कथा : घर-१७

~परशु प्रधान~Parashu Pradhan

उसले भर्खरै कोठाबाट निस्केर फेरि हात जोड्यो ! म जे भन्दैछु, यहाँ र मेरो हितमा भन्दैछु । यहाँ र मेरो दुवैको जिन्दगी लामो छ । राम्ररी विचार गर्नुहोला ।

यौटा आँधीजस्तै ऊ आयो र यसरी नै गयो । म भने बाँध फुटेको पोखरीजस्तै भएँ । अब के कसो गर्ने हो ? म सोच्न बाध्य छु । किन मेरो जीवनमा यस्तै आँधीहुरी आउँछ र मलाई अप्रत्यासित मोडमा पुर्‍याउँछ – त्यसैलाई मान्छेहरू आ-आफ्नो भाग्य भन्छन् होला । कोठामा धुमधुमती एक्लै छु । सो आँधीजस्तो मान्छेलाई चिया ख्वाउँदा सँगै खाएँ । चियाको सुर्कोसँगै उसले आफ्नो परिचय दियो – मेरो नाम धनबहादुर विष्ट हो, भक्तपुरमा बस्छु । मेरो पुख्र्यौंली थलो नै त्यहीँ हो । यो अधबैँसे उमेरमा आएर जीवनमा यस्तो सङ्कष्ट व्यहोर्नु पर्ला भन्ने मलाई लागेको थिएन तर के लाग्दो रहेछ ? आज तपाईंसँग हात जोड्न आइपुगेँ, आउन बाध्य र विवश भएँ ।

मलाई लागेको थियो – यो धनबहादुर बिष्ट, जसलाई जीवनमा म पहिलो पटक भेट्दैछु, यसै आउन लागेको होइन । पक्कै यसभित्र कुनै रहस्य छ, सोच छ । अन्यथा मैले कहिल्यै नचिनेको, नसुनेको र अत्तोपत्तो थाहा नभएको मान्छे म अदना स्वास्नीमान्छेलाई किन भेट्न चाहन्छ ! यौटी पीडित महिलालाई !

“साँच्ची तपाईंले कसरी मेरो नम्बर पाउनु भयो ?”

“ए हजूर ! आजको सहर, यो बेला संसार पाउन सकिन्छ । कत्तैबाट यहाँको नम्बर पाएर नै मैले भेट्ने समय मागेको हुँ । यहाँले मलाई भेट्ने समय दिनु भएकोमा म यहाँलाई कति धन्यवाद दिऊँ ?” ऊ नम्र थियो ।

मैले औपचारिकता देखाएँ – यहाँलाई अकस्मात यसरी भेट्न पाएकोमा म पनि खुसी छु । हेर्नुहोस् – यस घरमा यी दुई कोठा लिएर दुःखी जीवन विताइरहेकी छु । जीवनमा यति कष्टप्रद समय आउला भन्ने मलाई थाहा थिएन तर आफ्नो भन्नेले धोका दिएपछि कसको के लाग्दोरहेछ ?

“तपाईंको पीडा म बुझ्छु । म पनि यहाँलाई आफ्नो पीडा सुनाउन नै आएको हुँ । हामी दुवैका लागि आकाश खसेको छ, ठूलो भुइँचालो गएको छ । अनि यहाँको माइती चाहिँ कहाँ हो ? ……. “

“मेरो माइती पूर्वीपहाड हो तर काठमाडौँ बसेको चालीस वर्षभन्दा बढी भयो । माइती घरमा कोही छैनन् । आमाबा खसेको धेरै बर्ष भयो । म एक्ली छोरी, दाजुभाइ थिए तर कहाँ छन्, कुन अवस्थामा छन् भन्ने केही थाहा छैन । एक भाइ त माओवादीमा लागेको थियो भन्ने सुन्छु । ऊ मरेको, बाँचेको केही थाहा छैन ……….. अब मेरा कोही छैनन्” – किनकिन मेरा आँखा रसाएर आए, टाउको भारी भयो ।

“छोराछोरी विदेश छन् – अमेरिका, अस्ट्रेलिया कता छन् भन्ने सुनेको छु । तीसँग त सम्पर्क होला नि !”

“छन् – उतै छन् । ती गएको पनि धेरै वर्ष भयो । तिनले पठाएको डलरकै भरमा म बसेकी छु । कहिलेकहीँं फोनमा कुरा हुन्छ ।”

“आजभोलि सबैको यस्तै हो । बढेका छोराछोरी सबै विदेशमा छन् । गाउँघरमा बूढाबूढी र केटाकेटी मात्र छन् । कुनै लास पर्‍यो भने मलामी जाने मान्छे पाइँदैनन् तर हजुर – मेरो त सर्वस्व नै गयो । हजुरको लोग्नेले मेरो सत्यनास गर्‍यो – म मर्नु न बाँच्नुमा छु । यस्तो त शत्रुलाई पनि नपरोस् ।”

कोठाको वातावरण एकै पटक परिवर्तन भयो । हामी दुवै भित्रको व्यक्त-अव्यक्त पीडाले छटपटियौँ । मैले थाहा पाएँ – मैले भर्खरै पाएको सौताको ऊ खास श्रीमान् रहेछ । मैले गरेको शङ्का ठीक रहेछ । उसले केही पीडामा, केही आक्रोशमा आफ्नो कथा भन्न लाग्यो ।

“हजुरलाई थाहै छ – मेरी श्रीमती नर्स हो । ऊ नर्स भएको पनि आठदस वर्ष भइसक्यो । मैले बिहे गरेपछि उसलाई नर्स पढाएँ र नोकरीमा लागी । हेर्नोस् – घरमा दुई छोरा र छोरी छन् । एउटै उमेरकाजस्ता – सबै पढ्दै छन् । मेरो सानु पेन्सन छ, खेतबारी खास केही छैन । दुक्ख-सुख गुजारा गर्दै आएको यौटा निम्न मध्यमवर्गीय मान्छे म । जिन्दगी यसोउसो ठीकठाकसँग नै चलिरहेको थियो तर यहाँको बूढोले ………….” यसपछि उसको वाक्य बसेजस्तो भयो – हिक्कहिक्क आवाज आयो ।

मैले एक गिलास पानीदिएँ र पानीसँगै सान्त्वनाका शब्दहरू पनि – जे हुने कुरा भइसक्यो । अब न तपाईं, न मैले केही गर्न सक्ने अवस्था छ । हामी दुवै चढेको जीवनको गाडी दुघर्टनामा पर्‍यो । तपाईंकी श्रीमती पनि त ठीक रहिनछे नि ! एक हातले त पक्कै ताली बजेन ।

“मलाई आफ्नी श्रीमतीप्रति रत्तिभर अविश्वास थिएन । यसैले उसलाई पढाएँ, जागिरमा लगाएँ । रात रातभर नआउँदा नर्सको डयुटी यस्तै हो भनेर चित्त बुझाएँ तर केही महिनायता उसको आनीबानी र स्वभाव अलि फरक हुँदै आएको थियो । अर्थात् एक जना बिरामीको कुरा गरिरहन्थी । सो बिरामी अत्यन्त ठूलो विद्वान, धनीमानी, संसार घुमेको गजबको छ भन्थी । ऊसँगै लागेकीले हो कि के ले हो ? ऊ टोलाउन लागेकी थिई – केही बिर्सेजस्तो गर्थी ।” उसले सविस्तार भन्न लाग्यो – “तर उसको चरित्रमा म शङ्का गर्दिनथे । किनभने विभिन्न किसिमका रोगीहरूसँग उसले डिल गर्नै पर्थ्यो । फेरि आजभोलिको हावा – सबै पागलजस्ता लाग्छन् मलाई तर यसपटक हजुरको बूढोले अलि कडा मोहनी नै लाइदिएजस्तो लाग्यो । ऊ सपनामा समेत बर्बराउन लागी – मेरो राजा, मेरो प्राण भनेर । हरेक प्रसङ्गमा त्यही रोगी कृष्णरामको कुरा ल्याउँथी । मान्छेको बिग्रने मति लागेपछि के लाग्छ र ! एक दिन अचानक सुनाई – म अफिसको काममा एक हप्ता सिँगापुर जानु पर्‍यो । त्यहाँ एड्भान्स तालिम छ । मैले उसको प्रगतिमा रोक्ने कुरा थिएन तर त्यस्तो ट्रेनिङसेनिङ केही होइनरहेछ । ऊ कृष्णरामसँग गएकी रहिछे । सिँगापुर मात्र होइन, हङकङ र थाइलैन्ड पनि पुगिछ । त्यहींबाट हाम्रो अभाग सुरु भएको रहेछ ……….।

अब मेरो पालो थियो – “उहाँलाई संसार घुम्न केहीजस्तो नलाग्ने । मैले सोचेर, बुझेर पनि के गर्नु ? कहिले अमेरिका पुगेर फोन गर्ने – म न्युयोर्क छु भनेर । सेमिनारमा अचानक आएको, केही दिनपछि र्फकन्छु भन्नुहुन्छ । मलाई के हो – के होइन ? के थाहा ? फेरि कहिले पोखराको फेवातालमा डुङ्गामा छु भन्नुहुन्छ । म त उहाँदेखि आजित भइसकेकी थिएँ । वास्तवमा उहाँ कुनै कुराको टुङ्गो नभएको मान्छे ! फेरि यहाँकी श्रीमती, नाम कमला होइन – दसौँ या एघारौँं हो । यस्तो गरिहिँड्नु उहाँको ह्याविट नै हो । गजबको मान्छे ! मैले त यस्ता ठक्करहरू खाँदाखाँदा, भोग्दाभोग्दा आजित भएर अब छाडेकी । तपाईंलाई थाहै होला – हाम्रो पाचुके भइसक्यो । अनि कमलासँग उहाँले अड्डामा गएर नै बिहे दर्ता गराउनुभएको छ । अब न तपाईंले, न मैले केही गर्न सक्छौँ । आ-आफ्नो बाटोमा हिँड्नबाहेक ।” – मैले कुरा टुङ्ग्याउन चाहेँ ।

तर उहाँको कथा बाँकी नै रहेछ ।

“मेरो घरजग्गा कमलाको नाममा छ हजुर ! मेरा सन्तान लालाबाला, म आफैँ अब सुकुम्बासी भएँ । सस्ती आइमाईको के विश्वास अब । त्यो घरजग्गा मेरो माइतीले दिएको भन्ली अथवा मैले आर्जन गरेर जोडेको भन्ली ।” – फेरि ऊ बोल्न सकेन । स्वभाविक हो – कुनै ठूलो पहिरोले ऊ थिचिएको मैले पनि स्वीकारेँ ।

“पछिपछि फटाहा कृष्णराम पनि विभिन्न निऊँ पारेर मेरो घरमा नआएको कहाँ हो र ! तपाईंको एरियामा अलिकति घडेरी लिउँ भनेर आउँछ कहिले, कहिले तपाईंको घर-परिवार हेर्न आएको भन्छ । म बाहिर जाँदा कमला र ऊ दिनभरि कोठामा गफगाफ, रमाइलो गर्दारहेछन् । नाम पनि कृष्ण, लीला पनि कृष्ण ………।”

“उहाँको चर्तिकला बुझेर के साध्य ! तपाईंले त भर्खरै भोग्नु भयो । मैले त जीवनभर भोगेर आएँ, सहेर आएँ । अब भने स्वतन्त्र छु – आकाशको चराजस्तै ।” मैले चित्त बुझाएँ तर मेरो मानसमा भने विगतका धेरै प्रसङ्गहरू अनायास खेल्न आइपुगे । मेरो मानसमा बसेको यौटा घटना वा दुर्घटना यस्तो थियो ।

एक रात अलि ढिलो उहाँ आइपुग्नुभयो – यौटी युवतीसित । अनि आफ्नो कथा सुरु गर्नुभयो – हेर न यी मेरी मितबहिनी । आजै धरानबाट आएकी रहिछन् । यिनका दाजु र मैले उहिल्यै सानोमा मित लाएको । हाम्रो घरसँगसँगै – फेरि मित्रता पनि उस्तै – एकछिन नछुट्टिने । कहिले हामी यसै धनकुटा, भेँडेटार पुग्थ्यौँ । कहिले बराहक्षेत्र र सप्तकोसीमा । यी बहिनी आज यहीँं बस्छिन् । विचरी कहाँ जावस् यो रातको समय । बाहिरफेर असुरक्षा मात्र छ ।

विचरी मितबहिनी एक वचन बोलेकी होइन । घरमा आएको पाहुनालाई खानपान राम्रै गराउनु पर्‍यो तर मध्यरातमा उहाँ आफ्नो बिछ्यौनाबाट हराउनु भयो । मैले सहज अनुमान गरेँ – ती खेलौना- मितबहिनी हुन् । मलाई कत्ति ढाँट्न सक्ने !

म एकछिन टोलाएँछु । यस्ता धेरै घटनाहरू छन्, स्थितिहरू छन् – सम्झेर के फाइदा ? बाहिर घाम डुब्न लागेको थियो । मैले उहाँलाई बिदा गर्न चाहेँ । किनभने यौटा अपरिचित व्यक्तिसँग धेरै समय बस्न म चाहन्नथेँ । अब मैले बिदा दिन चाहंेँ – अरू केही भन्नु छ कि तपाईंलाई ?

“खास भन्नु केही छैन । आफ्नो दुःखसुखका कुरा गरौँ – आँसु बाँडौँ भनेर म यहाँलाई दुक्ख दिन आएको । म अभागी हुँ – जिन्दगीमा ठूलो धोका खाएँ । मैले फेरि व्यवहार गर्ने कुरा आउँदैन – म सक्ता पनि सक्तिनँ । म यहाँ यौटा अनुरोध गर्छु -अन्यथा नमान्नुहोला ।” ऊ धेरै भावुक देखिन्थ्यो ।

“के कस्तो अनुरोध होला………?”

“म आफ्नी श्रीमती फिर्ता चाहन्छु । उसले जे गरी – म उसलाई माफ दिन्छु । मेरो घर-व्यवहार मेरो परिस्थिति यहाँलाई के सुनाऊँ । जे भए पनि यहाँको श्रीमान् त्यत्रा लामा वर्षहरूसँगै बसेको । यहाँले मिलाउँ – म आफ्नै श्रीमती इज्जतसाथ फिर्ता लिन तयार छु, अनि यहाँको पनि व्यवहार बिग्रने थिएन ……..” – उसले हात जोड्यो । म गहिरो सङ्कष्टमा परेँं । मैले केही सोच्न सकिनँ ….. दिमाग शून्य भयो । सारा शरीर काम्न लागे । मैले हठात उत्तर दिएँ – “माफ राख्नुहोला – तपाईंले श्रीमतीलाई माफ दिन सक्नुभयो – तर म सक्तिनँ । किनभने कानुनले पनि हामी अलग भइसकेका छौं । अब न ऊ मेरो लोग्ने हो – न त उसकी श्रीमती म हुँ ।”

“त्यसो नभनौँ हजुर ! सबै कुरा मन हो । हाम्रो मन मिलेपछि, हाम्रो व्यवहार मिलेपछि कानुनले पनि हामीलाई बाधा गर्दैन । मैले राम्रो वकिलको पनि सल्लाह लिइसकेको छु ।”

“एकपल्ट फुटेको हाँडी जोडिएला र ! एकपल्ट टुटेको मन फेरि कसरी जोड्ने । म त सक्छुजस्तो लाग्दैन । तपाईं धन्नको लाग्नेमान्छे हुनुहुँदोरहेछ । स्वास्नीलाई जुत्ता ठान्ने पुरुष – समाजमा तपाईंजस्तो ………….”

“त्यसो भए अर्को उपाय छ हजुर ! हजुरले अन्यथा नलिने भए ? ………”

“कस्तो उपाय – म त केही देख्तिनँ ।”

“मैले देखेको छु – निर्णयको पूर्ण जिम्मा यहाँको । मेरी कमला यहाँको श्रीमान्ले लगेपछि, मैले यहाँलाई ……….. यहाँसँग ………. व्यवहार गर्न मिल्ला ? ………” ऊ केही होस र केही बेहोसमा थियो ।

“मैले राम्रो बुझिनँ …………., फेरि भन्नुहोस् । स्पष्ट बुझौँ, के कुरा हो ?”

“हामी पुनर्बिहे गरौँ – नयाँ घरजम गरौं । हामी दुवैले ती दुईको प्रतिशोध लिने सबैभन्दा राम्रो विकल्प यही हो । म त तयार छु ……….., सधँै स्वीकार्छु …………., धोका दिन्न । यहाँले पनि बिताउनुपर्ने जिन्दगी लामो छ ……… सोचौँ ।” ऊ गम्भीर भयो ।

मैले कुरा बुझेँ – “म विचार गरौँला । अहिल्यै निर्णय नलिउँ – हेर्दै जाऊँ …………..” म विचारको पोखरीमा डुबें – उत्रें र डुबें ।

अनि ऊ उठ्यो र सरासर भर्‍याङ ओर्लन लाग्यो । मलाई विगत, वर्तमान र मेरो भविष्यले एकै पटक संत्रस्त बनायो । म विल्कुल शून्य र निरीह भएँ । मेरो लामो जीवनकालमा यो मेरो जित थियो कि हार ? ………. सोचिरहें ।

(श्रोत:- मधुपर्क मार्ग,२०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.