अचानक मध्यरातमा मेरो निद्रा खुल्यो । जोडिएको घरबाट निस्केको सधैँभन्दा चर्को, अभद्र र पीडापूर्ण आवाजले टोललाई थर्कायो । हामी छिमेकीका लागि यस्तो सुन्नुपर्ने बाध्यता नयाँ होइन । परन्तु आज भने नाटकको उत्कर्ष जस्तो लाग्यो । बूढाको पीडापूर्ण आवाजले शून्यलाई राम्ररी नै बिथोल्यो- ‘आज म यो घर सधँैका लागि छाडेर जाँदैछु ।तिमीहरू राजीखुसीसँग बस । तिमीहरूलाई भगवान्ले सधैँ हेरून् । म बूढो यो घरको बूढो कुकुरलाई लिएर जाँदैछु साथीका रूपमा । मलाई सोध्ने र बुझ्ने काम छैन ।’
जाडो थियो । पुस माघको महिना । बल्लबल्ल झ्याल खोलेँ र हेरेँ – धमिलो उज्यालोमा एक जना वृद्ध पुरुष र कुकुर हिँड्न लागेको देखेँ । “ए भीम काजी ! तिमी कहाँ जाँदैछौं ? किन यो गलत निर्णय गर्दैछौं ? आफूले दुःख गरी बनाएको घर छाडेर तिमी कुन घरमा जाँदैछौं, मेरो अभागी साथी ?” मैले भन्नुपर्ने थियो । बाटो छेक्न जानुपर्ने थियो तर भीमको कान्छो छोरा सानेका शब्दले मेरा कान फुट्ला जस्तो भए- “तिमी जस्तो लाछी, नामर्द, पाखण्डी मान्छे यो घरमा बस्न सुहाउँदैन । यो हाम्रो घर हो, हाम्रा छोराहरूको हो । जाऊ, गई हाल थुइक्क !”
आफ्नै छोराले पितालाई, त्यो पनि अहिले हो कि भरे भएको बूढा बाबुलाई यसरी घरबाट खेद्न सुहाउँछ ? म धेरै गम्भीर भएँ । अनायास मेरा आँखाबाट आँसु आए । मैले पुराना दिन सम्झेँ । सम्झन बाध्य भएँ ।
यो सिस्नेरी यस्तो होला, यो रूप लेला भन्ने कहाँ थियो र हामीलाई ? सानु गोरेटो बाटो थियो । रत्नपार्क-नयाँसडकबाट आउन घटीमा एक घण्टा हिँड्नुपर्थ्यो । बाटो के भनौँ, गोरेटोभरि सिस्नोका झ्याङहरू मात्र हुन्थे, जसलाई पन्छाउँदै हामी हिँड्थ्यौं । यत्ति मात्र कहाँ हो र ? बाटोमा दिसापिसाबको खोलालाई नाघ्दै हिँड्नुपर्थ्यो । बिजुलीका खम्बाहरूसम्म गाडिएका थिए तर बिजुली कहिले आउने हो ? हामीलाई केही थाहा थिएन । टेलिफोनको लाइन शीघ्र आउँदैछ भन्नेसम्म सुनिन्थ्यो तर टेलिफोन गर्न परे धेरै टाढा जानुपर्थ्यो । अर्थात् यसको केन्द्रीय कार्यालयसम्म । चामल, तेल र तरकारी किन्न असनमा नै जानुपर्ने बाध्यता थियो ।
संयोगले भीम र म बिजुली अफिसमा निम्नस्तरको जागिर खान पुग्यौँ, भेटियौँ र मिल्ने साथी भयौँ । हामी दुवै भोटाहिटी छेउछाउको एउटा पुरानो घरमा डेरामा बस्थ्यौँ । त्यो घर अहिले नै भत्कने अवस्थामा थियो तर हामी त्यहीँ बस्न बाध्य थियौँ । अलि राम्रो घरमा भाडा तिर्न हाम्रो सामर्थ्य थिएन । पहाडी गाउँमा सानोमा छँदै भीमको र मेरो बिहे मात्र होइन, छोरा पनि भइसकेकाले हामी श्रीमती र छोरा लिएर बस्थ्यौँ । सधैँ रकमको अभावले रायोको सागमा झोल हालेर भात निल्थ्यौँ । तैपनि दुवैको हृदयमा सपना थियो, पढ्दै जाने र अझ जागिरमा तरक्की गर्दै जाने । अझ काठमाडौँंमा एउटा सानु घर बनाउने । अनि अफिसबाट सञ्चय कोष र केही रकम लिएर सिस्नेरीमा सानु घडेरी र सानु घर बनायौँ । दुवैले साथै जिउने, साथै सङ्घर्ष गर्ने र एक किसिमले साथै मर्ने सपना लिएर बसेका थियौँ तर आज मिल्ने साथीले आफ्नो बाचा तोडेको थियो र म एक्लै आँसु चुहाउन बाध्य भएको थिएँ ।
फेरि त उज्यालोसँगै सिस्नेरी बजार बिउँझ्यो, उठ्यो र सारा घाम ठूलाठूला भव्य महलहरू र हाइवेमा पोखियो । अबको सिस्नेरी २१ औँ शताब्दीको भव्य, विशाल व्यापारको केन्द्र्रमा रूपान्तरण भइसकेको थियो । बाटो काट्नलाई ठूलै सङ्घर्ष गर्नुपर्थ्यो । सधैँ जुलुस, नारा, भीड, असनमा बस्ने र विरोध गर्नेहरूको राम्रै अखडा बनेको छ – सिस्नेरी बजार । अझ रात्रिकालीन जिन्दगी पनि देखियो । रातिको ९ बज्दा नबज्दै रातका रानीहरू ग्राहकको खोजीमा सडकमा उभिएको देख्दा देश साँच्चै सिँगापुर, हङकङ र बैङ्ककमा साटिएको अनुभूति म र भीमलाई भएको थियो । हामी पहिलेको भीम र अर्जुनबाट राम्रो भाडा आउने, छोराछोरीलाई बोर्डिङ स्कुलमा पढाउने, गर्वका साथ हाम्रो घर काठमाडौँको केन्द्र सिस्नेरीमा छ भनेर धाक लाउने सम्मानित नागरिक भइसकेका थियौँ ।
भीमको जेठो छोरा कुनै सरकारी अफिसमा नायबसुब्बा भइसकेको थियो भने कान्छो पढ्न नसकेर दुबईतिर हानिएको थियो तर तीन महिना पनि बस्न नसकेर साने फर्किएको थियो । अनि आफू र्फकंदा उसले आफ्नो साथमा परिवार र राष्ट्रलाई राम्रो सम्पत्ति वा उपहार ल्याएको थियो । ती थिए – रक्सी र केही लागू पदार्थको अम्मल, क्यासिनोमा जुवा खेल्न माहिर अनि बाबु-बाजेले दुक्खले जोडेको धन-सम्पत्ति कसरी छिट्टै उडाएर साबिककै परिस्थितिमा परिवारलाई पुर्याउने भन्ने सङ्कल्प । बस् के थियो – हामी ‘मोर्निङ वाक’ सधैँ जान्थ्यौँ र भीम प्रिय कान्छा छोराको करामत सुन्ने सुनाउने गर्थ्यो ।
एक बिहान उसले भनेको थियो – दुई छोरा बुहारीलाई आ-आफ्नो अंश चाहियो रे ! ‘कान्छोले घरको सबै सम्पत्ति उडाउने भयो, मलाई अन्याय हुन्छ’ भन्ने जेठोको भनाइ छ भने कान्छो आफ्नो अंशमा आफैँ रमाइलो गर्न चाहन्छ । मैले अहिले हतार नगर भनेर भीमलाई सल्लाह दिएको थिएँ ।
हरेक बिहान कान्छोको करामतसँगै हामी देशको राजनीतिको कुरा पनि खुलेर गर्थ्यौँ । देशले साह्रै असल, इमान्दार, राष्ट्रप्रेमी, कर्तव्यनिष्ठ, जनप्रेमी नेताहरू पाएकोमा हामी दुवै विश्वस्त थियौँ । किनभने हामी दुवै जागिरे जीवनबाट रिटायर्ड भएर कुनै असल पार्टीको खोजीमा थियौँ, जसमा लागेर फेरि कहिँ कसैको जी.एम. पड्काउने सपना बोकेका थियौँ । त्यसका लागि केही रकम कालम खर्च गर्न पनि हामी तयार थियौँ, किनभने हामीले हजार रूपियाँ नहालेको टुक्रा घडेरीको मोल करोडौँ पुगिसकेको थियो ।
तर एक दिन हृदयाघातबाट भीमको जहान अचानक खसी । भीम अब झन् बहुला जस्तो भयो । उसले बिहानैदेखि वासः (रक्सी) खान थाल्यो र दुब्लाउँदै गयो । मैले अनुरोध गरेँ – भीम भाइ, तपाईं बिहे गर्नुहोस् । एक्लै जिन्दगी काट्न गाह्रो हुन्छ ।
“म साठी नाघिसकेको मान्छे । अब कति धेरै बाँचुला र ? कुनै स्वास्नीमान्छेको जिन्दगी म बर्बाद पार्न चाहन्न ।” ऊ दृढ थियो । मैले धेरै पटक कर गरेँ तर उसको जवाफ सधैँ त्यही आयो ।
कुनै बिहान ऊ दृढ थियो – छोराहरूलाई अब अंश दिनैपर्यो । कान्छो छोरा सधैँ आएर उफ्रन्छ – ‘मलाई आफ्नो भाग दिनोस् । जेठोलाई राम्रो पढाउनु भयो र जागिर खुवाउनु भयो, मलाई सधँै हेला । म जे गर्छु ……… गर्छु । नत्र तँलाई काट्छु – म त अब माओवादी भएँ’ भन्छ ।
भीमको बाध्यतालाई मैले बुझेँ । केही महिनामा नै आफूलाई एउटा कोठा राखेर बाँकी छोराहरूलाई अंश मात्र दिएर उसले केही सन्तोषको सास फेर्यो तर केही महिनापछि फेरि आँसु झारेर उसले आफ्नो कथा सुनायो – म ढोकामा ताल्चा लाएर सुत्छु । कुनै मध्यरात सानेले आएर मलाई काट्छ भन्ने डर लाग्छ । मलाई डर मात्र लाग्छ अर्जुन । फेरि म आफैँ कुनै दिन झुण्डिन्छु कि जस्तो लाग्छ । आफैँप्रति अविश्वास, शङ्का र भय लिएर बाँचिरहेछु ……… ।
मेरो र उसको कौशी नजिकै हुनाले पहिलेभन्दा बढी उसको गतिविधि म नियाल्थेँ । दिनभरि जसो कौसीमा त्यही कालो कुकुरलाई खेलाइरहेको हुन्थ्यो मेरो साथी भीम । उसले कौसीमा केही कुखुरा पालेको थियो र तिनलाई चारो खुवाउनेदेखि सुली सोहर्ने गर्थ्यो मेरो भीम ।
आज हाम्रो नाटकको पटाक्षेप थियो शायद । मेरो भीम आफूले दुक्ख जिलो गरेर बनाएको घरबाट निकालिएको थियो र उसका लागि आँसु चुहाउने कोही थिएनन् । मैले पनि उसलाई साथ सहयोग दिन सकिनँ, सक्तिनँ । कति निरीह छु म ? अर्थात् हामी ! सत्यले पनि हामीलाई छाडिसकेको छ ।
(श्रोत:- युवामञ्च २०६८ माघ)