आज चैँ चर्कियो कलह !
यो कलह मानिस नहुँदाको । बरु मानिस हुँदा झगडा हुँदैन्थ्यो होला । आज पल्टा खाइरहेको अवस्था छ गाउँमा ।
आँगन जोडिएको दुइ घरमा मानिस छैनन् । सबै पसेका छन् खाडी र जोहो गरेका छन् साँझबिहानको चुलो तताउने । तर यतिबेला लासको बाकस आएर बसेको छ आँगनमा ।
अनेक अड्कलबाजीका शब्दको पालोपहरो छ, छ ।
भगवती र अमरावतीका कुरा सुनिरहेको छु म । सँधैको विपन्न, बिजोग र बेहालमा समयका पाङ्ग्रा गुडाए यिनले । गाउँमा मान्छेको हाहाकार भएर के के ठानिरहेछन् यी सरल अनुहार !र्
अर्थ आँफै लगाइरहेछु म ।
‘मलाई त छोरो गएदेखि खाएको अन्न नि माटै चबाए झै लागिरा छ ! धर्ती फाटेर आफू तल तल गए झैँ भाकोभाकै छ ! भन् त भगवती, तँलाई कस्तो हुन्छ ?’
कुरो एउटै छ ।
अर्थात् दुबैका छोराहरु पसिना खर्चेर धनको बिटो बोक्न गएका छन् । आशाको मसिनो ध्वनि वरपर जताततै तरङ्गित छ नै ।
अमरावती बोल्छे ।
‘मैले रगतको फाल्साबाट बनाएकी हुँ । पानी खाँदा नि पिरोलिन्छु । अन्न निल्दा नि भुटभुटिन्छु । कुन रात, कुन दिन सारा घर रित्तै !’
भगवतीको उत्तर सुन्छु ।
मरेको लास भगवतीको छोराको सँगी थियो । बाकसमा कोचिएर आएको मुर्दा अमरावतीको छोराको दौँतरी थियो ।
समयका कुइनेटामा प्रश्नका गजबार अब भटाभट देखापरे । सुरक्षित को होला ? को सद्दे आउला ? अथवा सबल अनुहारले यो आँगनमा खित्का छोड्न सक्ला ?
म एउटा कुनाबाट ती दुइ विधवाका कुरा सुनिरहेको छु ।
आँखा त छोपुँला तर रगतपच्छे सभ्यताको दृश्य कसरी बिर्सनु ! कान त थुनुँला तर आँसुका आहालका सुँकसुकाइ कसरी भुल्नु ! ओठ त चूप लगाउँला तर आपट्टे भक्काना कसरी थाम्नु !
‘भन् भगवती ! कत्ति हैरानी खपिरहेकी छस् तैँले ? मेरा घरका बस्तुभाउ सार्ने मान्छे मैले कतैबाट नि पाइनँ । घाँस, कुँडे र सोत्तर नभएपछि पशुले नि हाम्रा लागि मनुष्यत्वको दर्जाबाट तल झार्दो रहेछ । एकदमै तलं ! मलाई यतिखेर भैँसीको किलो बनाइदिने एउटा तन्नेरीको खाँचो छ चरम चरम ।’
अमरावतीको वेगवान बोली छ ।
हरेक अवस्थाले विध्वस्त लाग्छ बस्ती । पहिरो थेग्ने पाखुरा, जँघार रोक्ने जोस र भल थाम्ने आँट नभएको दृश्यमा उभिएको छु म ।
‘मलाई समस्याले जति थिचेको छ । उम्किन मिल्ने सुझावको कुनै एउटा स्वर सुन्न सक्दिनँ म । मैले मेरो भविष्यका हरेक मानाचामल पठाएँ । अब पर्खेर बस्नुको विकल्प छँदै छैन !’
भगवतीको सोझो आवाज सुन्छु ।
गाउँबाट छानिएर गएको पुस्तासँग समयको कुनै व्यवधान ओर्लिएको छैन किञ्चित । जे विपत्ति, जे असहज र जे चौपट भोग्नु पर्यो बस्तीका सबै खाले हृदयले स्वीकार्नै पर्यो ।
मानिस हुँदाको मूल्य कति कति !
यो बेला यी सबै अकाल वा खेदशून्य कथा सबै बार्दलीले बोलिरहेकै छन् । यतिखेर चकमन्नतामा मानिसविहीन बुइँगल देखिइरहेकै लाग्छन् ।
‘चार्डपर्वले आँखा तर्छन् । कसका निम्ति पकाउनु ? कसलाई भनेर पर्खनु ? अथवा टपरी, बोहोता वा दुनामा परिकारको भाग लगाएर पर्वको अर्थ खोज्नु ? भो, मलाई भताभुङ्ग हुँदै गइरहेको संसार चाँडै सकिए हुन्थ्यो भन्ने लाग्न थालिरा’छ ।’
अमरावतीलाई सुनाई भगवतीले ।
नबोली भएकै छैन दुबैलाई । आखिर सुन्ने र सुनाउने समाजको सबभन्दा शक्तिशाली रुप यिनै दर्ुइ अनुहार हुन् हजार थप्पड खाएका मुजे गाला र भास्सिइरहेका आँखा र उठिरहेको च्युँडोसहितका वृद्घा विधवाहरु ।
कठोरतालाई पाए पगाल्नु हुन्थ्यो !
‘भन् त भगवती ! तेरो छोराले कसको मात्र भाषण सुनेन ? कसको नारा लाएन ? कति हण्डर खाएर कहाँ कहाँ टाढाका बग्गीखाना र जेलखानामा थुनिनु पर्यो । कुन्दाको कुटाइ र बाघेझप्पुको झम्टाइले कति दिन आलसतालस भयो तेरो छोरो ! तैपनि त्यसले कतै भुइँ कोरेर थाकेन !’
भगवतीको छोराले गाउँमा नयाँ समाजको मौसम छर्यो । बल्ल जीवन जीवनजस्तो, ढुकढुकी-ढुकढुकीजस्तो र दृष्टि-दृष्टिजस्तो भएर गतिशील भएको ठानेथे सबैले ।
विस्थापित एक पटक फेरि भयो त्यो नयाँ सोच ।
‘हो, खेतमा खेती गरौँ । आँगनमा कुरा रोपौँ । बारीमा तरकारी छरौँ । मेरा छोराले लगाएको नारा यति थियो । मात्र यति थियो । अमङ्गल कुरा थिएन त्यो !’
म भगवतीका कुरा सुन्छु । म अमरावतीका आवाज सुनिरहेको छु । यी वृद्घा आमाहरुका निष्कपट बोलीमा शक्तिशाली दर्शनका केस्रा-केस्रा ओर्लिएको अनुभूत गरिरहेको छु ।
ताँतीमा मिसिएथे दर्ुइ किशोरहरु !
सम्भाव्य परिणामले पार्ने वृतान्त यतिखेर भेटिन्छ । बितिरहेको कालखण्डमा नापजोख भइरहेको चरित्रले चनाखा आँखा लगााएको पाइरहेको छु म ।
‘भन् त भगवती, तेरो छोराले कसको मात्रै आदेश सुनेन होला ?’
‘भन् त अमरावती, तेरो छोराले कसको मात्रै उर्दी दिमागमा घुसाएन होला ?’
दुबैका प्रश्न छन् दुबैलाई ।
म यी उही स्थिति र उही अवस्थामा सास फेरिरहेका बस्तीका सबभन्दा उँचो मानवीय अनुहारलाई पढिरहेको छु । अनुहारले भनेका छन्‘ हाम्रा निम्ति त्यही कृतज्ञता हो, दिनु र फेरि पनि दिनु !’
यो अर्थ यसरी पनि लाग्न सक्छ‘सन्तानका सबै खुशी, उल्लास, श्रम र पसिना दिनु !’
मानिस भएर बाँच्ने चाहनाको अपेक्षा गरिनु कृतघ्नताको गाढा टीको टाँस्नु थियो निधारमा । मैले पुछ्रने प्रयत्न नगरेको होइन तर शक्ति, सामर्थ्य र तेज थिएन कसैसँग ।
मानिसहरुको धारणा छ तेल थपेकै भरमा दियोको प्रकाश झन् उल्लसित भएर बल्छ । तर भगवती तथा अमरावतीको आफ्नो गच्छेअनुसारको तर्क हेर्दा लाग्ने गर्छ हावाको चापले पनि हृवारहृवारी बल्ने गर्छ बत्ती ।
एउटा आँगनमा दुबै उभिएका छन् । सामान्य समाजमा पार्ने स्थितिले र्स्पर्श गरेको छ, छ ।
शरीरको रगतमा कति क्रोध छ ? अथवा कति पश्चाताप छ ? अनुहारका मुजा छोएर अड्कलसम्म गर्ने हो ।
अमरावती र भगवतीको वर्तमान त्यस्तै छ ।
‘धर्तीजस्तो चोट हाम्ले मात्रै भोग्नु पर्ने । के मात्रै सहेनौँ हामीले । भातका डल्लामा आँसुको झोलले भिजाएकै हो । घुटुक्क पिउँदै, सुरुप्प पार्दै र सान्त्वनाका हिँक्का स्वीकारेकै हो नि ! भन् त भगवती !’
अमरावतीका बोली सुन्छु अत्यासले अँगालिएको ।
बिस्तारै बजारजस्तो आकार बन्यो त्यो रुवाबासीमा । मानिस नभएका होइनन् जिउँदो मान्छे दगुराउने थुप्रै थिए । तर यतिखेर मरेको मानिस थन्काउने कोही देखापरेका छैनन् ।
एकले अर्कालाई हेर्ने पुरानै रोग छ । त्यो रोगलाई सबै दिइरहेछन् निरन्तरता । सारा गाउँ, टोल र बस्ती त्यसबाट निरपेक्ष छैन । अँह, छँदै छैन ।
अब कसरी भाग्छन् यी दुइ आमाहरु !
भगवतीले भाग्ने कसरी ? अमरावतीले भाग्ने कसरी ? उही समाजलाई उस्तै भोजन, पोषणले हेरविचार गरिदैँछ । अब कसरी रहनु उकुसमुकुसबाट बेखबर !
‘सुन् भगवती ! हाम्रा छोराले बाटो नबनाएका होइनन् । कुलो पैनीका फोहोर नहटाएका होइनन् । झार उखेलेर, उबडखाबड सम्म्याएर अनि लहरा पन्छाएर यो गोरेटो यति प्यारो नबनाएका होइनन् । तैपनि तिनका हातमा कुनै फूलको स्वागत कहिल्यै भएन । हुँदै भएन नि !’
अटुट थाहा पाइरहेको छु म वृद्घा आमाहरुका रोदन ।
हजार भुवरीमा परेका हृदयको आगो साथको बोली छ, स्वर छ र तर्कनाहरु छन् । अकाट्य विचारका पाङ्ग्रामा दगुरिइरहेछन् यी आमाहरु ।
‘भन् भगवती भन् ! यो बस्तीमा एउटा छोराले दिने सबै पसिना हाम्रा छोराले दिएकै हुन् । बाँकी केही थिएन । एउटा माटोको डल्लोदेखि एउटा बिरुवाले पाउने स्याहार सम्भारसम्म हाम्रा छोराबाटै पाए । सुरक्षा, स्नेह र साथ सँधै पाए !’
अमरावतीका कापिरहेका आवाज छन् । असुरक्षा, अन्याय र आपतका तिखा सुइरामा थला परेका लाग्छन् ती आवाजहरु ।
आँगनमा चाङ छ वेदनाको ।
‘सबै खोसे । अरुले त खोसे खोसे, आफ्नाले झन् क्यै नराखी खोसे । एक थोपो नराखी खोसे । हामीलाई र्सवाङ्ग पारेर थुते !’
अमरावतीको आवेग छ अनवरत ।
मानिसलाई अभाव बोध त्यतिखेर हुन्छ सबैतिर समाप्तिको सूचना आउँछ जब ।
भगवती र अमरावती त्यही अवस्थाका केही अनुहार हुन् । त्यस पर अरु कुनै चरित्र वा भूमिका तिनले पाउँदैनन् । किञ्चित् पाउँदैनन् ।
आफ्नै छातीका कौलासा सुनाउँछन् ती ।
‘मेरा घरको गारोमा बर्खाको भेल पसेको पसेकै छ । मैले जतिसुकै माटो, ढुङ्गा र बालुवाको थुप्रो राखे पनि बग्न छोडेको छैन त्यो पेटी । अब माटो नहालेको कुरामा भन्दा राख्ने पद्दतिबारे ठीक नभएको तर्कले घेरिएको छु म । तन्नेरीका हातले राखेजस्तो माटो हामी बूढीहरुका कामले कसरी पर्ूण्ाता पाउने ?’
एउटा गहन कुरा आयो ।
सिङ्गो जीवनले जानेको तर्क । सारा उमेरले पहिल्याएको विचार । पुरै समयले पर्गेलेको सिद्घान्त ।
बनिसकेको बाटोमा हिँड्नेहरुले बाटोबारै लगाउँछन् अनेक खोट । तर तिनले फर्केर कुनै एउटा ढुङ्गो सडकको कुनै पिँधमा कहिल्यै राख्तैनन् । आँगनमा इनारको पानी खाएर दोष देखाउने मान्छेको कुनै कमी छैन हाम्रो वरपर । तर ओखती, सम्भार वा परीक्षणका निम्ति हतपत मनले ताउरमाउर गरेको देखिन्न ।
आँगनको बाकस कसले उठाउने ?
अलिक उमेर वा शक्ति बोक्ने तिनै विधवा आमाहरु हुन् । ती झनै भित्री अन्तष्करणदेखि नै थला परेका छन्, गलेका छन् र खुम्चेका छन् । नहारे पनि पराजयको बादल र चट्याङ छन् तिनमा । जिते पनि विजयको बोली तिनको वरपर आउन सकेको छैन ।
‘भन् भगवती ! सरम लाग्नुपर्ने होइन । निल्न नसक्ने कुरा किन खानु ? हाम्रा छोराको हरेक थोक खाएर पनि पुगेन यिनलाई । अब के बाँकी छ यिनले खाने ?’
आकुलतामा मान्छे न्याय वा निसाफका कुरा गरिरहँदैन । आफ्नै अदालतमा प्रमाणका अनेक अर्थ बोलिरहेको हुन्छ ।
युद्घले थाकेको छ मन र शरीर ।
सिङ्गो बस्तीमा जब थामियो युद्घको अग्निप्रलय । अनि सुरु भयो आफनै खोजखबर र अर्थहरुको बेलिबिस्तार । धेरै कुरा गुमेपछि, अब के बच्न सक्छ ?
यही एउटा तर्कले सबैलाई उछिनेको छ निरन्तर !
‘हामी कुनै बेला बिजोगमा पर्न सक्छौँ । कुनै दिन बाँकी रहेन नकल्पेको, नरोएको र नटोल्हाएको ।’
विधवा भगवतीको कलेँटी परेका ओठको आवेग सुनिरहेको छु म ।
आँगनमा मसिना केटाकेटी छन् । भविष्यहीन पाइलामा डोर्रिएका किशोरी छन् झन् बेस्मारी । धेरै र झन् धेरै छन् वृद्घ र वृद्घाहरु । त्योभन्दा बढी देखिरहेछु म विधवाहरु ।
हारेर अनि दबिएका थुप्रै विधवाले सेतो कपडामा बेहृेर अरुका आँखाबाट केही साथ खोजेजस्तो लाग्छ । किनभने सिङ्गो जीवनको बोझ तिनका थाप्लामा बसिरहेछ ढसमस्स ।
लासको बाकस छँदैछ ।
कुनैबेला दिनहुँ आउँथे यस्ता बाकसहरु । बस्तीमा त्यतिखेरैदेखि अभाव हुन थालेको हो – बाकस बोक्ने, चिन्ने र थन्काउनेको । अर्थात् युवा ज्यानको ।
युद्घले पटक-पटक नङ्ग्रा गाढेर सबै विध्वस्त पारिएको परिवेशमा बोल्नेहरु गलिसकेका छन् मज्जैले । जडता, कठोरता र संवेदनहीनताको कम्पन छ जताततै । यस्तो बेलामा बोल्ने को ?
बाकसको लास बोल्यो ‘भन् भगवती, भन् ! पाखण्डीहरुलाई अझै भन् !’
(श्रोत:- अन्तर्जाल)