगेर भावनाको चुस्की लगाउँदै थियो, मानौँ म त्यसै गर्दै थिएँ । पूर्वको कालेको, पश्चिमको पालेको उत्तरको रिेको र दक्षिणको डिेकोसम्म फेसबुकमा मेरो प्रोफाइलमा एड हुन आइपुगे । भत्केर खाली भा’को, माकुराले जाली ला’को, बाजेको पालामा बनाएको ढुसीले गन्हाएको मेरो घरमा, खाएको पचाएर, पान चपाएर गाना गाउँदै चश्मा लाउँदै हेर्दा पनि एक दिनमा आएका फेसबुकका म्यासेजहरु सबै पढ्न भ्याइन्नथ्यो । त्यस माथि दैनिक १०० रुपियाँ चट् टेलिकम बाट । कसैले मायाको कुरा त कसैले छायाको कुरा, कसैले घरपरिवार त कसैले जीवनको सार आफ्नो प्रोफाइलमा लेख्थे । ‘चुच्चे ढुङ्गो उही टुङ्गो’ भनेझैँ गाँठी कुरा एउटै हुन्थ्यो । आकाशबाट घुमाएर पाताल पु¥याए पनि केटीको कुरा एउटै बुझिन्थ्यो । तिम्रो विवाह भयो, या त उमेर गयो ? पैसा कति कमाउँछौँ भट्टीमा कति रमाउँछौ ? गर्लफ्रेन्ड छ कि छैन, विवाह गर्ने हो कि हैन ? दाइ, दिदीको विवाह भयो, मेरो बाँकी रह्यो । लव म्यारिज गर्ने हो सँगै जिउने मर्ने हो । तिम्रो के छ सोच हुन्छ भनी मैलाई रोज । म पनि के कम थिए र ? गाउँघर कस्तो छ । गाउँले ठिटी कतिको सस्तो छ । हाम्रो त यहाँ ‘विन्टर भ्याकेसन, समर भ्याकेसन, दिवाली भ्याकेसन, नयाँ वर्ष, भ्यालेन्टाइन–डे’ गरी बाह्र महिनामा दस महिना त विदा नै पर्छ । विदाको समय घुम्न आउनु छ, तिम्रो गाउँसँग पिरती लाउनु छ, बनाई पठाउनु घरसम्मको लोकसन् हामी घुम्न आउँदैछौँ नाई नभन । तेरिमा गाँठे, अब त यस्तो लाग्न थाल्यो, कुन दशा लागेर फेसबुकमा हात हालेछु ।
त्यसैबीचमा काठमाडौँ सहरदेखि घुम्ने रहर बोकेका दुईवटा ठिटा मोटरसाइकल चढेर मेरो गाउँमा आए । चश्मा लाएका चुरोट खाएका, पाइन्ट पनि च्यातेर टालेका, टुप्पी पनि पालेका के कुरा गर्नु, न झुण्डेर मर्नु, दही, घिउँ चाहिन्छ रे, बाउ ! गाउँ त क्या रमाइलो स्वच्छ हावापानी पाइन्छ रे । तेरीमा सौतेनी आमाका छोरा हो, घरमा अन्न छैन, तिमीहरूलाई मीठो नखाई भएन, १५–१५ दिन बस्ने यो त अलि भएन नि । कलेज जान पर्दैन र भनेर सोधेको त विन्टर भ्याकेसन अरे । थुइक्क पाजी हो ! हुन्छ नि एउटा सीमा फेरि सहरीयालाई गाउँमा बस्न पाउँदा ताजा फलफूल, दूध, दही, घ्यू खान पाउँदा के चाहियो र ‘नपाउनेले के पायो बोक्रैसँग पो चपायो’ दुई दिन घुम्न आएका १५ दिन बसेर बल्ल मुन्टे । घरमा बाउले झन्डै ढाड सेकेका, मलाई पनि आबारा गुन्डा पो देखेका, केटा भएको ठाउँमा केटाहरू घुम्न आउन त्यो त ठीकै थियो । मेरिबास्सै एक दिन बिहान–बिहानै बाथरूममा पसेरै रामनाम जपेर नुहाउँदै थिएँ । चारवटी केटीहरू चरिचुच्चेको घर यही हो भन्दै आएछन् । बाबु बूढा पनि के कम ‘बाघ बूढो भए पनि घाँस टिप्दैन’ भनेझैँ जुँघा मुसार्दै चुच्चो पसार्दै फलैँचामा गलैँचा विछ्याएर चुरोट तान्दै साइड पो हान्दै गरिराख्या, नुहाइ–धुहाइ सकेर कट्टु तान्दै, इजार बान्दै, बाहिर निस्केको त ओहो ! चारवटी मरीमरी हाँसेका के गर्नु झुर नै भो । हत्त न पत्त घरभित्र पसी, एउटी त एक छिन ल भन्दै पछिपछि पो लागी, म पनि के कम बुइँगलमा चढी, घोप्टे लगाइदिएँ । लौ थेच्ची रहोस् नै भ¥याङमै, दिनभरि गाउँ घुमाएँ, पालैपालो हातमा समाएँ, साँझमा जालान् त नि भनेको त हामी त दुईचार दिन बस्ने हो भन्दै घरतिर पो तेर्सिन्छन् । एउटी मोरी साह्रै नकचरी, भान्छामा पसेर आमासँग बसेर मकै पनि भुटी छ । बहिनीले भाउजू भनेर जिस्काइछ, विचरीलाई नराम्रोसँग कुटी छ । गाउँ घर न हो छेड हान्न थाले । आँखीझ्याल र खटिप्वालबाट चियाउन लागे । मारमा त म पो परेँ । एउटी पो हुन्छ, चारचार वटीलाई कसरी पाल्छस् हे चरिचुच्चे पो भन्छन्, “मुखैमा हान्नुजस्तो’ आफूसँग कस्ले माया लगाउने हो कस्ती पो आउने हो, बेकारमा मेरो नाम मात्र मुछिने भो, कुमारत्व पुछिने भो । के गर्नु जाओ भन्दै गलहत्याउन नहुने, पाँच दिनपछि बल्ल बाटो तताए । जानेबेला एउटी नजिक–नजिक हुन्छे, सुक–सुक गरेर रून्छे, कति न वर्षौंदेखिका प्रेमी र प्रेमीका विछोडिन लागेका जस्तो, होइन हे गाँठे नारीको जातै कस्तो ? आँसु त बहुत सस्तो बेला न कुबेला झर्ने, आफूलाईचाहिँ टाउकोको जुम्रा लखेटेझैँ बडो हाइसन्चो भयो ।
सबैजना मकहाँ आउँछन् घाटा नै लगाउँछन् । मैले पनि दिमाग लगाएँ, विचार तताएँ । एकदुईजनाको घरमा त म पनि किन नजाउँ, घुम्न पनि पाइने, मीठो–मीठो खाइने, यो महँगीमा घरको अन्न पनि जोगिने, नयाँ नौलो ठाउँको चालचलन पनि भोगिने । पोखराकी एउटी पोख्रेली कान्छीले घरको नक्सा, आउनेजाने बाटो सबै लेखेर पठाएकी थिई, फोननम्बर पनि खटाएकी थिई । म पनि के कम जुल्फी लर्काउँदै कम्मर मर्काउँदै, दौरा–सुुरूवाल लगाएर लोकगीत गाएर पोखरातिर हान्निएँ । पोखराको बस स्टपबाट झरेर फोन गरेँ, आफैँले फोन उठाएर अंग्रेजी छाँटी, दिदी त छैन म बहिनी भनेर ढाँटी मिलनचोक आउनु दायाँ गल्लीबाट बायाँ गल्ली धाउनु सेतो कलर लगाएको, गमलाले सजाएको एउटा घर छ । गेटमा बेल छ बजाउनु अलिअलि लजाउनु भनेर बताई । भनेअनुरूप दायाँबायाँ हेर्दै फेटा गलामा बेर्दै म पनि अगाडि बढेँ । ठ्याक्कै भनेकै घरमा पुगेछु । बेल पनि बजाएँ, झ्यालबाट हेर्छन् । आँखा–आँखाले हेर्छन् । ढोका खोल्न पनि आउँदैनन् । बोलाउँदा पनि बोलाउँदैनन् केही समयपछि एउटा भुसतिघ्रे बूढाले गेट खोल्यो, कसलाई खोज्या बाबु भनेर बोल्यो । पोख्रेली कान्छी बताएँ । उसको त यो घर होइन, ऊ त भट्टी पसलकी साइँली, अहिले मोजमस्तीमा अस्थायी लोग्नेसँग गाको बताउँदै गेट लगायो, मलाई त सिधै त्यहाँबाट भगायो लौ वित्यास पारेन त ?
त्यसपछि जति पटक फोन गरे पनि फोन उठ्ेन, ‘चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी’ योजना चौपट भयो, साँझ ढल्दै गयो, जीउ गल्दै गयो । अब बास कहाँ बस्ने पैसा धेरै थिएन । होटलले बस्न दिएन । वल्लो गल्ली, पल्लो गल्ली कहिले बसपार्क दौडिरहेँ । चिनेको कोही छैन, बसौँ त कसैले पनि भन्दैन । बल्लबल्ल काठमाडौँ आउने एउटा बस आयो, झुन्डेर चढेँ, भित्र सबै सिट प्याक भएछ । थोत्रो बोरा ओछ्याएर ढोकानिर बसेँ, निद्राले उघ्न थालँे, उपियाँ, उडुसले चुम्न थाल्यो । हे नारायण ! मेरो हरिबिजोग, साथमा पैसा छैन खान पा’को हैन, पेटमा मुसा कुदेको, कस्तो दशा भोगेको मनमनै सोचेँ, फेसबुकको अर्थ खोजेँ, देखावटी रै’छ सबैले अँगालेको फेसन रै’छ । फेसबुकले बाबुको बिहे देखायो, नराम्रोसँग चेतायो ।
(श्रोत:- Unity)