संस्मरण : ‘मधुपर्क’मा मेरियाको कथा

~परशु प्रधान~Parashu Pradhan

“म आफूलाई खोज्न हिँड्न लागेकी ।”

“आफूलाई खोज्नको अर्थ ?….”

“मिस मेरियालाई खोज्न….बुझेनौं बुद्धको देशको मान्छे….” ऊ रिसाउँछे ।

यही सानो संवादबाट म ‘मधुपर्क’ लाई सम्झन चाहन्छु । ‘मेरियाको क्षितिज’ शीर्षकमा ‘मधुपर्क’ को प्रारम्भ-महिनाहरूमा यो कथा प्रकाशित छ । र, यस कथासँगै म २०२४-२०२५ को काठमाडौँका सम्झनाहरूलाई आफूभित्र नवीकरण गर्ने प्रयासमा छु ।

वि.सं. २०२४ को प्रारम्भमा काठमाडौँ आई कविवर व्यथितको सदासयताले म साझा यातायातसँग सम्बद्ध थिएँ । वसन्तपुर नजिक झोछँेमा डेरा लिएको थिएँ र राम्रै सङ्घर्षमा थिएँ-बाँच्नुको अनि लेख्नको । काठमाडौँका धेरै साहित्यकारहरूसँग परिचय र सम्पर्क बढाउँदै आफूलाई लेखनमा सम्बद्ध र सक्रिय राख्न लागें । ‘रूपरेखा’ ‘रचना’ साहित्यिक पत्रिकाहरू राम्रैसित निस्किरहेका थिए । धेरै नयाँ पुराना साहित्यकारहरू यी दुई पत्रिकामा सम्बद्ध थिए । त्यही समयमा एउटा गजबको साहित्यिक हल्ला आयो- गोरखापत्र संस्थानले एक साहित्यिक मासिक पत्रिका प्रकाशन गर्ने भएको छ, जसको नाम ‘मधुपर्क’ हो । हामी केही साहित्यकारहरू जिल्लिएर तुरुन्तै यस्तो टिप्पणी गर्‍यौँ- मधु भनेको ‘मह’ हो, ‘पर्क’ भनेको सुँगुरको मासु । अर्थात् पूर्वीय र पश्चिमी दुवै साहित्यको रसस्वादन गर्ने यसको उद्देश्य होला भन्ने भ्रममा हामी केही दिन रहृयौं । एक दिन ‘मधुपर्क’ सित सम्बन्धित व्यङ्ग्यकार भैरव अर्यालले हाम्रो अज्ञानता वा भ्रमलाई यसरी स्पष्ट पारिदिनुभयो -मधुपर्क भनेको मह, घिउ, चिनी, सखर र जल मिलाएर बनाइएको-देवता, वर, अतिथि आदिलाई अर्पण गरिने पदार्थ अर्थात् घिउ, मह र चिनीको मिश्रण हो, जसको हाम्रो संस्कृति र धर्ममा महत्त्वपूर्ण मूल्य रहेको छ । ‘मधुपर्क’ को बृहत् र आकर्षक अर्थ बुझेर हामीले लामो सास फेर्‍यौं ।

अहिले लाग्छ- नेपाली भाषा साहित्यको सम्बर्द्धन र विकासमा हालसम्म ‘मधुपर्क’ ले वास्तवमा मधुपर्ककै काम गरेको छ । त्यो समय र हालको समयमा आकाश-जमिनको अन्तर छ । राजनीतिक, जातीय वा क्षेत्रीयरूपमा स्रष्टाहरू बाँडिएका थिएनन्, न त खास गुटबन्दी नै थियो । प्रतिभा, साधना र त्यागको समय थियो । लेखक-कविकहाँ जानु र दर्शन मात्र पाउनु पनि म-हामी आफूलाई भाग्यमानी ठान्थ्यौँ । हाम्रो विशेष श्रद्धाका स्रष्टाहरू थिए- कविवर केदारमान व्यथित, कवि वासु शशी, कवि नीरविक्रम प्यासी । अनि कृष्णचन्द्रसिंह प्रधान, विजय मल्ल, दौलतविक्रम विष्ट, पोषण पाण्डे, शङ्कर लामिछाने, भैरव अर्याल हाम्रा आस्था र विश्वासका साहित्यकारहरू थिए । ‘रूपरेखा’ र ‘रचना’ दुवै स्तरीय नाम कमाएका पत्रिका भए पनि ‘मधुपर्क’ ले प्रारम्भदेखि नै आफ्नो साहित्यिकस्तर कायम गरेको थियो । पञ्चायती व्यवस्था भएकाले राजा र पञ्चायतसम्बन्धी एक दुई लेख-रचना छापिए पनि वर्चश्व शुद्ध साहित्यकै थियो । यसको श्रेय नारायणबहादुर सिंह, भैरव अर्याल र केशवराज पिंडालीमा जान्छ । त्यसबेलाका सबै लेखकहरू ‘मधुपर्क’ मा नै आफ्ना रचनाहरू छाप्न चाहन्थे । कारण थियो-यसको स्वदेश र विदेशमा पुग्ने र पारिश्रमिक पाइने । ‘मधुपर्क’ मा मेरो कथा छापियोस् भनेर म प्रयासमा थिएँ । ‘मेरियाको क्षितिज’ कथा प्रकाशित भयो, प्रारम्भतिर नै । परन्तु त्यो कथा प्रकाशित गर्न मैले अलिकति रोटी बेल्नै पर्‍यो-यस्ता साना-तिना घटनाहरू ब्यहोर्नु मलाई लाग्छ, प्रत्येक साहित्यकारका लागि सामान्य विषय हो तर पनि यो घटना म बिर्सन सक्तिनँ । यसलाई मैले अहिले नलेखे पनि हुने हो, परन्तु कुनै अदृश्य शक्तिले लेख्न प्रेरित गर्‍यो ।

विश्वमा त्यो समय ‘भोको’ ‘पिँढी’ अर्थात् ज्गलनचथ नभलभचबतष्यल ले हल्लाएको थियो । अनि नेपाल गाँजा खानेहरूका लागि ‘स्वर्ग’ बनेको थियो । धेरै हिप्पीहरू वसन्तपुर क्षेत्रमा गाँजा खाएर हल्लिरहेका भेटिन्थे । म, शैलेन्द्र साकार, कविताराम आदिले ‘अस्वीकृत जमात’ नामक साहित्यिक आन्दोलनको प्रारम्भ गरेको समय थियो । विशेषतः हामी युवाहरू (म अहिले हरिश बमजनलाई विशेष सम्झन्छु) वसन्तपु्र, झोछेँ एरिया घुमिरहन्थ्यौं- कहिले खुकुरी रमसहित, कहिले यसैउसै । विदेशबाट आएका ‘नेपाल प्रेमीहरू’ सँग हामी पनि कुराकानी, भेटघाट गथ्र्यौं । केही साथीहरू गाँजामा पनि साथ दिन्थे । त्यहीबेला अमेरिकन केटी मेरिया भेटिएकी थिई- कुनै बेलामा । नेपाली कथालाई अन्तर्राष्ट्रियकरण गर्दै जानुपर्छ भन्ने मेरो धारणा थियो र एक दिन मेरिया मेरो कथामा आई । मैले शीर्षक दिएँ- मेरियाको क्षितिज । नयाँ विषयमा नयाँ कथा लेखेँ भनेर दङ्ग पर्दै म ‘मधुपर्क’ को कार्यालयमा पुगेर आफ्नो कथा पढ्न थालेँ । मलाई लाग्छ- नारायणबहादुर सिंह र भैरव अर्याल हुनुहुन्थ्यो । सबैले ध्यान दिएर सुने-चिया पनि खाइयो । मेरो कथाको पाण्डुलिपि (३/४ पेज) पढेर नारायणबहादुर सिंहले भन्नुभयो- यसमा व्याकरणगतः धेरै त्रुटिहरू छन् । तपाईंहरू युवा लेखकले भाषा, व्याकरण, शुद्धाशुद्धिमा बढी ध्यान पुर्‍याउनु पर्छ ।

‘भाषा-व्याकरण यहाँहरूले मिलाइदिनुहोला । म सिक्दैँछु राम्रो आउँदैन ।’ – मैले विनम्रतापूर्वक भनेँ । अब कमेन्ट गर्ने पालो भैरव अर्यालको थियो । उहाँले आफ्नै किसिमले स्वर निकालेर बिस्तारै भन्नुभयो- यसको कथावस्तु त्यति राम्रो लागेन । विदेशी पात्र रहिछे । बरु अर्को कथा ल्याउ न ।

मेरो भैरव अर्यालसँग अत्यन्त घनिष्टता थियो । उहाँ मेरो वसन्तपुरको डेरामा बरोबर आइरहनुहुन्थ्यो । म रिसाउला भन्ने पनि उहाँलाई डर थियो तर मैले आफ्नो स्वाभिमान बोलेँ- ”म यो कथा फिर्ता लान्न, शुद्धाशुद्धि पनि गर्न सक्तिनँ ।” त्यसपछि म चूपचाप कथा छाडेर निस्केँ । मलाई पछि अचम्म लाग्यो- मधुपर्कमा त्यो कथा छापिएर आयो । मलाई प्रकाशित होला भन्ने मनको कुनै कुनामा थिएन । आज लगभग चालीस वर्षमा मेरा घटीमा एक सय कथाहरू छापिएका होलान्, अझ छापिँदै छन् । यो मेरो सौभाग्य हो र ‘मधुपर्क’ नेपाली साहित्यको राम्रो ऐना तथा अनुभूतिको माध्यम भएर आफ्नो अलग इतिहास कायम गर्न समर्थ भएको छ ।

‘मधुपर्क’ ले आफ्नो स्वच्छ साहित्यिक तस्बिर प्रस्तुत गर्दै आए पनि कहिले काहिँ राजनीतिक छापले काम गरेको जस्तो अनुभूति मलाई हुन्छ । सबैतिर राजनीति, गुटबन्दी, जातीयता, क्षेत्रीयताले भूमिका खेलिरहेको बेला ‘मधुपर्क’ पनि अलग रहन गाह्रो होला तर पनि साहित्य र साहित्यकारको मर्यादा, प्रतिभा र सेवा लेखनको स्तर आदिलाई ‘मधुपर्क’ ले ध्यान पुर्‍याउनु पर्ने देख्छु । होइन भने ‘जेनुइन’ साहित्यकारहरू समाप्त हुने छन् । मेरो मेरियाको कथा यत्ति हो ।

(श्रोत:- मधुपर्क माघ,२०६७)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.