कथा : घर ९

~परशु प्रधान~Parashu Pradhan

जीवनभरको पीडादायी र दुःखान्त भयो- मेरो पहिलो रात अर्थात् हनिमुन । म कुनै कवि वा लेखक होइन, न कुनै दार्शनिक । मेरा सारा सपनाहरू एकै रातमा खरानी भएका थिए, मेरा सारा इच्छा, आकाङ्क्षाहरू पानीपानी भएका थिए । कुनै नाटक वा सिनेमामा घट्ने, हुन सक्ने सम्भावित असम्भव स्वयं ममा घट्यो ।

अहिले फेरि अमेरिका फर्केको छु । लसएञ्जलस्को नाइट क्लबमा पुनः बेयरा भएर आफ्नो विगत, वर्तमान र भविष्य तौलिरहेछु । वर्षौं वर्ष सोचेको, सम्झेका र विश्वास गरिएका सत्यहरू केही घण्टामा असत्यमा रूपान्तर हुँदा रहेछन् । आफूलाई सोध्छु- तैंले कङ्गाल नेपाललाई प्रेम गरेर के पाइस् ? नेपालीहरूको पीडालाई मलम लगाउन खोज्दा के पाइस् ?.. । तँ मूर्ख होस् अझ तँ पागल होस् ।

कामबाट राति दुई बजे फर्केको छु । अलिअलि बियरको धङधङी छ, अलिअलि भोलिको धङधङी छ, अनि धेरथोर आफूले भोग्नु परेको दुर्घटनाको धङधङी छ । यी सत्यहरूबीच असत्य छ, भ्रमहरूबीच निराशा छ । हात हेरेर कुनै ज्योतिषीले गरेको भविष्यवाणी सत्य हुन्छ कि कसो ? पहिलो वाक्य थियो- बिहेको लगन ढिलै छ, अर्थात् तीस-बत्तीस वर्षपछि । दोस्रो वाणी थियो- आफूले केही नबिराए पनि ठूलो मानसिक आघात र बेइज्जती सहनुपर्ने । अनि साह्रै पीडादायक तेस्रो घोषणा थियो- परिस्थिति आउन सक्छ, तपाईंले आत्महत्या गर्नु परोस् । आफ्नो कामले भन्दा हातका रेखाहरूले मान्छेको भविष्य निर्धारण गर्छ भने म किन केही गरुँ ?… तर केही गर्न पर्ने थियो, जीवनमा सङ्घर्ष गर्नुपर्ने थियो- लडेर बाँच्नु पर्ने थियो ।

मेरो मानसमा आमाबाका अनुहारहरू देखापरे । ती दुवैको अनुहारमा चाउरी बढ्न लागेका र टाउकोका केशहरू सेताम्य हिमालजस्तै भइसकेका थिए । पिताजीको मलिन स्वर मेरा कानमा गुञ्जेको भ्रम भयो- बाबु दीपक  हाम्रो ठूलो भूल भयो तर नजानेर, थाहा नपाएर मान्छेबाट धोका भयो । तेरै मामाबाट ठूलो धोका भयो । हामी अपराधी भयौं- पापी भयौं । तिमीलाई ठूलो धोका दियौं ।

“जे भयो भयो, चिन्ता नलिनोस् बा तपाईंहरूले गर्नुभएको होइन, मेरो कर्म वा भाग्य नै यस्तो ।” त्यस स्वरलाई मैले जवाफ दिएँ ।

“के गर्नु ? तिमीले नेपालमा आएर बिहे गर्छु भन्यौ । घर-व्यवहारलाई नेपाली केटी राम्रा हुन्छन् भन्यौ । आ�ना इष्टमित्र, नातागोता, कुटुम्बहरूसँग सम्पर्क राख्यौँ । तिम्रो राम्रो घरजम गराइदिने इच्छा थियो तर दैवले जुराएन.. ।” वाक्य पूरा हुन नपाउँदै बा रुन थाल्नुभएको भ्रम बुनें ।

अनि मेरो मानसको छायाँमा त्यो केटी देखापरी जससँग मेरो एक रात बिहे भयो र सोही रातमा भङ्ग भयो । सम्झे-केटी नराम्री होइन, काली भए पनि हिस्सी परेकी । महाकवि देवकोटाले लेखेझैँ-अनारे दाना जस्ती दाँत भएकी स्थानीय कुनै देवी मन्दिरमा ऊ पूजा गर्न आएकी थिई । म तुरुन्त बिहे गरेर अमेरिका र्फकने सपना लिएर त्यस मन्दिरमा पुगेको थिएँ । भक्तजनहरू त्यहाँ धेरै थिए, लाममा बसेर सुखद जीवनका लागि भगवतीसँग वरदान मागिरहेका थिए । म जुनालाई हेर्न आएको थिएँ- जुनाको सौन्दर्यपान गर्न र जीवनसाथी बनाउने सङ्कल्पमा आएको थिएँ । जुनाका सम्बन्धमा गाउँघरका साथीभाइबाट केही अस्पष्ट स्पष्ट सङ्केतसम्म आएको थियो ।

ती भन्थे-जुना यस क्षेत्रको एक नम्बरी सुन्दरी हो ।

ती भन्थे-जुनासँग बिहे गर्नेले राम्रै दाइजो पाउँछ ।

ती भन्थे-जुना आधुनिक विचारकी छे, अर्थात् परिवर्तन चाहाने ।

अझ ती भन्थे- जुना कहिलेकाहीँ…. ।

‘जुना कहिलेकाहीँ पछिको वाक्य मैले पूरा सुन्न चाहिन वा पाइन । सो अमर वाक्य पूरा सुन्न पाएको भए यो दुर्घटना हुने थिएन । यो जिन्दगी इटालियन पिज्जाजस्तो हुनसक्थ्यो ।

हुनसक्थ्यो र भएन, अनि म बियरको अर्को बोतल खोलेर सपनाहरूको अर्थ खोज्न थालेको छु । मोबाइलमा केही एसएमएसहरू छन् । नसा लागेको आँखाले तिनलाई पढ्न खोज्छु । ती अक्षरहरू केरमेर धर्काजस्ता लाग्छन् ।

एसएमएस-१- दीपक झैं बिहे भएकोमा बधाई, हार्दिक बधाई ।

एसएमएस-२- ओ नेपाली कन्ये, त्यो पनि नेपालमा गएर शादी मुवारक छ, बधाई छ ।

एसएमएस-३- तिमीकहाँ बिहेको भोज खान कहिले आउने हो ? प्रतीक्षामा छु ।

एसएमएस-४- तिम्री जुना र तिमीलाई हार्दिक बधाई जिन्दगी सफल भयो ।

मलाई मोबाइल त्यहीँ फ्याँकिदिएर  कराउन मन लाग्छ- ए डाँका हो म सिद्धिएँ, म ठगिएँ, म लुटिएँ । आफ्नै  देशमा, नेपाली केटीले मेरो जीवन बर्बाद गरिदिई … । म कहाँ गएर कराउ”m- एक रात मैले बिहे गरेँ र एक रात मैले पारचुके गरेँ । म कस्तो दुःखद स्थितिमा, नेपालमा आफ्ना साथीभाइ, इष्टमित्रसँग अनुहार देखाउन नसकेर अमेरिका फर्केको छु- तिनलाई के थाहा ? मभित्रको ज्वालामुखी- तिनलाई के पत्तो ?

यी सब दुःखित प्रसङ्गहरूलाई बिर्सिएर, कुनै अर्थ नदिएर म निदाउन चाहान्छु, मस्तसँग आराम गर्न चाहान्छु तर त्यही जुनाको निरीह, उदास अनुहार आएर मलाई हन्ट गर्छ- मेरो कुनै भूल छैन दीपक म जस्तो मानसिक रोगीले बिहे गरेर आफ्नो र अरू कसैको जीवन बर्बाद पार्नुहुन्न भन्ने मेरो दृढ निश्चय थियो तर चारैतिरको दबाबले मैले हुन्न भन्न सकिनँ र यस्तो आँसुको जिन्दगी भयो ।

‘अझ मलाई त के छ र यसै म मानसिक बिरामी । औंसीपूर्णे लागिरहने, कहिले सद्धेजस्तो, कहिले पागल । कहिले ठीक- कहिले बेठीक तर दीपक तिमी अमेरिकाबाट धेरै डलर खर्च गरेर आयौ र दोष लिएर गयौँ । मलाई क्षमा गर… । जुनाले यस्तै केही शब्दहरू पोखिरहे जस्तो अनुभूति हुन्छ ।

वास्तवमा म साह्रै थोरै दिनको बिदा लिएर नेपाल पुगेको थिएँ- पूर्वको कुनै सानु सहर पुगेको थिएँ । कुनै सुन्दरी नेपाली केटीको सिउँदोमा सिन्दूर हालेर, केही वर्षभित्रै उनलाई अमेरिका ल्याउने सपना बुनेर गएको थिएँ । बिहेको पहिलो रात सर्पझैँ फणा उठाएर मलाई टोक्न आइपुग्छ । बिहेको अघिल्लो दिन ऊसित मैले सङ्क्षिप्त कुरा गर्ने अवसर पाएको थिएँ । मैले सोधेको थिएँ- जुना तिमी मलाई मन पराउँछौ होइन । ऊ मुस्काएकी थिई र टाउको हल्लाएर सकारात्मक सङ्केत दिएकी थिई ।

फेरि मैले सोधेको थिएँ- म तिमीलाई अमेरिका लान्छु । तिमी जान्छ्यौ होइन ?

जुनाले त्यसरी नै स्वीकृतिको टाउको हल्लाएकी थिई । मैले देखेको थिएँ- जुनाको आँखा हाँसेको, सारा अनुहारभरि गुलाफी रातो रङ चढेको ।

धारा छेउको सानु गफको तन्द्रासँगै भोलिपल्टको निर्मम र पीडादायी रातले मलाई भित्रसम्म नराम्ररी हल्लाउँछ । मेरो मानसमा उड्दै गरेको कुनै हवाइजहाज दुर्घटनाग्रस्त भएको जस्तो लाग्छ । बत्तीको धमिलो प्रकाशमा मैले जुनालाई अँगालो मारंेँ र म्वाइँ खाने प्रयास गरंेँ मलाई प्रारम्भमा नै करेन्ट लाग्यो- तँ को मलाई म्वाइँ खाने ?…।

म ठूलो भिरबाट अचानक खसें । कुनै गहिरो पोखरीमा अकस्मात् हामफालें ।

मलाई दोस्रो करेन्ट लाग्यो- मलाई यहाँ किन ल्याएको । तँ को ?… ।

‘म तिम्रो लोग्ने । हाम्रो बिहे भएको होइन ?…’ म सहज भएँ ।

अहिले उसले व्यङ्ग्यात्मक हाँसो हाँसी- लोग्ने रे, बिहे रे । कत्ति घीनलाग्दो… मलाई निद्रा लाग्यो ।

मैले बुझेँ- जुना एबनर्मल छे । जुनाको मगज कतै बिग्रेको छ । मेरो मनले विद्रोह गर्‍यो- तँलाई ठूलो धोका भयो । तँ कसैको जालमा परिस् । तँ बेबकूफ होस् ।

एकैछिनमा ऊ रुन लागी । रुवाई पनि सानु होइन, पूरै टोल थर्काउने गरी । त्यस स्थितिमा म उसको आँसु पुछ्न बाध्य थिएँ तर उसले मलाई अर्को थप्पड दिई- मलाई यस जङ्गलमा किन ल्याएको । तिमी बाघ हो कि भालु मलाई किन चिथोर्न खोजेको

म तर्सिएँ, डरले आत्तिएँ । कुन जङ्गलबाट यौटी जङ्गली स्वास्नीमान्छे मलाई घाँडो भिराइदिएछन् । सपनाको कुनै अन्त्यहीन क्षितिजमा पनि नसोचेको, नसुनेको, न थाहा पाएको यस स्थितिले म बाध्य भएँ- छरछिमेकीसँग गुहार माग्न । म कराएँ- ए गाउँले हो, मलाई आपत् पर्‍यो । गुहार गुहार बचाओ … बचाओ । यसबीच जुनाले ढोकाको आग्लो मेरो टाउकोमा एक-दुईपटक प्रहार गरिसकेकी थिई । म रक्ताम्य भइसकेको थिएँ । आ�ना इष्टमित्र रातको गहन अन्धकारमा आइपुगे र सर्वप्रथम जुनालाई बाँधेर लडाए । ऊ दाँत कट्कटाउन लागि मानौं म उसको जन्मजात शत्रु हुँ ।

“के भएको हो ? सुहागरातमै यत्रो झगडा ?” गाउँको जेठोबाठोको स्वर आयो ।

“कस्ती केटी भिराइदिए मलाई ? यसको दिमागै ठीक छैन । मसँग झगडा गरेर, मलाई कुटेर …” म स्पष्टीकरण दिन्छु ।

“अनि कसरी बिहे गरेको त बौलाहीसित…” अर्को युवा स्वर आयो । म के जवाफ दिउँ ? यौटा डुब्न लागेको जहाज, यौटा अभागी मान्छे । जुनाको कारणविनाको विद्रोह वा झगडा साम्य भएन । उसले दाह्रा किटिरही, अव्यक्त-व्यक्त आक्रोश पोखिरही । लाग्यो-कुन अदृश्य पापको परिणाम भोगिरहेछु म । प्रहरीको सहयोगमा भोलि बिहानै जुनालाई लिएर उसको माइतीघर पुग्न बाध्य भयौँ । म आफैँलाई धिक्कारिरहेछु- गरिस् राम्रो घरजम । अमेरिकामा बसेर फिलिपिन्सकी मार्गरेटलाई धोका दिइस् । इण्डोनेसियाको बार्बरालाई त्यसरी नै प्रेमको अभिनय गरेर फसाइस् । श्रीलङ्का र भारतीय केटीहरू सबैको नाम पनि बिर्सिसकिस् । ती युवतीहरूले दिएको श्रापको परिणाम भोगिस् ।

माइती पक्षका सबैका टाउकोहरू निहुरेका थिए । तुरुन्तै तिनले आफ्नो अपराध स्वीकारेका थिए- “हाम्री छोरीको दिमाग ठीक नभएको केही वर्ष भयो । कहाँ लगेनौँ उसलाई । औषधि मूलोमा खर्च गर्दागर्दा घरबारी सबै ऋणमा छ । अनि अमेरिकामा काम गर्ने, पैसा कमाएको केटो पाउनासाथ हामी लोभियौँ ।”

”यस्तो नचाहिँदो, अर्काको जीवनसँग खेलबाड गर्ने जघन्य अपराधीहरूलाई जेलको सजाय दिनैपर्छ । अदालतको कठघरामा उभ्याउनैपर्छ ।” प्रहरीको कडा स्वरले वातावरणलाई गम्भीर बनायो ।

‘यी अपराधीहरूलाई हथकडी लाउनुपर्छ….’ अर्को आक्रोशपूर्ण स्वर आयो ।

“जेठी अलि बिरामी नै थिई । खास रोग पनि पत्ता लाग्न सकेको होइन । त्यसलाई जसरी पनि कसैको जिम्मा लगाएर भारी बिसाउँ भनेको ” जुनाको पिताजीले समाजमा हात जोडे ।

“बिहेबारीमा भएको खर्च पूरै एक लाख व्यहोर्नुपर्छ पहिले । बाँकी कुरा पछि हुन्छ … ।” मेरो पक्षमा कसैले आवाज उठायो ।

“हो..हो… एक लाखले पुग्ला र ” अर्को आवाज सुनियो ।

“म दुःखी गरिबले कहाँ पाउनु लाख-लाख रुपियाँ । बरु… ” जुनाको बाले हात जोडे- “कान्छी छोरी लिएर जानुहोस् … ।”

म रन्थनिएँ- स्वयं पागल भएँ । म कहाँ छु, कसरी उभिएको छु- मलाई थाहा भएन । मलाई रोउँ रोउँ लाग्यो । कुनै अग्लो धरहराबाट एक्कासि खसेजस्तो भएँ । दिदीको जिन्दगीमा डढेलो लाग्यो- अब बहिनीको जिन्दगीमा डढेलो लाउने कारक हुने भएँ । थाहा पाएर वा नपाएर अपराधीमा दरिने भएँ ।

“ल्याउ तिम्रो कान्छी छोरी । के कस्ती छन्- हामी हेरौँ । जेठी पागल, कान्छी अपाङ्ग होली… ” फेरि अर्को आवाज सुन्न म बाध्य भएँ ।

म टाढा कतै समुद्रका किनाराहरूमा पुगेँ । गर्मीमा चिसा पोखरीहरूमा डुबेँ । कस्तो अपहत्ते मलाई, नसोचेको कस्तो सङ्कट मलाई । मैले आँखा खोल्दा यौटी युवती अगाडि उभिएकी थिई । समाजमा उभिएर उसले आफ्नो परिचय दिई- म लुना डिप्लोमा पढ्दैछु- पत्रकारिता लिएर । मलाई किन खोजको हेर्छु- केटी फुर्तिली छे, ्रयान्क छे । आँखामा केही माछाहरू सल्बलाउन लागेका । मलाई लाग्छ- उसले स्थिति बुझिसकेकी छे । लुनाको व्यक्तित्वले समाज शून्यजस्तो हुन्छ । वरिपरि हेर्छु सबैजना मलामी आएका जस्ता छन् । जुनाको बूढाबा फेरि हात जोड्न लागेका छन्- नानी लुना  हाम्रो इज्जत राखी दे । यस समाजमा हामीलाई बाँच्न दे । हामीलाई ज्यूँदो मुर्दा नबना । दिदीको ठाउँमा.. हामी गरिब, निर्धा र निमुखा … ।’

लुनासँग मेरा आँखा जुधे । उसका आँखामा विषालु सर्पहरू फणा उठाइरहेको देखेँ । मैले बोल्ने कुरा थिएन ।

लुना अगाडि बढी- दिदीसँग म सती जान्न । तपाईंहरूको सबै षड्यन्त्र मलाई थाहा छ । म तपाईंलाई घृणा गर्छु-थुक्छु । तपाईं मलाई पाउने लोभ नगर्नुहोस् । मेरो आफ्नै  प्रेमी छ ।

र, म भोलिपल्टै कसैको अनुहार नहेरी अमेरिका आएँ । अहिले यस सुनसानमा बियरका बोतलहरू साथी भएका छन् । ती पुराना कुराहरू सधैँका लागि आफ्नो मानसिक कम्प्युटरबाट डिलिट गर्न अथवा मेट्न चाहान्छु । तपाईंहरू मलाई के सल्लाह दिनुहुन्छ ? ….।

(श्रोत:- मधुपर्क फागुन, २०६५ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.